हेटौंडा । हेटौंडाको सक्रिय साहित्यिक संस्था साहित्य सङ्गमको आयोजनामा साहित्यकार गोविन्द गिरी प्रेरणाको लामो कथासङ्ग्रह ‘अ–विधवा’ माथि परिचर्चा तथा संवाद कार्यक्रम सम्पन्न भएको छ ।

अमेरिकालाई कर्मभूमि बनाउँदै आउनुभएका बहुविधाका स्रष्टा प्रेरणाको दोस्रो लामो कथासङ्ग्रह ‘अ–विधवा’ का विषयमा आयोजित कार्यक्रममा आरपी गुरागाईं र सुबास सजलले पाठकीय धारणा प्रस्तुत गर्नुभएको थियो । उहाँहरूले कृतिमा यौन मनोविज्ञानका साथै नेपाल र अमेरिकाको सामाजिक–सांस्कृतिक पृष्ठभूमि प्रभावकारी रूपमा आएको उल्लेख गर्नुभयो ।

त्यसपछि कथाकार प्रेरणासँग कवि तथा समीक्षक निमेष निखिलले संवाद गर्नुभएको थियो । संवादका क्रममा लामो कथा, उपन्यास र कथाबीचको भिन्नता तथा कथामा देखिने यौन मनोविज्ञानका विषयमा छलफल भएको थियो । जवाफमा कथाकार प्रेरणाले यौन मनोविज्ञान कथाको बाह्य आवरण मात्र नभई त्यसको अन्तर्यसम्म पुगेर बुझ्नुपर्ने विषय भएको धारणा राख्नुभयो ।

कार्यक्रममा साहित्यकार उदय अधिकारीले गोविन्द गिरी प्रेरणासँग लिएको अन्तर्वार्तासङ्ग्रह ‘प्रेरणा वार्ता’ को पनि लोकार्पण गरिएको थियो । प्रमुख अतिथि आरसी रिजाल, साहित्य सङ्गम मकवानपुरका अध्यक्ष डीबी बर्तौला तथा अन्य अतिथिहरूले संयुक्त रूपमा कृतिको लोकार्पण गर्नुभएको थियो ।

लोकार्पणपछि अन्तर्वार्ताकार उदय अधिकारीले गोविन्द गिरी प्रेरणाको बहुआयामिक लेखन र निरन्तर साहित्यिक सक्रियताबाट प्रभावित भएर कृति तयार गरेको बताउनुभयो ।

प्रमुख अतिथि आरसी रिजालले गोविन्द गिरी प्रेरणा हेटौंडाको प्रतिभाका रूपमा स्थापित स्रष्टा भएको उल्लेख गर्दै उहाँप्रति गर्व व्यक्त गर्नुभयो ।

सोही अवसरमा साहित्यकार प्रेरणालाई सम्मानपत्र तथा साहित्य सङ्गमको आजीवन सदस्यताको प्रमाणपत्र प्रदान गरिएको थियो ।

साहित्य सङ्गमका अध्यक्ष डीबी बर्तौलाको अध्यक्षतामा सम्पन्न कार्यक्रममा उपाध्यक्ष मनोज पोखरेलले स्वागत मन्तव्य राख्नुभएको थियो भने सहसचिव भवानी तिमिल्सिनाले कार्यक्रम सञ्चालन गर्नुभएको थियो ।