बिहानको लगभग नौ बजे । खाना खाएर कार्यालयतिर लागें । नयाँ जागीर लागेको धेरै दिन भएको छैन । लिखित परीक्षा गुवाहाटीमा दिएपछि, पछि मौखिक परीक्षा दिएर जागीर पाउँछु भन्ने त सोचेकै थिइन । बी कमको अन्तिम वर्षमा नु थिएँ जागीर भेटें । घरको अवस्थाले गर्दा जागीर गर्न जरूरी पनि थियो ।

छ-छ जना दाजुभाइ एउटी दिदी । ब्रह्मपुत्रको छेउमा घर । ब्रह्मपुत्र र दीहिङ नदीको बीचको टापुमा हाम्रो लगायत अरूअरूको लगभग ५० वटा गाई भैंसीको गोठ मिरिचपडी भन्ने टापुमा । गोठ जाने र हेर्ने जिम्मा मेरो नै थियो । गोठबाट नै लगभग सात किलोमिटर हिंडेर धौला बजार स्कूल जानुपर्ने । दुःखको थियो जीवन यात्रा । बाबुलाई सबैले गुरुबा भन्थे । म घरको अन्तरे छोरा । गोठाला अन्तरे । बोल्ने ज्यादा, गर्ने कम । तर निकै साहसी भन्थे मलाई गोठालाहरू । उनीहरू स्कूल नै नजाने म स्कूल जाने । मेरो हाई हाई थियो गोठमा । रेलको कथा, शहरको कथा लगायत प्रेमलहरी, मदनलहरी पढ्ने-भन्ने मेरो काम । उनीहरू सुन्ने र रमाउने । सिटी बजाउने । सुसेली मार्ने । रूखको कलिलो पत्ता मुखमा लिएर गीत सुनाउने । म बीचमा उनीहरू वरिपरि ।

म २३ वर्षे जवानी केटा । नयाँ किनेको हीरो साइकिल । नयाँ जागीर । अचानक बाटोमा एक जना व्यक्तिले एउटा रूख काट्दै गरेको देखें । म रोकिएँ । झसङ्ग भएँ ।

एक जना व्यक्तिले एउटा सानो औटेङ्गाको रूख काट्दै गरेको देखें ।

मैले सोधें, “दाउरा बेचेर कति पैसा भेट्नु हुन्छ ?”

उनले भने, “लगभग सय रुपियाँ ।”

काम नलाग्ने रूख काटेर लैजा भनेर बलराम काफ्ले साइँलाले काट्न दिएको भन्ने कुरा खुलाए उनले ।

कालो वर्ण भएको वृद्ध व्यक्ति । शायद दाउरा बेचेर गुजारा चलाउनु हुन्थ्यो होला । मैले वहाँलाई सय रुपियाँ दिएर यो रूख अब कहिल्यै नकाट्नू भनेर बाचा गराएँ । हुन्छ भनेर वहाँ जानुभयो । रूखले दुईचार बन्चरोको घात भेटेको रहेछ । बलराम काफ्ले साइँला आएर किन रूख काट्न नदिएको भनेर मलाई हपार्नुभयो । म भन्दा निकै ज्यादा उमेर भएको हुनाले मैले केही बोलिन । तर मेरो सारै प्रेमी दाइ उनी । उनीलाई विगतको कथा सुनाउन थालेँ । उनले पनि सुन्न रुचि देखाए । कथा शुरू गरें । घाम निकै चर्किएको हुनाले त्यो रूखैको छायामा बसेर मेरो कथा सुनाउन थालें ।

—-

सन् १९७९ मा फर्किनुपर्छ भनेर उनीलाई औटेङ्गाको रूखको वृत्तान्त आँसु झार्दै म भन्न थालें ।

मेरो प्राण बचाउने रूख हाम्रो सहारा थियो ऊ । सात दिने लगातार झरी र ठूलो उलाउमा सात जना व्यक्तिले औटेङ्गा चुसेर सात दिन कटाएको याद आयो । कोही मरे कोही बाँचे । बाँच्नेमा म पनि परेछु ।

बर्खामा ब्रह्मपुत्र उर्लिएको लेखेर र भनेर कसले सक्छ र । ब्रह्मपुत्रको धौ देख्नेले मात्रै अनुभव गर्न सक्छन् । त्यो नदीको छाल एकतले ठूलो घरभन्दा ज्यादा उचाइको हुन्छ । एक या दुई घण्टामा अचानक ब्रह्मपुत्र तरङ्गले नाचेको हुन्छ । कति र के स्वाहा हुन्छ त्यसलाई प्रभुको प्रसाद सम्झेर गोठाला र माजनहरूले युगौंदेखि स्वीकार गर्दै आएका छन् ।

म भन्दै गएँ :

गियर नभएको लगभग १२ फूट लामो काठको मसिन नाउ । एकातिर लगभग छ फूट लामो र पाँच फुट उचाइ भएको ओत छ । बाँकी ६ फूट ओत छैन । त्यसमा गोठका केही समान र दूध हाल्ने २० लिटरको खाली ड्राम आठ वटा । अरू विभिन्न गोठका समान जस्तै, निमक, चामल इत्यादि । घोर बर्खाको समय । झरी परेको लगभग पाँच दिन भएको छ । हामी सात जना व्यक्ति नौका लिएर गोठतर्फ लागियो । पानीको तरङ्ग हेरेर नौका लानुपर्ने । नौका चलाउने व्यक्ति अति नै सिपालु हुनुपर्छ । अलिकति गल्ती भए नौका तरङ्गमा पसेर स्वाहा हुने डर छ । बिहानीको लगभग सात बजे । हाम्रो गन्तव्य लगभग दुई घण्टाको दूरीमा ।

अचानक ठूलो धौले हामीलाई चारैतिर बाट घेरेको आभास भयो । गुडीवाल बालकृष्ण सारै सिपालु हुनाले नौका टेंगापनी जङ्गलतिर लाने निर्णय लिए । हाम्रो रामनाम जप्न बाहेक अरू केही उपाय थिएन । उचाल्न, पछार्न शुरू गर्यो तरङ्गले । अब नौका डुब्छ भन्ने सम्भावना हुन थाल्यो । सबै पौडिन जाने पनि केही उपाय छैन । साह्रै चिसो ब्रह्मपुत्रको पानी । लगभग १०  मिनेटमा शरीर चिसो हुन्छ ।

रुद्र, गोदार माइला, खत्री कान्छा, थारु जेठो, घिसिङ्ग कान्छा लगायत बृजमोहन र बालकृशन नौकाका कर्मी । बालकृशनको उमेर लगभग ५० वर्ष । नौका चलाएको अनुभव लगभग ३० वर्षको । दुई पटकसम्म नौका डुबेर बाँचेको ज्वलन्त कथा छन् उसको । रुद्र गोठैमा जन्मेको । आफ्नो गोठ । माजन कालीबहादुरको खड्काको नाति । आफ्नै गाई र भैँसी गोठ । उमेर लगभग २५ वर्ष । बिहे भएको छैन ।

गोदार माइलाको घर बोकाखाट शहरमा । गोठ आएको ऊ घरबाट रासन पानी लिएर । दुई छोरी एउटा छोरा बोकाखाटमा । खत्री कान्छाको उमेर लगभग २० वर्ष । खबतरी जेठाको छोरीसँग प्रेम छ भन्ने हल्ला छ तर खबतरी जेठाले “आज उप्रान्त मेरो गोठमा आइस् भने बन्दुकले उडाइदिन्छु” भने पछि उनको गोठतिर गएको छैन । प्रेमपत्र आदानप्रदान गर्ने ठूलो भाइ । दुई नले बन्दुक मेड इन बेल्जियम लेखेको बोकेर हिंड्ने गर्छन् खबतरी जेठा । शिकार पनि गर्छन् ।

थारु जेठोको उमेर लगभग ५० वर्ष । हरिभक्त माजनको गोठमा बसेको लगभग २० वर्ष भयो । घर कहाँ हो भन्दा टाउको कन्याएर पूर्व भोजपुर भन्छ । बिहे गरिदिन्छु भनेर माजनले गोठमा राखेका तर अझै भएको छैन । देख्न कालो वर्णको । बाँसुरी राम्रो बजाउँछ । अब्बल गोठाला मानिन्छ ऊ ।

घिसिङ्ग कान्छाको घर दार्जिलिङ भन्छ । ठेगाना छैन । सानोमा मामासँग आसाम आएको । मामा कता गए कता । ऊ श्रीप्रसाद खदालको गोठमा बसेको लगभग १५ वर्ष भयो । उमेर लगभग ३५ वर्ष । भगवान् बुद्ध भएको एउटा लकेट लगाएको छ । बुद्ध दर्शनमा डुबेको छ ऊ ।

म अन्तरे । सबैले अन्तरे भन्छन् मलाई । स्कूल जाने विद्यार्थी । आफ्नै गाई गोठ । आठ कक्षामा पढ्दै । उमेर लगभग १४ वर्ष । जुँगाको धर्को प्रष्ट देखिएको छ । जवानीको आगमनको आभास छ चेहरामा ।

झरी साथै तुफान अनि नदीको छाल । “चुप्प लागेर बस सबै, नडराऊ” भन्यो

बालकिशनले । नौका हल्लिँदा चार वटा दूधको ड्राम पानीमा खस्यो । नौकामा पानी पनि निकै पस्यो । नौका आधा डुब्यो । नौका नछोड । हाम नफाल भन्यो उसले । मैले घरमा बुबाले पुज्ने शालिग्राम भगवानलाई सम्झिएँ । सबै रुन कराउन थाले । बालकिशनले झपार्‍यो सबैलाई । बृजमोहन पनि बैठा राखेर नौकाको पानी फाल्न थाल्यो । नौका डुब्न लगभग चार अम्मल छ ।

अचानक एउटा सानो ढिमकी पानीमाझ जङ्गलको छेउमा देखियो । एक बिरल दृश्य । एउटा सानो बाघ र दुइटा हरिण । एउटा झेवाको बोटमा बेरिएको अजिङ्गर ।

अजिंगरलाई झेवाको रूखले नथामेर ऊ बाघको डँडाल्नोमा अडिएको छ । चारैतिर जल प्रवाह हुनाले बन कुखुरा, सर्प लगायत सबै एकै ठाउँमा छन् । कसैले कसैलाई आक्रमण गर्ने कुरा नै छैन । मिलेर बसेका छन् दुःखमा । हाम्रो नौका छेवैमा पुग्दा त्यो स्यानो बाघ र हरिणले आश्रय देखेर नौकातिर हाम फाले । झरी र हावाले गरेर नौका टुलबुल गरिरहेको छ । अचानक दुई-तीन वटा सर्प पनि आश्रय खोजेर हाम्रो नौकातिर लागे । एउटा मेरो छेउमा अर्को दूधका ड्रामको छेउमा आउन सफल भयो ।

“दुःखको बेलामा सर्पले टोक्दैन, चिन्ता नगर । आउन देऊ” भनेर बालकिशन करायो । हाम्रा साथी दुई सर्प पनि भए । फेरि जङ्गली डाहुक चरा र अरूअरू चरा नौकामा भरिए । ओत लाग्न आउँदा सबै हाम्रो वरिपरि । सबै दुःखमा परेका । व्यथा सबैको एउटै । एउटा सर्पको पुच्छर खत्री कान्छाको गोडाको छेउमा । गरुड गरुड भन्न थाल्यौं ।

जीवनको अन्त आँखामा झलझली आइरहेको थियो । मेरी दिदी एउटी, पासीघाट भन्ने ठाउँमा भर्खर कलेज पढ्दै । चार दाजुलाई सम्झिएँ साथै मलाई धेरै माया गर्ने दिदी । नुहाइदिने, जुम्रा हेरिदिने, कपाल कोरिदिने । सम्झिएँ आँसु झार्दै । बुबाआमालाई पनि सम्झिएँ । त्यस्तै साथीहरूलाई पनि । पूजा गर्ने कोठामा मन पुग्यो । धि मारेर सम्झिएँ । गुरुले व्रतबन्ध गर्दा दिएको गायत्री मन्त्र जप्न थालें । अब याद गर्ने कोही रहेनन् सबै राम राम भन्न थाल्यौं ।

नौकामा पानी निकै पसे पनि हावा अलिक कम भयो । धन्न नौकाको इन्जन चैं चलिरहेको छ तर सक्दो धुवाँ फ्याँकिरहेको छ । डिजेल निकै खपत भैसकेको छ । अचानक जङ्गलभित्र एउटा ठूलो औटेङ्गाको रूख देखियो । बालकिशानले “चिन्ता नगर, हामी औटेङ्गाको त्यो ठूलो रूखको आडमा जान्छौं” भनेर भन्यो ।

नौकामा यताउता सर्ने ठाउँ नै छैन । कतै सर्प, कतै चरा र अनेकौं ससाना विषाक्त कीरा फट्याङ्ग्रा । “जय बजरंगबली” भनेर बालकिशन र बृजमोहन कराए । उनीहरू दुवै विहार राज्यका बासिन्दा भए पनि गोठैमा उमेर बित्यो । हनुमानका भक्त । हामीले पनि जय बजरंगबली एकै साथ भन्यौं ।

नौका औटेङ्गाको बोटको नजीक पुग्यो । अब रूखमा नौका बाँध्नुपर्ने । तर आश्रय खोजेर आउने सर्प रूखको चारैतिर बेरिएका छन् । बैठा लिएर घिसिङ्ग कान्छाले केही सर्प रूखबाट हटायो । उनीहरू फेरि नौकातिर नै आए । ठूलो डोरोले नौका बाँध्न सफल भयौँ ।

चारैतिर पानी नै पानी । छाल र तरङ्ग उस्तै छ तर हावा निकै कम भएको छ । ब्रह्मपुत्रको पानी अचानक बढेर बाढी आउँदा एक प्रकारको ठूलो आवाज आउँछ । विकट हुन्छ त्यो आवाज । झन् राति त सूनसान हुनाले भुइँचालो आए जस्तो अनुभव हुन्छ । नौकाको इन्जन बन्ध गरेर बालकिशान हामीसामु आउँछ । ‘चिन्ता मत करो’ भन्यो उसले । नेपाली बुझे र बोले पनि हिन्दीमा नै कुरा गर्न रुचाउँछ ऊ । उसको पाकेटमा भएको बिडी र माचिस भिजेर भात भएको छ । पहिलो रात बित्यो । बिहान हेर्दा त नौकाको प्रायः सबैतिर सर्प र जङ्गली चराले भरिएको छ । हल्लिने ठाउँ नै छैन ।

गोठमा लान बोकेको चामल र अरू अरू सामान प्रायः भिजेका छन् । चिउरा पनि नौकामा पानी पस्दा भिजेर दुर्गन्ध आउन थालेको छ । बिहान सबैले त्यही बाँडेर खायौं । ब्रह्मपुत्रको जल निर्मल र सफा हुन्छ । तर दुई नदी ब्रह्मपुत्र र दिहिङ मिसिएको हुनाले पानी धमिलो छ । दिहिङ नदीको पानी सारै धमिलो । दुई नदीको संगमस्थल हुनाले पानी पिउने अवस्था छैन । थारु कान्छाले एउटा ड्राममा पानी भरेर तंग्रिए पछि पिउने भनेर प्रयास गर्दा सर्प नै सर्प भएको हुनाले आँट गरेन । खत्री कान्छा सारै सुरो । उलाउ उसले निकै देखेको र भोगेको छ । सर्प सबै लाटिएका छन् । छोए पनि केही गर्दैनन् । नौकाको ओत भएको माथि पनि निकै सर्प झुन्डिएका छन् । दुइटा खाली दूधको ड्राम पानीमा फ्याँकिदिएर केही बस्ने ठाउँ बनाउने तैयारी गर्न थाल्यो । केही छेउमा भएका सर्प बैठाले पानीमा फ्याँकिदियो । पुनः ती सर्प नौकामा नै आए । कतै पनि आश्रय छैन । जाने ठाउँ नै छैन । अब सँगै मिलेर नबसे उपाय लागेन । पानी कम हुने कुनै संकेत नै छैन झरी परिरहेको छ । तरङ्ग तमाम छ ।

भिजेको चिउरा जसैतसै बाँडेर खाइयो । बालकिशनले ड्रामबाट धमिलो पानी निकाल्यो । धमिलो भए पनि पानी नभई भएन । बालकिशनको टाउकोमा सधैं एउटा गम्छा बेरेको हुन्छ । त्यसैले पानीलाई छानेर पिउने पानी तैयार गरियो । झरी उस्तै छ । तरङ्ग पनि उस्तै । उलाउ कम हुने कुनै संकेत नै छैन । ठूलो ठूलो छालले गर्दा कतै जाने पनि कुरै भएन ।

उलाउमा मरेर आएका गाईभैंसी लगायत ठूलाठूला रूख बगेर आएको हेर्न बाहेक केही रहेन । वरिपरि मरेका जनावरका लाश । बैठाले लाश ठेल्ने काम बृजमोहन र घिसिङ्ग कान्छाको । सबै हैरान र लखतरान भएका छन् । त्यति नजीकबाट त्यस्तो दृश्य देखेर मेरो कलिलो मन घर पुग्न आतुर भएको छ । आमा र दिदीको काखमा सुत्न चाहन्छ अन्तरे । लमतन्न भएर आराम गर्न चाहन्छ । यहाँ त सर्पले गर्दा ढल्किने ठाउँ नै छैन ।

दोस्रो दिन पनि कट्न लाग्यो । ठूलोठूलो छालले गरेर हामीलाई कुनै उद्धारकारी नौका आउने कुनै सम्भावना थिएन । सक्दैनन् पनि । अब सर्वप्रथम बालकिशानलाई सन्चो भएन । पखाला चल्न थाल्यो । नौका माथिबाट नै तल पानीमा सौच र पिसाब गर्न पनि गाह्रो हुने । सर्प कटेर जानुपर्ने । अब सर्पबाट हामी डराउन छाडेका छौं । उनीहरू मरेका झैं भएर हाम्रो साथमा नै थिए । दुःख परेको बेलामा प्राणीको चेतना शक्ति तमाम हुँदोरहेछ । बृजमोहनलाई पनि हल्का ज्वरो आएको छ । बिहारमा भएका घरपरिवार सम्झिरहेको होला ।

म, रुद्र, खत्री कान्छा,थारु जेठो र घिसिङ्ग कान्छाले रूखबाट झरेको पाकेको औटेङ्गा चुसेर प्यास र भोक मेटाउन थाल्यौं । औटेङ्गा अलिक अमिलो हुन्छ । यसको भित्रको गुदी काटेर अचार र सब्जी पनि खाने गरेको हुनाले हाम्रो परिचित प्राण रक्षक भएको छ । फेरि पाकेको औटेङ्गाको स्वाद एक प्रकारको मीठो हुन्छ । चामल भिजेर खाने अवस्था नभए पनि त्यही अलिअलि प्राण बचाउन खायौं सबैले । घरमा आमाले “भोक मीठो कि भोजन मीठो” भनेको याद आयो । अलिकति भात सारो भए आमालाई हप्काउने बानी थियो मेरो । त्यसैले पनि होला आमाको यादले सारै सताएको ।

तेस्रो दिन औटेङ्गा चुसेर कट्यो । झरी, छाल र तरङ्ग उस्तै छ । दुईतीन वटा काठको दोलङ बगेर आएको दृश्य देखियो । शायद त्यो अरुणाचलबाट आएको हो पक्कै । बगेको दोलङमाथि हरिण सर्प र चराचुरुङ्गी पनि बसेका छन् । प्रभुको लीलाले उनीहरूलाई अलिक पर पुगेपछि ठूलो छालले समाप्त गरिदिन्छ । हाम्रा सबै इन्द्रिय अर्धचेतनामा पुग्नथालेका छन् । बालकिशान र बृजमोहन बिरामी भए । मैले औटेङ्गा चुस्न छोडिन । रुद्र, गोदार माइला, खत्री कान्छा, थारु जेठो, घिसिङ्ग कान्छा पनि औटेङ्गा चुस्न थाकेका छन् । कसले के सम्झेको छ कसैलाई थाहा छैन । घिसिङ्ग कान्छा भगवान् बुद्धको नाउँ जपिरहेको छ । मृत्यु नजीक देख्दा के याद आउँदो रहेछ भन्दा हामी सबै भन्न सक्ने भएका छौं । हामी आफैंमा बोल्न छाडिसकेका छौं । के बोल्नु ! एक अर्कालाई टुलुटुलु हेर्‍यो । आँसु झार्‍यो ।

खाने सामान भएको भए त्यति समस्या हुने थिएन । चामल, चिउरा सबै भिजेर दुर्गन्ध फैलिएको छ । भिजेका चामल डल्लो पारेर अलिअलि खानसक्ने भयो ।

बालकृशन कुप्रो परेर सुतेको दुई दिन भयो । शरीर पहेंलो भएको छ । उसले माजनबाट पाउने रकम र ब्याजमा आफन्तहरूलाई ऋण दिएको सूची हामीलाई सुनायो । सुनाइदिनु पर्ने उसको घर परिवारलाई । उसले अब बाँच्ने आशा छाडिसकेको छ । बृजमोहनको पनि शरीर त्यति सन्तोषजनक छैन । थारु जेठो पनि बोल्न छोडेको छ । राति उल्टी गर्यो उसले । रुद्र, गोदार माइला, खत्री कान्छा, घिसिङ्ग कान्छा र म पनि अब आ-आफ्नो इष्टदेव सम्झेर कुनै चमतकारको आशामा छौं । झरी रोकिएर नदीको छाल तरङ्ग कम्ने कुनै लक्षण नै छैन । उलाउ निकै देखियो तर यस्तो लामो समयको यस्तो प्रलय विगतमा भएको र नदेखेको कुरा गर्छ घिसिङ्ग कान्छा । हामी झरीको बाछिटाले भिजेका तीन दिन भयो । शरीर भिजेका छ । नौका छालमा हल्लिरहेको छ । जनावर लम्पसार भएका छन् । उलाउ त बर्खामा वर्षेनी आउने गर्छ तर यस्तो उलाउ हुन्छ भनेर कसैले सोचेको थिएनौं । हाते नौका लिएर निकै पटक बाढीमा गोठ तरेको याद छ तर यस्तो छाल कहिले नदेखेको ।

चौथो दिन एका बिहानै बालकृशनको वाक्य बस्यो । बोल्न सक्दैन ऊ । थारु जेठो र बृजमोहन उसको छेउमा बसेर रामराम जपिरहेका छन् । उनीहरूको अवस्था पनि सारै राम्रो छैन । म आमा आमा भनेर रुन थालें । खत्री कान्छाले सम्झयो ।

अचानक दिउँसोको लगभग २ बजे एउटा प्रकाण्ड मिसिन नौका देखियो । त्यो पनि छालमा हल्लिएको छ तर ठूलो हुनाले केही भएको छैन । शायद हामीलाई खोज्दै आएका होलान् । हामी सबैले मिलेर दूधको ड्राम बोकेर बजाउन थाल्यौं कतै आवाज सुन्छन् कि भनेर । त्यो नौकाको माथि बसेको चालकले हाम्रो नौका देख्यो होला शायद । यतै आउन थाल्यो त्यो ठूलो मिसिन नाउ । हामी सबैले त्यो नौका देख्यौं । राम लक्ष्मण माजन र बुबालाई परैबाट देखें । ठूलो छाल बनाउँदै त्यो मिसिन नाउ हामीतर्फ लाग्यो । बालकिशानको चालचुल छैन । हामीमा प्राण सञ्चार भयो ।

उनीहरूले हाम्रो नौका समातेर एक एक जनालाई त्यो ठूलो नौकामा सारे । बालकिशनको शरीर चिसो भएको थियो । अर्को नौकामा सारेर उसलाई सुताए । हामीलाई पनि सारेर पहिले बिस्कुट खान दिए । निकै दिन भोकाएको व्यक्तिलाई एकै चोटी ज्यादा खान दिनुहुँदैन भने । बृजमोहनले एउटा बिस्कुट र पानी पिएर सास फेर्यो । हामीलाई गुँड, चिउरा, बिस्कुट र पानीले निकै प्राण सञ्चार भएको थियो । हामी सबैलाई सुत्न दिए । हाम्रो नौकालाई उनीहरूको नौकामा बाँधेर लाने सल्लाह गरे । हाम्रो नौकाको सर्प एकएक गरेर उनीहरूले पानीमा हुत्त्याउन थाले । हाम्रो नौका बाँधेर पुनः गोठतर्फ ठूलो नौका साइरन बजाउँदै फर्किन थाल्यो ।

—-

कथा सुनेर बलराम काफ्ले साइँला आँसु झारेर “अब यो औटेङ्गाको रूख काट्न कसैलाई दिन्न अन्तरे भाइ” भनेर भन्नुभयो । तिम्रो त प्राण नै बचाएको रहेछ औटेङ्गाको रूखले भनेर त्यो दुईचार बन्चरोले घाइते भएको ठाउँलाई हिलो माटोले पोतेर मेरो मनलाई केही शान्ति प्रदान गर्नुभयो । अब सम्पूर्ण उलाउको कथा भन्न आग्रह गर्नुभयो । मैले मेरो डेरामा बेलुकी बेलुकी आउनु सम्पूर्ण कथा भन्छु भनें । हुन्छ भन्नु भयो ।

म कार्यालयतर्फ दुःखित मन लिएर चल दिएँ ।

गुवाहाटी, असम

कथासंग्रह ‘लोहितकिनारका गोठ र गोठालाहरू’ बाट