काठमाडौं । डा. तुलसी आचार्यको कविता–सङ्ग्रह ‘दिनभरि पानी परिरहन्छ’ माथि मंगलबार काठमाडौंमा अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ ।
कविताप्रेमी, समालोचक तथा साहित्यकर्मीहरूको सहभागिता रहेको कार्यक्रममा सङ्ग्रहका कविता र तिनका विषयवस्तुमाथि विस्तृत छलफल गरिएको थियो । सहभागी समालोचकहरूले आचार्यका कवितामा प्रवास, देशप्रेम, स्मृतिवेदना (नोस्टाल्जिया), विभाजित पहिचान तथा प्रकृतिजस्ता विषयहरू सशक्त रूपमा अभिव्यक्त भएको धारणा राख्नुभएकाे थियाे ।
समालोचक राजकुमार बनियाँले आचार्यका कवितामा आख्यानको कथावस्तु र निबन्धात्मक शैलीको मिश्रण रहेको उल्लेख गर्दै मूर्त बिम्बहरूको प्रयोगमार्फत कविले परम्परागत विधागत सीमाभन्दा माथि उठ्ने प्रयास गरेको बताउनुभयो । उहाँले कविताहरूमा विश्वव्यापी चेतनाको उपस्थिति पनि उल्लेखनीय रहेको धारणा राख्नुभयो ।
समालोचक तथा विश्वविद्यालय अध्यापिका डा. ज्ञानु अधिकारीले सङ्ग्रहले आफूलाई प्रयोगवादी दाबी गरे पनि त्यसका केही विशेषता नेपाली साहित्यमा यसअघि नै प्रयोग भइसकेको टिप्पणी गर्नुभयो । तथापि, आचार्यको लेखनले नेपाली साहित्यमा गद्य कवितासम्बन्धी बहसलाई थप सशक्त बनाउने विश्वास व्यक्त गर्नुभयो । उहाँले कविताहरूमा मानवीय भावनाको सूक्ष्म र प्रभावकारी अभिव्यक्तिको प्रशंसा पनि गर्नुभयो ।
अर्काे समालोचक तथा विश्वविद्यालय अध्यापिका डा. गीता त्रिपाठीले मूर्त बिम्बहरूको अत्यधिक प्रयोगले कहिलेकाहीँ कविताको चिरस्थायी सारलाई सीमित गर्न सक्ने धारणा राख्नुभयो । उहाँका अनुसार कविता भावनाको स्वतन्त्र प्रवाहमा अझ बढी फस्टाउने विधा हो ।
टिप्पणीकार राधिका कल्पितले आचार्यका कवितामा स्मृतिवेदनाको प्रभाव गहिरो रूपमा अभिव्यक्त भएको बताउनुभयो । सम्बन्ध र प्रेममाथि बढ्दो दबाबका बीच कविताहरूले संवेदनशील मानवीय विषयलाई प्राथमिकताका साथ उठाएको उहाँको भनाइ थियो । उहाँले वातावरणीय चेतनालाई पनि सङ्ग्रहको महत्वपूर्ण पक्षका रूपमा औँल्याउनुभयो ।
पत्रकार अखण्ड भण्डारीले आचार्यका सिर्जनामा देखिएको प्रयोगशीलताको स्वागत गर्नुभयो । कार्यक्रममा बोल्दै डा. तुलसी आचार्यले सिर्जनात्मक लेखन अध्ययनका क्रममा आफूले गद्य कवितामाथि अध्ययन गरेको र त्यसलाई यस सङ्ग्रहमा प्रयोग गर्ने प्रयास गरेको बताउनुभयो । गद्य कवितामाथिको बहसले आफ्नो साहित्यिक यात्रालाई अझ परिष्कृत बनाउन सहयोग पुग्ने विश्वास उहाँले व्यक्त गर्नुभयो ।
सुशासन र साहित्यका विषयमा नियमित लेखन तथा अनुसन्धान गर्दै आएका आचार्य नेपाल र अमेरिकाबीच आफ्नो समय बाँडेर बस्दै आउनुभएको छ ।
कार्यक्रममा विभिन्न सञ्चारमाध्यम तथा शैक्षिक क्षेत्रका सम्पादकहरूको पनि सहभागिता रहेको थियो । सो अवसरमा विगत र वर्तमानका लेखन तथा सम्पादन शैलीबारे समेत छलफल गरिएको थियो ।



यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।
२८ जेष्ठ २०८३, बिहीबार 










