शङ्कर शर्मा (डुवर्स)

आँखाको आँसु छल्किँदै गयो परेली भिजायो
बिछोड घड़ आएछ भनी मन त्यो दुखायो
संघार काटी निस्कन्छे छोरी वेदना लुकाई
नजाऊ छोरी हुनेछु एक्लो आमाले फकाई।।१

विदेश गई कमाई धन फर्केर आउनेछु
मनको तिम्रो आकांक्षाहरू म पुरा गर्नेछु
चुहुने छानो भत्केको भित्ता सबै त्यो फेर्नेछु
सुन र चाँदी गलामा तिम्रो सजाई दिनेछु।।२

चाहिन्न तिम्रो सुन र चाँदी आमाले भन्दछिन्
सम्पत्ति मेरो सन्तान तिमी प्यारले सम्झाउँछिन्
जोतेर बारी उमारी अन्न खाएर बाँचौला
दुःख र सुख भोगेर यहाँ साथमा हाँसौला।।३

जागिर छैन देशमा यहाँ के गर्नु बसेर
जानु छ टाढा विदा देऊ अब मलाई हाँसेर
भनेर यति अंगालो हाल्छिन् आमा र छोरीले
विलाप गर्छिन् नजाऊ भनी त्यो बुढी आमाले।।४

आँखामा ठूलो सजाई स्वप्न निस्कन्छे आँगनमा
फर्केर हेर्छे गरिब झुप्रो बसेको नयनमा
कठोर पार्दै हृदय आफ्नो विदेश लाग्दछिन्
गएको देखि त्यो बुढी आमा बेहोस हुँदछिन्।।५

उठेर खोज्छिन् त्यो प्यारी छोरी घर र आँगनमा
रोएर हिँड्छिन् यता र उता विछोडको पीडामा
समय काल बितेर जान्छ पृथ्वी चक्रमा
गएकी छोरी आइनन् फेरि फर्केर झुप्रोमा।।६

पत्थरझोडा डुवर्श