झमझम परिरहेको वर्षाको
उसलाई कुनै वास्ता छैन
उसको नयन अडिग छन्
त्यहीँ
जहाँ
उसले वर्षौंअघि
आफ्नो सपनाको महल खडा गरेको थियो
तर आज बिहानै
अचानक बढेको भेलले
उसको भविष्यलाई
अन्धकारभित्र डुबाइदिएको थियो
सायद प्रकृति रुष्ट थिइन् ऊसँग
मानौँ बद्ला लिइरहेकी थिइन्
आखिर मानव जातिले पनि
कहाँ कसर छोडेको छ र
प्रकृतिलाई रुष्ट बनाउन
त्यसैले आज
खुच्चिङ मच्चाउँदै
बग्दैछ यहाँ
खोला नाला र झर्नाहरू
झर्दैछन् यहाँ
पाखा पखेराहरू
कति खुसी छन्
आफ्नो तिरस्कारको
आज हिसाब तिर्न पाउँदा

तर हर्कबहादुर भने
चुर्लुम्म डुबेका छन्
भविष्यको चिन्तामा
हराएका छन् उनी
कालो अन्धकारभित्र
वरिपरि हिँड्ने मानिसहरूको निम्ति
आज उनी रमिता बनेका छन्
नेताहरूको निम्ति
मिठो भाषण
मिडियाहरूको निम्ति
रोचक खबर भएका छन्

नदीको किनारमा उभिएर
हेरिरहेका छ ऊ
आफ्नै बेगमा
उग्र रुप धारण गरी
बगिरहेको
टिस्टालाई
त्यसैको चपेटामा परेको छ
उसको घर
बगर बनेका छन्
पेट पाल्ने भाँडोहरू

आश्वासनले जिन्दगी चल्दैन
न त पेटको आगो बुझ्दछ
त्यसैले ऊ
घरि-घरि
आकाशतर्फ हेर्दैछन्
मानौँ उनी ईश्वरसँग प्रार्थना गर्दैछन्
आफ्नो व्यथा पोख्दैछन्
भविष्यको बाटो खोज्दै छन् ।

पत्थरझोडा, डुवर्श