शङ्कर शर्मा (डुवर्स)

” तँ ठूलो कि म ठूलो ?”

एकदिन अचानक प्रश्न गऱ्यो

मलाई एउटा जाबो कुर्सीले।

“कुर्सी ठूलो कि म ठूलो ?”

धेरैबेर यो प्रश्न मेरो मस्तिष्कमा घुमिरह्यो।

पहिला त “जाबो कुर्सी”

भन्ने विचार आयो ।

तर एकपल्ट यसो दुनियाँमा

नजर घुमाएको त म छक्क परेँ,

सारा मानिसहरू

सानाठूला, हुने नहुने

काला गोरा सबै सबै

यहीँ कुर्सीका पछि पो दौडिरहेका

रहेछन्

हरे! कतिले यो कुर्सीका निम्ति

आफ्नो अमूल्य ज्यान पनि दिँदा रहेछन्

र कतिले लिँदा रहेछन्।

हरे शिव!

यसैका निमित्त मानव दानव बनिरहेका रहेछन्।

राजतन्त्र हटाएर

गणतन्त्र, प्रजातन्त्र आए पनि

कुर्सी त त्यही रहेछ,

त्यसमाथि आसन ग्रहण गर्ने पद्धति पनि त्यही रहेछ ।

 

यो सबै दृश्य नियालेपछि

अन्तमा जबाफ दिए कुर्सीलाई

“म विवेकशील मनुष्यभन्दा

तँ निर्जीव कुर्सी नै ठूला रहेछस् ।”

 

तर के अचम्म

मेरो कुरा सुनेर त कुर्सीले

मलाई एक झापड पो लायो गालामा

म झिल्ल परेर उसको वचनको प्रतीक्षा गरिबसेँ

आँखाबाट तपतप आँसुको थोपा खसाल्दै

केहीबेरमा त्यो बोल्यो र भन्यो –

” आफ्नो नाउँ र इज्जतको ख्याल राख्न त परै जाओस्

हामीले कुर्सीको पनि नाउँ बिकायौँ,

उहिले उहिले कत्रा कत्रा वीर

प्रतापी राजा महाराजाहरू

हामीमाथि विराजमान हुन्थे

हाम्रो कत्रो इज्जत थियो

कत्रो शान थियो ।”

 

कुर्सीको कुरा सुनेर म तीनछक परेँ

र झपारेर भनिदिएँ –

“बुद्धि र विवेक भएको मनुष्यले पछुतो गरेका छैनन्

तँ जाब‍ोलाई के को पछुतो ? ”