अहिले त मेरा कपाल तिलचामले भइसके । पहिले जस्तो गोठालो जान पनि पर्दैन । तर मलाई मेरो बालापनको यादले गोठाले जीवनमा पुर्‍याइरहन्छ । म एक चञ्चले केटो थिएँ । चकचक गरिरहने, बोलिरहने र बूढापाकालाई प्रश्न सोधेर हैरान पार्ने ।

मलाई स्कूल भन्दा वनजङ्गल जान मन लाग्थ्यो । स्कूल छुट्टी कहिले होला र गोठालो जान पाइएला जस्तो हुन्थ्यो । म सानैदेखि बाजेसँग बाख्रा चराउन जान्थें । गाउँभन्दा अलि परको वनमा चरिचरण क्षेत्र थियो । त्यहाँ गाउँभरिका बाख्रा चराउन लगिन्थ्यो । मलाई बाख्रा चराउने कामभन्दा नि गोठालाका रमाइला गफ सुन्न औधी मजा लाग्थ्यो ।

सन्ते मामाका गफ मलाई खूब मन पर्थ्यो । बोल्नु अघि बिरालाले मुख मिठ्याए जसरी लोभलाग्दो गरी उनी जिब्रोले ओठ भिजाउँथे । अनि “यहाँ सुन भान्जा ….” भन्दै कहिले नाङ्ला जत्रा कान भएको भयङ्कर राक्षसको कथा सुनाउँथे त कहिले राजकुमार र राजकुमारीको कहानी सुनाउँथे । उनले कथा सुनाउन थालेपछि हामी चूपचाप ध्यान दिएर सुन्थ्यौं ।

कथा सुनाइसकेपछि सन्ते मामा हामीलाई बाख्रा कता पुगे ? के गर्दैछन् ? भनेर हेर्न पठाउँथे । फेरि अर्को कथा सुनाउने शर्तमा हामी बाख्रा हेर्न जान्थ्यौं ।

कहिलेकाहीं बाख्रा हराउँथे । खोज्दाखोज्दा कहिले भेटिन्थे त कहिले भेटिंदैनथे । स्यालले खान्थ्यो कि चितुवा वा बाघ केले हो ! यकीन हुँदैनथ्यो । तर गाउँभरि हल्ला फैलिन्थ्यो, ‘बाघले बाख्रा खायो रे !’

बाख्रा चराउन फुकाउँदा बोका खसी दाम्लो चुँडाउँला झैं गर्थे सँगै जान । वनपाखामा चराउँदा खसीबोकाको मासु घट्छ भनेर खोरमै दानापानी दिएर राखिन्थ्यो । भर्खरै जन्मेका पाठापाठी वनमा नलगिए पनि अलि हुर्केका पाठापाठीहरू भने माउसँगै चर्न जान्थे । ती बुरुकबुरुक उफ्रेको, खेलेको मलाई खूब मन पर्थ्यो । कहिलेकाहीं त एकमाथि अर्को उक्लिने गर्थे, चकचक गर्थे । म लाटाले पापा हेरें झैं टुलुटुलु हेरिरहन्थें ।

सन्ते मामा निकै बूढा भइसकेका थिए । एकदिन उनले यो संसार छोडेर गए । मलाई उनको निकै याद आउँथ्यो । कताबाट टुप्लुक्क झुल्किन्छन् र ‘ए भान्जा, के गर्दै छौ हँ ?’ भनेर बोलाउँछन् कि जस्तो लाग्दथ्यो । मामा बितेपछि म पनि गोठालो जान छोडें । कहिलेकाहीं बिदाको दिन भने गइटोपल्थें तर पहिले जस्तो रमाइलो लाग्दैनथ्यो । किनकि रमाइला कथा सुनाउने सन्ते मामा थिएनन् ।

पछिपछि त बिदाको दिन पनि म पढ्नु छ भनेर गोठालो जान छोडिदिएँ । पढ्ने बहानामा म हातमा किताब लिन्थें र त्यत्तिकै पाठापाठीको चर्तिकला हेरेर बस्थें ।

एउटी पाठी कालो रङमा सेतो मिसिएर झालेमाले देखिन्थी । त्यसको नाम बाजेले पुतली राखिदिएका थिए । त्यो पुतली पाठीसँग एउटा राते पाठो सँगसँगै हिँड्थ्यो, खेल्थ्यो । अरू पाठापाठीभन्दा राते बोको अलिक हट्टाकट्टा पनि थियो । अरू पाठीहरू पनि रातेसँग नजिक हुन खोज्थे तर त्यो ठाउँ पुतलीले ओगटेकी थिई ।

पाठापाठी शुक्ल पक्षको जून जसरी बढिरहेका थिए । पुतलीको टाउकामा कलिला सिङ पलाएका थिए । उसको शरीरमा कुशल चित्रकारले कुची चलाएर कालो र सेतो रङको मनोहर मिश्रण बनाए जस्तो आभास हुन्थ्यो । कालो पृष्ठभूमिमा सेतो रङ बनिसकेको सुन्दर क्यानभास जस्तो देखिन्थ्यो । कालो रङले पुतलीको गहिरो सौन्दर्य र सेतो रङले निर्दोष र कोमलता झल्काउँथ्यो । पुच्छर ठूलो थिएन र देब्रेतिर सर्लक्क ढल्किएर ठाडो परेको थियो । त्यो चित्ताकर्षक पुच्छर बेलाबेला यसरी हल्लाउँथी मानौं, उसले बालसुलभ चञ्चलता र मृदुल उत्साह एकसाथ पस्किदैछे । साना तर बलिया खुट्टाले जब ऊ बुरुकबुरुक उफ्रिंदै यता र उता गर्थी सबैका नजर उहीतिर सोझिन्थे । कहिले नखरा देखाउँदै लयात्मक चालमा सुस्तरी हिंड्थी मानौं, नाच्न सिक्दैछे । उसको हिंडाइ गम्भीर थिएन बरु एउटा सिकारु कविले मेहनत र उत्साहका साथ लेखेको कविताको चालजस्तो लाग्थ्यो । ठाडाठाडा कान पारेर छिनमै सतर्क हुन्थी र छिनमै चञ्चल भइहाल्थी । आँखा चम्किला र केही इशारा गरे झैं रहस्यमय देखिन्थे र तिनले केही गहिरो कुरा गर्न खोजे झैं लाग्दथ्यो । उसलाई मन परेको कलिलो घाँसको मुन्टा चपाउँदा उसको सुन्दरताले मुग्ध बनाइदिन्थ्यो । थोकमा यी सब गुणले उसको रूप र गुणमा चार चाँद लागेको थियो ।

राते बोकाको जीउमा पोतिएको रातोरातो रङले उसलाई शक्तिशाली र आत्मविश्वासी सेनापति जस्तो देखाएको थियो; जसले पुतलीको रक्षा गर्दै आफ्नो सेनाको निरीक्षण गरिरहेको थियो । उसको हिंडाइ पुतलीको जस्तो चञ्चल र उत्ताउलो फिटिक्कै थिएन । उसको चाल गम्भीर, सन्तुलित र शालीन देखिन्थ्यो । केही खोजे झैं ऊ टाउको हल्का झुकाएर हिंड्थ्यो जसले उसको आत्मसम्मान र नम्रतालाई साथसाथै प्रकट गरिदिन्थ्यो । उसको आँखामा तेज थियो भने हेराइमा माया, न्यानोपन र सम्मोहनको झल्को पाइन्थ्यो । पुतलीलाई हेर्दा राते पक्का मायालुको साथमा मानौं एउटा असल अभिभावकले आफ्नो प्रियजनलाई सुरक्षा र भरोसा दिइरहेको भान हुन्थ्यो ।

माया गराइमा त रातेको कुनै सीमा थिएन । ऊ कहिले आफ्नी सानी पुतलीको वरिपरि घुम्छ, नजिकै बस्छ र कहिले आफ्नो टाउकोले उसलाई कोमलताका साथ स्पर्श गरेर मायाको सङ्केत दिन्छ । जब पुतली खेलिरहेकी हुन्छे तब ऊ केही कदम पर उभिएर उसको हरेक क्रियाकलाप नियालिरहेको हुन्छ लाग्छ; ऊ असल प्रेमीको अलावा एक सचेत अभिभावक पनि हो । उसको प्रत्येक चाल, हेराइ र व्यवहारले ऊ केवल बलियो मात्रै नभई ममतामय र संवेदनशील पनि छ भन्ने प्रष्ट देखिन्थ्यो ।

पुतली र रातेको प्रेम दिन दुगुना रात चौगुना बढिरहेको थियो ।

यस्तैमा एकदिन बाजेले भने, “अब यी पाठाहरूलाई पनि बाँध्नुपर्छ । सारो दुःख दिए ।”

“बाँध्यो भने कराउँछन् होला ! हुन्दिनू न बाजे यत्तिकै …” मैले बाजेलाई अनुरोध गरें ।

“अर्काको बाली खाएर गाल पारिसके, नबाँधी के हुन्थ्यो !” जब्बर बाजे के मान्थे ! ससना दाम्ला ल्याएर किलामा बाँधिदिए ।

कहिल्यै नबाँधेका पाठापाठी म्याँ… म्याँ… गरेर कराउन थाले । तिनको घाँटीमा बाँधेको दाम्लोले दुखाउँथ्यो, पीडा हुन्थ्यो । वेदनासँगै तिनीहरूको स्वतन्त्रता खोसिएको थियो, साथ छुटाइएको थियो ।

रातेले घाँटीबाट दाम्लो खुस्काउन निकै बल गर्‍यो । कहिले लम्कन्थ्यो, कहिले पछाडिका खुट्टा टाढाटाढा पुर्‍याएर तनक्क तन्किन्थ्यो । खुट्टाले भुइँ खोस्रिंदै ऊ भएभरको बल लगाउँथ्यो तर नयाँ दाम्लोको बन्धनबाट उसले मुक्ति पाउन सकेन । ऊ असहाय नजरले घरीघरी पुतलीतिर हेर्थ्यो । लाग्थ्यो, यदि ऊ छुट्न सकेको भए सबैभन्दा पहिला पुतलीको छेउमा गएर उसलाई छुटाउने थियो ।

पुतलीले पनि छुट्नको लागि कुनै कसर बाँकी राखेकी थिइन । आफ्ना साना कोमल खुट्टा जमिनमा ठोक्दै गला अवरुद्ध हुनेगरी कराउँथी, रुन्थी । ऊ त्यो जञ्जीरबाट छुटेर छिटै राते भा’ठाउँमा पुग्न चाहन्थी । दुवै एकअर्कालाई भेट्न हरसम्भव प्रयास गर्थे । पुतली भएभरको बल लगाएर दाम्लो तान्थी । प्यारो रातेलाई छुन नपाएर पीडाले थुरुरु काँप्थी । त्यो बेला राते पुतलीको पीडा आफूभित्र महसूस गर्थ्यो र दाम्लोको कसी तोड्न खोज्दै किलो वरिपरि फन्को मारेर उसको नजिक पुग्न खोज्थ्यो ।

तिनीहरूको पीडा र असजिलो देखेर मलाई छटपटी भयो । बाजेलाई यताउता हेरें, कतै देखिनँ । अनि बिस्तारै गएर पालैपालो दाम्लोको गाँठो फुकाइदिएँ । बन्धनबाट मुक्त हुनेबित्तिकै तिनीहरू रमाएर खुरुर्र कुद्दै बारीको डीलसम्म गए । खुशीले बुर्कुसी मार्दै तिनीहरू कहिले यता त कहिले उता गरे । एकअर्कालाई सुँघे, चाटे । राते र पुतलीका जस्तै अरू पाठापाठीका पनि जोडी थिए । राते अर्की सेतीको छेउमा हुँदा पुतली गएर बीचमा उभिदिन्थी । कुनै बेला पुतली अर्को बोकाको छेउमा जाँदा राते पीर मानेर हेर्थ्यो, दुःखी भए झैं देखिन्थ्यो ।

त्यो दिन त मैले बाजेले नदेख्ने गरी तिनीहरूलाई फुकाइदिएँ । त्यसपछि तिनलाई सधैं बाँध्न थालियो । जे जस्तो भए पनि उनीहरूले हार भने मानेका थिएनन् । एकअर्कालाई भेटेर छुने, जिस्किने, उफ्रिने, खेल्ने र उक्लिने गर्न नपाए पनि कहिले चूपचाप हेरिरहे त कहिले पीडा मिसिएको आवाजमा कराइरहे । कहिले आँसुले टिलपिल भरिएका आँखाले हेर्दै मौन संवाद गरे भने कहिले किलो नै उखालेर भेट्न खोजे । कहिलेकाहीँ राते आफ्नो पुच्छर हल्लाएर पुतलीलाई ढाडस दिन्थ्यो भने पुतली पनि सानो आवाज निकालेर आफ्नो उपस्थिति र माया दर्शाइरहन्थी । उनीहरूको छटपटाहट केवल शारीरिक दूरीको कारण मात्रै नभएर गहिरो स्नेहको सबुद थियो । उनीहरूलाई अलग राख्दा मानौं एउटा आत्मालाई दुई भागमा चिरेर अलग्याइएको जस्तै लाग्दथ्यो ।

पुतली जब थाकेर बस्थी राते उसलाई मायालु दृष्टिले नियालिरहन्थ्यो । पुतली पनि रातेतर्फ चम्किला आँखाले हेरेर, पुच्छर हल्लाएर प्रेम र कृतज्ञताको सन्देश दिन्थी । अनि राते गुलाबी जिब्रो निकालेर भन्थ्यो, ‘ओइ पुतली, म सधैं तिम्रो साथमा छु ल !”

छिनभरमै पुतली उठ्थी र दाम्लो चुँडालेर राते भा’ठाउँमा जान खोज्थी । नसकेर दर्दले भरिएको आवाजमा ‘म्याँ म्याँ …’ गर्थी । जब उनीहरूले आफ्नो स्वतन्त्रता गुमाए, हेराइ र आवाजले आआफ्नो प्रेमको गहिराइ प्रकट गर्दथे । उनीहरूको प्रेममा कुनै शर्त थिएन र हरेक चालढालले उनीहरूको भावनाको गहिराइ छर्लङ्ग पारिदिएको थियो ।

एकदिन बाजेले भेटेनरीलाई लिएर आए । रातेलाई समातेर खुट्टा बाँधेर भुइँमा लडाइयो । उसले बेस्सरी बल गर्‍यो र छुट्न खोज्यो, करायो । पुतलीले केही कुरा बुझ्न नसके पनि रातेको पीडामा दुःखी भई, बल गरेर तन्किई, दाम्लो चुँडाउन खोजी । सिपालु भेटेनरीले उसलाई खसी बनायो र छोडिदियो । राते असह्य पीडाले आँसु झार्दै कक्रिएर उभियो । त्यो दिन उसलाई चाँडै छोडियो । तर पनि उसले घाँस खाएन, पुतलीको छेउमा पनि गएन । पुतलीको आमन्त्रणलाई समेत बेवास्ता गर्‍यो, रोएरै दिन कटायो ।

दिनप्रतिदिन रातेलाई शारीरिक पीडा र दुखाइ कम हुँदै गयो तर मनमा नमीठो वेदनाले घर गरिरहेको थियो ।

एका बिहानै पुतली बेस्सरी कराउन थाली । रातेलाई हेर्दै दाम्लै चुँडाउँला झैं गरी । पहिलेको भन्दा फरक आवाजमा ऊ कराएकी थिई । उसको प्रेमालाप रातेले बुझिदेओस् र आफूलाई भोगोस् भनेर पुतली आशाले भरिएको नजरले उसलाई हेर्दै झनझन् कराई । राते अर्कापट्टि फर्केर थाहा नपाए झैं गर्‍यो । उसको बेवास्ताले पुतली मर्माहत भई ।

केही बेरपछि बाजेले अर्कै बोको लिएर आए । त्यो ध्वाँसे बोको उतुँतुँतुँ गर्दै पुतलीमाथि चढ्यो । राते बोको, जो पहिलेसम्म पुतलीको प्यारो साथी, रक्षक र प्रेमी थियो अब केवल एक निरीह साक्षी बनेर हेर्न विवश थियो । रातेले त्यो हेर्न नसकिने दृष्यको पहिलो झलकपछि टाउको झुकायो र आँखा बन्द गर्‍यो । उसको मनमा पीडाको अथाह समुद्र उर्लियो, जहाँ उसले आफ्नो अस्तित्वको सबैभन्दा महत्त्वपूर्ण अंश गुमाएको महसूस गर्‍यो । ऊ आफ्नो पुरुषार्थ गुमाउनुपरेको वेदनालाई हृदय मिचेर सहन गरिरहेको थियो ।

उता पुतलीको मनमा पनि यस घटनाले अजीव हलचल पैदा गरिदिएको थियो । उसले बालापनदेखि नै रातेको माया, स्नेह र प्यारो साथको अनुभव गरिसकेकी थिई । रातेको रसिला आँखाहरूमा लुकेको पीडा देख्दा, पुतलीले आफ्नो मनमा गढेको दर्द लुकाउन सकिन । ध्वाँसे बोकाको सामीप्यले उसलाई कुनै सन्तुष्टि दिएको थिएन । आफ्ना हर भावनाहरू रातेतिरै एकनास झुकेका थिए । ऊ रातेसँग क्षमा माग्ने मौका खोजिरहेकी थिई तर रातेले आफ्नी पुतली आफ्नै आँखा अगाडि अर्कैकी भएको देखेर पीडा लुकाएर मौनतामा बाँधिन थालेको थियो । उसले पुतलीतिर हेर्नै छोडिदियो । पुतली पनि आफ्नो मनमा गहिरो असन्तोषको गह्रुङ्गो भारी बोकेर एक प्रकारको भिन्न यथार्थसँग सम्झौता गर्न विवश भई ।

उनीहरूको प्रेम, जुन पहिले सरल, स्वाभाविक र निष्कलङ्क थियो, अहिले पीडाको स्मृतिमा परिवर्तित भएको थियो ।

गोठाले जिन्दगीको सुदूर स्मृतिमा राते बोको झल्याकझुलुक आइदिन्छ जुन पछि खसी परेर पुतलीसँग बिछोडिन विवश भएको थियो । पुतलीले चाहँदाचाहँदै पनि प्यारो रातेलाई पाउन सकेकी थिइनँ जुन एउटा नमीठो घाउ बनेर बसिरह्यो ।

पुतली र रातेको बालापनदेखिको प्रेम मेरा आँखै अगाडि कसरी टुटेर गयो ! मैले मूकदर्शक भएर टुलुटुलु हेर्नु सिवाय केही गर्न सकिनँ । बरु आफ्नै प्रेम सम्झेर भाव विह्वल भएँ जुन मेरो मानसपटलमा अमीट रूपमा कुँदिएको थियो । राते र पुतलीको जस्तै बालापनको मेरो प्रेम पनि सीसा जस्तै टुटेर गएको थियो ।