बेलायती संस्कार र परम्पराअनुसार युवक वा युवतीले बेलैमा आफू सुहाउँदो जोडा खोज्नु नौलो होइन । यही संस्कारको अनुसरण गर्दै गत सालदेखि मिस लोरा र मिस्टर (मि.) जोन कलेजमा पढ्दापढ्दै लभ अफेयरमा परे । यिनीहरू गर्लफ्रेण्ड र ब्वाइफ्रेण्ड हुन् भनेर दुवै जनाका अभिभावक र कलेजका साथीहरूलाई प्रस्ट थाहा थियो । हुन पनि यिनीहरू दुवै सँगै जिमखाना जान्थे । त्यहाँ मनग्गे पसिना काढ्थे । हेर्दा लोभलाग्दा पनि छन् । साँझ परेपछि यिनीहरू रेस्टुरेन्टमा छिर्छन् । कलेजमा पनि सँगै बस्छन् र सँगै हिँड्छन् । चौरमा बसेर कुनै प्रसङ्ग निकाल्दै आँसु झरुन्जेल हात मिलाउँदै हाँस्छन् । अन्त्यमा आकाशको घाम हेरेर हात समाउँदै बाटो लाग्छन् । यिनीहरूको अगाध प्रेमको परिणाम थियो यो ।

कलेजको प्राङ्गणमा बसेर दुवैले एउटै आइसक्रिम पालैपालो चाटेको देखेर एक जना क्लासमेट मि. जर्जले आँखा तर्दै उनीहरूको प्रेमको डाह गर्थ्यो । कलेजका अन्य युवक युवतीहरूलाई चैँ खप्न नसक्ने ईर्ष्या हुन्थ्यो ।

एकदिन जोनको बाबुले घरको भान्सा सफा गर्दैगर्दा पत्नीलाई सोधे, ‘हाम्रो पुत्र जोनले रोजेकी केटी तिमीले देख्यौ मिसेस क्याथेराइन ?’

क्याथेराइनले बर्गर बनाउँदै गरेको चट्ट रोकेर आँखा तर्दै जवाफ दिई, ‘अँ कस्तो नदेख्नु हौ ? हुनेवाली एकलौटी बुहारीको चासो हुन्न कि क्या हो…मलाई ? देखेकी छु…घुमी घुमी देखेकी छु ! नाम लोरा विलियम हो रे ! झण्डै २३-२४ वर्षकी मस्त तरुनी छे लोरा । हेर्दा डालिली लाग्छे । मैले उसलाई एकैपटक लण्डनआईको बाकसभित्र देखेको हो । हामी सँगै लण्डनमाथिको आकाशको भ्रमण गर्दै थियौँ । सलक्क परेको जीउडाल छ उसको । शरीरका सबै अङ्गप्रत्यङ्ग हुनसम्म विकसित भै अत्यन्त मिलेका छन् । अनुहार हातले कुँदेकोजस्तो सुन्दर र मायालु लाग्छ लण्डन सहर जस्तै ।

उसले थपी, ‘ग्लासगो सहरका युवकहरूले हुनेवाली हाम्री बुहारी लोरालाई जिस्क्याएर हैरान पार्छन् होला ? धेरैले उसको सुन्दरता मन पराएर प्रेमप्रस्ताव पठाउँदा हुन् । उसको रूप र जवानीको तारिफ गरेर मोबाइलबाट टेक्स्ट पठाउँछन् होला कि !’

एकक्षण भावुक भई ऊ, ‘हाम्रो छोरो जोनले हामीलाई भन्दा उसलाई ज्यादा माया गर्छ होला !

बेल्दै गर्दा मिसेस क्याथेराइन भोलिको उनको कामको लन्च बर्गर बनाउन अलमलिएर बर्गरमा मायोनेजको सट्टा पिनट जाम लगाइछ ।

ऊ भन्छे, ‘खै मलाई त छोरोलाई जिस्क्याउन मन लाग्छ । हाम्रो छोराले उसलाई यति धेरै माया किन गरेको भनेर ! किन कि ईर्ष्या गर्नेहरूको कमी यो सहरमा कहाँ छर !’

‘लोरा त नपाइसक्नु कि सुन्दरी छे !’

जोनको बाबुले आँखा तरेर चिया सुरुप्प पार्दै भन्यो, ‘हाम्रो छोरा पनि के कम छ र ! सज्जन छ ! ह्याण्डसम छ ! अग्लो, सुगठित शरीर भएको हेरिरहौँ जस्तो २६ वर्षको लायक युवक छ ! तिमी देख्दिनौ ? ऊ हाँस्दा उसका दारिम जस्ता मिलेका दाँत देखेर जोसुकैको मन पनि मोहित हुन्न र ? जिमखानामा कसरत गरेर शरीर प्रशस्त गठिलो बनाएको के तिमी देख्दिनौ ? युवतीहरू ऊमाथि झुम्मिनु स्वाभाविक हो भन्ने तिमीलाई लाग्दैन क्याथेराइन ?’

समय सधैँ एकैनासको कहाँ हुँदो रहेछ र ! दुई महिनापछि । जोन र लोराको जीवनमा एउटा अकल्पित घटना घट्यो । ‘हिजोआज जोनले लोरालाई सधैँ भेटिरहन, घरबाट पैसा लिएर आइज भन्न, घुम्न हिँड भन्न र अनैतिक सम्बन्ध राख्न कर गरिरहन्थ्यो ।’ जोन यस्तो होला भन्ने लोराले सपनामा पनि सोचेकी थिइन । उसका माग लोराका लागि पूरा गरी नसक्नुका भए । लोरा सोच्थी, जोनले उसलाई फसाएर दुरुपयोग गर्ने प्रयास गरेको त छैन ? उसमा पटक्कै प्रेमको कदर छैन !

जोनले प्यारको यसरी दुरुपयोग गर्ला भनेर मिस लोराले सोचेकी थिइन । तर, जोनलाई ऊ हृदयदेखि माया गर्थी र असल प्रेमी ठान्थी । ऊ गलत थियो, प्रेम गर्न लायककै होइन जस्तो । जोन बाहिरबाट सुन्दर देखिए पनि भित्र धूर्त र प्रेमको फाइदा लिइहाल्ने खालको निस्कियो !

अधम जोनको दिनहुँको त्यस्तो असभ्य व्यवहारले सभ्य र शिष्ट परिवारकी लोरालाई असह्य हुन्थ्यो । यही कारण शनैःशनैः ऊ जोनदेखि टाढिँदै गई । यिनीहरूको सँगै हिँडडुल गर्ने गतिविधि पातलिन थाल्यो । मौका पर्दा एकले अर्काको कुरा काट्नेसम्म भए । उसको अत्याचार सहन नसकेर लोराले भेटघाट ठ्याप्पै बन्द गरी ।

‘‘यिनीहरूको अफेयर ब्रेकअप भयो । तर, जोन ब्रेकअप हुँदा खुसी थिएन । ब्रेकअप त लोराको पक्षबाट भएको थियो । लोरा अन्य कलेजका केटाहरूसँग बोल्दा र हाँस्दै हिँड्दा जोनभित्र हिंसात्मक भावना जाग्थ्यो । ऊ लोराको पिछा गर्थ्यो । तर, लोराप्रति नराम्रो व्यवहार गरिहालेको चैँ थिएन । मौका पर्दा लोरालाई मनैदेखि प्रेम गरेको व्यवहार देखाउँथ्यो उसले । चियो चासो राख्दै हिँड्थ्यो । उनीहरूको बीचको विवाद आमालाई सुनाई लोराले ।’’

एकदिन साँझ । लोराले आत्तिँदै आमासँग भनी, ‘मम्मी-मम्मी ! जोन हाम्रो घरअगाडि सडकमा घोरिएर बसेको धेरै बेर भयो आज । घरीघरी हाम्रो घरतिर हेर्छ । किन हो किन, ऊदेखि मलाई डर लागेको छ मम्मी ! किन ऊ हाम्रो घरअगाडि आएको होला ? हिजो पनि ऊ त्यहाँ थियो । उसको नियत मलाई पटक्कै ठिक लाग्दैन !’ मैले त उसलाई ब्रेकअप दिइसकेँ !

आमा, ‘हुन्दे न त, के भो र ? उसलाई आउन दे ! ऊ त्यहाँ आउँदैमा, हाम्रो घर ढुक्दैमा के पो बिग्रन्छ र लोरा ? आफू भलो त जगत् भलो ! तँ ऊतिर ध्यान न दे न ! पछिपछि ऊ आफैँ आउन छोड्छ ।’ यसरी छोरीलाई सम्झाए पनि यो कुराले आमाको मनमा आँधीबेहरी चलिरहन्थ्यो । किन कि ऊ आमा थिई !

लोराले आशङ्का प्रकट गर्दै भनी, ‘हैन मम्मी, जोनको मलाई कत्ति भर लाग्दैन ! ऊ हिजोआज मेरा लागि निकै खतरनाक हुँदै गएको छ ! राम्रो नियतले ऊ हाम्रो घरअगाडि आएकै हैन !’

मि.जोन र मिस लोराका ब्रेकअप भएको आज अठ्ठाइस दिन भैसकेको थियो । ग्लासगो सहरको त्यही जिमखानामा अभ्यास गर्न मिस लोरा एक्लै जान्थी । एकदिन मि. जोनले जिमखानाभित्र लोरालाई परैबाट कुनियतले हेरिरहेको उसले ठानी । जोनको त्यो हेराइ खराब नियतको लागेर आत्तिँदै बाहिर फुत्त निस्की ऊ । कारपार्कमा पार्क गरेको आफ्नो कारमा बसेर कसैलाई मोबाइलबाट टेक्स्ट पठाउन थाली ।

साँझ पर्न लागेको समय । मि.जोन कारपार्कमै आएर लोराको कारको ढोकाछेउमै उभियो र लोरालाई सम्झाउँदै थियो । केही समय दुवै जनाको त्यहाँ भनाभन चल्यो । मि. जोन एक्लै बोल्दै थियो । लोराले कारको ढोका जोडले बन्द गरी । कतै नहेरी मोबाइलको बटन दबाइरही ।

मि.जोनको क्रियाकलाप हिंसात्मक चैँ थिएन । पुरानो प्रेमी थियो ऊ । मनमा विश्वास र माया पलाउँछ कि उसको ! किन कि जोन लोरातिर मायालु आँखाले       हेर्दै केही भनिरहेको थियो ।

लोराले घुर्क्याइरही । लोराले टेरपुछर नलगाएपछि ऊ त्यहाँबाट हिँड्यो । लोरा कतै नहेरी मोबाइलमा लट्ठिइरही । फेरी मि. जोन फर्केर लोरा भएको ठाउँमा आयो । ऊ सकारात्मक हुँदै आफूसँग केही कुरा गर्न खोजेको भन्ठानेर लोराले कारको ढोका अलिकता के मात्र खोली । अचानक जोन आक्रामक देखियो । जोनले लुकाइराखेको छुरा झिकेर लोरालाई छप्काइरह्यो । दुईचार पटक छुरा घोप्दासम्म ऊ होसमै थिई ।

जोनका अगाडि बेसहारा लोरा चिच्याई, ‘गुहार-गुहार ! मलाई मार्यो नि ! मलाई बचाइदेऊ !’

यसरी दुईचार वाक्य के मात्र बोल्न सकी । एक्कासि छर्रा लागेको आकाशको चरा भुइँमा खसेझैँ तल भुइँमा ढली लोरा ।

लोरालाई भुइँमा ढालेर जोन त्यहाँबाट बेपत्ता भयो । घाइते लोरालाई उठाउने र बचाउने त्यहाँ कोही थिएन । लोराको प्राण भर्खरै गयो । पाँच मिनेटपछि एउटा अपरिचित कार मृत लोराको अगाडि रोकियो । कारबाट एक जना महिला बाहिर निस्किएर ‘हेल्प…हेल्प…’ भन्दै निकै बेर कराई । बेलायतको कानुन अनुसार दुर्घटनाले ढलेको व्यक्तिलाई छुन, पल्टाउन र ठाउँ सार्न मिल्दैनथ्यो । सज्जन महिलाले आफ्नो मोबाइलबाट ९९९ नंं मा फोन गरेर पुलिस र एम्बुलेन्सलाई खबर गरिदिई । दस मिनेटमै पुलिस र एम्बुलेन्स घटनास्थलमा आइपुगे । घटनास्थल सुरक्षित राख्न पुलिसले रिवन तानेर बाटो बन्द गर्यो । उसले बाटो बन्दको सूचनाको बोर्ड सडकको दुबैतिर राखे । घटना घटेको स्थल कारपार्क र सडक केही समयका लागि बन्द भयो  । पुलिस अनुसन्धान सिद्ध्याई लासलाई एम्बुलेन्समा हालेर अस्पताल हिँडाए ।

मिस लोरा विलियमको सम्बन्ध कोसँग थियो ? हरेक शङ्कास्पद व्यक्तिको पुलिसले बृहत् खोजी गर्यो । कारपार्कको सिसिटिभीको रेकर्ड हेरेर अपराधी पत्ता लगाउन बेलायतका पुलिसलाई धेरै समय लागेन । ग्लासगो सहरको एउटा पबमा बीयर पिउदै गरेको जोनलाई भेटेर पुलिसले साधारण सोधपुछ गरे । ऊ कायल भएन तर संदिग्धताको आधारमा पुलिसले उसलाई हतकडी लगाएर लग्यो ।

‘लोराको हत्या गर्ने म हैन’ भन्दै निकै चिच्यायो मि. जोन । तर, उसले कसरी धर पाउँथ्यो र ?

००००

एक महिनापछि । आज मि. जोनको अदालतमा सुनुवाइ थियो । मिस लोराको पक्षमा वकालत गर्ने वकिलसँग जोनमाथि लागेको अभियोग सिद्ध गर्न कारपार्कको सिसिटिभीको फुटेज नै पर्याप्त थियो । मध्यवर्गीय हुनेखाने परिवारको एक मात्र छोरो थियो मि. जोन टेलर । उसको पक्षमा वकालत गर्न बेलायतको नाम कहलिएको वकिलको प्रयोग उसको बाबुले गरेका थिए ।

कोर्टमा दुवै पक्षका वकिलहरूले वकालत गरेको जजले चाख मानेर सुन्यो । मि.जोनले लोराको हत्या गर्नुभन्दा तीन दिनअगाडि उसको पिछा गरेको वृत्तान्त अदालतका न्यायधीसले सुने । उसले धारिलो छुरी किनेको सुपरमार्केटको सिसिटिभीको फुटेजमा प्रस्ट देखिएको पनि हेरियो । जोनले छुरीले हानिरहँदा लोराको प्राण गइसकेको थियो तैपनि उसको मृत शरीरलाई छुराले घोपिरहेको भयानक दृश्य कारपार्कको सिसिटिभीमा स्पष्टै जजले कोर्टमा देखे । लोराको शरीरका विभिन्न भागमा छुरीले १६ पटक हानेका गहिरा चोटहरू पोस्टमार्टमको रिपोर्टमा रहेछ । कारभित्र र बाहिर रगतको पोखरी जमेको देख्दा सबैको जीउ जिरिङ्ग हुन्थ्यो । दृश्य देखेर डरले मुख छोप्नु पर्थ्यो । रगतमा डुबेकोजस्तो रक्ताम्मे जोनको हात र शरीर देख्दा सबैको मन काँप्थ्यो । उसको अनुहार उसैका परिवारले नचिन्ने गरी रगतका छिटाहरू परेको सिसिटिभीमा देखिन्थ्यो ।

जोनको वकिलले दोषी जोनलाई लोरा हत्याको आरोपबाट बचाउन हरेक तर्क पेस गर्दै उसको मानसिक अवस्था बिग्रेको सिद्ध गर्नतिर उद्यत गरे । ऊ विक्षिप्त भएको सिद्ध गर्न सकेमा केस जित्न सकिन्थ्यो । यसरी उसको पक्ष सबल छ भन्ने वकिललाई लागेको रहेछ । अदालतको अन्तिम सुनुवाइमा पनि उसको वकिलले राख्दै आएको त्यही तर्क अगि सार्योे, ‘मि. जोनको मानसिक अवस्था हत्या गर्नुभन्दा पहिले ठिक थिएन । कारण यही थियो भनेर वकिलले स्पष्ट पार्न खोज्यो ।’ बेलायतको न्यायालयमा वकिलले त्यस्तो तर्क मात्र भट्ट्याउँदैमा हत्यारा उम्कनु सम्भव चैँ थिएन । विशेषज्ञ चिकित्सकले मेन्टल स्टेट (मानसिक अवस्था) को परीक्षण गरेको ‘करेन्ट स्टेट अफ माइन्ड’ (हालको मानसिक अवस्था) को जोनको रिपोर्ट माग्यो न्यायालयले ।

वकिलको सल्लाहमा मि. जोनले निकै मेहनत गरेर पागलपनको नाटक सिक्यो । डाक्टरले उसको पागलपनको अध्ययन गर्दा प्रवृत्ति, व्यवहार, स्वभाव, दिमागी अवस्था, बातचित, सोचविचारको प्रक्रिया र अभिव्यक्ति, मनको धारणा, बोध र अन्तर्दृष्टिको अनुसन्धानमा पागलपनको असर भेट्टायो । तब, मानसिक डाक्टरले ऊ पागल भएको रिपोर्ट बनाइदियो ।

कठघरामा उभिएको मि. जोनलाई वकिलले घुमाईफिराई अनेक प्रश्न सोध्दा उल्टोपाल्टो जवाफ दिन सक्ने भएछ । पागलपनको नाटक गरेर टाउको हात र खुट्टा हल्लाउँदै कठघरामा उभिन्थ्यो ऊ । धेरै बेर मान्छे हँसायो उसले ।

मि. जोन त सिद्ध कलाकार नै साबित भयो । ‘करेन्ट स्टेट अफ माइन्ड’ असामान्य भएका कारण अदालतमा सुनुवाइ हुन नसक्ने भै अब जेल पठाउनुको सट्टा मानिसक अस्पतालमा भर्ना गर्नुपर्छ भन्ने निर्णय न्यायाधीशले गर्यो । मानसिक अवस्थाको उपचारपछि मात्र उसको फेरि सुनुवाइ हुने भयो । अदालतको अन्तिम निर्णय पाएपछि जोनका परिवारले वकिललाई आफ्नो घरमा बोलाएर छोरालाई कस्तो पागल अस्पतालमा राखिनेछ ? सबै जानकारी लिए । वकिलले पनि परिवारको चित्त बुझाउन मानसिक अस्पतालबारे मसिनो गरी जानकारी गराउँदै भन्यो —

‘लण्डन सहर नजिकैको अर्को सहरको जङ्गलको बीचमा १२ वटा वार्ड भएको झ्यालखाना जस्तै एउटा ठूलो मानसिक अस्पताल छ । सुरक्षाका दृष्टिले अस्पताल काँडेतारले दुईदुई पटक बेरिएको फलामका बारले घेरिएको छ । एकै झट्कामा राँगो ढाल्ने हातखुट्टा भएका १५-२० जना सुरक्षाकर्मीले वकीटकी बोकेर चौबीसै घण्टा पहरा दिन्छन् । त्यहाँ साइकियटिक डाक्टर, साइकोलोजिस्ट, मेण्टल नर्स, सपोर्ट वर्कर, सेक्युरिटी, क्लिनरहरू र भान्सामा मात्र काम गर्ने पचासजाना कर्मचारी छन् । एउटा वार्डमा दुईजना म्यानेजर समेत १६-२२ जना कर्मचारी काम गर्छन् ।

ती सबैले कन्ट्रोल एण्ड रेसिस्टेन्ट तालिम लिएका हुन्छन् । अस्पतालका सबै ढोकाको एउटै मास्टर साँचो हुन्छ । रक्षा गर्ने आधुनिक हतियार बोकेका सुरक्षाकर्मी जताततै तैनात हुन्छन् । सबै ठाउँ खतराबाट सचेत गर्ने अलारम फिट गरिएको हुन्छ । मुख्य द्वारमा रक्षाका लागि खटिएको सेक्युरिटीले जाँच गरेपछि मात्र भित्र छिर्न दिइन्छ । अस्पतालको उत्तर र पूर्वमा फलामका दुई अग्ला गेट छन् । पूर्वी गेटबाट कर्मचारीहरू कोड नम्बर प्रयोग गरेर एक्सरे कक्षबाट पार हुँदै अस्पतालभित्र प्रवेश गर्नुपर्छ । अर्को गेट उत्तरतिर छ । त्यस गेटबाट हत्याको आरोपबाट मुक्ति पाउन मानसिक रोगको नाटक गर्ने र अदालतको आदेशमा उपचारका लागि पहिलो पटक पठाइएकाहरूलाई त्यहाँबाट भित्र्याइन्छ । वास्तविक मानसिक रोगीहरूलाई कर्मचारी आउने गेटबाटै भित्र पस्नुपर्छ ।

जोनकी आमा मिसेज क्याथेराइनले सोधी, ‘त्यहाँ कस्ता र कतिजाना मानसिक रोगीहरू बस्छन् ?’

वकिलले भन्छ, ‘वास्तविक मानसिक रोगीहरूको अवस्था सामान्य, पूरै पागल, कम खतरनाक र खतरनाक, वृद्ध र महिला गरी डेढ सय छन् । यिनीहरूलाई ‘मेन्टल अफ स्टेट’को आधारमा चार तहमा छुट्ट्याएर विभिन्न वार्डमा राखिएको छ । ती सबैको उपचार गर्ने-गराउने अधिकार मेन्टल डाक्टरको विश्लेषणबाट हुन्छ ।

‘तह एक र दुई वर्गीकृत मानसिक रोगीहरू केही फरक, खतरनाक अपराध नगरेका । तर, अपशब्दले गाली गर्ने, एक्लै बोलिरहने, हात चलाइरहने, एकै ठाउँमा बसिरहन नसक्ने, चाँडै रिसाउने, झगडा गर्न खोज्ने, आफैँले आफ्ना पाखुरा र हातका नसा काट्ने वा घाँटी रेटेर आत्महत्याको प्रयास गर्नेहरू पर्छन् । तिनीहरूले अस्पतालको वार्डको सार्वजनिक भान्साको डाइनिङ हलमा जान र खान पाउँछन् ।

भित्रको सामूहिक मिटिङमा, लाउन्जमा, भान्साछेउको डाइनिङ हलमा बसेर खान, सार्वजनिक सिटिङ रुममा बसेर टिभी हेर्न र करिडोरमा हिँड्न पाउँछन् । कर्मचारीको रेखदेखमा वासिङ मेसिनमा लुगा धुन, धोइएका कपडा थन्क्याउन र केमिकलको प्रयोग नगरी आफ्नो कोठा सफा गर्न पाउँछन् । अस्पतालभित्रैको जिमखाना जान र कर्मचारीसँग लुडो, स्क्रम्बल, चेस, टिटी, पुल, स्नुकर, ब्याडमिन्टन, पजल इत्यादि इनडोर खेल खेल्न पाउँछन् । तह एकका आफै चलखेल गर्छन् । तर, तह दुईकासँग एकजना कर्मचारी सँगै हिँड्नु पर्छ । खेल्दाखेल्दै उनीहरूको मेन्टल अफ स्टेट कर्मचारीले पत्ता लगाउँछन् । कोठामा बस्दा यिनीहरूको हरेक घण्टाको गतिविधिको अनुगमन हुन्छ ।

आरोपी जोनका बाबुले खानेबस्ने आदि सुविधाबारे चासो राखे । वकिलले बतायो— ‘प्रत्येक त्यस्ता रोगीका लागि फर्निचरयुक्त अट्याच ट्वाइलेट बाथरुम भएको एउटा बेडरुम दिइन्छ । आत्महत्या गर्नमा उपयोग हुन सक्ने कुनै भौतिक जिनिस, रासायनिक पदार्थ, खाद्य सामान राख्ने अनुमति हुन्न र नगद पैसा राख्न पाउँदैनन् । अनुमति नपाएको सामान कोठामा छ कि छैन, कोठाको सूक्ष्म जाँच गरिन्छ ।

दोस्रो तह भनेको पहिलो लेभल जति नै सुविधा पाउनेहरूको हो तर कर्मचारीले एकएक घण्टाको सट्टा १५-१५ मिनेटमा उनीहरूको अनुगमन गरिरहेका हुन्छन् ।

तेस्रो तह भनेको दिनदिनै अरू र आफ्नै लागि पनि खतरनाक हुँदै गएका र हत्याको आरोप लागेकाहरूको हो । त्यस्तो अवस्थाका पागल बिरामी एक जनालाई एकान्तको एउटा मजबुत कोठा ‘इसिए’  (एकान्तको जेलजस्तै) दिइएको हुन्छ । कोठामा एउटा म्याट्रेस, तकिया र ब्लाङकेट दिएर दुई जनाले चौबिसै घण्टा निरीक्षण गरेको हुन्छ । त्यहाँ बस्ने मानसिक बिरामीले पहिलो र दोस्रो लेभलको सुविधा पाउँदैनन् ।

लेभल चारमा एकभन्दा बढी हत्या गरेका खतरनाक मानसिक रोगीहरू पर्छन् । त्यस्तालाई अरूबाट पृथक् (सेक्लुजन) गरी छुट्टै स्थानको एउटा कोठामा धातुको पाताले बाँधेको, थुप्रै काँटी ठोकेको, चारपाँच इन्च मोटो, पाँच फिट चौडा धातु र सिसाको ढोका भएको कोठाभित्र थुनिराखेको हुन्छ । सेक्लुजनमा रहँदा एउटा निलो सेक्लुजन म्याट्रेस र सेक्लुजन ब्ल्याङ्केट मात्र दिइन्छ । सुरक्षित ढोकाभित्रको बाहिरी कोठाको सोफामा बसेर तीनदेखि चार जना सपोर्ट वर्कर र मेन्टल केयर नर्सले १५-१५ मिनेटमा उसको करेन्ट स्टेट अफ माइन्ड अनुगमन गर्छन् । लेभल एक र दुईका मानसिक रोगी लन्च र डिनर गर्न अस्पतालको मुख्य भान्सामा जान र खान पाउँछन् ।

लेभल तेस्रो र चौथोकाले इसिए र सेक्लुजनमै खानु पर्छ । खाना खाइसकेपछि भान्सामा काम गर्ने कर्मचारीले कटलरी (चम्चा, काँटा र नाइफ) र प्लेट हरेक पटक गन्ती गरेर रेकर्ड गर्छन् । कसैकसैको मेन्टल अफ स्टेट अचानक माथि जाने (बिग्रने) हुँदा यिनीहरू सानो कुरालाई ठूलो मुद्दा बनाउँछन् । उनीहरूले कर्मचारीसँग वा अन्य मानसिक रोगीसँग विवाद गर्दागर्दै खानाले भरिएको प्लेट डाइनिङ हलको भित्तामा हान्छन् । भुइँमा प्लेट पछार्छन् र दिनभरि भोकै रहन्छन् । फेरि खाना खाऊ भनेर कसैले भन्दैन उनीहरूलाई । भित्तामा बक्सिङ हानेर हात काम नलाग्ने बनाउँछन् । आक्राेशित भई डाइनिङ टेबुल उल्टाइदिन्छन् । चियाको कपले अफिसको बाहिरपट्टिको सिसामा हान्छन् । कर्मचारीलाई हातपात गर्न खोज्छन् । अस्पतालका भौतिक वस्तुको तोडफोड गर्छन् । कर्मचारीका आँखा छलेर आत्महत्या गर्न खोज्छन् । एकआपसमा झगडा वा हुलदङ्गा गर्छन् । आरोप-प्रत्यारोप लगाउँछन् । हेर्दा जानीबुझी गरेको जस्तो नियत देखिन्छ ।

त्यस्तो घटना घट्दैमा डराइहाल्नु पर्दैन । बरु हरेक कर्मचारीको कम्मरमा बाँधेको अलराम तुरुन्त तान्नु  पर्छ । तान्ने बित्तिकै अस्पताल भित्रका र कर्मचारीसँग भएका सैयौं अलारम आधा सेकेण्डमै अस्पतालको हरेक ठाउँमा  साइरन बज्छ । अस्पतालको कुन स्थानमा घटना घटिरहेको छ हरेक वार्डको विद्युतीय बोर्डमा प्रस्ट देखिन्छ । हरेक वार्डबाट एकएक सुरक्षाकर्मी र कर्मचारी दौडँदै सहयोगका लागि घटनास्थलमा आइपुग्छन् । त्यहाँ पागललाई काबुमा लिन तालिम लिएको प्रविधि प्रयोग गरिन्छ । उसका हातखुट्टा कक्र्याकुक्रुक पर्ने गरी नियन्त्रणमा लिइन्छ । कार्पेट ओछ्याएको कडा भुइँमा अमेरिकन पुलिसले अपराधीलाई सडकमा गाडेझैँ घोप्टो पारेर टाउको जोतिन्छ । मेन्टल हेल्थ एक्ट्स १९८३ अनुसारको सुहाउँदिलो तागत प्रयोग गरेर काबुमा नआउन्जेल यसै गरी भकुन्ड्याइन्छ उसलाई । ऊप्रति दया लाग्दैन भन्ने हैन । यो त पागललाई काबुमा लिने प्रक्रिया हो ।’

जोनका बाबु मि. पिटर र उसकी पत्नी त्यसरी भकुन्ड्याएको सुनेर अलिकति झस्के । मुखामुख गरे । छोरो जोनको अनुहार आँखै अगाडि ल्याएर हेरे । मानसिक अस्पतालको सबै नालीबेली वकिलबाट सुनेर त्रसित भए ।

हप्ता दिनपछि । शरीरभरि फलामको साङ्ला भिराएर स्व. लोराको ब्वाइफ्रेण्ड मि.जोनलाई त्यही पागल अस्पतालको उत्तरपट्टिको गेटअगाडि पाँचसात जना पुलिस र सेक्युरिटीले भेनबाट बाहिर निकाले । जोनलाई तहतीनको अस्पतालको बेडमा भित्र्याउँदा आठदस जना ‘कन्ट्रोल एण्ड रेसिस्टेन्ट’ तालिम प्राप्त सपोर्ट वर्कर, नर्स र म्यानेजरहरू अलाराम र आआफ्ना रक्षा सामग्री अस्पतालले दिएको पेटी कम्मरमा बाँधेर उपस्थित भए । साइकियाटिक डाक्टर, मेन्टल साइकोलोजिस्ट र नर्सहरू पनि तिनै सुरक्षा साधनसहित जोनलाई बुझ्न त्यहाँ उपस्थित थिए । धेरै जना वा दुईचार हत्या गरेर पागल भएकाहरू जोन जस्तै पहिले यही ढोकाबाट भर्खरै भित्र्याइएका थिए । अस्पतालमा केही वर्षको उपचारपछि कोही बाहिरिएका पनि थिए ।

त्यहाँ आइपुग्ने बित्तिकै जोनसँगै आएका पुलिस र सेक्युरिटीले उसको शरीरको पूर्ण चेकजाँच गरी हतकडी र नेलहरू खोलेर सेक्लुजन कोठाभित्र उसलाई हुत्याइदिए । बाहिरबाट नेल ठोकेको ढोका बन्द भयो । जोनको ह्याण्डओभर, केयर प्याकेज त्यहाँका नर्स इन्चार्ज र सपोर्ट वर्करलाई बुझाएर उनीहरू फर्किए । आज आफ्नै गर्लफ्रेण्डको हत्या गर्ने पागलको बहाना गरेको नयाँ पागल बिरामी सेक्लुजनमा राखिएको खबरले वार्डमा सनसनी फैलियो । सबै कर्मचारी र साधारण पागल बिरामीहरू सतर्क भए ।

मि.जोनको उपचार डेढ वर्षसम्म चल्यो । सन्तुलित खानपिन प्रशस्त पाउनाले उसको शरीरको तौल ६८ बाट बढेर १२२ केजी भयो । पेट झुण्डियो र शरीरमा मासुका लाम्टा देखिए । बसिबसी खाएर कामै नलाग्ने भयो ऊ । कहिले तह दोस्रोमा रहँदा रहँदै क्रमिक रूपमा हिंसात्मक हुँदै गएपछि उसलाई केही दिन तेस्रो तहको ‘सेक्लुजनमा र इसिए’ मा राखियो । काबुमा आएपछि उसको मेन्टल अफ स्टेट लेभल फेरि दुई र एकमा झर्यो । कहिलेकाहीँ मेन्टल अफ स्टेट ह्वात्त माथि गई सेक्लुजनमा राख्नु पर्थ्यो । अब त ऊ साँच्चै पागल भएछ ।

यस बेला सधैँ बरबराउने, एक्लै बोल्ने, हाँस्ने, कसैलाई गाली गर्ने र कोठामा फनफनी घुम्ने गर्न थाल्यो । सेक्लुजनमा रहँदा भित्रको चार इन्च मोटो ढोकाको सिसामा टाँसिएर नाङ्गेझार भई उभिन्थ्यो ऊ । सिसाको झ्यालमा नराखे के गर्दैछ थाहा हुन्नथ्यो । कपाल दाह्रीजुँगा नकाटेको, पेट झुण्डिएको झण्डै १.९ मिटर अग्लो मि. जोन सर्वाङ्ग नाङ्गो भई उभिइरहँदा अजङको साँढेका जत्रा उसका राजखानीहरू तलसम्म लत्रिएका देखिन्थे । उसको गुप्ताङ्गभन्दा तीन गुना लामो राजखानी प्लास्टिकको ब्यागमा झुण्ड्याइएको आँप जस्ता देखिन्थे । आँखाअगाडि लामो कपाल झर्दा सेता पल्टिएका डेरा आँखा देखिन्थे । ऊ उभिइरहँदा टाउको र शरीर स्थिर हुन्थ्यो ।

बाहिरबाट कर्मचारीले ‘ए जोन ! लुगा लगाऊ’ भनेर धेरै पटक भन्नु पर्यो । तर उसले कसैलाई सुन्दैनथ्यो । बरु नाङ्गै भएर सेक्लुजन म्याट्रेसमा उत्तानो परेर वा घुँडा धसेर घोप्टो पल्टन्थ्यो । दाह्रा निकालेको सिंह र ड्राइगनको तस्बिर ट्याटु गरेका हातका पाखुरा र नाडीमा आफैँले प्लास्टिकको बोतल चिरेर रेटेका २५-३० वटा लामा र गहिरा खतहरू थिए । भित्तामा खप्पर ठोकेर टाउकोमा लागेका चोटका खोपिल्टाहरू थिए । जवान जोनको त्यस्तो अवस्थाले उसका दिनहरू सिद्धिसकेछन् झैँ लाग्थ्यो ।

अस्पतालमा सबै लेभलका पागलको उपचार गर्ने प्रक्रिया झण्डै उस्तैउस्तै थिए । हुन त धेरै मानसिक रोगीहरू एकापसमा तर्कवितर्क गर्दै आआफ्ना सिद्धान्तका कुरा गर्थे । कोही दार्शनिक थिए, किताब मनग्गे पढ्थे । उनीहरू सबै धर्मको इज्जत गर्थे र चासो राख्थे । उनीहरू सहयोग गर्ने कर्मचारीको मान गर्थे । १५-२० जोर महँगा जुत्ता राख्थे । दिनमा चारपाच पटक कपडा फेर्थे । जिम जान्थे । सधैँ टिपटप रहन्थे तर एकोहारिएर धेरै बोल्थे ।

००००

पाँच वर्ष बित्यो । जोन मानसिक अस्पतालमा रहँदा मनग्गे भुक्तान खेपेर सज्जन हुँदै गएछ । अनुगमन रिपोर्ट अनुसार ऊ सप्रियो । यो अवधिमा उसका परिवारले महँगो वकिलको प्रयोग गरे । उसलाई त्यहाँबाट निकाल्न निकै मेहनत गरे । ऊ डिस्चार्जको लिस्टमा थियो । साइकियाटिक डाक्टरले मि. जोनको पागलपनको अवस्था शून्यतिर झरेको प्रमाणित गर्दै थिए । उसलाई बाहिरबाट आएको फोन उठाउन दिइन्थ्यो । वार्डका मानसिक रोगीले बाहिर फोन गर्ने वा आएको कल उठाउने सुरक्षित फोनको बुथ छुट्टै एउटा पारदर्शी कोठामा थियो ।

अचानक फेरि जोनको अनुगमन र रेखदेख बढाइयो । सोमबारदेखि नै बाहिरबाट आएका टेलिफोन कलहरू उसलाई उठाउन दिइएन । चिठीपत्र खोल्न, पढ्न र वार्डमा कसैसँग भेटघाट गर्न बन्द गरियो ।

एक्कासि आज मङ्गलवार साँझ मानसिक रोगीको टेलिफोन बुथमा एउटा कल टिर-टिर बज्यो । जोनको वार्डका नौ जना मानसिक रोगीमध्ये एक जनाले फोन उठायो । उठाउनेले आफ्नो कल हो भन्ने ठानेर फोन उठाएको थियो । तर त्यो कल त जोनको रहेछ । जोनलाई घरबाट कसैले फोन गरेका थिए कि ! घरकाले झुक्किएर ऊ नै जोन हो भन्ने ठानेर हतारहतार दुःखको समाचार सुनायो, ‘जोन, ए जोन ! बधाई छ ! तिमीले लोराको हत्याको मुद्दा हार्यौ !’ फोन उठाउनेले कल्पना नगरेको जोनको अनौठो समाचार सुन्यो, ‘बधाई छ, तिमीले लोराको हत्याको मुद्दा हार्‍यौ !’ यो कस्तो अचम्मको भाषा हो ?

फोन उठाउने ऊ आफू पनि पागलपनको बिरामी थियो । यो कुरा उसले मनभित्र धेरै समय लुकाउन सकेन । एउटा कागजको चिटमा त्यही समाचार लेख्यो, ‘जोन तिमीले लोराको हत्याको मुद्दा हार्‍यौ !’ सबैका आँखा छलेर मध्यरात त्यो चिट जोनको ढोकाको प्वालबाट छिराइदियो उसले । चिट पढेर मि. जोनले थाहा पायो आफूले मुद्दा हारिएछ । यो समाचार पाएपछि ऊ साह्रै विचलित भयो । धेरै बेर टाउको भित्तामा ठोक्यो । निकै बेर रोयो ऊ । रगतका धाराहरू निधारबाट बगेर गालाका मैदान छिचोले । उसका आँखाका डिल सुन्निए । उसको पागलपन मडारिएर उर्लियो । ऊ कोठामा फनफनी घुम्न थाल्यो । खानपिन बन्द गर्यो ।

मुद्दा हारेको फैसलाको चिठी कोर्टबाट औपचारिक प्रक्रिया मिलाएर उसलाई पठाउनु पर्थ्यो । उसले चिठ्ठी पाएको थिएन । उसले मुद्दा हारेको घरका परिवार कसैलाई पत्तो थिएन ।

यही कारणले उसको अवस्था अचानक बिग्रिनाले साइकियाटिक डाक्टरले उसको तह तेस्रोमा बढाउने सोचे । उसलाई बिहीबार ‘इसिए’ कोठामा सार्ने कुरा व्यवस्थापनले गर्यो । ‘इसिए’ मा राख्दा तीन जना (सपोर्ट वर्कर दुई र एक जना नर्स) ले चौबिसै घण्टा अनुगमन गरेर १५-१५ मिनेटको रेकर्ड राख्नु पर्थ्यो ।

शनिवारको बिहान एक्कासि चार जना पुलिस वार्डमा आए । सरासर जोनको कोठातिर गए । ढोका लक गरे, स्टिकर टाँसे र ड्युटी दिन थाले । पुलिस भएपछि ढोकाबाहिर सपोर्ट वर्कर र नर्स बस्नु परेन । वार्डका स्टाफहरू चिन्तित हुँदै एकापसमा कानेखुसी गर्न थाले ।

एक जनाले खुस्स पोल खोल्यो, ‘मि. जोनले त गत रात कोठाभित्र आत्महत्या गरेछ नि !’ अब के हुने हो ? हुन पनि त्यति धेरै रेखदेख गर्दागर्दै ३१ वर्षको लक्का जवान जोनले आत्महत्या कसरी गर्यो ? वार्डमा सावधानी किन अपनाइएन ? उसका परिवारले अब त्यसै कहाँ छोड्छन् भन्ने चर्चा चल्यो ? यो कुराको ठूलो मुद्दा बन्न सक्ने छ भन्ने भयो । उसको मानसिक तह बिग्रिएकोले ‘इसिए’ मा ल्याइएको थियो । मर्नुभन्दा एक दिनअगाडि उसको कोठा पुरै चेक गरिएको थियो । कोठामा खतरा हुन सक्ने वस्तु नपाइएपछि मात्र उसलाई राति त्यो कोठामा बस्न दिइएको हो ।

अस्पतालका सबै वार्डमा जोनले आत्महत्या गरेको समाचार हावासरि फैलियो । तुरुन्तै अस्पतालको व्यवस्थापन समितिको मिटिङ बस्यो । भोलिपल्टै स्थानीय पत्रिकाले समाचार छापे । रेडियोले पनि फुक्यो । सबैले समाचार पढे । सुने । ‘हत्याको आरोप लागेको मि. जोनले मानसिक अस्पतालमा आत्महत्या गर्यो रे !’ दुई दिनदेखि पुलिसले वार्डमै सेक्युरिटी दिइरहेको थियो । आइतबार दिउँसो एउटा एम्बुलेन्स वार्ड बाहिर आयो । प्रक्रिया पुर्‍याएर मि. जोनको डेड बडी स्टेचरमा बोकेर एम्बुलेन्समा हाले । पोस्टमार्टम हुन्छ रे ।

जोन मर्नुको कारण अनुसन्धानबाट पत्ता लाग्यो । शुक्रबार बिहान जोनलाई राखेको वार्डका नौ जना मानसिक रोगीमध्ये एकजना मि. एण्ड्र्युको नाममा एउटा चिठी आएको रहेछ । नर्स र सपोर्ट वर्करले चिठी चेक गरेर उसैलाई दिएका थिए । मि. एण्ड्र्युले कोठामा गएर चिठी खोल्यो । भित्र अर्को खाममा जोनको नाम लेखिएको चिठी रहेछ ! उसले मनमनै भन्यो, ‘यो जोनको चिठी हो ! मैले उसैलाई  दिनु पर्छ !’

जोनको कोठाबाहिर उसको १५-१५ मिनेटमा अनुगमन गर्ने सपोर्ट वर्कर थिए । मि. एण्ड्रयुले सबैको आँखा छलेर मध्यराति जोन बसेको ढोकाको पिँधबाट चिठी छिराइदियो । चिठी पाउने बित्तिकै मध्यराती  जोनले चिठी खोल्यो । त्यस चिठीमा कसैले उसलाई दुई लाइन लेखेर कडा र रङ्गिन विषको लेदोले उसकी आमाको आकृतिको पेन्ट कागजमा उतारेर पठाइदिएको रहेछ । त्यही विषालु कागज पानीमा घोलेर पिई शुक्रबार राति जोनले कोठामा आत्महत्या गरेको थियो ।

मङ्गगलबार मि. एण्ड्र्युले जोनको फोन उठाएको थियो । उसले अपव्याख्या गरेको प्रमाण अनुसन्धानबाट फेला पर्यो । साइकोलोजिस्ट र पुलिसले फोन उठाउनेलाई केरकार गरे, ‘मि. एण्ड्र्यु तिमीले फोनमा के म्यासेज सुन्यौ ? सम्झन सक्छौ ?’

उसले सम्झने कोसिस गर्दै भन्यो, “मैले सुनेको म्यासेज हो – ‘जोन ! तिमीले लोराको हत्याको मुद्दा हार्यौ । बधाई छ !”

पुलिसले सोध्यो, ‘त्यसपछि के भयो ?’

एण्ड्र्यु, ‘फोन डिस्कनेक्ट भयो !’

मि. जोनले मुद्दा हारेको हुनाले दुःखी हुँदै कसैले जोनलाई फोन गरेको हुँदो हो ! पुलिसले अनुमान लगाए । तर, मुद्दा हारेकोमा बधाई चैँ किन होला ? यो कुराको रहस्य पुलिसले पत्ता लगाउन सकेनन् ।

मि. एण्ड्र्युले केही सोचेर कुरा थप्यो, ‘म आफ्नो कोठामा जाँदै थिएँ । करिडोरमा मैले मि. डेभिडलाई भेटेँ । ऊसँग दुईचार कुरा गरेँ । त्यसपछि एक्लै बोल्दै म आफ्नो कोठामा गएँ । त्यही समाचार कागजमा लेखेँ, मि. जोन ! तिमीले लोराको हत्याको मुद्दा हारेछौ ! म दुःखी छु मित्र !

मैले मङ्गलवार राती नै लेखेको यो चिट तुरुन्तै उसको ढोकाको पिँधबाट छिराइदिएँ । एण्ड्र्युले भन्दै गयो । ‘भोलिपल्ट बुधबार खाना खान जाँदा यो खबर बारे हामी आठै जना पागल बिमारीबिच एकापसमा विनिमय चल्यो । ‘बिचरा जोनले मुद्दा हारेछ !’

ऊ एकछिन थामियो र लामो सास फेर्दै पुलिसलाई सुनाउँदै थियो, ‘मि. जोनले सोच्यो होला ‘मैले जेलमा ३० वर्ष काट्नुभन्दा मर्नु ठीक छ ।’

मि. जोनले बुधवारको राती हामीलाई एउटा चिट ढोकाबाट बाहिर छिरायो । उसले अनुरोध गरेर लेखेको थियो, ‘मित्रहरू ! मलाई मर्न सहयोग गरिदेऊ ! म ३० वर्ष बाच्न चाहन्न । तिमीहरूको भलाइ हुन्छ ! म बाच्नु बेकार हो ! यसरी ऊ मृत्यु वरणको पक्षमा समर्पित भएको दुई दिनभित्र हामीलाई उसले तेइसवटा उसका अन्तर व्यथाका चिटहरू मसँग छन् ।’ मि. एण्ड्र्युले पुलिसलाई जम्मा गरेका सबै चिटहरू देखायो । चिट पढेर लाग्थ्यो, ‘उसलाई मर्न नदिएमा एण्ड्र्युहरूले ठूलो अपराध गरेको ठहरिनेछ । ऊमाथि अन्याय गरेको हुनेछ । उसको मनको व्यथा ती चिटहरूमा कारुणिक रूपमा व्यक्त भएको थियो । यथार्थ पनि चिटमा लेखिएअनुसार रहेछ ।

पुलिसले चिट लेखेर विष मगाउनु अनौठो मानेनन् । जेल र मानसिक अस्पतालमा कैदीले चिठीद्वारा लागू पदार्थ मगाएर लिने गरेको सम्झ्यो पुलिसले ?

मि. एण्ड्र्युले शोक मानेझैँ भन्यो, ‘मैले र डेभिडले सोच्यौँ, जोनको यसैमा कल्याण छ । यहाँबाट भर्खरै निस्केको एक जना जमैकन मित्र अक्वा वराकल हाम्रो सम्पर्कमा थियो । बाहिरबाट उसैले खाममा बन्द गरेर जोनलाई विष पठाइदिएको हो ।’

मि.एण्ड्र्यले सम्पूर्ण बयान दियो । पुलिसले ड्युटीका सबै सपोर्ट वर्कर र नर्सलाई अलगअलग एक्लैएक्लै सोधपुछ गर्यो । यस बाहेक मुख्यतः फोन गर्नेको पत्तो लगाउनु थियो । त्यो पनि पुलिसको लागि मुस्किलको काम थिएन । पुलिसले नम्बर ट्रेस गर्‍यो । मि. जोनलाई फोन गर्नेलाई सोधपुछका लागि बोलाइयो । जोनले आत्महत्या गरेको थाहा पाएर सुरुमा त त्यो व्यक्ति शोकमग्न भयो । उसले मि. एण्ड्र्युलाई फोनमा दिएको समाचारको विवरण दियो । उसको उत्तरले जोनले आत्महत्या गर्नुको रहस्य खुल्यो ।

वास्तवमा मि.जोनले मुद्दा हारेको हैन जितेको चैँ रहेछ । ऊ कलेजको एक असल शुभचिन्तक मित्र थियो । उसले खुसीले जोनलाई मुद्दा जितेको समाचार दिन फोन गरेको थियो, ‘जोन तिमीले लोरा हत्याको मुद्दा जित्यौ, बधाई छ !’

मि. एण्ड्र्युले हतारमा दिइएको समाचार अर्कै सुनेछ, ‘जोन ! तिमीले लोराको हत्याको मुद्दा हार्यौ ।’ यो कुरा सुनेर पुलिसहरू चकित परे । त्यसै दिनदेखि पागल बिमारीहरूलाई फोन उठाउन दिइएन ।

वास्तवमा जोनको अकाल मृत्यु भएको थियो । अब पूर्व प्रेमिका स्व. लोरा स्व. जोन दुवै यो संसारबाट बिदा भएका थिए ।

वार्डको नर्स इन्चार्जको जागिर ठाउँका ठाउँ सिद्धियो । तीनै जना सपोर्ट वर्कर निलम्बित भए ।

स्व. लोराको हत्या प्रकरणको थप अनुसन्धान मेडस्टोन क्राउन कोर्टले गरेको थियो । त्यो अनुसन्धान अनुसार एक फरक नतिजा निस्कियो । मिस लोरालाई जोनले हत्या नगरेर ऊभन्दा पहिलेको लोराको एक्स ब्वाइफ्रेण्ड मि. जर्जले नियोजित तरिकाले गरेको तथ्य पत्ता लाग्यो । जोनले लगाएको पहिरन र जुत्ता लगाएर लोराको कार नजिकै अर्को कारको पछाडि ढुकेको मिर्मिरे छाया सिसिटिभीमा देखिन्थ्यो । त्यो छाया नै हत्यारा जर्जको थियो ।

त्यसदिन लोरा जिमखानाबाट बाहिर निस्कनासाथ मि. जोन उसको कारसम्म आएको हो । पहिलेका कुराका लागि लोरासँग माफी माग्न चाहेको थियो उसले । त्यही उद्देश्यले जोन लोराको पछिपछि आएको सत्य साबित थियो । लोराले ऊसँग बोल्न इन्कार गरेपछि ऊ त्यहाँबाट निराश भएर घरतिर हिँड्यो । त्यही मौकामा दुई मिनटको अन्तरालमा लोराको एक्स ब्वाइफ्रेण्ड मि.जर्ज लोरा बसेको कारतिर लस्किँदै आयो । कारमा बसेकी लोरा नजिकै आएर मि.जोनको पोल लगाएझैँ गर्न थाल्यो । मि.जर्ज कार पार्कको सिसिटिभी छलेर लोराको सामुन्ने खडा थियो । कारको सिटमा बसिसकेकी लोराले जर्जको हातको धारिलो छुरा देखिन । तीस सेकेन्डमा अलिकता खोलिएको कारको ढोकामा अनुहार नदेखाई नदेखाई जर्जले धमाधम लोरालाई छुरी हान्न थाल्यो । रगतको छिटाले सिसिटिभीमा उसको अनुहार प्रस्ट देखिँदैनथ्यो । जिमखानाभित्र टि-सर्ट, हाफ प्यान्ट, ह्याट र जुत्ता लगाउने मि.जर्ज सिसिटिभीमा हेर्दा जोन जस्तै देखिन्थ्यो ।

जर्ज लोरालाई चाहन्थ्यो । जोनसँग लोरा हिँडडुल गरेको उसलाई खपिनसक्नु डाह हुन्थ्यो । एकदिन मिस लोराले कलेजमा सबैका अगाडि जर्जको अपमान गरेकी थिई । त्यो अपमानले मि. जर्जको मन हुँडेली रहन्थ्यो । लोरासँग प्रतिशोध लिन उसले मौका खोजिरहेको थियो । अपराधी जर्जले एक पन्थ दुई काज हुने गरी लोराको हत्या गरेर जोनमाथि दोष लगाउन निकै प्रभावकारी उपाय सोचेको हो ।

मेडस्टोन क्राउन कोर्टले लोरालाई मार्ने मि. जोन हैन उसको पहिलो ब्वाइफ्रेण्ड मि. जर्ज हो । उसले पिछा गरेर सुनियोजित तरिकाले मिस लोराको हत्या गरेको हो । सुपरमार्केटको सिसिटिभीमा जोनकै लुगा लगाएर छुरी किन्ने जर्ज नै हो । मि. जोन निर्दोष छ भन्ने फैसला सुनाएको थियो ।

मेडस्टोन क्राउन कोर्टले मि. जोनले मुद्दा जितेको नतिजा प्रक्रिया मिलाएर अस्पताललाई पठाएको पत्र शनिवार बिहान उसको मृत्युपछि मात्र आइपुग्यो । पत्रअनुसार जोन सोमबार घर फर्कँदै थियो र मि.जर्ज चैँ जेल जाँदै थियो । खुसीको खबर सुनाउन मि. जोनका परिवारहरू उसलाई भेट्न आइतबार अस्पताल आउँदै थिए ।

तर यो सबै ढिलो भैसकेको थियो ।

रेडिङ, बेलायत