
पशुपतिनाथको दर्शन सकेर म मृगस्थली , श्लेष्मान्तक वन टहल्ने मनसायले त्यतै लागेँ । म खासमा भगवानको दर्शन भन्दा नि त्यहाँ पाइने प्राकृतिक छटा हेर्दै शिव पार्वतीले किराँत स्वरूप भई रचेको लीला, विभिन्न खाले बाबाजीहरू र तिनीहरूको बारेमा केही बुझ्ने चाहनाले त्यता पुग्छु बेलाबेलामा । कालमोचन, पशुपति, गुह्येश्वरी, कैलाश, वनकाली मेरा रुचिका टहल्ने क्षेत्रहरू हुन् । यसरी धेरै पटक म त्यता गएको छु ।
चिसो बिहान । जाडोले मेरा ओठ काँपिरहेका थिए । बागमती तरेर पारि पुगेँ । देखियो छर्लङ्ग ब्रह्मनालमा सुताइएको आत्माविहीन देह; श्रीमानले संसार छोडेर गएपछि मर्माहत भएकी अधबैँसे महिला जसलाई दुईतिरबाट समातेर श्रीमानको छेउमा लगेर उसका मृत खुट्टाको जलले सिउँदो पखालिरहेको घिनलाग्दो कुदृश्य । आफन्तजनको वियोगमा त्यो बेलाको पीडा र वेदना असह्य थियो तर बिहे गर्दा हातले रङ्गाइदिएको सिउँदो मृत श्रीमानको खुट्टाले पुछिदिनुपर्ने ! यो कस्तो विडम्बना !
अनि श्रीमती मर्दा श्रीमानले चाहिँ केही नगर्नुपर्ने ! मभित्रको नारी मनमा एउटा आक्रोश दन्किन थाल्यो तर त्यहाँभन्दा अलिक तलतिर लहरै जलिरहेका शवहरूको दृश्य र धुवाँको मुस्लोले क्षणभङ्गुर जिन्दगीमा कोकोसँग मात्रै रिसाउने ? कति सङ्घर्ष गर्ने ? कल्पेर मन एकतमासको हुँदो रहेछ । त्यो घाटको दृश्य हेर्दै उभिँदा मान्छे जड हुन खोज्दो रहेछ । म यस्तै अवस्थामा त्यहाँ बारमा अडेस लागेर उभिएको थिएँ र मनभरि अनेक कुराहरू ओहोरदोहोर गरिरहेका थिए । भावनाहरू हुत्ताहुत्ती खेलिरहेका थिए । हठात् मेरा नयन जिउभरि खरानी घसेका एक जना बाबा, जो सर्वाङ्ग नाङ्गै जस्तै थिए सिवाय गुप्ताङ्ग ढाक्न मुस्किल हुने खालको लँगौटी लगाइएको थियो र त्यो पनि कपडाको होइन कुनै धातुको जस्तो लागिरहेको थियो ।
मैले निकै बेर उसलाई हेरिरहेँ । दारी सेतै फुलेका अनि कपाल लट्टा परेका थिए । केही वर्षअघि यहीँ पशुपति मन्दिर नजिकैको एक पाटीमा दुग्धहारी बाबालाई भेटेको थिएँ र उसमा केही अदृश्य अलौकिक शक्ति भएको आभास गरेको थिएँ । मलाई लाग्यो यो बाबामा पनि त्यस्तो केही हुनुपर्छ जुन हामीले बाहिरबाट हेर्दा देखिरहेका छैनौँ ।
मलाई साथीहरू भन्छन् “तँ अरूभन्दा फरक खालकी छेस् यार” अनि गुरुहरू पनि मेरो प्रश्न गराइ र उत्तर दिने शैली देखेर तिमीमा केही त्यस्तो क्षमता र गुण छ जुन अरूमा छैन भन्नुहुन्थ्यो । त्यसपछि मलाई पनि ममा केही विशेष छ कि जस्तो लाग्न थालेको थियो । अरूले नगरेको काम गर्न मलाई सारै मजा आउँथ्यो, जुन बानी कायमै छ । जस्तो कि साथीहरू पुस्तक सुरुबाट पढ्थे, म बिच र अन्तिम पृष्ठबाट पढ्न थाल्थेँ । अरू घोकेर कण्ठ पार्थे, म प्रयोग गरेर सिक्थेँ ।
अरूले असम्भव भनेका कुरालाई सम्भव तुल्याउँदा म हर्षातिरेकले फुलेल हुन्थेँ । संसारका भाषामाथि कब्जा जमाउन मन लाग्थ्यो । कसैले सङ्गत नगर्ने मान्छे र जीव-जनावरसँग हेलमेल गर्न हरदम उत्सुक र तयार हुन्थेँ । साथीहरू मार्फत थाहा पाएको र म आफैलाई पनि महसुस भएको थियो कि कैयौँ केटाहरू मेरा लागि मरिहत्ते गरिरहेछन् तर म सामु उभिएर सिधा प्रस्ताव राख्न असमर्थ छन् भन्ने कुरा । त्यही भएर होला अहिलेसम्म मेरो जीवनमा त्यस्तो कुनै केटा साथी आएको छैन जसले मलाई आकर्षण गर्न सकेको होस् ।
मेरो मन ती बाबाजीसँग बोल्न कुनै बहाना खोजिरहेको थियो । अनि म उनको छेउमा गएँ र केही फोटोहरू खिचेँ । उनले तथास्तु भन्ने भावले हात ठड्याए । त्यसपछि छेवैमा गएँ र सँगै बसेर सेल्फी खिच्न अनुमति मागेँ । उनी मुस्कुराए । उनको विगत र वर्तमानबारे बुझ्न मन लाग्यो । केही सोधेँ, प्रश्न भन्दा उत्तर छोटो ! झन् पो जिज्ञासा बढ्यो । म थाहै नपाई आकर्षित हुँदै गइरहेकी थिएँ एउटा जोगीप्रति । धेरैले जोगी, सन्न्यासी भनेर मगन्तेको रूपमा हेरे पनि मेरो भने पहिलेदेखि नै फरक जीवनशैली अपनाइरहेका यस्ता अचम्मका मान्छेहरूप्रति छुट्टै धारणा थियो, जो मलाई पाठशालाका सुरुवाती दिनहरूमा चित्र हेर्दै रटेको ऋ बाट ऋषि जस्ता लाग्थे । उनले खै के गरे ! कतै सम्मोहन त लगाएनन् ! म त प्रत्येक दिन बिहान उनको अखडामा धाउन थालेँ । कहिले धुनी जगाएर बसेका, कहिले खरानी घस्दै गरेका त कहिलेकाहीँ गाँजा भाङ भर्दै र तान्दै हुन्थे । मलाई देख्ने बित्तिकै इसाराले बोलाउँथेँ । यसरी रोमाञ्चक ढङ्गले हाम्रो परिचय भएको थियो ।
० ० ०
कोठामा पुगेपछि बाबाजीलाई सोफामा राखेर म नास्ता तयार गर्नतिर लागेँ । मेरो मनमा अनेकौँ कुराहरू ओहोरदोहोर गरिरहेका थिए व्यस्त सडकका पदयात्री झैँ । कहिलेकाहीँ यस्तो पनि सोच्थेँ, ती बाबाजीको मनमा चाहिँ के कुरा खेलिरहेको होला ! जे होस् म चाहिँ साँच्चिकै प्रफुल्ल थिएँ । जीवन र जगत् सम्बन्धी मेरा कैयौँ जिज्ञासाहरू शान्त पार्न पक्कै पनि यी अघोरी बाबा मेरा सामुन्ने आएका हुन् । यिनलाई थाहा नहुने केही छैन जस्तो लागिरहेको थियो मलाई ।
रात परिसकेको थियो र हामी दुईले खानपिन सकिसकेका थियौँ । म कुरा कहाँबाट सुरु गरौँ भनेर विषय गम्दै थिएँ भने ऊ चाहिँ गाँजा भरेर तान्न खोजिरहेको थियो । मैले त्यही प्रसङ्गबाट कुराकानीको थालनी गरेँ ।
“यो गाँजा नतान्दा के हुन्छ बाबाजी ? के छ यसमा त्यस्तो, जुन अरूमा छैन !”
उसले एक पटक लामो सर्को लियो र मुसुक्क मुस्कुराउँदै भन्यो – “यसमा के छैन ? सब थोक छ । तिमी पनि एक पटक तानिहेर त ! अनि चाल पाउँछ्यौ ।”
उसले बोलेको नेपाली भाषामा यस्तो मिठास थियो जुन सुन्दा ऊ झर्रो नेपाली जस्तो लाग्दथ्यो र त्यो बाहेकका उसका सबै चीज विदेशी लाग्थ्यो । मैले त्यस बारेमा पनि आफ्नो चासो प्रकट गरेँ । ऊ त नेपालका धेरैजसो भूभाग घुमिसकेको रहेछ ! त्यो पनि अहिले हो र ? म जन्मिनुअघि नै । स्वर्गद्वारी, मुक्तिनाथ, काली गण्डकीको सेरोफेरो, कालिन्चोक, वराहक्षेत्र, जटापोखरी, पाँचपोखरी, हिमालय क्षेत्र सबका सब खाइसकेको रहेछ । भारत, श्रीलङ्का, पाकिस्तान, तिब्बत, भुटान र बङ्गला देशका धेरै ठाउँको नाम लिँदै तत्तत् भूमिमा यति यति वर्ष बसेको भनेर बेलिबिस्तार लगाउँदा म त एउटा कोठा र कुवामा नै सीमित रहेछु जस्तो लाग्यो । उसको यायावरे जिन्दगीसँग लोभ लाग्यो । विश्वका धेरै भाषामा उसको पहुँच रहेछ तर कुनै देशको पनि नागरिकता लिएको रहेनछ ।
भन्थ्यो – “मलाई नागरिकताको के काम ! म त विश्व मानव हुँ ।”
उसको यस्तो कुरा सुन्दा मलाई झट्ट चे ग्वेभाराको याद आयो । एक समय यस्तो थियो म प्रायः जसो चे अङ्कित टिसर्ट लगाएर हिँड्न खुब रुचाउँथे । अहिले पनि लगाउँछु तर कहिलेकाहीँ मात्रै ।
मलाई त उसको बारेमा जान्नु थियो । वर्तमान त मेरै सामु उभिएको थियो । त्यसैले उसको विगत र आगतबारे बुझ्नु थियो । जीवन र जगत बारे अचेल अनेकौँ प्रवचन भइरहेका छन् र म केही प्रवचनमा सहभागी भएकी पनि छु । केही हो जस्तो लाग्छ र धेरै मिथ्या । तर तिनमा भन्दा यिनमा बढ्ता यथार्थ र वास्तविकता पाइएला भन्ने मेरो ठम्याइ भएकैले उहाँदेखिन् यस्ता संन्यस्त जीवनयापन गरिरहेका नाङ्गा बाबालाई आफ्नै कोठामा लिएर आएको छु । जहाँ हामी दुई सिवाय कोही छैनन् । र, म यो मौकाको भरमग्दुर फाइदा उठाउने सोचमा छु । उसको मनमा के छ कुन्नि !
० ० ०
मेरो जिज्ञासापछि उसले कुरा सुरुआत गर्यो, “गाई-बाख्रा चराउन दैनिक वन जानुपर्थ्यो । लाग्थ्यो, मेरो जिन्दगी यी गाईबस्तु चराउँदै जाने भयो । तर मैले त्यो निरन्तर एक प्रकारको दैनिकी तोड्ने निश्चय गरेँ । सदा झैँ त्यस दिन पनि गाई-बाख्रा हरियो घाँसमा मस्त चरिरहेका थिए । केही अघाएर उघ्राइरहेका थिए । त्यहाँदेखि पूर्व आधा घण्टा हिडें । मन उथलपुथल भइरहेको थियो । त्यहाँ बाघ वा कुनै जङ्गली जनावरले खाएर बाँकी रहेको केही आलो मासु र हाड खोर शेष थियो । मेरो दिमागमा तत्क्षण बत्ती बल्यो र मैले झटपट आफ्ना वस्त्र खोलेँ अनि त्यहीँ समीपमा च्यातच्युत पारेर फ्यालिदिएँ । त्यसपछि मेरो अनन्त यात्रा सुरु भयो, जुन अझै जारी छ । ”
म उसको कुरा सुनेर आश्चर्यमा परेँ र अगाडि अन्य यस्तै रहस्यमय घटना सुन्न आतुर भएको थिएँ ।
घत लाग्दा कुराहरू गर्दै ऊ ढल्कियो । “आज के सेवा गर्छ्यौ त बाबाको ?” भन्यो ।
मैले पनि “के गरौँ त ? तपाईँको के इच्छा छ ?” भनेर प्रतिप्रश्न गरेँ ।
ऊ अलौकिक मुस्कान फिँजाएर हाँस्यो कोठाभरि । मलाई त्यो निश्चल हाँसोले एक किसिमको सम्मोहन लगायो । अनायास हाम्रो गफको प्रसङ्ग यौनतर्फ मोडियो । उसको नाङ्गो रूप र गुप्ताङ्ग ढाक्न लगाइएको धातुवाल लकडीको बारेमा, उसको जीवनमा आएका प्रेम अनि यौनका बारेमा मैले जिज्ञासा राखेँ । उनले दिल खोलेर मलाई शान्त बनाउने कोसिस गरे । तर म अझ अशान्त र उत्सुक भइरहेको थिएँ । जीवन र जगतका बारेमा, सृष्टि र संहारका बारेमा गहन विश्लेषण गरे । म उसको फराकिलो ज्ञानको दायरा देखेर छक्क परेँ र लोभिएँ पनि ।
एकान्त रात ! मनमा अनेक कुराहरू खेलिरहेका थिए । मेरो जिज्ञासामा उसले आफू अहिलेसम्म कुमारै रहेको बताएपछि ममा कताकति यस्तै कुमार युवकलाई आफ्नो कुमारीत्व सुम्पने इच्छा जागेर आयो । तर अहिलेको जमानामा त्यस्तो सुकुमार युवक पाउन मुस्किल मात्रै होइन असम्भव छ भन्ने कुरा मलाई राम्रोसँग थाहा थियो र कुनै पनि हालतमा म बिटुलो लोग्ने मान्छेसँग पहिलो पटक बिटुलिन चाहन्नथेँ । म त अनायासै यिनै बाबाजीप्रति पो आकर्षित हुन थालिसकेछु ! मधुरो प्रकाशमा नियालेर उसलाई हेरेँ । न कुनै स्वार्थ, न कुनै रिस राग र छलकपट ! नाङ्गो ज्यानमा जाडो भयो कि भनेर मैले ब्ल्याङ्केट ल्याएर दिएँ तर उसले स्नान गर्ने चाहना राख्यो । मैले तौलिया, साबुन-स्याम्पु बाथरुम भित्रै छ भनेपछि ऊ नुहाउन गयो । यता मेरो मन निकै चञ्चल र उत्ताउलो भइरहेको थियो । उसले नुहाएको चियाएर हेर्न मन लाग्यो । टुलमाथि चढेर सानो स्पेसबाट हेरेँ । आज म किन यस्ती भइरहेकी छु भनेर आफैँ आश्चर्यमा परिरहेकी थिएँ ।
ऊ नुहाएर बाहिर निस्कँदा त यस्तो सुन्दर देखियो कि के भनूँ ! म त भुतुक्कै भएँ । मान्छेको बारेमा उसको भित्री कुराहरू बुझिसकेपछि र बानी ब्यहोरा मन परेपछि पहिलेभन्दा झन् बढी मन पर्दो रहेछ भनेर यही बेला प्रस्ट अनुभूत गरेँ । मैले मालिस गर्ने तेल ठिक पारिसकेकी थिएँ । उसलाई पलङमा सुत्न भनेर तेल लगाइदिन थालेँ । ऊ आनन्दले मस्तराम देखिन्थ्यो । कहिले आँखा चिम्लन्थ्यो त कहिले हेर्थ्यो । हेर्दा ममा पनि एक प्रकारको आनन्द र उन्माद पैदा हुन्थ्यो । सकेसम्म त उसले आफ्नो आवाज ननिकाल्न भरमग्दुर प्रयास गरेको प्रस्टै बुझ्थेँ म । मुख बन्द गर्न खोज्दाखोज्दै पनि उसले थाम्न सकेनछ क्यारे ! कर्णप्रिय स्वर नबुझिने खालको निस्कन थाल्यो । त्यो स्वरले त मलाई अझै गलायो । लतक्कै भएछु म थाहै नपाई ! बेहोसमा यस्तो के हुन पुग्यो, मैले कल्पनै नगरेको कुरा । मदहोसीपन अझ बढ्दै थियो । उसले त योग, ध्यान, तपस्या आदिको वलमा मनलाई वशमा राख्न सक्नुपर्ने त ! तर सकेन । यत्ति चाहिँ साँचो हो; निकै बेर सम्म उसले आफूलाई काबुमै राखिरहेको थियो ।
त्यसपछिका दिनमा हाम्रो संयोगले जुरेको सम्बन्ध सरल रेखामा अगाडि बढ्यो । मलाई ऊसँग बिहे गर्नु थिएन र उसलाई पनि मलाई अँगाल्नु थिएन । उसले सजिलोसँग त्यो ठाउँ छोड्न सक्थ्यो भने म पनि त्यसै गरी उसलाई त्याग्न सक्थेँ । त्यही भएर जटिल हुन नपाएको होला यो नसोचेको सम्बन्ध । तापनि मेरो मन उसलाई भेट्न चाहिरहन्थ्यो । उसलाई भेट्दा र उसका कुरा सुन्दा ममा छुट्टै आनन्द आउँथ्यो । त्यस्तो अरूमा हुन्न थ्यो । कहिल्यै नसोचेको कुरा मेरो जीवनमा घटित भएको थियो । सायद उसको जिन्दगीमा पनि ।



यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।

