हस्पिटलको प्रतीक्षा कक्षमा बसेको छु म अहिले।
यो पर्खेर बस्नु पर्ने समय पनि बडो नरमाइलो हुन्छ।पट्टाइ लाग्दो। उकुसमुकुस हुन्छ। त्यस्तै भएर बसेको प्रायः एक घण्टा भयो।
सहरको यो हस्पिटल निकै नाम चलेको। सधैँ भिडभाड हुन्छ।खुब सजाएर यो प्रतीक्षा कक्ष बनाइएको छ। भित्तामा टेलिभिजनको ठुलो स्क्रिन छ। त्यहाँ विभिन्न जानकारीमूलक च्यानलहरू लो साउन्डको भोलुममा चलिरहन्छ। आफ्नो पेसेन्टलाई भेट्नु, विवरण लिनु, डाक्टरलाई भेट्नु अनि रिसिभसनमा लेखाइएको बिमारीको नाम सुन्न यहाँ सबै चनाखो बसेका हुन्छन् ।
म आज श्रीमतीको रिपोर्ट लिएर डा.दासलाई भेट्नु आएको छु।पेट सम्बन्धी केही स्क्यान टेस्ट गरिए पछि रिपोर्ट लिएर आउने डा.दासको निर्देशनले नै म आज यहाँ छु। आउने बित्तिकै रिसिभसनको कुनापट्टि बसेकी एक नर्सले मेरो श्रीमतीको नाम लेखिन अनि पर वेटिङ रुममा गएर बस्ने निवेदन गरिन्।
त्यसपछि म यहाँ बसेको एक घण्टा बित्यो।
छेउमा बसेका एक अनेपाली मान्छेसँग गफ पनि सकियो। उसलाई छोराले लिएर आएको रहिछ। धेरै बिमार तर मुख चैँ ट्याउँट्याउँ रहेछन्। ऊ किड्नीको उपचारको निम्ति यहाँ आएका रहेछन्। डाक्टरको पर्खाइमा बस्दा उनी छ पल्ट टोइलेट गइसकेको मलाई याद छ। मेरो बारे पनि सबै सोधे ती अनेपाली मान्छेले। रिपोर्ट देखाएर गइहाल्छु भनिदिएँ।
तर डा.दास च्यामबरमा आएका छैनन् अहिलेसम्म। बिमारीको भिजिट सकेर आउँछन् रे। खासखुस सुनियो। ठिकै छ। रिपोर्ट देखाउन त बढी समय लाग्दैन।
यही सोचेर पर्खेर बसेँ म पनि।
अहिले मान्छेको घुइँचो अझै बढ्यो यहाँ। रात्रि सत्रको नर्सहरूको सिफ्ट भएकोले होला कोही आउने कोही जानेको निकै भिड देखियो।
टिभी स्क्रिनमा डिस्कभरि च्यानलले बाँदर माथि बनाएको वृत्तचित्र हामी सबैले खुब ध्यान लगाएर हेरिरहेका थियौँ।
अचानक मेरो श्रीमतीको नाम बोलाइयो।
इमर्जेन्सी! पनि भन्यो।
म रिपोर्टको फायल बोकेर कुदे।
पेसेन्टको नाम ?- रिसिभसनमा मलाई सोधियो।
मैले झट्ट श्रीमतीको नाम भनिदिएँ। अहिले यहाँ सबै नयाँ स्टाफहरू थिए।अघि नाम लेखाउँदा देखिएको कोही थिएनन्।
त्यसपछि एउटी नर्सले मलाई लिएर अर्को चेम्बर लगिन्।
त्यहाँ पनि नाम सोधे। मेरो हातमा झुन्डिएको फायल निकाल्न मलाई जरुरी लागेन किन कि त्यहाँ मैले डा.दास देखिन। मैले केही भन्नअघि एक नर्सले एउटा फाइल अघि सार्दै मलाई भनिन् – यहाँ साइन गर्नुहोस्!
हतार यति बिघ्न थियो मैले केही नसोधी नर्सले देखाएको ठाउँ भटाभट साइन गरिदिएँ।तर जाबो एउटा रिपोर्ट देखाउन किन यति हस्ताक्षर ?
मैले बिस्तारै नर्सलाई सोधेँ – यो साइन किन सिस्टर ?
हेर्नु होस् ! बेबीको मुभ बेसी छ ! बिपी पनि डाउन छ। डाक्टरले भन्दै छन् इमिडेट अपरेसन गर्नु पर्छ। सिजर ! तपाईं बाहिर बस्दै गर्नुहोस्!!
म अवाक् भएँ ! म बाहिर निस्किएँ चेम्बरबाट।
सबै आ-आफ्नो भाकामा सबै व्यस्त छन् यहाँ। भाग दौड उस्तै ।तर मैले केही बुझिरहेको छैन। यो के भइरहेछ। मेरो दिमाग घुम्दै छ। म अघि बसेको बेटिङ रुमको चियर खाली रहेछ। त्यही गएर म बसेँ। छेउको चियर पनि खाली रहेछ। ती अघिका अनेपाली बुढाको ट्रन आएछ क्यार! छैनन् अहिले। म बसे पछि मेरो छेउको खाली चियरमा एक मोटी महिला आएर बसिन्। उनी फोन कलमा व्यस्त थिइन्। मोबाइलमा बात गरेकोले मलाई थाहा भयो उनी नेपाली रहिछन्। फोनमा बात गर्ने क्रममा मैले बुझेँ उसलाई कसैको प्रतीक्षा थियो। फोन कलमा एयरपोर्टको प्रसङ्ग हुँदै थियो। मैले बुझेँ कोही आउँदै छन् उहाँको आफन्त। हेर्दा निकै हुनेखाने देखिने ती महिला निकै चिन्तित देखेँ मैले। वास्तवमा यो अस्पतालमा जति मान्छे आउँछन् सबै चिन्तित नै देखिन्छन्। यो जग्गा नै यस्तै हो।
फोन मै बात गर्दै उठेर बाहिरतिर गइन् ती महिला। मेरो ध्यान एकक्षण ती महिलाले लगिन्। ऊ गए पछि फेरी म मेरो सोचमा परेँ। यो के भइरहेछ ?
भिड उस्तै थियो। चारैतिर हेर्छु आज यहाँ मेरो चिनजान कोही देख्दिनँ।
प्रायः पन्ध्र मिनट भयो म यहाँ बसेको। बिलकुल मौन।
कुनै आवश्यकता त थिएन तर गोजीको मोबाइल निकालेर हेरेँ। श्रीमतीको चार पाँच वटा मिस कल देखेँ। तर कसैलाई कल गर्न मन लागेको छैन। मोबाइल साइलेन्टमा थियो मेरो। त्यति कै फेरि गोजीमा हालेँ।पर देखेँ अघिका ती अनेपाली बुढा आउँदै गरेको। उसले मलाई देखे। मेरो छेउ आए। डा.दास आज भित्रको चेम्बरमा बसेको र उसका पेसेन्ट सबै त्यहाँ बाहिर नै बसेको जानकारी ती बुढाले दिए मलाई। यसरी यहाँ बसे त दिन निस्किने सल्लाह दिएर ती बुढा बिस्तारै बाहिरतिर गए।
मैले केही सोच्न सकिरहेको छैन।
म पनि ती बुढा मान्छेले भनेको तिर फायल लिएर गएँ। रिसिभशन देखि दाहिने पट्टि परतिरको चेम्बर अगाडि तीन-चार मानिसहरू बसेको देखेँ। अघि मलाई एउटा नर्सले यहाँबाट देब्रे तिर लगेको थिई अहिले म त्यो चेम्बरतिर दाहिने तर्फ गएँ। डा.दास आज यहाँ बसेको जानकारी मलाई आफ्नो पालो पर्खेर बसेको यी मानिसहरूबाट निश्चित भयो। चेम्बरको दैलोको छेउमा टेबलमा एक युवती बसेको देखेँ। ती पालो पर्खेर बसेको एक नेपाली सज्जनले त्यो बहिनीलाई गएर सोध्ने सल्लाह दिए। डा.दासलाई यो रिपोर्ट देखाउनु पर्ने मैले ती युवतीलाई निवेदन टक्राए। उसले मेरो पेसेनटको नाम सोधिन्!
बिना छेत्री !- मैले भनेँ।
यो नामको पालो त अघि नै रहेको बताउँदै, “कहाँ हुनुहुन्थ्यो ?” भन्दै ती स्टाफ बहिनीले मलाई हेरिन्।म मुसुक्क हाँसे मात्र। “अब यो पेसेन्ट निस्केपछि तपाईं पस्नु !” भनिन्। मैले हुन्छ भनेर दैलोको छेउ उभिएँ।
एकछण पछि भित्रबाट दुई मान्छे निस्किए।ती स्टाफ बहिनीले मलाई भित्र जाने इशारा गरिन्।
म भित्र पसेँ।
डा.दाससंग श्रीमतीको सबै जानकारी, परामर्श लिएर मलाई बाहिर निस्किनु प्राय दश मिनट लाग्यो। रिसिभशन छेउको बाहिर जाने मेन गेटतिर म सरासर हिँड्न थाले।
त्यहाँ निकै खैलाबैला भएको सुनेँ मैले।
पर दुई नर्सले एउटा भलाद्मी मान्छेलाई सम्झाउँदै थिए। त्यहाँ अघि मेरो छेउमा फोन कलमा बात गर्ने मोटी महिला पनि देखेँ मैले।
एक सज्जन व्यक्ति निकै जोडले भन्दै थिए – मेरो मिसिसको नाम बिणा छेत्री हो ! यो म मान्छु तर यो साइन कसरी सम्भव हुन्छ ? मेरो नाम यो हुँदै होइन !
नर्सहरू सम्झाउँदै थिए – जे होस् राम्रै भयो त नत्र जे पनि हुन सक्थ्यो!
किप साइलेन्स् प्लिज ! ट्राई टु अन्डर स्ट्यान्ड…!
मैले त्यतातिर नहेरी छिटो छिटो पाइला चाले।
बाहिर आएर पार्किङको गाडीमा म पसे। एकक्षण आँखा चिम्म गरेर सोचेँ !
… मेरो हस्ताक्षरले ती अपरिचित अर्कै बिणा छेत्रीको शल्यक्रिया सफल भयो।
उनी आमा बनिन्।
यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।