बाटो हिँड्दा-हिँड्दै खप्परे र नरबहादुर दिउँसै धनकुटाको हिले बजारमा रहेको होटल ‘गजुरी’मा दिनदहाडै सुत्त छिरे । टुरिस्टदेखि अन्य सप्रेका ग्राहकले रनक्क जीउ तताउने तातो-पिरोका लागि पूर्वी पहाडकै नाम चलेको होटल हो, यो । होटलको पल्लो छेउको भित्रको भान्साको काइदाको दुई मुखे चुलोकै अगाडि तीन-चार जना बस्न मिल्ने सफा गलैँचा ओछ्याएको खाट थियो । खप्परेले थचक्कै त्यहीँ बसेर चुलोमा हात सेक्दै भन्यो- “फुर्बु ! ए फुर्बु ! लौ न हौ, दुई वटा तोङ्बा भिजाऊ । हामी त ननिको उकालो पो हिँड्नु पर्छ त हौ, आज ।’

कसिलो शरीर तानतुन पार्दै फुर्बुले भनी- “सुकुटी त आज भैँसीको छ है, सर ! हुन्छ नि ? कि कसो पो हौ !”

खप्परे- “अलिक कसो-कसो पो हुन्छ कि त ! ल-ल, अलिक पोल है । लसुन चैँ काँचै थिच्याइदेऊ न । बरु अलि पिरै भए पनि होस् ।”

रातो मासुका त्यान्द्रा लामो-लामो आन्द्राजस्तै काटेर चुलोमाथि राखिएकाले सुकुटी बनाउने मासुबाट चुलोमाथि तपतप पानी खस्दै थियो । चुलोमाथि हेर्दै खप्परेले हर्पेजस्तो काठको भाँडोबाट तातो चाङ्बाको चुस्की लगायो ।

खप्परेले जिब्रो फट्कार्दै फुर्बुलाई जिस्क्याउँदै भन्यो- “छिप्पिएको पो रहेछ त फुर्बु ! एकै चुस्कीमा ढाल्छ कि क्या हो पो ! गिदीमा पो झट्का हान्यो नि हौ ।”

फुर्बु हाँस्दै- “बाहुन-बाजेहरूले छिप्पिएकै खोज्छ त..म के गरौँ सर !”

खप्परे आँखा तर्दै – “तेसो चैँ नभनिहाल है हाम्रो इज्जतै जान्छ नि पो ।”

फुर्बुले एकैछिनमा पोलपाल र थिचथाच गरेर सुकुटी तयार पारिन् र खप्परे र नरबहादुरलाई स्टिलका प्लेटमा हालेर अगाडि राखिदिइन् ।

शेर्पेनीको भेषमा फक्रिसकेको हँसिलो यौवन थियो, फुर्बुको । यहाँका यी दिदी-बहिनी यस होटलमा हुनाले ग्राहकहरू झुम्मिन्थे, यहाँ । गइराख्ने र खाइराख्ने चिनेका ग्राहकहरू खप्परेझैँ भित्रै भान्सामा नै त्यसै गरेर बस्थे र खान्थे । नयाँ ग्राहकहरूका लागि टेबुल-मेच भएको होटेलको सिटिङको व्यवस्था बाहिर थियो । बाहिर बसेर खाँदा चौँरीको घ्यूमा चामल झानेको तीनपाने, तोङ्बा, सुकुटी र पाख्रीबासे कालो बङ्गुर जति खाए पनि धीत मर्दैनथ्यो, खप्परेलाई ।

शेर्पा जातिले नाम राख्दा जन्मेको बार र तिथिबाट राख्दथे । आइतबारको दिन जन्मिएकाको नाम ‘ञिमा’, सोमबारमा जन्मिएकालाई ‘दावा’, मङ्गलवारदेखि शनिवारसम्म जन्मेकाहरूलाई क्रमशः ‘मिगमार, ल्हग्पा, फुर्बु, पासाङ, पेन्पा भनि राख्दथे । एकादशीका दिन जन्मेकालाई ‘शेचिङ्गा’, पञ्चमीमा जन्मेकोलाई ‘ङती’, पू्र्णिमाकोलाई ‘चोङ छेरिङ’ आदि नाम राख्दथे । धार्मिक ग्रन्थहरूमा सम्तन, शेरब् इतयादि’ बाट पनि बालकको नाम राखेको खप्परेलाई फुर्बुकी आमा ‘चाङ छेरिङ’ले निकै पहिले बताएकी थिइन् । उनी मनाङ माइत गएकीले आज त्यहाँ थिइनन् । फुर्बु बिहीबार जन्मेकी अलिक खरी थिइन् । जिस्क्याउन खप्परे होसियार भयो, किनभने यस बेला फुर्बुले मासु पोल्ने झीर हातमा खेलाइरहेकी थिइन् । पहिले पनि जिस्क्याउँदा जुठो पन्यूँले झन्डै मुखैमा घोचेकी थिइन्, उनले । उनलाई पनि एकछिन रौस लागेको हुन्थ्यो ।

आज २०५८ साल असार महिनाको झरी परेको दिउँसो खप्परे र उनका भरिया नरबहादुर तामाङ हिले बजारबाट खाजामा तोङ्बा तानेर अफिसकै मोटरबाट उत्तरतिर लागे । आधा घण्टा वसन्तपुर (तेह्रथुम) बजारमा आइपुगे । मोटर बाटो टुङ्गियो । गन्तव्य अझै एकदिन सिङ्गै बाँकी थियो । उत्तरी भेगको मूलबाटो पक्रेपछि खतरनाक किसिमको नाकै ठोक्किने उकालो र अनकन्टार गुराँसको पटेर जङ्गल छिचोल्दै समुद्र सतहबाट २,४०० मिटरको उचाइका लेकाली दृश्यहरूसँग रम्दै देउराली, मिल्के र तीनजुरेका केही बर्खे बस्ती (गोठ) हरूमा पसिना सुकाउन दुवैजना बिसाउँदै थिए ।

बर्खे चिसोको कारण चौबीसै घण्टा आगो ननिभ्ने अगेनोबाट चिया र खाना पकाउने भाँडाहरू छ-छ महिनासम्म बाहिर ननिकालेको अवस्था हुन्थ्यो, त्यहाँ । बिस्कुट, वाइवाइ र रारा चाउचाउका प्याकेटभित्र हुर्किएका राता टाउका भएका पहेँला जिउँदा कीरासँग पानीमा उमालेर साँझको एकसुरे भोक त्यहाँका ग्राहक र बासिन्दाहरूले उनीहरूकै सामुन्ने मेटाएको पनि देखे । छ महिनासम्म चुलोबाट ननिकालेको जस्तो ठुलो सिल्भरको भाँडो अर्को अगेनोमा बसाइरहेको थियो । लेकको रूखको हाँगामा लाग्ने झ्याउ र गोरुको नलीखुट्टाका तीन-चार गिँडहरू पनि भाँडोमा बिहानैदेखि उम्लिइरहेका थिए । एकजना गोठाला त्यहाँ आए र कतै नहरी डबकामा दुइटा हड्डीका गिँड र केही झ्याउ डाडुले हाले । हड्डी चिथोरे र झ्याउ चपाए । सूपले डबका भरे र अघाउन्जेल पिए । अब अलिकता तातोपानी भाँडोमा थपे र परैबाट दुई ढिका नुन भाँडोमा फ्याँके । त्यसपछि आगो ठोसेर जङ्गलतिर हिँडे । नरबहादुरले खप्परेलाई टीठलाग्दो गरेर हेर्यो र टाउको तल झार्यो ।

लेकाली गोठालाहरू बस्ने यो भेगमा छ महिनामा समेत एकपटक पनि तिनीहरू नुहाउँदैनथे । यिनीहरूले लाएको लुगाभित्र आठ-दस पुस्ताका जुम्राहरूको बस्ती हुन्थ्यो । गोठकी अधबैँसे तामाङ्नीलाई खप्परेले अनुरोध गरेर भने—

“दिदी हामीलाई चिया बनाइदिनु हुन्छ ? साह्रै जाडो भयो है ।”

तामाङ्नीको जवाफ थियो- “किन नहुने र तपाईंको । हुन्छ नि सर हो ।”

हेर्दाहेर्दै खप्परे र नरबहादुरकै अगाडि तिनै महिलाले उनको शरीरभित्र हात निकै बेर घुसारिन् र धूलै उड्ने गरेर कन्याएर चिलाइको भोक मारिन् । उनका नङ्ग्राको कोप्रामा पाउडरमा औँला डुबाएझैँ कन्याउँदाको धूलो प्रस्ट देखिन्थ्यो । अब त्यही हातले चिया र रक्सी पस्कँदै बाँड्न थालिन् । उनीहरूलाई पनि चिया पकाएर पस्किन् । हेराहेर गर्दै दुवै जनाले पिउन करै लाग्यो र पिए ।

त्यहाँका पुरुषहरू गोठालो र मजदुरी गर्न बाहिर गएका हुन्थे । महिलाहरू कति धेरै जाँगरिला हुन्, कुन्नि ? गोठमा पैसाको लागि सबे पेशा गर्न भ्याउँथे र गर्थे । ताप्लेजुङ, तेह्रथुम र संखुवासभाको माथिल्लो भेगका सामान ढुवानी गर्ने ढाक्रेहरू त्यहाँका स्थायी ग्राहक थिए । यिनीहरूको आफ्नो-आफ्नो पकड स्थान भने बास बस्ने त्यस्तै गोठ हुन्थ्यो । राम्रा, सुकिला र गह्रौँ गोजी हुने कुबेलाको खप्परेजस्ता उँभौली एकल यात्री आक्कल-झुक्कल त्यहाँ बास बस्थे । पहिले-पहिले ढाक्रेहरूको मिलेमतोमा त्यहीँ राति एक-एक गर्दै धेरैजस्तो परमधाम गैसकेका थिए । धेरैजना गायब गराइएका थिए र नराम्ररी लुटिएका पनि थिए । नत्र आरोप खेपेर शुल्क बुझाएर उम्कन्थे ।

यहाँ धेरैबेर बसेर खतरा मोल्नुभन्दा केहीबेर बसेर पसिना ओभाउनेबित्तिकै खप्परेहरू ओरालो लागे । गन्तव्य ताप्लेजुङ जिल्ला जाने थियो, तिनीहरूको । त्यसै त यो भेग महालेक थियो, त्यसमाथि रात पर्लाजस्तो अँध्यारो भएको थियो । आकाशबाट झरेको पानी र खरी जुका एकैसाथ थाप्लोमा बर्सन्थे । सङ्खुवासभा जिल्लाको चौकी भन्ने ठाउँमा पाँच-छ बजे साँझ उनीहरू आइपुगेका थिए ।

समुद्र सतहबाट झन्डै २,४०० मिटरको उचाइमा रहेको घना गुराँस र पातले त्यो जङ्गलबिचको तामाङ, गुरुङ र शेर्पा समुदायको पन्ध्र-बीस घर भएको यो बस्ती पनि ताप्लेजुङ, संखुवासभा र तेह्रथुमको माथिल्लो भेगका जनताहरूको बर्खे गोठ, सामान ओसार-पसार गर्ने भरिया र केही पर्यटकहरूको सुविधाका लागि खाना खाने र रात बिताउने सानो चौकी बजार अनौठो झैँ लाग्यो, आज उनीहरूलाई । सधैँ बस्ने गरेको गुरुङको एउटा पसलमा बास बस्ने उनीहरूको योजना पहिले नै तय थियो । यसलाई गुरुङ होटल भन्थे । बेञ्चमा खप्परे बस्यो र पोर्टर नरबहादुर (उमेर २५-२६ वर्ष)ले उनकै छेउमा टुसुक्क पिँध बिसायो ।

घरधनी महिलासँग खप्परे बोल्यो- “आज बास बस्न त पाइन्छ नि दिदी ?”

अँध्यारो मुख लगाएर महिलाले जवाफ दिइन्- “बस्नुहोस् न सर, तपाईंहरूकै लागि त हो नि !”

केहीबेरमा नरबहादुरले गुरुङकी पत्नीसँग खप्परेका लागि एउटा कोठाको अनुमति लियो । आफूले ल्याएको तन्ना तकिया र स्लिपिङ ब्याग बिछ्याएर खप्परेका लागि सुत्ने ठाउँ तयार पार्यो । खप्परे माथि कोठामा जान भर्याङ चढ्यो । खानाको अर्डर तल गुरुङकै चुलोमा भैसकेको थियो ।

झट्ट हेर्दा खुसी नदेखिएकी गुरुङकी पत्नीले रातको भोजनका लागि कुखुराको भाले काटेकी थिइन् । केही बिर्सिएझैँ एक्लै बोलिन्- “खाना तयार भयो है, सर हो ।” उनी हतारमा फँसेकी देखिन्थिन् । कचौराभरि मासु र फुल्न लागेको रायोको सागको तरकारीसँग एक थाल खाना खप्परेको लागि पस्किदिइन् । फेरि खप्परेलाई तल भान्सामा बोलाइन्- “सर ! ए सर ! खाना पाक्यो है । तल झर्नुस् ।”
“हवस् दिदी !” माथिबाटै खप्परे करायो र तल झर्यो । टेबुलको अगाडि बसेपछि खानाको थाल उसको अगाडि सार्दिन्, दिदीले । एकछाक खाना खाँदा नबोली-नबोली घोत्लिँदै के खानु र भन्ठान्दै दुई-चार शब्द बोलेरै खाऊँ भन्ने लाग्यो, खप्परेलाई । पुलुक्क गुरुङ्नीको मुख हेर्दै मनमनै सोच्यो, आज किन हो कुन्नि यिनी चिन्तित छिन् । पहिलेको जस्तो फरासिली किन छैनन् ? यस्तो सोच्दै भन्यो- “दिदी…खाना मीठो छ ।” तर उनीबाट जवाफ आएन ।

खप्परेलाई तर्काउँदै हतार-हतार गरेर सात-आठ माना चामल भिजाइन्, उनले । चामल भिजाएको सिल्भरको भाँडो अगेनोको डिलमा राखिन् । साग काटेर धोइधाइ गरिन् । आज दुइटा कुखुराका भाले काटेको थियो । केही मासु पकाएर बाँकी लुकाइन् । बढी भएको भोलिलाई होला भन्ने खप्परेले ठान्यो । आजको भात खाने ग्राहक त्यहाँ उनीहरू मात्र थिए । सधैँ त्यहाँ आइपुग्दा असामान्य भीडभाड हुन्थ्यो । थुप्रै ढाक्रे ग्राहक हुन्थे । गाउँ फर्कने र शहर जाने भरियाहरू यस बेला खाना पकाएर खाइसक्थे र आफ्नो ढाकरको फेदमा तीन-चार भुसुक्कै निदाउँँथे । ओल्लोपल्लो घरको मानिस त्यहीँ भेला हुन्थे । गोठालाहरू भेडीगोठ सार्ने, झार्ने र बसन्तपुर जाने सल्लाह गर्थे  गुरुङ्नीका साना बर्सेनी जन्मेका दुई जना हुर्किइसकेका र तीन जना साना बच्चा थिए । यिनीहरू पल्लो कोठामा पढे-लेखेजस्तो गर्थे । दुई जना किशोरी छोरीहरू स्कुलबाट आएर स्कुलको लुगासँगै आमालाई होटलमा काम सघाउँथे । ग्राहकहरूलाई खाना ख्वाउन सहयोग गर्थे । घरीघरी भाइबहिनी नजिक गएर यिनीहरू पनि मधुरो टुकीको बत्तीमा पुस्तक समाउँथे । त्यही परिवार अघिपछि भएर खाना खान्थे ।

आज त्यो वातावरण त्यहाँ थिएन । सुनसान र चकमन्न थियो । खाना खाँदाखाँदै गुरुङ्नीले अँध्यारो मुख पारेर खप्परेलाई भनिन्- “सर ! सर ! आज यहाँ हाम्रामा पाहुना आउँदै छन् । तपाईंहरू खाना खाएर सुत्न माथि जानुहोस् है ।”

सबैलाई यसै भनेर तर्काएकी रहिछन्, आज । “कहीँबाट समूहको बुकिङ आएछ क्यार” भन्ने ठाने खप्परे र नरबहादुरले । के भनेको हो, उनीहरूले खासै कुरा बुझेनन् । थाकेर आएकाले धेरै बेर बस्नेवाला पनि थिएनन्  अगेनोको भुङ्ग्रो छोड्नु परेपनि खप्परेले भन्यो- “हुन्छ दिदी । हुन्छ ।” ऊ त्यहाँ हुँदै एक्कासि काठको घोप्टे घर्याक्क बज्यो । गुरुङ्नीका पति वीरबहादुर र उनका केही िमित्र भित्र पसे । आज खप्परेलाई किन हो उनले नमस्कार ठोकेनन् र केही सोधेनन् । सधैँ भेट हुँदा ‘नमस्कार सर’ भन्थे । हालखबर सोध्थे । खप्परेतिर हेर्दै नहेरी उनी केही व्यक्तिसँग माथि टाँडमा चढे ।

वीरबहादुर अँध्यारो अनुहार पारेर दुईजना स्थानीयसँग घरभित्र खुसुखुसु गर्दै थिए । त्यस्तो अनौठो देखेर खप्परेलाई सोधूँ-सोधुँ लाग्यो- “यहाँ आज किन चकमन्न छ ? के भएको छ, वीरबहादुरलाई आज ।” फेरि सोध्न नहुने पो हो कि भने मुख खोलिहालेन । पोर्टर नरबहादुरलाई चैँ खुसुक्क खप्परेले भन्यो- “ए केटा ! यो घरमा के भएको छ आज, थाहा पाइस् ? किन यस्तो सुनसान आज यहाँ, हँ ?”

नरबहादुर- “त्यै त, खै । सर, यस्तो त हुँदैनथ्यो पहिले ।”

रातिको नौ बज्न पन्ध्र मिनेट बाँकी थियो । खप्परे रेडियो खोलेर माथि कोठामा समाचार सुन्दै थियो – “रोल्पा जिल्ला सदरमुकामबाट खटिएर गएका सुरक्षाकर्मीसँग लिवाङ्ग नजिकै हातहतियार राखिएको एउटा प्रहरी चौकीमा दोहोरो भिडन्त भयो । एघार जना छापामार र पाँच जना प्रहरीको सो झडपमा मृत्यु भएको छ । हताहत हुनेमा सर्वसाधारण पनि छन् । ताप्लेजुङ, पाँचथर, सङ्खुवासभा र तेह्रथुम जिल्लामा पनि माओवादीले केही प्रहरी चौकीहरू कब्जामा लिएका छन् ।”

समाचार सुनेर लामो सास तान्यो खप्परेले । “राज्यमा आतङ्क फैलने भो ।” उनीहरू पनि माओवादीले राज्यबाट कब्जामा लिएको इलाकामा थिए । अशान्ति कसलाई मन पर्छ र ? थाके पनि यस्तो समाचारले गर्दा उसलाई  निकैबेर निद्रा परेन । केही समयमा त्यस घरको स्तब्धता एकैचोटि भङ्ग भयो – पल्लो कोठाबाट केटाकेटीको कल्याङ-कुलुङको आवाज आयो । तल्लो तलामा अघि उसले खाना खाएको ठाउँबाट गर्याम्-गर्याम् बुटहरूको आवाज आयो । मसिनो स्वरमा बात मारेका आवाज पनि सुनिँदै थियो । लाल्टिन सानो पारेर झ्यालबाट बाहिर हेर्यो, खप्परेले । एकैनासका टाटेपाटे लुगा लगाएका, कसैले खुकुरी भिरेका र कसैले काँधमा बन्दुक बोकेका १०-१२ जना मानिस त्यस दोकानमा धमाधम छिर्दै रहेछन् । उनीहरू माओवादीका लडाकुहरू हुन् भनेर खप्परेले चिनिहाल्यो । डरले उसको मन ठकठक काँप्यो । उसको शरीरमा रगत चाँडचाँडै बग्न थाल्यो । हत्तपत्त स्लिपिङ ब्यागमा सबै जीउ लुकायो र आवाजविहीन हुन खोज्यो । खुट्टा काँप्दा स्लिपिङ ब्याग सर्याक-सर्याक बज्यो । फेरि तल टाउको निकालेर चियाउन मन लाग्यो, उसलाई ।

आगन्तुकमध्येका दुईजनाले घरको तल्लोपट्टिको खाली ठाउँमा चुला-ढुङ्गा लगाए । घरधनी गुरुङले आगो बाल्ने व्यवस्था मिलाइदिए । गुरुङ्नीले एक अँगाालो दाउरा चुलोको छेउमा राखिदिइन् । आगो फुक्न गुरुङकी स्कुले जेठी छोरीलाई लगाए । झ्यालबाट सास खिचेर खप्परेले तल हेर्नुको साथै वार्तालाप सुनिरहेको थियो । केहीबेरमा एकजना छापामारले आगो फुक्दै गरेकी तरुनी छोरीलार्ई इङ्गित गर्दै भन्यो – “यी नानी त क्रान्तिकारी जस्तो देखिन्छिन् त । के बन्दुक बोक्ने रहर लाग्दैन तिमीलाई ?” यो सोधाइले किशोरीलाई के असर पर्यो कुन्नि, छापामारलाई पिर्लिक्क आँखा तरिन् । खप्परेले कल्पना गर्यो – माओवादीलाई पनि तरुनीको रहर लाग्दो रहेछ ।

आधा घण्टामै बाहिर खाना पाक्यो । मासुमा झोल हालेर गुरुङ्नीले बाहिर ल्याइन् । गुरुङकी छोरीले थाल, गिलास र पानी बाहिर ओसारिन् । अँध्यारोमा एक-एक गर्दै अरू पनि थपिए । खाना खानेहरू २२ जना भए । अँध्यारोमा नै सबैले खाना खाए । यिनीहरूलाई पनि केही बितेको जस्तो थियो – हतार गर्दै थिए । खाएका भाँडाकुँडा त्यसै अलपत्र त्यहीँ छाडेर सबैजना तयारी भए । खाना खाएपछि टर्च, लट्ठी, खुकुरी र झोला बाँडफाँट गरे । एकजना ग्रुपको नाइकेजस्तोले गुरुङ दाइसँग लामो समयसम्म खासखुस गर्यो । टुकीको मधुरो प्रकाशमा गुरुङनी दिदी छँदाखाँदाको पोटिलो अनुहारलाई छोगडाको जस्तो मुजा पारेर अँध्यारो मुख लगाइरहेकी थिइन् । कारण के हो ? खप्परेले कुरा बुझेन ।

एकजना छापामारले एउटा पोको गुरुङनीको हातैमा दियो र भन्यो- “लाल सलाम दिदी । हाम्रो समय पाँच मिनट मात्रै छ ।” त्यति भनेपछि कसैले पछाडिबाट धकेलेझैँ गुरुङ्नी कठिन मुद्रामा पोको बोकेर कोठामा छिरिन् । घरका ठुली भैसकेका दुई जना छोरीहरूलाई छापामारले दिएको पोको हातमा थमाउँदै भनिन्, “म अभागिनीले खै । फेरि तिमीहरूको मुख देख्न पाउँछु कि पाउँदिन । देश विद्रोहमा होमिएको छ । माथि कोठामा जाऊ र यी युनिफर्म लगाऊ । समय धेरै थोरै छ रे  भन्छन् । हामी अन्यायमा पर्यौं।”

करिब पाँचै मिनेटमा ती दुवै छोरीहरू टाटेपाटे पाइन्ट-सर्टको पोशाकमा सिपाहीजस्तै भई निभेको बत्तीको जस्तो अनुहार पारेर बाहिर आए । खप्परे छाँगाँबाट खसेजस्तै भयो । उसको मन अब पो सिरिङ्ग भयो । उसले हेर्दाहेर्दै दुवै किशोरीले छिर्केमिर्के टोपी लगाए । खप्परेले चाहिँ सेनाले ढालेर भुइँमा लाम लगाएका छापामार टीभीमा देखेको सम्झ्यो ।

छापामारहरूको हिँड्ने बेला भएछ क्यार । दुवै केटीहरूले रुञ्चेमुख लगाउँदै अँध्यारो  अनुहार बनाएर स-साना भाइबहिनी र आमाबुबाालाई पछाडि फर्केर एकैपटक हेरे । अब तिनीहरू पनि छापामारको समूहमा मिसिए । आफ्नै घरपरिवार र उनीहरूको बिचमा सिमाना छुट्याएझैँ भयो ।

अब छोरीहरू फर्कन्छन् भन्ने दोधारमा उनीहरूकी आमा भित्तापट्टि फर्किइन् र डाँको छाडेर हातले आँखा छोप्दै रुन थालिन् । खप्परे माथिबाट हेर्दैथियो । उसको मन पनि थामिएन । हातले नाकको सिँगान पुछेर भित्तामा हात रगड्यो ।

बाबु वीरबहादुर समूहको नाइकेसँग हात मिलाउँदै किनै बेर बोले । घरीघरी टाउको हल्लाउँथे र धेरैबेरसम्म दुई हात जोडिराख्थे । कुरा गर्दा उनी प्रायः नहल्लिई उभिइरहन्थे । खप्परेको चैँ डरले सातोपुत्लो उड्यो । पोर्टर नरबहादुर निदाएको हो कि डरले हो, भित्तापट्टि फर्केर सुतेको थियो । तलको घटनाको पत्तो पाएन कि भन्ने थियो, खप्परेलाई । ऊ खप्परेको पाँच दिनको लागि चाहिने सामानको भारी बोकेर आएको थियो ।

दस मिनेटमा सबै छापामार लाम लागेर आ-आफ्ना हतियार र सामान बोकेर पल्लो घरको तल्लोपट्टिबाट जङ्गलतिरको बाटो लागे । गुरुङका किशोरी छोरीहरूलाई लाइनको बिचमा पारे । छापामारले घर छोड्दा नछोड्दै मध्यरातमै बिचरी गुरुङ पत्नीले आँखामा आँसु भरेर तल्लापट्टि जुठा भाँडा हतार-हतार माझी वरिपरि सुग्घर-सफाइ गरिन् र होटलको घोप्टे तानिन् । माथि खप्परे सुतेको कोठासम्मै गर्ल्याम्म आवाज आयो । उनले भुइँतलाका ढोकाहरू पनि बन्द गरिन् । आफू अब सुरक्षित भएको महसुस गरे दुवै दम्पतीले र लामो सास फेर्दै एकले अर्कालाई अँगालो मारेर भने – “हाम्रो भाग्यमा यस्तै लेखेको रहेछ ।” यसो भनेर बर्बरी आँसु खसाले । मनमा औडाहा थियो, उनीहरूको । तैपनि एउटा ठुलो लन्ठा सिध्याएझैँ देखिए, तिनीहरू । खप्परे पाइखाना गर्ने निहुँले तल ओर्लियो । आजको यतिका धेरै पाहुनाको चाकरी गरेको यो सरले केही थाहा पाएन भन्ने मुद्रामा गुरुङ पत्नीले खप्परेलाई पुलुक्क हेरिन् । गुरुङ दम्पतीलाई सजिलो पार्दिन कतै नहेरी ‘सुत्नु भएको छैन, तपाईंहरू ?’ भन्दै ऊ सरासर माथि चढ्यो ।

ओछ्यानमा पल्टिएर मनमनै सोच्यो – देश त युद्धमा होमिइसकेछ । उसलाई रातभर निद्रा परेन । म त छापामार माओवादीको घरमा पो बास बसेको रहेछु । रातको १ बजेर २५ मिनेट गएको थियो । खप्परे निद्राबाट झस्याङ्ग भएर ब्युँझियो । ब्युँझिँदा भुइँतलाबाट फेरि ठुलो आवाज आइरहेको थियो ।

एकोहोरो आवाज – “ढोका खोल ! ए ढोका खोल !” बुटले तीन-चारपटक घोप्टेमा हानेको आवाजले ऊ सुतेको कोठा पनि थर्थर थर्कियो । मनमनै सोच्यो – “यो के हुँदै छ, यस घरमा फेरि ?” अलिकता टाउको निकालेर आफ्नै झ्यालबाट बाहिर हेर्यो । “हामीहरू सुराकी हौँ कि भन्ने ठानेर छापामारहरू हामीलाई केरकार गर्न फर्केर आएका पो हुन् कि” भन्ने लाग्यो उसलाई । अब पो खप्परेलाई केही होला कि भन्ने डर लाग्यो । बाहिरको शरीर र भित्रको उसको मन एकैचोटि थर्किंदा लुग्लुग् काँप्न थाल्यो । झ्यालबाट अलिकता च्याउन मन लाग्यो उसलाई । प्रस्टै देख्यो – तिनीहरू त नेपाली सेना पो रहेछन् ।

लौ ! फसाद पर्यो । करिब १५-१६ जना हतियारधारी सेना निर्धक्क रूखो व्यवहार गर्दै दोकानभित्र छापा मार्दै थिए । “अब हामीहरू पो यहाँबाट बचेर जान पाउँदैनौँ कि ?” भन्ने लागेर पोर्टरलाई बिस्तारै उठायो खप्परेले र सास दबाएर सोध्यो- “केको आवाज हो त्यो तलको नरबहादुर ? सुन्दै छस् नि ?” ऊ बोलेन । टर्चले उसको मुख हेर्यो । आफूभन्दा ज्यादा त नरबहादुर पो डराएको रहेछ । सर्प गुँडुल्किएझैँ पोको पारेर बिस्तारै भन्यो – “खै सर ! हजुर पटक्कै नबोल्नुहोस् र तल चैँ नझर्नुहोस् है । माओवादीभन्दा यिनीहरू खतरनाक हुन्छन् ।” यसले त खप्परेलाई छुरी घोपेझैँ झन् पीडा थपिदियो ।

तल चारैपट्टिबाट सेनाले घर घेरेछन् । दुई जना सेना माओवादीले केही िसमयअगाडि खाना पकाएर खाएको ठाउँमा ताता चुला-ढुङ्गा छाम्न पुगे । वीरबहादुर थर्थर काँप्दै माथिल्लो तलाबाट तल झर्दै भन्दै थिए- “नमस्कार सर ! नमस्कार सर ! नमस्कार सर !” कति जनालाई हो, निहुरिएर नमस्कार गरिरहे, वीरबहादुरले । एक जना सैनिकले भन्यो – “चाहिँदैन तेरो क्रान्तिकारी नमस्कार !” रूखो आवाजमा अर्कोले भन्यो- “कसलाई नमस्कार गरेको तँ पाजीले, हँ ?” बन्दुकको टुप्पोले अलिकता वीरबहादुरलाई पछाडि घचेट्दै तेस्रो सैनिकले सोध्यो- “तेरो घरको कोठाहरू देखाउँछस् कि फोड्दिऊँ ?” अब खानतलासी सुरु भयो, त्यहाँ ।

गुरुङले भने- “मेरो के गल्ती भयो र हजुर, यो मध्यराति !”

तुरुन्तै अर्को सैनिकले भन्यो- “कसले खाना पकायो बाहिर आज ?”

गुरुङले जवाफ फर्कायो- “भरियाले सर । खाना खाएर उनीहरू बाटो लागे सर !” सोध्ने सैनिकले बुट भुइामा बजार्दै भन्यो- “ढाँट्छस् बजिया..! ऐले लात्तले भुँडी फोड्दिन्छु अनि थाहा पाउँछस् । झूट बोल्दो रहेछ ।”

गुरुङले हात जोडेरै भन्यो- “मेरो कसम सर ।”

सैनिक- “अझ ढाँट्छस् ।” एउटा सैनिकले गुरुङको गालामा थप्पड हान्यो । त्यो थप्पड खप्परेले आफूलाई नै लागेकोजस्तो महसुस गर्यो । लात्तीले हानेर घोक्र्याएको कुकुरजस्तै लाचार भयो बिचरा गुरुङ । न त कुनै जिद्दी गर्यो, न प्रतिकार नै । उसको मुखमा टर्च बाल्दै आज्ञा दियो, एउटा सैनिकले- “घरको बत्ती बाल् ।” टर्च मुखमा बाल्दा गुरुङको चिउँडोका ५०-६० वटा लामा-लामा दाह्री र जमिन टेकिएरहेका दुई वटा खुट्टा सँगसँगै थरथर काँपे । त्यो देखेर रगत उम्लेर खप्परेको छाला फुट्लाजस्तो  भयो । बिचरा सोझो गरिखाने ५४ वर्षको गुरुङ काटेको बोकोजस्तै  लुगलुग काँपिरह्यो । उता गुरुङ पत्नी माओवादीले छोरीहरू लगेको चोट बेहोर्न नपाउँदै सेनाले पतिको गालामा थप्पड बजारेको घटनाले बन्चरोले टाउकोमा बजारेजस्तै मरेतुल्य भइन् । घरका बालबच्चा यो मध्यरातमा आत्तिँदै जर्याक-जुरुक उठेर रुन-कराउन थाले ।

दुई जना सैनिक घरको माथिल्लो कोठामा चढे । गुरुङका नानीहरू चिहिल र बिहिल गर्दै डरले झन् रुन थाले । त्यो मध्यरात घरमा छापा मार्दा होहल्लाले सबै जागेका थिए । सोझी गुरुङ पत्नी सिँढीको मुखमा नै अड्किन् । दुई जनाले तलको दोकानभित्र खानतलासी गरे । सामान र भाँडाकुँडा फ्याँकेको आवाज माथिसम्मै आउँथ्यो । छापामारहरू गुपचुप शैलीमा कुरा गर्थे । तिनले शान्त मुद्रामा खाना भकुरेका थिए । आर्थिक भार दिएका भए र छोरी टिपेर लगेका थिए । सेनाहरूले चैँ यातना दिएझैँ घरमा तहल्का मच्चाइरहेको थिए । हल्लाखल्ला गरेका थिए । खानतलासी गरिरहेका थिए । आफूखुसी पसलका सामान झिकेर खाएका र फ्याँकेका थिए । शारीरिक र मानसिक दण्ड दिएका थिए । दुवै समूहको फरक-फरक दण्ड गुरुङ दम्पतीले एकैछिनमा भोगेका थिए । खप्परेहरू चैँ टाँडमाथि धामी कामेझैँ थर्किएरहेका थिए ।

पाँच मिनेटमा केही व्यक्तिहरू खप्परेहरू सुतेको कोठातिर आएको आवाज काठको भर्याङ बज्नाले सुनियो । खप्परे र नरबहादुर दुवै जनाले तुरुन्तै निदाएको बहाना गर्न कोसिस गरे । नरबहादुर घोप्टो परेर सुतेको थियो । वीरबहादुर तीन जना सैनिकसँग खप्परे सुतेको कोठामा आए । नरम स्वरमा खप्परेको परिचय गराउँदै वीरबहादुरले भने- “यी पाख्रीबास फर्का सर” हुन् । तर, सैनिकलाई यो चिनारीको महत्त्व रत्तिभर थिएन । एक जना सैनिकले खप्परेलाई लौरोले घोच्दै उठाउन थाल्यो । मुख छोपेर सुतेको खप्परे विषालु साँपले ठुँगेझैँ झस्कियो र स्लिपिङ ब्याग बाहिर हेर्यो ।

एक जना हाकिम टाइपको सैनिक र दुई जना बन्दुक बोकेका सैनिकले आँखा तरे, उसलाई । एक जनाले उसको सामानको ब्याग खोतल्दै, पन्साउँदै जाँच गर्यो । त्यसो गर्दा उसको आँखा झिकिदिऊँ कि जस्तो रिस उठ्यो, खप्परेलाई । छापामार र सैनिक गरी दुइटा फरक-फरक जातका विद्रोहीले उसको सातो पालैपालो उडाउँदै थिए । एक जनाले उसको बारेमा सोधपुछ गर्न सुरु गर्यो । अर्कोले सुतेको खाटमुनि तलासी लियो । ऊसँग भएको सामानको खोजतलास भयो । अफिसको एउटा दामी क्यामेरामा गिद्धे नजर पर्यो, सैनिकको । “क्यामेरामा के के लोड छ ?” सैनिकले सोध्यो- “फिल्ड वर्क गरेका कामहरू ।” खप्परेको जवाफ थियो ।

तीन जना सैनिकमध्ये एक जनाले उसलाई तल्लो तलामा ओर्लिन भन्यो । खुट्टामा जुत्ता घुसारेर ज्याकेट लगाउँदै सैनिकको पछि लाग्यो, खप्परे । सैनिकले बीचमा पारेर उसलाई तल ओराले । ऊ त ‘देशद्रोही विद्रोही’ झैँ भयो । भिजेको मुसोभन्दा कत्ति फरक थिएन ऊ । जीउ लुगलुग काँपे पनि मन भने दह्रो थियो । ऊ न त माओवादी थियो, न त सुराकी, न त सुरक्षाकर्मी नै । मन दह्रो हुने यिनै आधारहरू थिए तर “कहीँ म यिनीहरूको ख्याल-ख्यालमा त पर्दिनँ आज ?” भन्ने डर पनि छँदै थियो ।

एक जना सैनिकले उसको अन्तर्वार्ता लियो । सबै नअड्की खप्परेले बताइदियो । ऊसँग हिँडेको पोर्टरको बारेमा पनि सैनिकले पर्याप्त सूचना माग्यो । खप्परेले बताइदियो । ऊसँग भएका उसको पहिचान गराउने सबै प्रमाणहरू पेस गर्यो । एकजना सैनिकले फेरि सोध्यो- “यहाँ को को आएका थिए ?” खप्परेले भन्यो- “हिँडेर आएको हुँ । थाकेछु । सुतेको थिएँ । थाहै पाइनँ ।”

उसको अन्तर्वार्ता सकियो । साह्रै राम्रो भयो अन्तर्वार्ता, उसको । पास भएछ क्यार र त छोडिदिए उसलाई । तल धेरै जना थिए । छालाको मुढामा बसेको एक सैनिकले इशारा गर्यो । त्यो सैनिक कमाण्डरजस्तो थियो, आदेशको शैलीमा भन्यो- “माथि गएर चुपचाप सुत्नुस् ।” “हुन्छ  सर !” भन्नैपर्या खप्परेले । समूहमा कोही न कोही एक जना चैँ बुद्धिमानी हुँदारहेछन् भन्ने महसुस गर्यो । “मलाई अब केही हुन्न आज” भन्ने कुरामा विश्वस्त भयो, खप्परे ।

उसको मनले ठान्यो- “सैनिकहरूभन्दा माओवादी छापामारहरू अलिक कुशल हुन् कि त ?” तर, यिनीहरू आफ्नो ड्युटी गर्दै थिए । उसलाई “अब तपाईं माथि जानुस् ।” भन्ने बित्तिकै पछाडि नफर्की ऊ फटाफट सिँढी चढ्यो । बेडमा सुते पनि पटक्कै उसको निद्रा परेन । अझै केही हुन बाँकी छ कि जस्तो लागिरह्यो ।

टाँडको घरको पल्लो दुई कोठामा गुरुङका परिवार बस्थे । खप्परे निदाउनुभन्दा पहिले त्यहाँबाट खत्र्याक-खुत्रुकको आवाज आइराखेको थियो । घर वरिपरि बुटहरूको आवाज आउँदै थियो । नौला मानिसहरूको चहल-पहल बढ्दै थियो । कतिखेर एक झप्को निदाएछन् खप्परे र नरबहादुर  एकैछिनमा झसङ्ग ब्युँझियो खप्परे । झ्यालबाट बाहिर हेर्यो । झमझम पानी पर्दै रहेछ । टर्च बालेर पोर्टरलाई हेर्दा ऊ निदाइरहेकै थियो । घडी हेर्दा, बिहानको ५ बजेर १८ मिनेट गएको रहेछ ।

पहाडको स्थान, पाइखाना बाहिरै थियो । तल झर्यो, खप्परे । गुरुङ दाइको दोकानमा बेलुका सैनिकहरूले आफैँले झिकेर खाएको बिस्कुट र वाइवाइ चाउचाउका थुप्रै खोलहरू यताउता छरिएका देख्यो । बुटले दोकानको भुइँ भत्केको रहेछ । जताततै अस्तव्यस्त भएको देख्यो । घरअगाडि बाटोमा अब दुई-चार जना मानिस हिँड्न थालिसकेको थिए । अलिक पर गएर हेर्यो र यताउता कान थापेर सुन्यो । डाँडामा थुप्रै मानिसहरू थुप्रिएका रहेछन् । अलिक टाढाबाट यो मिरमिरेमा माइकको आवाज आइरहेको थियो । “घरभित्र र बाहिर, दिन वा रात आज राम्रो छैन, अनिष्ट होलाजस्तो छ” – मनमनै बोल्यो खप्परे ।

विद्रोही माओवादी र राज्य प्रशासनबिच दाउपेचपूर्ण वार्ता देशको अर्कै भागमा कुनै रिसोर्टमा चल्दै थियो । राज्यभरि अशान्ति, आतङ्क, चोरी-डकौती, बलात्कार, महिलामाथि हिंसा र हत्याले आक्रान्त बनाएको समय थियो यो । अवसरवादी नेतृत्व वर्ग र सबै तहका धेरै कर्मचारीले आ-आफ्ना स्थानबाट देशलाई लुट्दै र सोझा-साझा जनतालाई चुस्दै आफू धन थुपार्ने धावामा लागेको अवस्था थियो । राज्यमा दण्डहीनता थियो । अनेकौँ अत्याचारविरुद्ध राज्यको प्रशासन चुप थियो ।
राज्यमा कहिले सुनिन्थ्यो – एक दर्जनभन्दा ज्यादा सुरक्षाकर्मीहरू माओवादीले थापेको विद्युतीय धरापमा परेर हताहत भए । प्रेसर कुकुर बमबाट प्रहरीको समूहसँगै प्रहरी चौकीको भौतिक संरचना उछिट्टिएर ध्वस्त भयो । सैनिकको एउटा समूहका सबैले माओवादीको घेरामा परेर वीरगति पाए । आज सर्वसाधारण चढेको मोटर धरापमा परी कोही पनि बाँचेनन् । सबै नेपाली दाजुभाइ-दिदीबहिनी थिए । यस्तो अप्रिय र कहाली लाग्दा समाचारहरू दिनहुँ सुनिन्थे, देखिन्थे ।

भर्खरै राजा वीरेन्द्रको परिवारका सबैको नरसंहारपछि नेपाल सरकारले सरकारी प्रतिवेदन तयार पारेको थियो – राजकुमार दीपेन्द्रले हत्या गरेका हुन् । आरोप उनैलाई लगाइयो । राष्ट्रियता काँधमा बोक्ने नेपालीहरू यो आरोप मानिरहेका थिएनन् । हत्या कसले र किन गर्यो भन्ने कुरा अनुमान गरिसकेका थिए । त्यसपछिका श्रृङ्खलाबद्ध गृहयुद्धबिच नेपालको क्रूर राजनीतिक पृष्ठभूमिका खबरलाई नजिकैबाट आकलन गरेका थिए, तिनीहरूले । यस्तो राजनीतिको मियोमा बसेका समूहले संविधानका मौलिक धाराहरूको निर्माण आफैँले गरेका थिए तर अब आफैँ अगुवा भई ती धाराहरूको उल्लङ्घन गर्दै थिए । त्यही अपराध सर्वसाधारणले गर्यो भने ऊ जेलमै सडिनु पर्थ्यो वा उसको सर्वस्व हुन्थ्यो । आफूलाई विद्वान र सही भन्ने कथित बुद्धिजीवीहरू एउटा पक्षमा लागेर कृत्रिम विश्लेषण गर्थे र अपुष्ट समाचारको खण्डन गर्थे ।

खप्परे मध्यरातको घटना सम्झँदै अलिक अगाडि बढ्यो । यो बिहान चौकी बजारको दास्रो घर छेउमुनि गौचरनमा बिहानीपख छापामारको समूह र सैनिकका बिचमा घमासान भिडन्त भएको रहेछ । माइकिङ अहिलेसम्म हुँदै थियो । हाट-बजारमा भाषण गरेझैँ माइकमा सैनिकहरू कराएको आवाज प्रष्ट सुनिन्थ्यो- “हतियार जिम्मा लगाऊ र आत्मसमर्पण गर ।” दुई-चार जना सैनिकहरू घर-घरमा गोला-बारुदको गन्ध आउँदै गरेको सुँघ्यो । अनिष्ट नै भएछ, त्यहाँ । खप्परेले भिडन्तपछिको धूवाँ उड्दै गरेको वातावरण आफैँले देख्यो ।

एउटा सैनिक फेरि माइकमा कर्कश स्वरमा करायो – “यो अन्तिम चेतावनी हो ।” यस आवाजले उसको मन करेन्ट लागेको जस्तै सिरिङ्ग भयो । बिहानको कलिलो उज्यालोमा सिमसिमे पानी रोकिएको थिएन । तल पिलुवा खोलाबाट उठेको सेतो कुहिरो माथि-माथि चढ्दै थियो । युद्धस्थललाई कुहिरोले ढाक्न केहीबेर बाँकी थिएन । युद्धस्थलमा ढलेका दुई वटा लासलाई केही टाढाबाट सबै उमेरका स्थानीयले घेरेको देख्यो । एक सैनिकले मृतकलाई चौकीदारी गरेका थिए । छापामारहरू गाउँमा अझै लुकेको अनुमानमा सेनाहरू घर-घरमा खानतलासी गर्दै हिँड्दै थिए । बिहानको सात बजिसकेको समय थियो, त्यो ।

गत रात सेनाहरू उनीहरू बसेको गुरुङको घरबाट हिँडेपछि त्यहाँ आएर एक घण्टासम्म माओवादीको तालिम स्थललाई निसाना बनाएर सुराकी गर्दै त्यस रात चौकीमा छापा मारेका रहेछन् । देशका धेरै ठाउँमा छापामार र सुरक्षाकर्मीको भिडन्त यस्तै सहज सञ्चार र जनसम्पर्क नहुने स्थलमा हुने गरेको थियो ।

एउटी महिलाले आत्तिएर सुनाइन्- “हामी बिहानीपख मिठो निद्रामा सुतेका थियौँ । हाम्रो घरपछाडि एक्कासि गोली चलेको सुनियो । त्यहाँ त घमासान युद्ध हुँदै रहेछ । आइमाई-केटाकेटी पनि कराएको आवाज आयो ।” भिडन्तमा पड्काइएको बम र ग्रिनेडको मेघ गर्जिएजस्तो आवाजले त्यहाँको समुदाय आत्तिएको थियो । महिला भन्दै थिइन्- “”गाउँका महिला, केटाकेटी र बास बसेका परदेशीहरू पनि आत्तिएर कुद्न थाले । कोलाहलसँगै गोलीको आवाज आइरह्यो । मानिसहरूको मुखबाट चित्कार निस्कियो – ऐया ! आमा हो, बचाऊ-बचाऊ । म ढलेँ नि…! कोही छ ? मलाई बचाइदेऊ न – हामीले देख्दै थियौँ, जुत्ता-चप्पल जताततै छोडेर भागदौड मच्चियो । दुवै पक्षबाट निरन्तर गोली हानाहान चल्यो । यस्तैमा गाउँका बिराला, कुकुर र बोका-बाख्रा पनि कराउन थाले । पशुहरूमा पनि आतङ्क मच्चियो ।”

त्यसरी बताउने महिलाका आँखाबाट आक्रोश र आँसुका ढिक्का पग्लिएर बहिरहेका थिए । खप्परेले युद्धस्थलमा गोली, खोका र निष्क्रिय भैसकेको बमहरू यत्रतत्र छरिएको देख्यो । युद्ध भएको डेढ-दुई घण्टापछि एक-एक गर्दै चौकी बजारका घरका ढोका बिहान अबेरसम्म खोलिँदै गएको देखियो । उसले थाहा पायो- त्यहीँ तल चौरीमा छापामारको तालिम रहेछ ।

भिडन्तमा मारिएका अरू तीनवटा माओवादीका लास गोठमुनि ढुङ्गाको पर्खालको आडमा थिए । यो देखेर ऊ झस्कियो र अलिक पर सर्यो । बाँकी छापामारहरू आफ्ना हातहतियार त्यहीँ छाडेर नजिकैको जङ्गलमा भाग्न सफल भएछन् र कोही बस्तीभित्र हराएछन् । यस बेला त्यहाँ केही सैनिक मात्र थिए । एउटा तस्बिर लिन खप्परेले भ्यायो । हेर्ने मानिसको भीड बढेपछि लासहरू त्रिपालले छोपियो । खप्परेले चारैतिर हेर्यो – बस्तीको छेउछाउका साइनबोर्ड र घरहरू गोलीले छिद्रा बनाएर गोबरमा असिना परेजस्ता थिए । त्यहीँ तलको बस्तीकी मर्ने जवानकी विधवाले आफ्ना भर्खरै मारिएका पतिको लास देख्नसम्म पाइनछन् । उनी कोलाहल गरिरहेकी थिइन्- “मलाई मेरो पति हेर्नसम्म देऊ ।” “गत वर्ष जन्मेको उनको बच्चा टुहुरो भयो” भन्ने शब्द पनि बारम्बार दोहोर्याउँथिन् ।

सो भिडन्तमा मर्ने अर्को एक जनाका बाबु आफ्नो छोराको लास बुझ्न तल गाउँबाट आउँदा उकालोमा धम्कीले सताएको साससँगै खुइखुई गर्दै चौकी आइपुगे । तैपनि उनले लाससम्म पुग्न आँट गरेका थिएनन्- डरले । खप्परेले हेर्दाहेर्दै केही समयपछि त्यहाँ प्रहरीहरू आए । डाँडाभरि मानिस जम्मा भैसकेका थिए । पत्रिकारहरू घटनास्थलमा धमाधम आउँदै थिए । यिनीहरू आफ्नै प्रकारले समाचार सङ्कलन गर्न व्यस्त थिए । एउटा हेलिकप्टरले आकाशमा दुई पटक चक्कर लगायो र कुहिरो छल्दै भिडन्त स्थल नजिक अवतरण गर्यो ।

उता काठमाडौँको सिंहदरबारमा फेरि कचहरी बसिरहेको थियो । कचहरी चाहिँ मिठा-मसिनो खाइपिइ गरेर तर सम्झौता चाहिँ नभई टुङ्गिएछ । यता घटनास्थलमा सेना र प्रहरी छरिएर शङ्कास्पद दुई-चार जनालाई केरकार गर्न थाले । एक-दुई जनालाई पक्रेर पनि लगे । “अब कहिल्यै तिनीहरू घर फर्कँदैनन्” भन्थे गाउँलेहरू । त्यही बस्तीकी एक जना अधबैँसे महिला डाँको रुँदै थिइन्- “मेरो पति निर्दोष छन् । उनलाई उनलाई फर्काइदेऊ । ऊ काम गरिखाने गोठाला हुन् । उनका बच्चा सानै छन् ।”

महिलाको त्यस्तो पीडाले भरिएको कोलाहल सुन्दा खप्परेका आँखा पानीले टिलपिल  भए । मर्नेहरूमध्ये थुप्रै जना स्थानीय गोठालाहरू नै थिए । आफ्नै रगतले लुटपुटिएका तिनका लासहरू तिनका बाबु-आमा वा दाजुभाइ-दिदीबहिनीहरूलाई पनि नजिकै गएर हेर्नसम्म दिइरहेका थिएनन्, सुरक्षाकर्मीहरूले । गाउँलेहरू भयभीत भई नजिकसम्म आउन सकिरहेका थिएनन् । बस्तीलाई कुहिराले ठ्याप्पै ढाकेको थियो र सिमसिम पानी परेझैँ कुहिरोबाट पानीका कणहरू बाक्लै खसिरहेका थिए ।

खप्परेको बुझाइमा त्यस बेला यसै गरी राज्यभरि आठ-दस जना नमरेको दिन नै थिएन । गुरुङका किशोरी दुई छोरीहरूलाई जस्तै देशका अशिक्षित गाउँका थुप्रै तन्नेरीहरूलाई माओवादीले प्रलोभन देखाई त्यसै गरेर टिपिसकेका थिए । देश अफगानिस्तान, भियतनाम, हैटी र बुरुण्डीजस्तै हुँदै गएको थियो । समर्थन नजनाउने प्रधानाध्यापक, उनका सहायक शिक्षकहरू र छापामार  र सेनाका विरोधी गाउँलेहरू कोही न कोही दुवै पक्षबाट मारिएका थिए । हत्या नगरिएकाहरूको सर्वस्व गरिएको थियो । धेरैलाई यातना दिएर झुण्ड्याइएको थियो । स्कुल र सरकारी भवनहरू कब्जामा लिइएका थिए । गोला-बारुदको धूवाँको मुस्लो कुहिरोमा मिसिएर युद्धस्थल ढाकेको थियो । सुरक्षाकर्मी भन्ने गर्थे- “तुरुन्त हातहतियार बुझाऊ र आत्मसमर्पण गर ।”

भिडन्तपछि बस्तीका मठमन्दिर सुनसान भएका थिए । हप्तौँसम्म मन्दिरमा धूप बालिन्नथ्यो । अर्घ्य तथा फूलको थुँगा चढ्दैनथ्यो । भक्तहरू मन्दिर धाउने साहस गर्दैनथे । न घण्टी नै बज्थ्यो, मन्दिरमा । भगवान पनि यो हिन्दु राष्ट्रमा निष्क्रिय र स्तब्धझैँ भएका हुन्थे ।

देशैभरि गृहयुद्ध झन्झन् चर्केको अवस्था थियो । खप्परेजस्ता कृषि विशेषज्ञको क्षमताभन्दा बाहिरको थियो, यो युद्ध । जान्नेबुझ्ने, पढेलेखेका, केही गरौँ भन्ने मनस्थिति बोकेका प्रतिभाशाली जनशक्तिहरू नेपालभन्दा बाहिरका कुनै न कुनै देशभित्र छिर्न पाए हुन्थ्यो भन्ने मनसायले अन्तर्राष्ट्रिय विमानस्थलबाट दैनिक १,०००-१,५०० को सङ्ख्यामा विस्थापित हुँदै गरेको अवस्था थियो । देश विकासका लागि र जनताको उत्थान र सुविधाका लागि थिएन, बरु प्रजातन्त्र आएपछि उम्रेका दलहरूलाई राज्यसत्ताको पालैपालो शासन गर्नका लागिझैँ थियो, अवस्था ।

यता कृषि र कृषकको जीविकोपार्जन अभिवृद्धिका लागि काम गर्ने विज्ञहरूको पेसा पनि धरापमा परेर विकासे योजनाको उद्देश्य पूरा गर्न नपाई लथालिङ्ग भएको थियो । खप्परेजस्तै विकासे कृषि विज्ञ रविन्द्रकुमार श्रेष्ठ भर्खरै सल्यान जिल्लामा एमबुसमा मारिएका थिए । यसरी कहिले छापामारसँगको जम्काभेट त कहिले सुरक्षाकर्मीको निशानामा हुन्थे, पेशाकर्मीहरू । बिहान घरबाट निस्किएपछि बेलुका फर्किने कुनै निश्चित टुङ्गो हुँदैनथ्यो, व्यवसायीहरूको । आजको रातको जनयुद्ध भोगेपछि खप्परेको वैदेशिक संस्थाको जागिरमा पनि अब प्रश्न उठ्यो । अनिश्चित जीवनको मोडबाट उसका पाइलाहरू अब अन्यत्र उचालिन थाले । आजको भिडन्तले उसलाई यो देशबाट अब बिदेसिनु पर्छ भन्ने बनाएको थियो ।

“आजको यो भिडन्त सिद्धिएको पाँ-सात घण्टापछि चौकी बजारमा बिना युनिफर्म नचिनेका केही व्यक्तिहरू आए । घरमा बाँकी रहेका परिवारसँग घोरिएर बसेका वीरबहादुरलाई पनि पक्रेर लगे । खप्परेले हेर्दाहेर्दै वीरबहादुरको आँखामा पट्टी बाँधिदिएर “कुरा बुझ्नुछ” भन्दै घिसार्दै भ्यानमा कोचेर अपरिचित ठाउँमा लगे उनलाई । पतिलाई बेपत्ता बनाएको सात घण्टा भैसक्दासम्म वीरबहादुरकी पत्नीको होस आएको थिएन । यसरी पतिलाई पक्रेर लाने अपरिचित व्यक्ति कि त सेना कि माओवादी नै थिए । उनले छापामारलाई आश्रय दिएको र छोरीहरू छापामारमा भर्ना गराएको वा सेनालाई सुराकी गरेको आरोप थियो । उनी अब सधैँका लागि बेपत्ता हुने अनुमान थियो ।

अब उनकी पत्नीले न उनको क्रिया नै गर्न पाउनेछिन् न खुलेर शोक नै मनाउन सक्छिन् । कहिलेसम्म उनले उनका निर्दोष पति फर्केर आउँछन् कि भनेर बाटो हेर्नुहोला ?

(रामप्रसाद घिमिरेको ‘खप्परेका कथाहरू’बाट)