साहित्यपोस्ट
नेपाली भाषा र साहित्यको सम्पूर्ण पत्रिका

कविता – विवश जनता

Chovar Blues Mobile Size
शङ्कर शर्मा (डुवर्स)

उषाको किरण पर्नुभन्दा अघि

ढलपल ढलपल गरिरहेका
ती शीतका थोपाझैँ
ढलपल ढलपल भइरहेका छन् हाम्रो
जातीय अस्तित्व र चिनारी
जुनै जोगी आए पनि
कानै चिरिएको भनेझैँ
भूमिका निर्वाह गरिरहेका छन्
वीर गोर्खे नेताहरूले
हिउँदमा स्याप्प सुकेको
बर्खायामको उर्लँदो खहरे खोलाझैँ
माटो र मुद्दाको कुरा गर्न
बिर्सिएका छन् प्यारा जनताहरूले
अचेलघरि सम्झना आउँदछ
ती विराट् जनसभाहरूको
टेबल ठोक्दै दिएका भाषणहरूको
अन्धाधुन्ध गरेका प्रतिज्ञाहरूको
र ती सङ्कल्पहरूको
कति चाँडै ग्रहण लागेछ
हाम्रा आँखाहरूले सजाएका
ती उज्ज्वल भविष्यको सपनाहरूमा
छताछुल्ल भई भूमिमा पोखिन पुगेछ
हाम्रा अन्तर्हृदयबाट जागेका उत्साहहरू।
मैले बोलाउन सक्ने भए पनि
बोलाउने थिएँ इतिहासका पृष्ठहरूबाट
भगतसिंह र सुवासचन्द्र वोसजस्ता
वीर योद्धाहरूलाई
मैले जन्माउन सक्ने भए पनि
जन्माउने थिए गान्धी र नेहरूजस्ता
वीर सपुतहरूलाई
अनि थमाउने थिएँ मेरो जातिको
अस्तित्वको लडाइँ उनीहरूको हातमा
तर म पनि विवश मानव नै ठहरिए
विवश छु हेर्नलाई यहाँको
बेग्लाबेग्लै ताल र नृत्यहरू
अनि बजाउँछु मन नपरी नपरी
मेरा दुई हातका तालीहरू।।
प्रतिक्रिया
Loading...