चोकको चिया पसलमा आइपुगेपछि उसका पाइलाहरू एकाएक रोकिए । उसले आफ्नो टाउकोभन्दा सानो टोपीलाई जबरजस्ती तान्यो र दुवै कानलाई टोपीभित्र पार्ने असफल प्रयत्न गर्‍यो । चिया पसलेका जोइपोई एउटा एकातिर कुनामा र अर्को अर्कातिर कुनामा क्रमशः सेलरोटी र चिया पकाउँदै छन् । ऊ टक्क अडियो । साहुनीका छरिता हातहरूले ठुलो कराहीमा बाफ उडिरहेको तातो तेलमा नहडबडाई फटाफट सेलरोटी हालिरहेको, कप्टेराले ओल्टाइपल्टाई गरेको र छेवैमा रहेको किस्तीमा एउटै आकारका सेलरोटीको चाङ बढ्दै गएको हेरिरहनमा उसलाई बेग्लै मजा लाग्यो । उसले देख्यो कि सेलरोटीको रङ पनि साह्रै स्वादिलो होला जस्तो, काँडा उम्रिएको ।

‘यो सेलरोटीमा गुदी पनि पक्कै नहोला, देख्दै चुरुम् चुरुम् गर्लाजस्तो छ ।’उसले अनुमान गर्‍यो ।

पसलको अर्कोपट्टि छेउमा पसले उम्लँदै गरेको चियाको भाँडोमा लामो डाडु जस्तो साधनले ध्वार्रऽऽ  ध्वार्रऽऽ पारेर माथिबाट चियाको फिँज मारिरहेछ । जाडोले कक्रिँदै टेबलमा बसेका ग्राहकहरू कोही तातो सेलरोटीको चाङ हेर्दै छन् त कोही बाफ उडिरहेको तात्तातो चियाको भाँडो । उसले निकै बेरसम्म आँखा झिमिक्क नगरी चिया पसलेले चिया चलाएको हेरिरह्यो । उसका आँखा कहिले सेलरोटीको चाङमा त कहिले चियाको भाँडामा पर्न थाल्यो ।

‘सेलरोटी, चिया  खाने भए बस्नुस् न बेन्चीमा ।’

पसलनीकाे आग्रह सुनेपछि उसलाई के गरूँ के गरूँ भयो ।

‘हैन’ भन्ने सङ्केत स्वरूप उसले टाउको हल्लायो तर पनि ऊ उभिएको स्थानबाट एक इन्च डेग चलेन ।

‘यो जाडोमा बाक्लो दुधचिया र तात्तातो सेलरोटी खाँदा त मजा पो हुन्छ त ! मामुली हिसाबले पनि  पाँचोटा सेलरोटी र दुई कप चिया नखाई त कान्छी आन्द्रो नि आउँदैन ।’ उसले मनमनै भन्यो ।

‘छुसी पाँचोटा सेलरोटी के हो र ! जवानीमा माँदेवथानको जात्रा जाँदा बीसोटा सेलरोटी ठाउँको ठाउँ खाएर बाजी जितेको अस्ति जस्तो लाग्छ । बीसोटा सेलरोटी पेटमा र जितेको दुई सय नगद गोजीमा हालेर घर पुग्दाको शानै कस्तो थ्यो उबेला ।’

ऊ आफ्नो विगतको पुरुषार्थ सम्झेर खित्त के हाँसेको थियो, साहुनीले अचम्म मानेर उसको अनुहार  हेरी । साहुनीसँग आँखा चार भएपछि ऊ अलिक सजग भयो ।

पसलेले टेबलमा बसेका सबै ग्राहकहरूलाई चिया टक्र्यायो । कोही धुवाँसँग, कोही तातो सेलरोटीसँग चियाको चुस्की लिन थाले । चिया पिउँदा निस्केको ‘सुरुप्पऽ सुरुप्प’ को सङ्गीतले उसको मुख र पेटमा एकसाथ मिठो काउकुती लगायो ।

‘आऽऽ जे पर्ला पर्ला सेलरोटी र चिया त खानै पर्ला जस्तो छ । एक कप चियाको साथमा यौटा जाबो सेलरोटी त के खानु ! कमसेकम दोटा पनि नखाए त बेकारमा मुख मात्रै  जिस्किन्छ  !’

उसलाई चियाको मूल्य थाहा थियो, त्यसैले उसले अनावश्यक कुरा सोध्ने चेष्टा गरेन ।

‘साहुनी ! सेल गोटाको कति हो ?’

‘बिस रुप्पे !’ साहुनीले ऊतिर नहेरी जवाफ दिई ।

मूल्य सुनेर उसले जिब्रो काड्यो र ज्वारीकोटको खल्तीतर्फ लाँदै गरेको हात पुनः पतलुनको खल्तीमा घुसार्यो ।

‘बिस बिस चालिस, चालिसमा बिस साठी ।’

हिसाब निकाली सकेपछि उसलाई झ्वास्स याद आयो, उसको ज्वारीकोटको भित्री खल्तीमा जम्माजम्मी एक सय पचास रुपैयाँ छ । त्यो पनि लक्ष्मीले फरियाको छेउमा कहिलेदेखि पोको पारेर राखेकी थिई । त्यो पोको फुकाएर लक्ष्मीले उसलाई त्यति पैसा दिएर किन पठाएकी थिई त्यो अब उसलाई राम्रैसँग सम्झना हुनथाल्यो ।

‘ओहो ! मैले यहाँ यसरी सेलरोटी र चिया खाए छोरोले चाहिँ के खान्छ नि ? लच्छेले मलाई सेलरोटी र चिया खान दिएकी हो र यो पैसो ? त्यसमा पनि म यहाँ बसेर चिया र सेलरोटी जस्तो चिज एक्लै कसरी खान सक्छु !  धत् !’

तीन दिनदेखि खोकी र हिजोबाट ज्वरोले निस्लोट भएको छोराको अनुहार उसको आँखाअगाडि फनफनी घुम्न थाल्यो । तीन दिनसम्म लक्ष्मीले अनेक गरी, जानेबुझेको घरेलु ओखती केही छोडिन तर खोकी बीसको उन्नाइस भएन । हिजो साँझदेखि खन्निएको ज्वरोले छोरो झन् कर्कलोजस्तै भएको छ । उसलाई छोराको अवस्था सम्झेर पुसको जाडोमा पनि गर्मी होला होला जस्तो भयो । उसले परक्क मुन्टो बटारेर औषधी पसलको ढोकातर्फ हेर्‍यो जुन अझै बन्द अवस्थामा थियो ।

रातभरि छोराको निधारमा पानीपट्टी लगाएर बसेकी लक्ष्मीका परेला बिहानीपख छोरो एकछिन निदाएपछि जोडिएका थिए । उसले पनि त रातभर आँखा चिम्लेको मात्रै थियो । ”ननिदाएको आँखा र मुख केलाई धुनु !’ भन्ने उसको तर्कले जितेर नै ऊ बिहान मुख नधोई कोठाबाट निस्किएको थियो ।

छोराले जब लगातार ख्वाङ् ख्वाङ् गथ्र्यो उसको छाती कताकता चस्के जस्तो हुन्थ्यो, मुटुको धड्कन बढे जस्तो हुन्थ्यो । उसले आजको रात कटाएको हैन, एक युग बराबरको छटपटी भोगेको हो भन्ने उसलाई लागिरहेको छ । उसलाई छोराको अनुहार सम्झेर एक्कासि रोऊँ रोऊँ लाग्यो ।

घ्यार्र सटर खुलेको आवाज आएपछि उसले फेरि हेर्‍यो । ऊ सेलरोटी र चिया बिर्सेर एक फड्कोमा औषधी पसलको दैलोमा उपस्थित भयो ।

‘के भयो तपाईंलाई ?’

‘छोराले खोक्न थालेको तीन दिन जति भो, हिजो साँझदेखि त हनहनी जरो पनि आ’छ । खोक्न थालेपछि रोकिँदै रोकिँदैन ।’ उसले थर्थराउँदै भन्यो ।

औषधी पसलेले दुई थरी औषधी प्लास्टिकको झोलामा हाल्दै भन्यो, ‘बिहान, दिउँसो र बेलुकी दुइटै सिसीबाट एकेक बिर्को खुवाउने । ज्वरो घटेन र बच्चालाई अझै गाह्रो भो भने डक्टरलाई देखाउन   पर्छ । तर आत्तिन पर्दैन, चिसोबाट अलिक जोगाउनु होला ।’

उसले टाउको हल्लायो ।

‘एक सय चालिस भो !’

ज्वारिकोटको भित्री खल्तीबाट पट्याएर सानो बनाएको मैलो सय र पचासको नोट झिकेर उसले पसलेतिर हात बढायो । पसलेले उसको अनुहार हेर्यो र बिस रुपैयाँ उसलाई  फर्कायो ।

‘हैन दस मात्रै फिर्ता आउने होला नि !’ उसले पसलेको मुखमा हेर्दै भन्यो ।

‘हैन हैन भयो, लिनुस् ।’

असमञ्जसमा पर्दै उसले बिसको नोट खल्तीमा घुसार्यो र फटाफट हिँड्यो ।

ऊ फेरि चिया पसलको छेउमा पुग्यो र पूर्ववत् उभियो । तर अहिले ऊ कसैलाई कुर्नको लागि उभिइरहेछ । उसले ठेकेदार आउने बाटोतिर  चिम्सा आँखा बनाएर परसम्म हेर्यो, तर ठेकेदारको गन्धसमेत नपाएपछि उसको मुहारमा निराशाको बादल लाग्यो । उसको काम बन्द भएको ठ्याक्कै एक महिना भयो । यो एक महिनामा एक रुपैयाँको पनि कमाइ गर्न सकेको छैन । लक्ष्मीले बचाएर राखेको खुद्राखुद्रीबाट तीन प्राणीहरूले प्राण धानिरहेका छन् । काम गरेको बाँकी पैसा लिनलाई उसले ठेकेदारका दर्जनौँ भोलिहरू कुरिसक्यो ।

चियापसले उसै गरी ध्वार्रऽऽ ध्वार्रऽऽ पारेर उम्लिरहेको चिया चलाउँदै थियो । पसलेको चिया चलाउने शैली देखेर उसले गाउँ सम्झियो । ऊ सानो छँदा उसको घरमा गोठभरि गाई भैँसी थिए, जसले मनग्ये दूध दिन्थे । उसका बा गौवाभरी दूध दुहेर कुँडेमा खन्याउँथे, आमा अँगेनाको छेउमा बस्थिन् र कुँडेभरिको दूध तताउँथिन् । दूध उम्लँदा उसकी आमा पनि ठ्याक्कै यसै गरी डाडु चलाउँथिन् ध्वार्रऽऽ ध्वार्रऽऽ । ऊ आफ्नो माने गिलास लिएर नजिकै जान्थ्यो, अँगेनामा उम्लँदा उम्लँदै गरेको कुँडेबाट आमाले दुई डाडु दूध हालिदिएपछि उसको गिलास भरिन्थ्यो ।

सानो बेलामा फिँजैफिँज भएको बाक्लो बकेर्नू भैँसीको दूध सुर्क्याएकाे सम्झनाले मात्रै पनि उसको मुखमा पानी भरियो ।

‘आहा ! चियाभन्दा त दूधै मिठो, पोसिलो पनि उस्तै । पहाडको हरियो परियो खाएको बकेर्नू भैँसीको शुद्ध दूध पिउन पाउने भाग्य जो कोहीको कहाँ हुन्छ र ! यहाँ सत्र थरी के के मिसाएको दूधको चियासँग त्यस्तो दूधको तुलनै हुन्न नि ! यताको दूध त उही देख्नलाई मात्रै दूध हो भन्छन् क्यारे जान्नेहरू । के के पाउडर घोल्छन् भन्छन् । त्यस्तो दूधमा पकाएको यस्तो चियामा के मरिहत्ते गर्नु ।’ उसले मुख बिगार्यो र अर्कोतिर फर्कियो ।

अचानक उसले सडकको पल्लो किनारबाट लखरलखर वारितिर आउँदै गरेको उसको गरिबमारा ठेकेदारलाई देख्यो । संसारकै सबैभन्दा लुच्चो र दुष्ट लाग्ने यो मनुष्य पनि आज एकाएक उसलाई भगवान् बनेर उसका सामु प्रकट भए झैँ लाग्यो ।

ठेकेदार र उसको नजर जुधेपछि उसले ङिच्च गर्दै हात जोड्यो, ठेकेदारले टाउको हल्लायो ।

‘कति पैसा पैसा भन्छ यार, माथिबाट चेक बनेर आ’को छैन । मैले अब घरखेत बेचेर दिने कुरा भएन । लु यो ली अहिले, बाँकी अर्को हप्तातिर मिलाउँला ।’

ठेकेदारले उसको हातमा हजार हजारको दुई वटा नोट राखिदियो र फटाफट हिँड्यो । उसले केही बोल्ने मौकै पाएन । हातमा दुई हजार च्यापीच्यापी उसले फेरि ठेकेदारलाई नमस्कार गर्‍यो र एकछिन मूर्तिवत् भयो ।

हातको नोटलाई एकपटक सुमसुम्याएर थपक्क खल्तीमा घुसारेपछि नरबहादुर फेरि एकपटक साहुनीले सेल पकाइरहेको स्थान अगाडि गयो र ठाँटले उभियो । अब उसको मुखमण्डल केही उज्यालो देखियो भने ओठमा मुस्कान फुलौँ फुलौँ झैँ गर्न थाल्यो ।

‘सेल खाने हो र ?’ साहुनीले फेरि पनि सोधिन् ।

ऊ जवाफमा मुसुमुसु मुस्कुरायो मात्र ।

‘चिया त के खानु र ! डुप्लिकेट दूधको चिया । बरु ५/७ गोटा सेलरोटी चाहिँ कोठातिर लैजाऊँ कि  क्या ! लच्छे पनि खुसी हुन्थी, छोरो पनि रमाउँथ्यो । छोराको बाउले पनि मुख फेर्‍थ्यो ।’

उसलाई छोरोको कुरा मनमा उठ्ने बित्तिकै छोरो बिरामी भएको याद आयो ।

‘ओहो काँ सेलरोटी लानु ! छोरोले सेलरोटी खान हुँदैन, त्यसलाई जरो र खोकी छ । छोरोले खान नभएपछि लच्छेले पनि पक्कै खान्न । म एक्लै के स्वादले खानु !’

उसको मन र अनुहारमा छाउँदै गरेको उज्यालो क्षणभर पनि टिक्न पाएन ।

हठात् उसलाई उसकी स्वास्नीले, पिँधमा पुगेको चामलको बोरा देखाउँदै मारेको डाइलगको सम्झना भो ।

‘ठेकेदारको अगाडि सधैँ लुते कुकुर जस्तो हुनू ! आफू पनि भोकै मर्नू, हाम्लाई पनि भोकै मार्नू अब ।’

आफूलाई लुते कुकुरसँग दाँजेको सम्झँदा उसलाई झनक्क रिस उठ्यो ।

‘खल्तीमा भएको दुई हजारले त्यसको मुखमा हान्छु होला आज, रिस उठ्यो भन्दैमा लोग्नेलाई जे पनि भन्छे बा ऽऽ ।’

साहुनीले सेलरोटीको किस्ती बोकेर भित्र लगिन् । उसले फेरि एकपटक सेलरोटीलाई हेर्यो र सेलरोटीले उसलाई ।

‘लगिहाले पनि सात वटा घटी के लानु ! बिस.. चालिस.. साठी  एक सय चालिस । ओहो एक सय चालिस ! त्यति पैसाले त झण्डै तीन किलो चामल आउँछ । तीन किलो चामलले तीनजनाको परिवारलाई कमसेकम तीन दिन पो पुग्छ । त्यति नभए पनि छोराको लागि मज्जाको उनीको टोपी आउँछ । औषधी पसलेले पनि छोरालाई चिसोबाट जोगाउनू भनेको छ । टहराको चिसो कलिलो ज्यानले थेग्न सकेन र हेर्दाहेर्दै मेरो फूल जस्तो छोरो लतक्क ओइलायो ।’

छोराको अवस्था सम्झेर उसको छाती फेरि भारी भयो ।

‘आ ऽऽ ! यो सेलरोटी पनि काँ देखे जस्तो स्वादिलो छ र ! गाउँमा फलेको धानको चामल मज्जाले ढिकीमा कुटेर, अघिल्लो दिन नै भिजाएर, टन्न लोकल घ्यूको दाउन हालेर, आफ्नै बारीमा फलेको तोरीको तेलमा दाउराको आगो बालेर पकाएको सेलरोटी पो सेलरोटी त ! यो कहाँको कुहेको चामलको पिठोमा अनेक अनेकको केमिकल हालेर उक्साएको सेलरोटी के सेलरोटी ! यस्तो खान हुन्न, स्वास्थ्य मात्रै बिग्रिन्छ । यस्तो स्वास्थ्य मात्रै बिग्रिने कुरो लगेर स्वास्नी र छोरामाथि पाप गर्न हुन्न मैले । उसै त छोरो बिरामी छ ।’

खोक्न थालेपछि लगातार खोकिरहने छोरोको पहेँलो अनुहार उसले फेरि सम्झियो र खल्तीमा राखेको औषधीको पोको छाम्यो ।

‘हत्तेरी ! म कस्तो उल्लु बाउ ! छोरो उता त्यो अवस्थामा छ, म भने गोजीमा औषधी बोकेर  चोकमा चाहिँदो नचाहिँदो सोचेर बसिरा’छु, धत्  ! लच्छे फेरि रिसाउँछे अब, म जानुपर्छ, छोरो बिरामी छ ।’

नरबहादुरले सिसाभित्रबाट उसैलाई चिहाइरहेको सेलको चाङलाई अन्तिम पटक हेर्यो र फटाफट कोठातर्फ लाग्यो ।