
बल्लबल्ल उनले कोठामा सर-समान मिलाई सकिन् । किरायामा लिएको कोठामा उनी आजदेखि बस्न आएकी थिइन् ।
भर्खर सोलाहको वसन्तमा पाइला टेकेकी रिनाले एधार पढ्न भनी नोकडाँडा बस्तीबाट कालेम्पोङ आएकी थिइन्।
अग्ली कद भएकी हेर्दा गहुँगोरी, दुब्ली पातली, कम्मर छिनेकी , कपाल लामो भएको रिना असाध्यै सुन्दरी थिइन्।
स-साना कुरामा रिसाइहाल्ने उनको नराम्रो बानी थियो । उनी सानो छँदा नै उनका माता पिता परदेश लागेका थिए। उनलाई बाजे बज्यैले हुर्काएका थिए।
गाउँका माध्यमिक पाठशालाबाट माध्यमिक परीक्षा उतीर्ण गरिसकेपछि उनी एधार कक्षामा यहाँ पढ्दै थइन्।
उनी आज साह्रै थकित भइन् । पलङमा ढल्केर मोबाइल चलाइरहेकी थिइन् , निदाइछिन् ।
अचानक घरभेटी दिदीले मध्याह्नको खाना खान बोलाउँदा उनी झस्केर ब्युँझिन् ।
घरभेटी दिदीको नाम विनीता थियो । टेबलमा खाना सजाएर उनले रिनालाई पर्खिरहेकी थिई।
गाउँका एकजना आफन्तबाट रिना यस घरमा आइपुगेकी हुनाले उनको दिदीसँग राम्रो परिचय थिएन।
सायद पहिलो दिन भएर होला रिनालाई धेरै अप्ठ्यारो लागेर आयो ।
“आऊ बस ” भन्दै दिदीले बस्न कुर्सी झिकिदिइन् ।
“अप्ठ्यारो मान्नु पर्दैन आफ्नै घर सम्झ न” – उनले फेरि कुरा थपिन्।
दिदी पनि भर्खर चौबीस पच्चीस वर्षमात्र पुगेकी रहेछिन्।
अप्ठ्यारो मान्दै मान्दै रिनाले खाना खाई सकिन्।
त्यसपछि दिनभरि दुईजना बात गरिबसे ।
उनी घरमा आफ्नो सात वर्षीय छोरो विशाललाई लिएर बस्दै आएकी रहिछिन्।

शङ्कर शर्मा (डुवर्स)
उनका पति रमेश भारतीय सेनामा हुनुहुँदो रहेछ। दिदी दुई जिउकी छिन् भन्ने कुरा पनि रिनाले थाह पाइन् ।
खास घर अलगडा भए तापनि विगत पाँच छ वर्षदेखि यहाँ बस्दै आएको कुरा पनि दिदीले रिनालाई बताइन्।
“मलाई पनि एक्लै बस्न अल्छी हुन्छ नि अब तिमी साथी हुने भयौं” – दिदीले भनिन्।
रिना खिस्स हाँसिरहिन्।
बेलुका रिनाले घरधन्धामा पनि सघाउ पुऱ्याइदिइन्।
दिनदिनै उनीहरूको घनिष्टता बढ्दै गयो । रिनाले प्रायःजसो सबै घरका काम गरिदिन थालिन्।
दिदी अत्यन्तै खुसी भइन्। उनी पनि अब सबैकुरामा रिनामाथि भर पर्न थालेकी थिइन्।
विस्तरै छुट्टीका दिनहरूमा सँगै घुम्न जान थाले उनीहरू । बजारपात पनि दिदीले रिनालाई साथ लिएर जान्थिन् । अनि उनलाई मनपरेको सरसमान किनिदिन्थिन्।
रिनालाई पनि रमाइलो लाग्न थालेको थियो ।
एक दिन दिदीसँगै उनीहरू सुत्ने कोठामा पसिन् रिना । त्यहाँ पति-पत्नीको ठूलो तस्बिर रहेछ । उनले प्रायःजसो आफ्नो पतिको गुण गाइबस्थिन् । रिनाको मनमा अस्तिदेखि रमेशलाई हेर्ने इच्छा थियो ।
“साँच्चै उनले वर्णन गरेजस्तै रहेछन्” – तस्बिर हेरेर मनमनै भनी ।
“खुब ध्यान लाएर पो हेऱ्यौ त” – अचानक दिदीको कुरा सुन्दा रिना झसङ्ग भइन् ।
“रमेश दादा तपाईँले भनेजस्तै रहेछन् नि त” – भन्दै उनी दिदीछेउको पलङमाथि आएर बसिन्।
त्यसपछि दिदीले उनीहरूको बिहेको किस्सा सुनाउन थालिन्।
विनीता दिदीको मुखबाट नित्य रमेशको कुरा सुन्दा सुन्दा रिनाको मनमा रमेशप्रति अझ कौतुहलता बढ्दै जाँदै थियो ।
दिनभर पाठशालामा पनि दिदीको कुराहरू उनको मस्तिष्कमा घुम्न थालेको थियो ।
एक दिन अचानक दिदीले भनी – ” यो महिनाको अन्ततिर रमेश घर आउनुहुन्छ बहिनी ।”
दिदी एकदमै हर्षित थइन् । रिना पनि उनीसँगै खुसी भइन् । उनको मन मस्तिष्कमा रमेशलाई हेर्ने चाह थियो । दिनप्रतिदिन यो चाहना प्रबल हुँदै जाँदै थियो ।
एक दिन साँझमा कोठाभित्र बसेर रिना पढिरहेकी थिइन् । दिदी खाना बनाउनमा व्यास्त थिइन् ।
बाहिर कसैले बोलाएको सुनिन्। झ्यालबाट चियाएर हेरिन् तर अनुहार देख्न पाइनन्।
त्यो मान्छे सरासर भित्र पस्यो ।
केहीबेरमा “रमेश दादा” भनी दिदीको ठूलो स्वर रिनाको कानमा पऱ्यो।
रिना अत्तालिइन् । एकपल्ट त कुदेर बाहिर जान मन लाग्यो । फेरि किन हो उनलाई मनभित्रबाट डर लागेर आयो । उनलाई किन त्यस्तो लाग्यो आफैँले पनि बुझ्न सकिनन्।
केहीबेरमा दिदीले रिनालाई बोलाएर रमेशसँग परिचय गराइन् । रिनाले अप्ठ्यारो मानी मानी ढोगिन्।
उनीहरू पति पत्नी गफ गर्न थाले। रमेशले छिटो आउनुको कारण बतायो । आफ्नो यात्राबारे सुनाउँदै थियो ।
रिना त्यहीँ बसेर रमेशलाई हेर्न थालिन्।
छब्बीस सत्ताइस वर्ष पुगेको रमेशको शरीर हष्टपुष्ट थियो । चौडादार छाती , अग्लो कद भएको रमेश कालो कालो वर्णको थियो ।
धेरैबेरसम्म रिनाले रमेशलाई हेरिबसिन् ।
आज आधारात बितिसक्दा पनि निद्रा लागेन रिनालाई । कतिबेला बिहान हुन्छ जस्तो लाग्न थाल्यो । भोलिपल्ट आइतबार थियो; बिदाको दिन । सबै बिदाको दिन ढिलो उठ्ने गर्छन् तर उनलाई भने कतिबेला उठ्नु जस्तो भइरहेको थियो ।
दिदी अब बेसी काम धन्दा गर्न नसक्ने अवस्थामा थिइन् । त्यसैले घरको सबै काम रिनाले गरिन् ।
फुर्सदमा रमेशसँग बात गर्ने मौका पनि मिल्यो । रमेशसँग बात गर्न पाउँदा उनलाई अत्यन्तै खुसी लागेर आयो ।
रमेशलाई बेला बेला चियापानी पनि सोध्न थालिन्।
अब विनीता दुई जिउकी भएको नौ महिना पुग्न लागेकाले गर्दा रमेश चिन्तित थियो ।
नभन्दै एकदिन उनी पेट दुख्यो भन्न थालिन् । रमेशले हतार हतार अस्पताल पुऱ्यायो ।
डाक्टरले जाँच गऱ्यो । “भर्ती गर्नू” भन्दा रमेशले दिदीलाई अस्पताल भर्ती गरायो ।
विशाललाई लिएर रिना बिहानदेखि नै घरमा थिइन्।
छिमेकको एकजना दिदीलाई विनीताको साथमा छोडेर रमेश बेलुकी घर फर्कियो।
रिनाले रमेशका निम्ति टेबलमा खाना लगाइदिइन्।
“तिमी खाँदैनौ” कुर्सीमा बस्दै गर्दा उसले सोध्यो ।
“तपाईँ खानुस् न म अहिले खान्छु” – उनले जबाफ दिइन्।
“के भयो तिमीलाई चुपचाप छौ, अनुहार पनि अँध्यारो देख्छु त” – रमेशले अझ सोध्यो ।
“हैन केही भएको छैन” – रिनाले भनिन्।
रमेशको चित्त बुझेन । जुरुक्क उठ्यो र गएर रिनालाई हातमा समाई ल्यायो । आफूसँगै खाना खान लायो। रिनाले जबरजस्ती दुई चार गाँस मुखमा हालिन्।
कामधन्दा सकेर रमेशलाई केही नभनी रिना आफ्नो कोठामा पसिन्।
रमेश पनि गएर विशालसँग सुत्यो।
आधारात बितिसकेको थियो । रिनालाई आज पनि निद्रा लागेको थिएन। उनलाई आफूबाट भएको गल्तीको पछुतो भइरहेको थियो । आफ्नो मस्तिष्कलाई वशमा राख्न नसक्दा उनी दुःखी भएकी थिइन् ।
उनी के के सोचिरहेको थिइन् । त्यतिबेला नै बाहिरबाट ” ढक ढक ” को आवाज आयो ।
रिना डरले थुरथुर भइन् ।
केही नबोली चुपचाप बसिरहिन् ।
फेरि बाहिरबाट “दैलो खोल न” भनेर आवाज आयो ।
रमेशको स्वर उनले चिनिहाली। फसाद पऱ्यो उनलाई । दैलो खोल्नु कि नखोल्नु?
बाहिरबाट आवाज आइरह्यो । अन्तमा उनले दैलो खोलिदिइन् ।
रमेशभित्र प्रवेश गऱ्यो ।
पस्नसाथ रिनाको हात समाई आफूतर्फ तान्यो।
रिनाले फुत्किने चेष्टा गरिन् तर के सक्थिन् ?
“तिमीले मलाई कुन नजरले हेर्छौ भन्ने कुरा मलाई थाहा छ । फेरि आजचाहिँ के भयो तिमीलाई ?”- रमेशले प्रश्न गऱ्यो।
रिनाले केही जवाफ दिन सकिनन् । आँखाबाट पिलपिल आँसु खसालिन् ।
रमेशले नाना थरीका कुरा गरेर फकाउन खोज्यो । जीवनभर साथ दिने कसम खायो ।
मन नमानी नमानी रिनाले अन्तमा आफूलाई रमेशको प्रेममा बली चढाइन् ।
दुई दिनपछि दिदीले छोरीलाई जन्म दिइन् । सबै हर्षित थिए तर रिना खुसी हुन सकिनन्।
त्यसपछि रिनाको कोठामा रमेशको आउजाउ भइरह्यो।
दिदी दुईवटा नानीहरू हेर्न व्यास्त रहन्थिन् ।
अब त दिदी भनेर बात गर्नु पनि रिनालाई अप्ठ्यारो लाग्न थालिसकेको थियो ।
दुई महिना छुट्टी चाँडै बितेजस्तो लाग्यो रमेशलाई।
आज उसको पल्टन फर्किने दिन थियो ।
हातमा ब्याग लिएर ऊ फर्कने तर्खरमा थियो ।
रिनाले झ्यालबाट हेरिरहेकी थिइन्। उनीहरू पति पत्नी के के बात गरिरहेका थिए।
धेरैबेरसम्म रिना बाहिर नआउँदा रमेशभित्र पस्यो
“राम्रोसँग बस है अर्कोपालि भेटौला” – यति भनेर रमेश बाहिर निस्क्यो ।
रिनाले हेरिबसिन्।
हेर्दाहेर्दै ऊ बिदा लिएर घरबाट गयो । रिनालाई एकपल्ट त भक्कानिएर रुन मन लाग्यो तर सकिनन् ।
पल्टन पुगेपछि रमेशलाई रिनाको यादले साह्रै नै सतायो।
सुरु सुरुमा उसको फोन उठाउँदै थिइन् रिनाले तर पछिपछि भने रिनाले बात गर्न छाडिन्।
अब उसले विनीतालाई नै रिनाको हाल खबर सोध्न थाल्यो ।
दिनहरू सामान्य बितिरहेको थियो तर अचानक उसको पल्टनको सरुवा भयो । करिबकरिब हप्ता दश दिन उसले घरमा फोन गर्न पाएन ।
ऊ धेरै नै चिन्तित थियो । मन विचलित भइरहेको थियो ।
दश दिनपछि बल्लबल्ल उसले फोन गर्न पायो ।
आज उसले सोध्नभन्दा अघि नै विनीताले रिनाको हालखबर सुनाइन् ।
“मैले त रिनालाई घरबाट निकालिदिएँ नि” – विनीताले भनिन्।
यो शब्द सुनेर रमेशको होसले ठाउँ छोड्यो ।
डराई डराई सोध्यो उसले – “किन र , के भयो ?”
“ए उसले त काम बिगारी छे नि” – फेरि भनी विनीताले।
“कस्तो काम भनिहाल न”- रमेश करायो।
“रिना अस्ति कक्षामै बिरामी भइछिन् जचाँउदा त उनी चार पाँच महिनादेखि दुई जिउकी रहेछिन् । सबैले सोधे कसको बच्चा हो भनेर तर उनले पटक्कै मुख खोलिनन् । पाठशालाबाट निकालिदयो उनलाई । अब यहाँ बसेर के गर्छौ घर जाऊ भनिदिएँ” -सबै बताइन् विनीताले।
उनले मुख खोलिन भन्दा ढुक्क मान्यो रमेशले।
केही सोच्न सकेन उसले।
तुरुन्तै बिदाको निवेदन लेखी बुझायो तर भन्नेबित्तिकै उसले बिदा पाएन।
एक वर्ष प्रतीक्षा गरेपछि आखिर ऊ घर फर्कने मौका पायो ।
दुई महिनाको बिदा लिएर आखिर एक साँझ ऊ घर आइपुग्यो।
विनीताले खुसीले स्वागत गरिन्।
त्यो घरले झन् रिनाको याद ताजा बनाइदियो।
भोलिपल्ट साथीको घर जाने निहुँ गरी ऊ रिनालाई भेट्न नोकडाडातर्फ लाग्यो ।
“अब त पक्कै रिनालाई भेट्छु” भनी मनमनै ऊ खुसी हुन थाल्यो ।
“मलाई देखेर कति खुसी हुन्छिन् होली” उसको मनमा अनेकौँ कुराहरू खेल्न थाल्यो ।
नोकडाँडा बस्ती पुगेपछि ऊ सोधखोज गर्दै रिनाको घरमा पुग्यो ।
आँगनमा एक जना बाजे डोका बुनिरहेका रहेछन् । रमेशले ढोग गऱ्यो र यताउता हेर्न थाल्यो ।
रिनालाई हेर्न ऊ तड्पिए रहेको थियो ।
अब रिनालाई साथ लिएर जान्छु सदाका निम्ति भनी सोचिरहेको थियो ।
रमेशको बोली सुनेर भित्रबाट एकजना बज्यै निस्किइन् । रमेशले उनलाई पनि ढोगिदियो।
“भित्रै आउनू नि नानी ” – भनी बज्यैले भित्र बोलाइन्।
जुत्ता बाहिर खोलेर रमेश भित्र पस्यो र कुर्सीमा बस्यो ।
रिनाका बारेमा सोध्नै लागेको थियो उसको आँखा अगाडि हार चढाएको तस्बिरमा पऱ्यो।
तस्बिरबाट उसको रिनाले उसलाई ओठमा मुस्कान लिएर स्वागत गरिरहेकी थिइन् ।
भनिरहेकी थिइन् “तपाईँ आउन साह्रै ढिला गर्नुभयो ।”
ऊ केही बोल्न सकेन ।
केवल उसको आँखाबाट पश्चात्तापको आँसु बररर खसिरह्यो ।।



यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।
१६ असार २०८३, मंगलवार 







