फूलको पत्रबाट निस्किएर आफ्नै अस्तित्वको खोजी गर्दा कसैलाई ठेस लाग्छ भने त्यो शेषकान्तलाई थियो । समयको रेखामा जीवन उक्लिंदै गएपछि उसको मनमा यस्तो विचार आउन थालेको थियो- ‘जीवन भनेको संघर्षपूर्ण हुनुपर्दछ । त्यसका लागि, पुरुषले एक न एक दिन घर त छाड्नै पर्छ ।’ तर त्यो विचार सबैका लागि अनुकरणीय भए पनि उसैका लागि हुन सकिरहेको थिएन ।
ठूल्दाइले दशकअघि नै घर छाड्यो । विवाहपश्चात् मालदाइले पनि छाड्यो । तर, कान्छाको पालामा तगारोजस्तो लाग्यो । दाजुभाइ/दिदीबहिनी तथा इष्टमित्रले भन्न थाले, ‘कान्छाले आमाबुबा पाल्छ । अब कर्मशील दुलही भित्र्याउँछ । अनि, साक्षात् भगवानलाई सेवा गरेर बस्छ । कहाँ जाओस् र बरा ! खुजेली बुढाबुढीलाई छाडेर ?’
यो कुरा त मनासिब नै थियो । बुढ्यौली लागेर शक्तिहीन भएका पितामातालाई अकेलै घरमा छाडेर महिनौं/वर्षौं फुत्त कतै हिँड्न कुन दरसन्तानको मनले सजिलै मान्न सक्ला र ? यद्यपि, उसले बुबाआमालाई पाल्नुपर्ने जिम्मा लिएर बसेको भने थिएन । तर, जिम्मेवारी आँखै अगाडि आइपरेकाले उसले काँध हाल्नुपर्छ भन्ने चेतले अडिग भएको थियो । ऊ त घरको कान्छो छोरो ! दाजुहरूले जस्तो घर छाडेर फुत्त निस्कन पाएन । किनकि घर रित्तो हुन्थ्यो । समयको रेखामा शक्तिले भरिएका आफ्ना बाबुआमा पनि सुस्तरी शक्तिहीन हुँदै गए । रोगी बन्न पुगे । अन्ततः उसको काँधमा पारिवारिक जिम्मेवारी हठात् सबै आइलागे ।
यति हुँदाहुँदै पनि, कुनै व्यवस्था मिले शेषकान्त घर छाड्न त चाहन्थ्यो नै । यसकारण पनि कि, ऊ गाउँघरका आफ्ना साथीभाइजस्तै बाहिर कतै गएर कमाउन चाहन्थ्यो । साँच्चै भन्ने हो भने, ऊ त आजै, अहिल्यै चाहन्थ्यो घरबाहिर निस्कन । यसबारे ऊभित्र विचारको ऊहापोह महिनौंदेखि खैँचाखैँची गरिरहेको थिए । उसले पनि एउटा कलिलो सपना पालेको थियो जुन घर बाहिर निस्केर पूर्ण गर्न चाहन्थ्यो ।
एकदिनको कुरा हो । वर्षौं घरमै थेच्चिरहनु परेको पीडाले रन्थनिएर एक्कासि विस्फोट हुँदै उसले आफ्ना पिताउपर पुगेर अविरल सोध्यो- ‘सक्नुहुन्छ त बुबा घर व्यवस्था मिलाउन ? म कमाउन जान्छु बाहिरतिर । घर खर्च पठाउँछु । दाजुहरूको सबै इन्तजाम भैसक्यो; मेरो मात्र भएन यहाँ । नमुनेलाई भिजा पठाइदे भन्छु; तपाईंले जा भन्नुहुन्छ भने ।’
बाले हाँसेरै उत्तर फर्काउनु भयो- ‘तेरो भविष्य बन्छ भने जा न । म किन रोक्नु र ? उता आमालाई पनि सोधिहेर एकफेर, के भन्छे ।’
उसले आफ्नी आमातिर फर्केर पनि अनुमति माग्ने प्रयास गर्यो- ‘आमा, अब त म कमाउन बाहिर निस्कनु पर्ने भो । बिहे गर्न पनि पैसा जोहो गर्नुपर्ने भो । गाउँसमाज वा छरछिमेकले के भन्छन् भनेर बस्दा उन्यू पनि फुल्ने भो आमा । साथीभाइहरू सबै कमाउने भै सके । के भन्नुहुन्छ ? म जाँदा हुन्छ त ?’
आमा एक्छिन क्षितिजतिर विचरण गर्दै घोइरिनुभो र सुस्तरी भन्नुभयो- ‘नमुने पनि घरको हाल सम्झेरै पढाइ बिगारेर गई बरा । तैँले पनि क्याम्पस धाइनस् । घरमै बसेर सुकुनामा पढाइ पूरा गरेको भए हुन्थ्यो नि ।’ आमा यति भनेर भित्र पस्नुभो ।
शेषकान्तले आमाको मनसाय बुझिहाल्यो । त्यो ताका यसरी नै उसको यात्रामा ठेस लाग्न पुगेको थियो ।
‘विवाह होला, त्यसका लागि केही खर्चबर्च त जोहो गर्नै पर्ला । अर्काकी छोरीलाई ल्याउने बित्तिकै गरीबीको खाडलमा डुबाइहाल्नु त भएन नि । फेरि, बुबाआमा बुढाबुढी । कतिखेर के हुन्छ, कसले लख् काट्न सक्छ ?’- ऊ सोच्थ्यो घरघरी ।
डाँडा माथिका घाम भैसकेका आमाबुबा भने सोझा थिए । त्यो ४० वर्षको गाउँले जीवनमा उनीहरूले आजसम्म छरछिमेक र गाउँघरमा कुनै गलफती वा कैफती गरेनन् । ४० ताका भोजपुरबाट मोरङको रमाइलो झरेका उनीहरू आधा बिगाहा जमीन जोडेर त्यसैमा खोस्रिंदै पाँच दरसन्तानलाई हुर्काउन सफल भए । गाउँघरमा लगभग सबै परिवारले थप खेतबारी जोड्दा पनि उनीहरूको जति थियो सुरुताका, त्यो भन्दा ज्यादा थप्न पनि सकेनन् । उन्नतिको नाममा बरु पुरानो घर भत्काए, अनि नयाँ घर बनाए । अब त त्यो घर पनि पुरानो भै’सक्या थियो । टालटुल वा मर्मतसंहार गर्नलाई घरले टुलुटुलु हेरिरहेका थियो । यद्यपि, शेषकान्तले घरलाई पनि समय दिइरहेको थियो ।
बर्खा लाग्छ । खेतबारीमा धान रोप्यो । थोरैधेरै बाली भित्रायो । हिउँद लाग्छ मकै/गहुँ/तोरी छरछार गर्यो । फले भण्डारण गर्यो, नफले गाईवस्तुलाई घाँस बनायो । यही थियो चलन उसका बुबाबाट आफूले सिकेको । खेति किसानीमा कुनै नयाँ सोच थिएन; न नवीन सृजना भोलिका लागि नै थियो । यस्तो लाग्थ्यो- अभिनारायण खुजेलीले कान्छो छोरो शेषकान्तलाई यति नै ज्ञान दिन सकेको थियो बरा ! तर पनि, खै किन हो, शेषकान्तले पनि खेतीकिसानीमा दिलो ज्यान दिएर मन गरेको भने थिएन ।
त्यसो त ठूलो परिवार थियो पहिले । जम्मा ८ जनाको परिवार हुँदा त उनीहरूले गाउँका अन्य खेतबारी पनि अधियाँ गरेर कमाइ खान्थे । मनग्यै अन्न बाली भण्डारण गर्न सके त्यो ताका । कमी थिएन केही । तर, परिवारमा त्यो मिलन र खुशी सधैँ एकनासको नहुने रहेछ । उमेर भएपछि जेठोले आफैं पश्चिमबाट ठकुरी वंशकी दुलही भित्र्यायो । पछि बुहारीको रहरले गर्दा उसको पश्चिम महेन्द्रनगरतिर घरबास भयो । माइलोले तल्ला गाउँबाट अन्तरजातीय विवाह गर्यो र केही महिनामै राजधानी उक्लियो । एउटी छोरी सुनसरी हाँशपोसातिर पुगी भने अर्की छोरीले घरको हाल मनन गरेर आफैँ बुझेर हिँडी । फलस्वरूप, सबिना परदेशमा थिई ।
एउटा बृहत् परिवार यसरी नै चौतर्फी छरिएको थियो । को नै घर बसेको थियो र त्यहाँ ? शेषकान्त गाउँघरमा हेर्छ- बुढाबुढी र केटाकेटी मात्र देख्छ । कहिलेकाहीँ बडो नरमाइलो लाग्छ जब आफ्ना हितैषी साथीहरू कोही जागीरे बनेर खुशी हुँदै उल्लासका साथ गाउँघर फर्किन्छन् । कोही परदेशबाट धन कमाएर आउँछन् । कोही राजधानीबाट जीवनको मेलो बनाएर आउँछन् । कोही सीप सिकेर सिपालु भएर आउँछन् । सँगैका साथीहरूले गाडीघोडा किनेर चलाएर हिँड्दा उसको मनमा रहरले ढ्याङ्ग्रो ठोक्छ । र, त्यसै त्यसै उकुसमुकुस हुन्छ उसलाई । ‘एकदिन त म पनि कसो…!’ – ऊभित्र यस्तै विचारका ऊहापोहले बढ्दो गतिमा पौँठेजोरी गर्छन् । तसर्थ, यसपाला एक अठोटमा थियो ऊ – ‘यस विषयमा दाजुहरूसँग छलफल गर्छु ।’
चाडबाड आएपछि शेषकान्तलाई झन् गाह्रो हुन थाल्छ । थपिन्छ – आर्थिक र मनोवैज्ञानिक संकट । दाजुभाइ दिदीबहिनी, इष्टमित्र तथा कुलकुटुम्ब र छरछिमेकहरूले भन्ने एउटै वाक्य हो- ‘कान्छो, अब त विवाह गर्न अबेला भैसक्यो । बाबुआमाका लागि भए पनि एउटी दुलही भित्रा न ।’
नभन्दै दशैँ आयो । अष्टमीको दिन जेठो लक्ष्मीकान्तको परिवार आइपुगे । आमाबुबाले छोरा बुहारी र नाति नातिना देख्न पाउँदा मुहार भरिलो देखियो । बुढा बुबाले सोध्नुभो- ‘खै त माइलो उमेशकान्त ?’
बुबालाई लाग्दो रैछ, उनीहरू सबै एकै ठाउँमा बसेका छन् ।
‘अंकल त काठमाडौँ होइसिन्छ नि ।’- नातिले उत्तर फर्कायो ।
‘आजै आइपुग्छ होला माल्दाइ, बुबा ।’- शेषकान्तले बुबाको कानमा मुख जोडेर जोडले बोल्यो ।
तल्तिरै आमा बस्नुहुन्थ्यो । सुत्ने चोठो तलै थियो । घाँसदाउरा र घरधन्दा गर्न छाडेको छ/सात महिना भएको थियो । आँखा कम देख्नुहुन्थ्यो । अनुहार मुजामुजा परेर एकैठाउँमा सोरिएको थियो । ठूलो अनुहार ज्यान सुक्दै गएपछि खुचुक्क परेको देखिन्थ्यो शरीर पनि । पहिले पहिले जस्तो उनको जोश, जाँगर र रौनक कायम थिएन । मात्र दुई वर्ष पहिले छोराबुहारी आउँदा उनको रौनक नै अर्कै थियो । ठाउँ ठाउँमा हुन्थे सरसामान, तिउनताउन, ध्यु, दूध दही तथा अन्य मालताल । तर, यस पाली न दशैँ आएको पत्तो छ, न छोराबुहारी आएको । निश्चय नै आमा एउटै लयमा हराउनुहुन्थ्यो । शायद आउँथे होला मनमा विभिन्न तर्कना, सम्झना आदिआदि । र, आवाजरहित ओठ हल्लाउनुहुन्थ्यो एक सुरमा अनि शायद हराउनुहुन्थ्यो होला कता कता ।
शेषकान्तलाई यसैयसै अनौठो लागिरहेको थियो । ठूल्दाइसँग आएदेखि दोहोरो कुरा भएको थिएन । पहिले पहिले उसलाई निकै माया दर्शाउँथ्यो दाजुले । भन्थ्यो- ‘राम्रो पढ्, भाइ । तँलाई जति पनि पढाउँछु म । हामीले पढ्न नसके पनि तेरो सपना पूरा गराएरै छाड्छु ।’ तर, ठूल्दाइ य सपाली भाइ भनेर नजिक नआउँदा कान्छाको मनमा ठूलो पहिरो खसेको थियो । शेषकान्तले यो पनि अनुभव गरिरहेका थियो कि विवाहपश्चात् जेठो दाजु मबाट अलिअलि गर्दै टाढिरहेको छ, खै किन हो !
माइलो उमेशकान्त पनि साँझमा ललाटका पसिना पुछ्दै टुप्लुक्क आइपुग्यो । उसका परिवार तल्तिर माइतैतिरै गएको जानकारी गरायो । बुबाआमासँग छोटो भेट गर्यो माइलाले । र भन्यो, ‘म एकछिनमा आउँछु । म गए अहिले तल्तिरै ।’
चाडबाड अवधिभर खाना भाउजूले ठस्ठस् गर्दै भए पनि पकाइन् । भाउजूले रिसाउँदै थपिन्, ‘भनेकै त हो नि, बुहारी भित्राम भनेर । अहिले बुहारी भएको भए मैले भान्सा पस्नै पर्दैनथ्यो ।’ शेषकान्त सुनिरहन्छ भाउजूका कुरा ।
‘अनि आमा यतै आइसिन्छ कि उतै खाना पुर्याइसिन्छ, बाबु ?’ एक क्षणपछि पुनः सोध्छिन्, ‘यतै आएर खपाखप खाइदिए कति निको हुन्थ्यो । खालि दुःख दिन जान्या छ यो उमेरमा पनि ।’ शेषकान्त भाउजूको मुखमा पुलुक्क हेर्छ । र, थाल र पानी बोकेर आमालाई पुराउँछ ।
‘यो एक ग्लास दूध खाऊ बाबु । यो पानी नथपेको शुद्ध दूध हो क्या ।’- छोरोलाई ढिपी कस्छन् उनी ।
खाना खाइसकेर माइलो आइपुग्छ । र, तीनै जना दाजुभाइ तल दलिनमा जोडिन्छन् । आमाबुबा छेवैमा छन् । माइलोले नै कुराको पोयो खोल्छ । ‘तँलाई बिहे गर्ने पैसा छैन भने हामी हालिदिउँला नि त कान्छा । बिहे चैँ गरिहाल्नु पर्ने भयो । बुहारी भएपछि तँलाई पनि यति धेरै दुःख हुँदैन; अनि आमाबुबा पनि अलि स्याहारिनु हुन्छ ।’ शेषकान्तको मनमनै हर्ष भरिएर आए र उसले बिस्तारै पोखायो त्यो रौनक अनुहारतिर । अलि उज्यालो देखिँदै गयो शेषकान्त- वसन्तको फूलबारीजस्तै । दाजुको कुरो दिलचस्पी लागेर जुरुक्क उठेर गमक्क पर्यो । बिस्तारै भतिजोलाई हर्दै आङ तान्न थाल्यो । अनि ऊतिरै हेर्दै हठात् बोल्यो- ‘चकचक नगर भन्या धेरै, यता आइज ।’
‘तैँले पनि आधा हाल्दे । म पनि आधा हाल्दिन्छु । उता नमुने पनि थप्ली अलिकति त ।’ – माइलोले ठूल्दाइउपर आशावादी भावमा बोल्यो । यो कुरा सुनेर भाउजू दाजुतिर आँखा तरेर बत्तिएर भान्सातिर पसिन् ।
भाउजूले आनकानी गरेता पनि पारिवारिक सहयोगमै त्यो सालको माघमै शेषकान्तको विवाह सम्पन्न भयो । तीन दशक उमेर पार गरेर शेषकान्तले माघको जाडो महिनामा साधारण विवाह गर्यो । दिदीकै सहयोगमा हाँशपोसातिरकी साधारण परिवारकी बधूसँग सम्बन्ध गाँसियो । विवाहमा टाढाबाट दाजुहरू पनि आए र गए । परदेशमा भएकी बहिनी चैँ आउन पाइन । हाँशपोसातिरकी दिदी आई र घरमा बुहारी भित्र्याउन पाउँदा औधी खुशी भई ।
० ० ०
विवाहपश्चात्……….!
गाउँलेहरू, इष्टमित्र तथा नातागोता सबै चकित भए । घर छाड्ने सोच बनाएको शेषकान्तले एकाएक घर नछाड्ने निर्णय गर्यो । अब त उसले एकैछिन पनि घर छाड्न चाहेन । परदेशमा रहेकी बहिनी आमाबुबाको सुखायपनको कल्पनामा चकित हुँदै खुशी भई । उता दिदी पनि भाइको बदलिएको सोचले गमक्क परी । घरदेखि टाढा भएका अन्य दाजुहरूलाई पनि आमाबुबाको चिन्ताले बारम्बार पिरोलिरहनु परेन ।
गाउँघरमा गाँइगुइँ चल्यो- ‘शेषकान्तको विवाहपश्चात् सोच बदलिएछ ।’ गाउँमा यो हल्ला सुनेको शेषकान्तले एक बिहानै गहिरिएर सोच्यो- ‘खासमा मेरो सोच पहिले चैँ बदलिएको थियो कि अहिले ?’ यसमा उसले केही निर्णय लिन सकेन ।



यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।
१२ कार्तिक २०८२, बुधबार 










