
धेरै कुरा गरेर बा मामुले नेपालबाट स्वीकृति दिएपछि मात्र ब्रायनले मैले त बटरलाई घरमा नै ल्याइसकेको छु नि भनेर भनेछन् ।
मेरो नाम बटर स्कच हो । म करिब तिन महिनाको हुँदा नै यस भर्जिनियाको उडब्रिज घरमा आइपुगेको हुँ । आइपुगेको के भन्ने र ? मलाई ब्रायन दाइ र उनको साथी शर्लिन दिदीले ह्यारिसन बर्ग, भर्जिनियास्थित उनकै कलेज जेम्स म्याडिसन विश्व विद्यालय नजिक रहेको “पेट स्टोर” पसलबाट खरिद गरेर लिएर आएका हुन् ।
म सानै भएकोले दुई घन्टाको गाडीको बाटो भएर यस घरमा आइपुग्न मलाई साह्रै गाह्रो लागेको थियो । मलाई बेचिन राखेको पसलमा भन्दा यस घरमा आएपछि फराकिलो ठाउँ, खुल्ला र धेरै माया गरेको मलाई अनुभव भएकोछ । यस घरमा म पहिला आउँदा ब्रायन दाइ मात्र थियो । तर दुई महिनापछि नेपालबाट उनको आमा र बुबा आइपुगे । थाहा भो आफू जन्मेको देश नेपालमा परिवार भेट्न गएर करिब चार महिनापछि मात्र अमेरिका फर्केका रे । सगरमाथाको देश । सुन्दर देश । कुरा गर्छन् । जान पाए पनि हुन्छ जस्तो लाग्छ । खै, भाग्यमा के लेखेको छ । हाम्रो जातकाले प्राय: विदेश भ्रमण गर्ने गरेका छैनन् रे । शायद भिसाको समस्या हो कि भन्छु ?
घरमा बाबा र मामु आएपछि त मलाई घरको रौनक नै पुरै बदलिएको जस्तो लाग्छ । पहिला त ब्रायन दादाको दिनभर काममा लाग्ने । म एक्लै बसिरहनु पर्ने या सुत्नु पर्ने । हप्ताको शनिबार या आइतबार मात्र बाहिर घुम्न जान पाउने । कहिले त दादा बाहिर जाँदा त दिनभर र राति अबेरसम्म पनि एक्लै धुमधुम्ती बस्नु पर्दा कस्तो नरमाइलो लागेर आउने ।
जब नेपालबाट बाबा र मामु आएपछि त मेरो खुशीको ठेगाना नै छैन । जति बेला मन लाग्छ बाहिर घुम्न जाने भने पछि मलाई नाईं गर्दैनन् । डग पार्क होस् या नेबिस्को ब्रोड वाक होस् या त स्टोन ब्रिज नै किन नहोस् । हप्ताको दुई या तिन दिन बाहिर घुम्न जान पाउँछु । स्टोन ब्रिजको पेट स्मार्ट दोकान धेरै जसो गइरहेकै हुन्छु । हाम्रो लागि खाना, नाना र खेलौना कति कति । खेल्ने ठाउँ छ । मलाई मन परेका खेलौना पनि किनिदिन्छन् ।
मेरो डाक्टरको क्लिनिक पनि नजिकै नै पर्छ । बेला बेलामा जानुपर्छ । एनिमल हस्पिटलमा दुई महिनाको एक पटक जान्छु । केश काट्ने । नुहाइ धुवाइ गरिदिने । मलाई त धेरै आनन्द लाग्छ । अरु अरु त कति झगडा गर्छन् । ठुला ठुलो स्वरले कराउँछ । खै, मलाई त त्यस्तो गर्न पनि आउँदैन । मलाई त सफा गरेको देखेर आनन्द लाग्छ । केश काट्ने र नुहाएपछि मिठो मिठो ट्रीट दिँदा त मेरो खुसीको सीमा नै हुँदैन ।
बाहिर जाँदा ठुला ठुला ट्रक या आवाजदेखि अहिले पनि तर्सने गर्छु । अरु ठुला साना कुकुरदेखि खेल्न मन पराउँछु । कोही तर्सन्छ । पर पर भाग्छन् तर म सबैसँग मिलेर खेल्न जाने गर्छु । ठुलो कुकुर देखेर डर चैँ लाग्छ तर साथी बनाएपछि खेल्न सकिन्छ । मोटर साइकलको आवाजले मलाई बाहिर जाँदा सबै भन्दा तर्साउने गर्छ । किन हो थाहा छैन, ठुला ठुलो आवाजसँग मलाई डर अझै पनि लाग्ने गर्छ । बानी नपरेर हो कि अलिपछि उमेर बढ्दै गएपछि बुझ्दै जान थालेपछि सबै ठिक हुन्छ कि थाहा छैन ।
मेरो नश्ल कावाचन हो । म गत डिसेम्बरको महिनादेखि एक वर्ष पुरा भएँ । १८ इन्ची लम्बाइ र १३ इन्ची जतिको मेरो उचाइ । अब म पूर्ण कदको भइसकेको छु । हाम्रो कुकुरको जातिमा हामी पूर्ण कदको हुनको लागि एक वर्ष नै काफी हुन्छ रे । हाम्रो आयु पनि करिब बाह्रदेखि पन्ध्र वर्षसम्मको मात्र हुन्छ भन्छन् । किन त्यति छोटो हो खै मैले त बुझ्नै सकेको छैन । हुन त म एक वर्षको मात्र पनि त भएँ । पछिपछि बुझ्दै जान्छु होला कि ।
अँ म भन्दै थिएँ नि मेरो नश्लको बारेमा । मेरो कावाचन(Cavachon) नश्ल कभलियेर किङ्ग चार्ल्स स्पानेल ( Cavalier king charles spaniel ) र बिकन फ्रईज ( Bichon Frise) को मिसावट रे । यो मेरो नश्लको खुबी चैँ हामीमा बुद्धिमता, धेरै बफादार, सबैसँग घुलमिल गर्न मन पराउने क्षमता र इमान्दारिता त मैले भन्नै परेन, हुन्छन् रे । घरका सबैले मलाई मन पराएको देखेर मलाई लाग्छ ती सबै राम्रा गुण ममा छन् जस्तो लाग्छ ।
हाम्रो छिमेकीहरुको धेरै जसोको घरमा मजस्तै साना अनि ठुला कुकुर धेरै नै छन् । विभिन्न जात अनि थरिथरिका भए तापनि म समानको चैँ प्राय: बाहिर डुल्दा धेरै नै देख्ने गर्छु । कोही मलाई देख्ने बित्तिकै भुक्ने गर्छन् तर मलाई किन किन त्यसो गर्न मन पर्दैन । हो पर पर हुँदा बोलाउने गर्छु । कराउने गर्छु । तर नजिक भएपछि खेल्नको लागि साथी बनाउन खुब मन लाग्छ मलाई ।
हुन त मलाई यस घरमा ल्याउने ब्रायन दादालाई आफू पाँच वर्षको हुँदादेखि नै घर पालुवा जन्तु राख्न खुब मन पर्थ्यो रे । हरेक उनको जन्म दिनमा बुबा आमासँग सानो कुकुर किनिदिन साह्रै जोड गर्दथ्यो रे । तर हरेक वर्ष उनका माता पिताले स्याहार सुसार मात्र होइन, धेरै खर्चालु हुने कारण देखाएर अर्को वर्ष अर्को वर्ष भन्ने गर्थे रे । घर पालुवा कुकुर पालनको लागि उनले दश वर्षमा आफैँ कम्प्युटरमा चुवावा जातको सानो कुकुर पाल्ने भनेर खुब जिद्दी गर्ने गर्थे रे । उनका माता पिताले ब्रायनको जिद्दी साह्रै गरेकोले कुकुर त होइन, मुसा जातको जर्वल किनिदिएछन् । त्यो मन नपरेपछि माछाको एक्वारियम किनिदिए छन् । त्यो पनि ब्रायनलाई मन नपरेपछि बिरालो पालेछन् । तर ब्रायनलाई कुनैले पनि सन्तुष्ट पार्न सकेनछन् ।
ब्रायन कुकुर नै पाल्ने जिद्दी गर्दथ्यो । तर उनको माता पिता स्याहार गर्नको लागि समय पनि नहुने र यथेष्ट पैसा पनि खर्च गर्न नसकिने कारणले अर्को वर्ष भन्दै टार्दै गएछन् । ब्रायन पनि कस्तो जिद्दी भने उनका बुबा आमा आफ्नो देश नेपाल गएको बेलामा खुरुक्क मलाई किनेर घर लिएर आएछन् । मलाई घरमा ल्याएपछि उनलाई खुब डर लाग्यो रे । अब उनको बुबा आमाले मन पराएन भने ? घरमा राख्न दिएन भने ? घर सल्लाह गर्नु पर्दैन भनेर रिसायो भने ? के गर्ने । यी सबै प्रश्नले उनलाई धेरै दिनसम्म दिग्दार बनाएछ ।
त्यसपछि उनले उनको दाइ बबिनसँग सल्लाह मागेछन् । उनको दाइ बबिनको सल्लाहमा मेरो फोटो खिचेर नेपालमा पठाएछन् । कस्तो छ ? कस्तो लाग्यो भनेर सोधेछन् । फोटोमा मलाई उनको बुबा आमाले राम्रो सुन्दर भनेर लेखेर पठाएछन् । ब्रायनले उनको बुबा आमालाई मनाउनको लागि तपाईंहर लाई छोरी ल्याइदिएको छु । मेरो बहिनी हो पनि भनेछन् । धेरै कुरा गरेर बा मामुले नेपालबाट स्वीकृति दिएपछि मात्र ब्रायनले मैले त बटरलाई घरमा नै ल्याइसकेको छु नि भनेर भनेछन् ।
ब्रायन दादाको घरमा हजुर बुबाको पालादेखि नै कुनै पाल्तु जनावर कसैले पनि अहिलेसम्म पनि पालेका रहेनछन् । त्यसैले पाल्तु जनावर घरमा पाल्नुको फाइदा बारेमा कसैलाई थाहा नहुनु स्वाभाविक नै पनि हो । ब्रायन दादाको आमा र बाबाले पाल्तु जनावर अमेरिकामा पाल्नु समय र आर्थिक कारण नै मुख्यत: भन्दै आए पनि वास्तवमा पाल्तु जनावर पाल्नु मन नपरेर हो भन्ने मलाई थाहा छ । हामीले घरमा फोहोर गर्छाैं । शान्ति खल्बल्याउँछाैँ । अनि हल्ला पनि धेरै गर्छाैं भनेर धेरैले मन नपराए जसरी ब्रायन दादाको मामु बाबाले पनि हामीलाई पहिले नै मन नपराएको होला । मलाई त्यस्तै लाग्छ । तर हाम्रो व्यवहार र सहयोग त हामीसँग व्यवहार र सङ्गत गरे पछि मात्र त थाहा पाइन्छ नि होइन र ?
तर मलाई थाहा छैन हामीलाई मान्छेले किन मन पराउँदैनन् होला ? हाम्रो र मान्छेसँगको सम्बन्ध त करिब नौ हजार वर्ष पुरानो भैसकेको छ नि । सिकारी युगमा अन्य जङ्गली वन्य जन्तुसँगको सुरक्षा र अग्रिम सूचना तथा जानकारी दिनको लागि मान्छेले हामीलाई प्रयोग गर्दै आएको नै हो । मान्छेले जब खेतीपाती किसानी गरेर घरजम गर्न थाले त्यसपछि त हामीलाई पाल्तु जनावरको रुपमा प्रयोग गरेर नाली बालीको सुरक्षा र हेरविचारको जिम्मा हामीले नै गर्दै आएका नै त हौँ नि । यी कुरा त बिबिसीले खबरमा पनि लेखेकै हुन् । उनले त्यसमा अझ थप लेखेका छन् कि एउटा अनुसन्धानमा कुकुरको डीएनए परिक्षणबाट यो तथ्य पत्ता लागेको हो कि एसिया र युरोपमा करिब नौ हजार वर्षदेखि कुकुर मानिससँग रहँदै आएको देखिएको पाइएको छ ।
फ्रान्सको रेन विश्वविद्यालयका डा. मोर्गें ओलिभियाले भनेका छन्, “युरोप भर मान्छेका बसाइँ सराइका बेला कुकुर मानिसका साथ लागेको देखिन्छ ।” यो त्यस समयको कुरा हो जुन बेला मानिस शिकारु युगमा थिए होलान् ।
हिन्दु धर्ममा तिहारको दोश्रो दिनमा हाम्रो पूजा गरिन्छ । त्यस दिन हामीलाई हिन्दु संस्कृतिअनुसार पूजा गरी मिठो मिठो खानेकुरा खुवाउने चलन नै छ । हामीलाई हिन्दु धर्ममा यमराजको दूत मात्र होइन, भैरवको वाहनको रुपमा पनि लिइने गरिन्छ । मानिस र कुकुरको सम्बन्ध त महाभारत कालमा अझ प्रगाढ भएको विश्वास गरिन्छ । महाभारतको सत्यवादी युधिष्ठिर स्वर्ग लोक जाने बेलामा हाम्रो जातको एक जनालाई पनि लिएर गएका रहेछन् । स्वर्गको द्वारपालेले युधिष्ठिरलाई भन्दा पहिला हाम्रो जातकोलाई स्वर्गको ढोका खोलिदिएका थिए रे ।
किन भन्दा त महाभारत युद्धमा सत्यवादी युधिष्ठिरले, “नरो वा कुञ्जर वा अश्वस्थामा हतोहत“ भनेर जीवनमा एकचोटि झुट बोलेका थिए रे । त्यसैले ऊ हाम्रो जातको भन्दापछि स्वर्ग देख्न पाएका थिए रे ।
हाम्रो महिमा त अझ कति छ कति । नेपालको पहाडी भेगमा भेडी गोठालाको काम, बालीनाली सुरक्षाको काम सबै हामीले मानिसका पुर्खादेखि नै गर्दै आएका छौँ । त्यसैले हामीलाई सबै मानिसले हामीलाई घृणा होइन माया दिनुपर्छ भन्ने मलाई लाग्दछ ।
अझ हाम्रो तीक्ष्ण बुद्धि र बफादारको कदर गर्दै मान्छेले हामीलाई ठुला ठुला अपराधका घटनाको छानबिन गर्न र समस्या निराकरण गर्नको लागि हामीलाई ठुलो ठुलो ओहदामा राखेर नियुक्ति नै दिएका छन् । सन् १९५७ सालमा मानिसले हामीलाई विश्वास गरेर सोभियत रुसले अन्तरिक्षमा लाइका नामक कुकुरलाई पठाएका पनि थिए ।
यी सबै व्यहोराले के मानिससँग हाम्रो सम्बन्ध कति बलियो, मजबुत र सौहार्द थियो र छ भन्ने जनाउँदैन र ? हिन्दु संस्कृतिले हामीलाई माने पनि मान्छेले हामीलाई अझ किन हेय दृष्टिले हेर्छन् र दुत्कार्छ मलाई थाहा छैन । तर मानव जातिले हाम्रो सम्बन्धको बारेमा शङ्का, उपशङ्का र घृणा गर्नु पर्ने कुनै कारण म भने देख्दिनँ ।
वास्तवमा पाल्तु जनावर घरमा पालेपछि मात्र त्यसको व्यवहार र अनुभवले ऊप्रतिको आफ्नो धारणा बन्ने गर्दछ । व्यवहार र सङ्गतले मात्र के कस्तो छ भन्ने थाहा हुन्छ । नत्र त सबैलाई मन पर्दैन होला नि । हाम्रो बा र मामुलाई पनि त पहिले त मन पर्दैनथ्यो म । मलाई पनि धेरै जसो ब्रायन दादाले नै हेर विचार गर्ने गर्दथे । तर अहिले त मेरो सङ्गत र व्यवहारले र मायाले त होला बाबा र मामु त मलाई एकछिन पनि छोड्न चाहँदैनन् ।
बिहान सबेरै बाबाले मलाई हाम्रो घर कै वरिपरि घुमाउन लानुहुन्छ । फर्केपछि प्रायः ब्रायन दाइको अनि मामुको कोठामा गएर ढोका अगाडि बसेर मेरो पुच्छरले धोका ढकढकाएर बिउँझाउने गर्छु । प्रायः सबैलाई “गुड मर्निङ्ग” भनेपछि मात्र मेरो बिहानीको खाजा खाने गर्छु । घरको कोही बाहिर निस्कँदा या नफर्किएसम्म मूल ढोका मै बसेर पर्खिरहेने मेरो बानी छ । घर आगाडि कोही आएको थाहा पाउने बित्तिकै सबैलाई म खबरदारी पनि गर्ने गर्छु । विशेषत: बेलुकीको समयमा घरमा मलाई एक्लै छोडेर जाँदा त ज्यादै नै अत्यास लाग्छ । त्यसैले कोही घरमा नफर्किएसम्म मूल ढोकामा नै बसेर पर्खिरहेको हुन्छु । घरमा कोही नभए पछि त मलाई एक्लै हुँदा रुन धेरै आउँछ ।
मलाई बाहिर घुम्न, खेल्न र नुहाउन पनि धेरै मन पर्छ । धेरै जसो जनावरको अस्पताल ( Animal Hospital) मा केश काट्ने र नुहाई धुवाई गर्ने गरे पनि घरमा मामुले नुहाई दिएको मलाई धेरै मन पर्छ । मामुले नुहाउँदा विभिन्न थरिका साबुन लाइदिएको र मेरो केश मेसिनले सुकाइदिँदा त मलाई धेरै नै मज्जा लाग्छ ।
तर म अलिकति जिद्धिवाला छु । बाबा आफ्नो अफिस कोठामा बसेर कम्पुटरमा काम गरिरहँदा म बाबाको अफिस कोठाको मेचमा बस्ने गर्छु । धेरै बेर एक्लै मेचमा बसिरहन मलाई दिक्क लाग्न थाल्छ । अनि बाहिर जान जिद्दी गर्न थाल्छु । अनि बाबा कहिलेकाहीँ धेरै रिसाउनु हुन्छ र मलाई अफिस कोठा बाट गाली गरेर निकाल्नु हुन्छ । त्यस बेला मलाई धेरै दुख लाग्छ अनि बाहिर मूल ढोकामा बसेर बिरक्तिन थाल्छु । म धेरै भावुक पनि छु । मलाई एक्लै छोडेर जाँदा म प्रायः रुने गर्छु । मुमाले मेरो आँखा सफा गर्दै ‘रुञ्चि” पनि भन्ने गर्नुहुन्छ ।
सुत्नको लागि मेरो आफ्नै सानो काठको बाकसजस्तो कोठा छ । जुन बैठक कोठासँगै छ ।
मेरो अर्को एउटा बानी पनि छ । त्यो हो सुत्न जानुअघि बाबा र मुमाको कोठामा एकछिन भए पनि गएर बस्नै पर्छ । नत्र म कराएर सबैलाई हैरान नै पारिदिन्छु । धेरै करायो भनेर मलाई घाँटीमा लाउने भुक्न रोक्ने मेसिन ( Barking prevention machine) ल्याएको छ । त्यो कलर मेरो घाँटीमा लाएपछि मैले कराएमा त्यो सानो मेसिनले टिनिनि घन्टी बज्ने गर्छ । त्यो आवाजले गर्दा फेरि म कराउन नै सक्दिनँ । त्यसैले म चुप नलागी धरै छैन ।
म बटर स्कचको राम कहानी यही हो ।
भर्जिनिया, अमेरिका
यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।


र यो पनि पढ्नुहोस्...
