म निकै पर पुगेर पछि फर्केँ । ऊ मेरो पछिपछि थियो। मलाई हेर्दै ऊ हिँड्दै थियो । मेरो झोलामा पानीको बोतल र केही चाउचाउको प्याकेट थिए । हिँडेको लगभथ दुई घण्टा भएको थियो । ऊ पनि मेरो पछि लागेर हिँडेको त्यति नै भएको थियो।

रिपन गौतम

जाडो महिनामा रात छिटो पर्छ। गोधुली समय थियो। कच्चा बाटोमा धुलो निकै थियो। मैले चश्मा खोलेर भेष्टको कलरमा झुण्ड्याएँ।रात पर्न लागेको थियो । मलाई तिर्खा लागेको थियो । भोक पनि। हिँड्न अझै धेरै छ । साथी भनेको त्यो मेरो पछि लागेर आउँदै गरेको त्यो केटो छ । तर मलाई बोल्न मन छैन ऊसँग । ऊ हेर्दा निकै आधुनिक देखिन्छ। लगाको लुगा र भिरेको ब्याग हेर्दा ब्राण्डेड देखिन्छ। उसले लगाको माक्स पनि केही फरक थियो। आँखा मात्र देखिने मास्क थियो।

म छेउको एउटा ढुङ्गामा बसेर बोतलको पानी पिउन थालेँ । ऊ मेरो नजिकबाट मलाई ध्यानै नदिएर अघि बढ्यो । उसले महङ्गो जिन्सको पेन्ट लगाएको थियो नर्थ ईस्ट कम्पनीको ज्याकेट लगाएको थियो । जुत्ता पनि ब्राण्ड थियो ।मैले हेरेँ !

ऊ चुपचाप अघि बढ्यो । चुपचाप !मलाई पनि कुनै सरोकार थिएन ऊसँग ! म पनि हिँड्न थालेँ । अहिले म उसको पछि थिएँ । ऊ छिट्टो हिँड्दै थियो । माथिल्लो घुम्ती काटेपछि मैले उसलाई देख्न छोडेँ !

+++

रात त परिहाल्यो। हिँड्न नै गाह्रो हुने गरी अँध्यारो भयो । मैले पाइलाको रफ्तार बढाएँ । मलाई शेर्पा लज पुग्नु थियो । त्यस्तो ठुलो लज त हैन तर हिँड्दा यहाँ म धेरै बास बसेको छु । दुई तीन कोठा छ यहाँ बस्नको लागि। मलाई त्यहाँ पुग्नु छ। हिँडाइले जाडो त छैन शरीरमा तर पसिनाले भिजेकोले गन्ध आउन थालेको छ । यो घुम्ती काटेपछि मैले शेर्पा लजमा बलेको मधुरो उज्यालो देखेँ।बल्ल ढुक्क भयो।

म पुगेँ । बाहिर आगो मात्र बलिरहेको थियो ।भित्र पसेँ म ! पुरानो आसेङ रहेछन् । मैले चिने उसलाई। उसले मलाई चिनेनन्।

‘कोठा छ ?’- मैले सोधेँ।

मलाई राम्रो हेरेर भने- “छैन !”

मलाई त आपत् आइपर्यो । अब रात कहाँ बिताउने ! असेङलाई मेरो अवस्था बताएँ ।

जाँड खाएर कट्मेरो भएको आसेङले भने- “एउटा छ तर मिलेर बस !”

‘हुन्छ!’- मैले भनेँ।

‘एउटा केटा छ ऊसँग बस !’ उसले भने।

‘हुन्छ ।’ मैले भनेँ।

‘त्यो केटोलाई तपाईँ नै भनिदिनु ।’ मैले भनेँ।

केटा त्यो मेरोपछि अघि हुँदै आउने नै रहेछ । ऊ मभन्दा पहिल्यै आएर कोठा उसको बनाएछ । तर मसँग अरू कुनै विकल्प नै थिएन । ऊ अहिले बाहिर बलिरहेको आगो ताप्दै थियो। उसले मानेछ हामी सँगै बस्ने !

म कोठा गएँ ! निकै पुरानो भएछ कोठा । केही अव्यवस्थित पनि । टेबलमा त्यो केटोको ब्याग राखेको रहेछ । त्यो ब्यागबाट मिठो पर्फ्योमको गन्ध मेरो नाकमा पस्यो । मलाई लाग्यो यो केटो कुनै विश्वविद्यालयबाट शोध गर्न आएको हुनु पर्छ । मैले झोलामा भएको चाउचाउ खाएँ। मेरो जिउ सेलाएको थियो । जाडो हुन थाल्यो। हिँडाइले म थकित थिएँ । कोठामा एउटै खाट थियो । दुईवटा पुरानो सिरक र दुई वटा सिरानी थियो त्यहाँ । मैले एउटा सिरक र सिरानी तानेर मिलाएँ अनि पसेँ ।

आसेङले तातो पानी ल्याइदिए । खाना के को मासु र रक्सी । के खाने सोधे । केही खादिनँ म आराम गर्छु भनेँ । मलाई भोलि मामा घर पुग्नु थियो।

म खाटको एक छेउतिर ढल्केँ। के के सोच्दै थिएँ, निदाएछु। आधारातमा ब्युँझिएछु । त्यो केटो कति बेला आएर सुतेछ । उसको सिरक भुइँमा खसेछ । मेरो सिरक तानेर मलाई खुट्टा बोकाएर ऊ सुतिरहेको रहेछ। मलाई अरूले यसरी खुट्टा बोकाएको पटक्कै मन पर्दैन । मैले उसको खुट्टा मबाट पर सारेँ । कोठा अँध्यारो थियो । ऊ निन्द्रामा थियो। हिँडाइले ऊ पनि थाकेको थियो । मैले यति उसलाई मिलाउँदा पनि ऊ ब्युझेन । ऊ खाटको छेउमा थियो । झरेको सिरक तानेर उसलाई ओढाइ दिएँ । उसको पर्फ्योमको गन्ध मेरो नाकमा ठोक्यो ।

दोस्रोपल्ट म ब्युझिँदा उज्यालो भइसकेको थियो । मलाई चाँडै यात्रा सुरु गर्नु थियो। म उठेँ । कोठामा अलिकति उज्यालो पसेको थियो। ऊ निद्रामा नै थियो। सिरक रातीको जस्तै तलतिर लत्रिएको थियो । मिलाइदिएँ। उसको अनुहार हेरेँ !
हेरेको हेरेकै भएँ ..!

+++

सहरदेखि धेरै टाढा हिँड्नु पर्छ मेरो मामा घर आइपुग्न। अहिले म मामा घरमा आराम गरिरहेको छु र सम्झिरहेछु-
एकाबिहानै मैले आसेङलाई उठाएर म बसेको पैसा दिएर फटाफट हिँडेको…!

आसेङले मलाई सोधेको थियो- “त्यो केटा कति बेला जान्छ ?”

मैले भनेको थिएँ- खै मलाई थाहा भएन ऊ कतिबेला जान्छे..!

मेरो उत्तर आसेङलाई रहस्य लाग्यो।