कामना र कल्पना एउटै आमाका छोरीहरू थिए । एउटै संस्कारमा हुर्किएका । बाल्यकाल उस्तै तरिकाले बित्यो । सानोसानो कुरामा निकै खुसी हुन्थे । जस्तो सुकै परिस्थितिमा रमाउने । वर्तमानलाई नै सर्वाधिक महत्त्वपूर्ण ठान्ने आत्मज्ञानले ओतप्रोत। भूत र भविष्यको डरलाग्दो छायाँले छोएको थिएन । कञ्चन , निष्कलङ्क पूर्णआनन्दमा रमण गर्ने सन्तझैँ थिए।

बाल्यकालका स्वर्णीम दिनरू जब घर्किन थाले, बिस्तारै संसारले थिच्न लाग्यो । युवा अवस्थाको सुखदपलहरूको आनन्द उठाउनुमा बिस्तारै समयका पलहरू बोझिल हुन थाले । दु:ख, पीडा र विषादले शान्तिको उज्यालो मार्गमा ग्रहण लाग्न सुरू गर्‍यो ।

अनिता कोइराला

केही कालपछि दुबै दिदीबहिनीको विवाह पनि सम्पन्न भयो। दिदीको सामान्य परिवारसँग सम्बन्ध गाँसिन पुग्यो भने बहिनीको सम्पन्न परिवारसँग । कहिलेकाहीँ भए पनि दिदी शान्तिको यात्रालाई सम्झन पुग्थिन् । तर कल्पनालाई सांसारिक सुखले चुर्लुम्म भिजाएको थियो । सम्पत्ति भएपछि शान्ति स्वतः आउँछ भन्ने विज्ञान झाङ्गिसकेको थियो ।

कल्पनालाई वास्तवमा केहीको कमी थिएन । घरमा आमाजस्तो माया गर्ने सासू । पिताजस्तो बाटो देखाउने ससुरा । दिदीबहिनी जस्ता नन्द -आमाजू । कल्पनाको भावना बुझ्ने श्रीमान् ।

भौतिक सम्पन्नताले परिपूर्ण थियो घर । आधुनिक प्रविधिले घरको काम सहज पारिदिन्थ्यो । साथै सहयोगीहरू पनि प्रशस्तै थिए। खान लगाउन केहीको कमी थिएन । घरबाट सबैको माया र सम्मानसम्म पाएकी थिई । घरमा छोरी भएर हैकम चलाउँथी । तर पनि कल्पनाको मुखमा कान्ति हराउँदै थियो।

सधैँ गहिरो सोचाइमा डुबिरहेकी जस्ती । अनुहार सधैँ क्लान्त र उदास । चिन्ताले खाएकी । अतृप्त आत्माझैँ । कल्पनालाई दु:खी हुन ठूलो कुरो नै केही चाहिँदैन थियो ।

तरकारीले भरिभराउ भान्सा हुँदा पनि के खानु ? के पकाउनु ?हिजो पनि यही खाएको, आज पनि त्यही कति खानु ? भन्ने मनोदशाले नै आक्रान्त हुन्थिन्। तरकारीको सानो बजार नै थियो फ्रीजमा तर प्रसन्नता लापता हुन्थ्यो अनि विक्षिप्त भएर दुखी मनले खाना बनाउन सुरु गर्थिन् । उनको मनको भावले खानालाई प्रभावित गर्थ्यो । त्यो विषादयुक्त मनले पकाएको खानाले परिवारका अरु सदस्यहरूलाई पनि नकारात्मक ऊर्जा प्रवाह गर्न थाल्यो ।

छोराछोरी पनि बिस्तारै बिस्तारै आमाको नक्कल गर्न थाले । खानाको टेवलमा बसेर खानाकै निन्दा गर्थे । मीठो र नमीठोको बहस चलि नै रहन्थ्यो । हुँदाहुँदै खाने बेलामै सबैले आ-आफ्नो भँडास पोख्न थाले । सधैँ खाने टेवलमा महाभारत सुरू हुन्थ्यो । कोही खाँदाखाँदै रिसले खाना फ्यालेर हिँड्थे । कोही तनाव र आक्रोशमा अन्नलाई अपमान गर्दै खान्थे । वातावरण नरकीय हुँदै गयो । गर्दागर्दै यस्तै माहोलमा सबै अभ्यस्त भए। शान्तिले बसेर एक गाँस खाएको इतिहास थिएन ।

कल्पनालाई लगाउन पनि केहीको कमी थिएन । तर पनि कतै भोजभतेरमा जानु पर्दा उसको रातको निन्द्रा र दिनको चैन गुम्थ्यो। अनि आफ्नो मनोवादमा रुमलिन्थिन्, “के लुगा लगाउने होला ? कुन ब्याग बोक्ने होला ? कुन गहना लगाउनु ? सबै लगाइसकेको छु । मेरो धेरै भएर के गर्नु ,सबै पुरानो डिजाइनका मात्र गहना छन्।”

मस्तिष्कमा यस्तै कुरा खेलाएर विक्षिप्त हुन्थिन् ।आफू अशान्त भएपछि घर टाउकोमा उचाल्थिइन् । कल्पनाको मनमा उठेको आँधीहुरीको धुलोले परिवारका सदस्यहरूको पनि आँखा घोच्थ्यो । घरमा हावाको बबन्डर उठ्थ्यो । राखेको ठाउँमा केही हुँदैन थियो। तहसनहस पार्थ्यो ।यस्तो इतिहासको पुनरावृत्ति शाश्वत थियो ।

उता दिदी कामना भने थोरै आम्दानीमा पनि पूर्ण सन्तुष्ट । “शान्ति सम्भव छ” भन्ने मान्यतामा अडिग । सधैँ आनन्दमा रमण गर्ने । स्कुलमा पढेको अर्थशास्त्र गृहस्थमा प्रयोग गर्थिन्। व्यवस्थापनको डिग्री नलिए पनि असल व्यवस्थापक ।

कामना आज पनि भूत र भविष्यको दलदलबाट स्वतन्त्र थिइन् । आज पनि वर्तमानमै रमाउने कलामा अभ्यस्त । सधैँ सकारात्मक सोचलाई जागृत गर्न सक्षम । जस्तोसुकै नकारात्मक परिस्थितिलाई पनि मन्थन गरेर नतिजा सकारात्मक नै निकाल्न सक्ने गजबको बानी थियो । नमिलेको परिवारलाई पनि आध्यात्मिक शक्तिको डोरीले नखुस्कने गरी राम्रोसँग कसेर राखेकी थिइन् । छोराछोरीहरू पनि आफ्ना कमीकमजोरीहरूलाई हेर्न कलामा निपुण भैसकेका थिए। अभावलाई अवसर ठानेर आफूहरूलाई अब्बल बनाउँदै थिए।

“बाँच्नको लागि खाने कि, खानको लागि बाँच्ने ” भन्ने सामान्य गणितको सूत्र अनुसरण गर्दै ।

“सादा जीवन र उच्च विचार” लाई आत्मसात गरेको सुखी र खुसीकाे एक आदर्श परिवार थियो ।

कामनाले ध्यान, सत्संग र योगलाई जीवनको प्रमुख आधार बनाएकी थिइन् । परिवारका अरू सदस्यहरूले पनि अभ्यास गर्दै थिए। परिवारमा सुख ,शान्ति र आनन्दको अलौकिक वातावरण सृजना भएको थियो। घरबाट अलौकिक ऊर्जा आउँथ्यो । साँझ सबै जना मिलेर भजन गर्थे ।
गुरु वाणीहरू रेडियो, मोबाइल र टिभीमा बेलाबेला घन्किन्थे ।

एकदिन विक्षिप्त मन लिएर कल्पना दिदीको घर केही दिन बस्ने गरी आइन् । कल्पना कामनाको रहनसहन देखेर तीन छक परिन् । घरमा सबै शान्त, कोही कसैसँग उच्च स्वरले बोलेका छैनन् मन्दिरजस्तो छ घर । खाना खाने बेलामा सबैजना खानालाई झुकेर नमस्कार गर्छन्, जसरी मन्दिरमा प्रसाद ग्रहण गर्दा झुक्छ्न् । भान्सा कोठा र भात खाने टेबल पवित्र प्रार्थना गृहजस्तै छ ।

कल्पना वाल्ल पर्दै दिदीलाई सोध्न पुग्छिन्, “दिदी ! तेरो घरमा आउँदा मलाई सार्‍है रमाइलो लागेको छ । मन शान्त भएको आभास भयो । तेरो घरमा कति राम्रो वातावरण । घर त मन्दिरजस्तै लाग्यो।”

कामन मन्दमन्द मुस्कुराउँदै कल्पनाको अनुहार नियाल्छिन् ।

” हैन, ए दिदी ! तेरो घरमा के जादु छ, हँ ? भिनाजुले मनग्गे पैसा कमाउनु भएको छ जस्तो छ। लौ न दिदी ! यतिका वर्षपछि बहिनी आएकी छ । कोसेलीपातो टन्न दे, है ?”

” के चाहियो तलाईँ , भन्न मसँग भए दिन्छु ?”

” मलाई पनि घर फर्किने बेला यस्तो कोसेली हालिदे जसले घरलाई स्वर्ग बनाउँछ। मेरो घरमा त खाली झगडा मात्र हुन्छ। मेरो पनि पैसाको त कमी त छैन। अघि जिस्किएर भनेकी। भिनाजुले धेरै कमाउनु भयो कि भनेर त । पैसाले मात्र यस्तो आनन्द त पक्कै पनि होइन मलाई थाहा छ नि । अरु नै चिज छ, जसले तेरो घर स्वर्ग बनाएको छ । मलाई पनि सानो कुरामा रीस उठिहाल्छ । मन सधैँ अशान्त हुन्छ, खाली खाली हुन्छ ।सबैथोक भएर पनि किन म केही नभएकी जस्ती छु ? खाली नकारात्मक सोच आउँछ । छट्पटी र तनाव हुन्छ । राती पटक्कै निन्द्रा पर्दैन । उहाँ भने ज्वाइँले दुई लाख पर्ने पलङ्ग ल्याइदिनु भएको छ । मेरो दु:ख त कति हो कति भनेर साध्य छैनन्। आ ! छोड्दे बाइ ! यी कुराहरु बरु तैँले केही जादुटुना गरेकी त होइनस्, घरलाई स्वर्ग बनाउन ? कि जान्नेसँग अक्षता फुकेर ल्याएकी छ्स् । ल्याएकी भए मलाई पनि दे है । म पनि घर लगेर छर्कन्छु ।”

कामना बहिनीको कुरा सुनेर मुसुमुसु हाँस्दै बोल्छिन्, “हेर नानी ! न मैले केही जादुटुना गरेको छु । न जान्नेकहाँ अक्षता फुकेर ल्याएको छु। तँलाई मेरो घरको जस्तै खुसी र आनन्द चाहिए तँलाई कोसेली पक्कै दिन सक्छु । तर तँ तयार हुनुपर्छ । तैंले धैर्य राख्नु पर्छ । हिम्मत छ, लु भन ?”

“भन् न भन्, म सुन्छु तेरो कुरा ।”

“हेर नानी ! मान्छे भएपछि मान्छेमा हुनु पर्ने गुणलाई बचाएर राख्नुपर्छ। सधैँ सकारात्मक सोच्नुपर्छ । राम्रा राम्रा कुरा सुन्ने मात्र होइन ती कुरालाई आफ्नो जीवनमा लागू पनि गर्नुपर्छ । ज्ञानरुपी नदीमा गोता लगाउनुपर्छ । सन्तोष लिनुपर्छ । ‘जे शेष छ त्यही विशेष छ’ भन्ने ज्ञानलाई मर्न दिनु हुँदैन ।अनावश्यक चिन्ता र छ्ट्पटीले आफैँलाई दु:ख दिन्छ । शान्तिको बाटो रोज्नुपर्छ ।”

” ह्या ,तँ ! त खाली जोगीका जस्ता कुरा गर्न पो थालिस् । यो उमेरमा त खाने, घुम्ने, लगाउने अनि मोज पो गर्नुपर्छ । के त्यो मर्न लागेको बूढीको जस्तो कुरा गरेकी । बरु भन्न ,तँलाई भिनाजुले के त्यस्तो अमूल्य वस्तु दिनु भएको छ र तँ सधैँ सुखी हुन्छेस् । केही नभई मान्छे यति खुसी हुनै सक्दैन । म बाज्जी नै मार्छु । तँसँग केही पक्कै छ । मलाई लुकाउँदै छेस् । के छ राज भन्न है ? नत्र म तेरो घर कहिले आउँदिन ।”

“तँ पहिले मेरो कुरा ध्यान दिएर सुन्न । त्यसै बर्बराउँदी रहिछे । हेर नानी ! पैसाले मान्छेलाई शीतल बनाउँदैन । पैसाले सुख पनि दिदैँन, भलै सुविधा देला। परिवार, भिनाजु र छोराछोरी कोही पनि मेरा सुखका कारण होइनन् । म आफूले नै आफूलाई खुसी बनाएकी हुँ । अर्को कुरा सन्तोषले सुख मिल्छ । सन्तोषले नै शान्ति मिल्छ।

तैँले भनेको जस्तो ‘मर्न लागेको मान्छेले गर्ने कुरा गर्छेस्’ भनिस् नि ! वास्तवमा हामीले सानैदेखि आन्तरिक व्यवस्थापनलाई प्राथमिकतामा राख्नु पर्ने रहेछ। जसको आन्तरिक व्यवस्थापनलाई ठिक पार्न सक्छ उसको बाह्य वस्थापन सुव्यवस्थित हुने रहेछ । हामीलाई सबै कुरा ईश्वरले दिएका छन्, अब प्रयोग हाम्रो हातमा छ । जस्तै आगोको सही प्रयोगले खाना पनि पाक्छ र गलत प्रयोगले आगो पनि लाग्छ। त्यस कारण हामी सबैले सचेत भएर होसमा रहेर आफ्नो जीवनलाई उत्सव बनाउनु पर्छ।

हेर नानी ! जुन कुरा आवश्कताभन्दा बढी हुन्छ नि त्यो बिष बन्दछ। जीवन सन्तुलनको नाम हो। तैँले भनेको पनि सत्य हो । खानुपर्छ, घुम्नुपर्छ,मोज गर्नुपर्छ तर सन्तुलन मिलाएर । हाम्रो जीवनमा आध्यात्मिक र भौतिक पाटो जोख्दा बराबर हुनुपर्छ अनि बल्ल दीगो शान्ति र आनन्द प्राप्त हुन्छ। आध्यात्मिक र भौतिक पक्षमा जसले सन्तुलन बनाउन सक्यो उसले समृद्धिको शिखर चुम्न सक्छ, बुझिस्।”

“आ ! तेरो कुरा के हो के । मलाई त तेरो कुरा अनि त्यो सत्सङ्गको कुरा सुन्यो भने निद्रा लाग्छ । टाउको फुट्ला जस्तो हुन्छ । म त धेरैबेर यस्ता कुरा सुन्यो भने त पागलै हुन्छु । तँ कसरी ती जोगीका कुरा सुनेर बिहान नै बस्छेस् हँ ?”

“हेर कान्छी ! मान्छेले नसक्ने केही छैन । एक दिनमा कोही ज्ञानी बन्दैनन्। अध्ययन र मनन गर्नुपर्छ । राम्रा राम्रा पुस्तक पढ्नुपर्छ । सत्संग सुन्नु पर्छ। राम्रा कुरा सुनेर मनन गर्दै जा । बिस्तारै बिस्तारै आफूलाई परिवर्तन गराउँदै लैजा । नकारात्मक सोचलाई हटाउँदै जा । सकारात्मक सोच्ने अभ्यास गर । २१ दिनसम्म कोसिस गर आफैँ तेरो बानी बस्छ । अनि तँलाई यी सबै कुरा सरल लाग्न थाल्छन् । अध्यात्मको शक्तिलाई अनि बुझ्नेछेस्। त्यस पछि तलाईँ अध्यात्मको नशा लाग्छ ।”

खित्का छोडेर हाँस्दै- ” दिदी ! तँ त महात्माहरु जस्तो बोल्न थालिछेस् , बाई ! बरू जा चोकचोकमा भाषण गर, काम त पाउँछेस् ।…नरिसा है ! म जिस्केको नि । म पनि आजैबाट कोसिस गर्छु । तेरो घरको वातावरण हेरेर साँच्चै अध्यात्ममा शक्ति छ कि क्या हो ? म पनि आध्यात्मिक र भौतिक जीवनलाई सन्तुलित बनाउने कोसिस गर्ने छु, हेरि हालौ न, केही हुन्छ कि ।”

” ला हाल झोलामा यी सिडीहरू ।”

” शान्ति सम्भव छ, यो कस्तो सिडी हो ?”

” घर जा अनि हेर, अर्कोचोटि आउँदा तँलाई ज्ञान कुन्जी पनि दिन्छु पहिले यो हेर बुझ अनि आइज ।”

“दिदी साँच्चै तैंले आज मलाई ठूलो कोसेली दिइस् , तैँले सुमिरन गरेर भात पकाएको भन्थिस् ,कति चाँडो असर गरेछ बाई ! अब म तैँले देखाएको बाटोमा हिँड्ने कोसिस गर्नेछु। ल अब चिया ख्वाएर पठा मलाई । खाजा पनि खानु पर्ने बाटोमा जाम पर्यो भने, पेटमा मुसाले आन्दोलन गर्छन् ।”

“ल ल, खाजा चिया सबै ल्याइदिएको छु खा । चाँडो गर । जाने मान्छे किन अबेर गर्नु बरु चाँडो जा।”

“फेरि आउँछु ल दिदी ! बाइ बाइ !”

कल्पना आनन्द मान्दै आफ्नो घर जान्छे। कामना पनि मख्ख पर्दै घरभित्र छिर्छिन् ।