शब्द: गोविन्द गिरी प्रेरणा
रेखाचित्र: कृष्ण मर्सानी

सन् १९९३ को साहित्यतर्फको नोबल पुरस्कार अमेरिकाली अश्वेत उपन्यासकार टोनी मोरिसनलाई दिइने घोषणा भएपछि टोनी मोरिसन नोबेल पुरस्कार विजेता आठौं महिला साहित्यकार हुन पुगिन् । यसअघि यस पुरस्कारले सेल्मा लागरलोफ, ग्रेजिया देलेद्दा, सिगरी उन्डसत, पर्ल यस बक, ग्राविला मिस्त्राल, नेली साक्स (स्यामुअल युसुफ एगनानसँग संयुक्त रुपमा) र नादिन गोर्डिमर सम्मानित भइसकेका थिए ।

“जस्ले आफ्ना उपन्यासमा काल्पनिक शक्ति र काव्यिकतालाई आयात गर्दै अमेरिकी यथार्थको आवश्यक पक्षलाई जीवन्तता दिन्छ” भन्दै उनलाई नोवेल पुरस्कार दिइने घोषणा गरिएको थियो ।

टोनी मोरिसनको जन्म १८ फरवरी १९३१ मा अमेरिकाको लोरायन ओहायोमा भएको हो । उनी ४ सन्तानमध्येकी माहिली हुन् । उच्च अध्ययनको सिलसिलामा अध्ययनको साथसाथै हावर्ड विश्वविद्यालयको क्याम्पस रङ्गमञ्च कम्पनीमा सम्मिलित भएर उनले सुरुमा आफूलाई रङ्गकर्मीको रुपमा परिचित गराइन् र त्यसै वर्षको हिउँदको छुट्टीमा उनी आफ्नो संकायका विद्यार्थीहरुको साथमा दक्षिणको भ्रमणमा गइन् ।

हावर्ड विश्वविद्यालयमा अध्ययनकै क्रममा तिनको भेट जमैकाका आर्किटेक्चरका विद्यार्थी ह्यारोल्ड मोरिसनसँग भयो र तिनीहरुको विवाह भयो । साथै तिनका दुई सन्तान पनि भए–ह्यारोल्ड भोर्ड र स्लेड केबिन । टोनी मोरिसनले सन् १९५३ मा हावर्ड विश्वविद्यालयबाट बि.ए.को डिग्री लिइन् र कोर्नेल विश्वविद्यालयमा अंग्रेजी पढ्न गइन् । त्यहाँ तिनले विलियम फकनर र भर्जिनिया उल्फमाथि शोधकार्य गरिन् र सन् १९५५ मा उनलाई एम.ए.को डिग्री हासिल भयो ।

सन् १९५५ देखि १९५७ सम्म मोरिसन टेक्सास दक्षिणी विश्वविद्यालय हाडस्टोनमा अंग्रेजीकी प्रशिक्षिका भइन् र त्यसपछि हावर्ड विश्वविद्यालयको अंग्रेजी विभागमा अध्यापन गर्न थालिन् । तर सन् १९६४ मा उनले हावर्ड विश्व विद्यालयबाट राजिनामा गरिन् । त्यसैसाल यिनको पारपाचुके भयो, अनि आफ्नो बालबच्चासहित न्यूयोर्कको सिराकस फर्किन् । अमेरिकाको एउटा प्रसिद्ध प्रकाशनसंस्था र्याण्डम हाउसमा उनी पाठ्यपुस्तक सम्पादनको काममा जुटिन् । अठार महिनापछि उनी र्याण्डम हाउस न्यूयोर्क केन्द्रिय कार्यालमा सरुवा भइन् जहाँ उनले टोनी केड बाम्बारा र गायल जोन्सजस्ता अश्वेत लेखकका पुस्तकहरुको सम्पादन गरिन् ।

टोनी मोरिसनको लेखनरुपी महायात्राको थालनी हावर्ड विश्वविद्यालयमा अध्यापन गर्दाखेरिदेखि नै भएको हो । त्यहाँ अनौपचारिक रुपमा कवि लेखकहरुसँग भेटघाट गर्ने र आफ्ना कृतिहरुको विषयमा छलफल गर्ने गर्दथिन् । फलस्वरुप उनी आख्यानलेखनतर्फ मोहित भइन् । उनले पहिलो कृति नीला आँखा लेखिन्–उपन्यास । नीला आँखा कसरी लेखियो भन्ने विषयमा उनको भनाइ छ–

“… मैले कहिल्यै पनि ठूलो भएर लेखिका हुने चाहना राखिनँ । मलाई केवल यत्ति थाहा थियो, मलाई हुर्कनु छ र वयस्क हुनु छ । मैले नीला आँखा उपन्यास कथाका रुपमा लेख्न सुरु गरेकी थिएँ जसको विषयवस्तु मेरी साथीसँग सानो छँदा भएको कुराकानीमा आधारित थियो । कुराकानीको विषय थियो– ईश्वर छ कि छैन ? तिनले भनिन्, छैन र मैले छ भनें ।

तिनले भनिन्– ईश्वर छैन, किनभने दुई वर्षदेखि मैले नीला आँखाका लागि हरेक रात प्रार्थना गरेँ, तर मलाई त्यो प्राप्त भएन । त्यसैले उसको अस्तित्व नै छैन । मलाई के लाग्यो भने यदि तिनको प्रार्थनाअनुसार तिनलाई नीला आँखा प्राप्त भएको भए कस्तो हुन्थ्यो होला ? र, मैले एउटी केटीको बारेमा लेख्न थालेँ जो नीला आँखा चाहन्छे र त्यो डरलाग्दो इच्छा पूरा हुन्छ …”

यसरी सन् १९७० मा पहिलो औपन्यासिक कृति नीला आँखा प्रकाशित भएको २४ वर्षपछि टोनी मोरिसनले विश्वको सर्वोच्च साहित्यिक सम्मानयुक्त आठ लाख पच्चीस हजार डलरको साहित्यतर्फको नोवेल पुरस्कार प्राप्त गरिन् । त्यतिन्जेल औपन्यासिक कृतिको रुपमा नीला आँखा (१९७०), सुला (१९७३), सोलोमोनको गीत (१९७७), कालो बालक (१९८१), प्रेमी (१९८७) र ज्याज (१९९२) लगायत प्रकाशित भइसकेका थिए ।

सबै लेखकको पहिलो कृति बेजोड र सारा पाठकहरुलाई एकैचोटी ध्यानाकर्षण गर्ने खालको हुन्छ भन्ने केही छैन । तर टोनी मोरिसनको प्रथम कृति नीला आँखाले समीक्षकहरुबाट अत्यन्तै उत्साहप्रद प्रतिक्रिया पायो । गद्य शैलीको विशिष्ट कृतिको रुपमा समीक्षकहरुले यो उपन्यासलाई लिए । जोन लियोनार्डले अति राम्रो, अति सत्यतापूर्ण भनाइ र पीडाले भरिपूर्ण र अनौठो हुनाले यो उपन्यास त विशुद्ध कविता नै भएको छ भने । रेमण्ड सोकोलोनले यस्तो लयात्मक कृति भने, जसमा व्यक्तिगत स्वर हुन्छ जुन काला जातिहरुको कुराकानीमा मात्रै हुन्छ ।

त्यसो त काला जातिकी अमेरिकी उपन्यासकार टोनी मोरिसनले त्यस वर्षको नोबेल पुरस्कार पाउनु झण्डै अप्रत्यासित नै थियो । यद्यपि मोरिसन यस पुरस्कारले सम्मानित नहुनुपर्ने लेखिका भने थिइनन् । तथापि काला जातिकी एलिश वाकर पनि जातीय भावना र नारीवादी लेखिकाको रुपमा अलि ख्यातिप्राप्त थिइन् । उनको उपन्यास ‘द कलर पर्पल’ बेजोड कृति मानिन्छ जसले पुलित्जर पुरस्कारसमेत पाएको थियो । यस कृतिमा एउटी केटी पात्र छे, जसलाई स्वयं उसको बाबुले बलात्कार गर्दछ । उनको यो दुनियाँमा कोही हुँदैन र उनी ईश्वरलाई पुकार्दछिन् । उपन्यास पूरै पत्रात्मक शैलीमा छ, हरेक अध्याय ईश्वरलाई सम्बोधन गरेर लेखिएको । उनी आफ्ना सारा व्यथाकथा ईश्वरलाई लेख्दछिन्–एकालाप शैलीमा । तर एलिश वाकरलाई पछि पारेर नोबल पुरस्कार जित्न टोनी मोरिसन नै अगाडि भइन् ।

मोरिसनको दोस्रो उपन्यास सुलाले १९७४ को राष्ट्रिय पुस्तक पुरस्कार पायो । तर पनि टोनी मोरिसनलाई विश्व विख्यात उपन्यासकारको ख्याति दिलाउने श्रेय भने तेस्रो सन् १९७७ को राष्ट्रिय पुस्तक समीक्षक समूह पुरस्कार प्राप्त गर्यो । तै पनि पुरस्कारको साथसाथै यसले दिएको ख्याति कम महत्वपूर्ण छैन । यस उपन्यासलाई काला जातिका लेखकहरुले लेखेको अति महत्वपूर्ण कृतिको रुपमा लिइयो । कतिले त राल्फ इलिसन्सको अदृष्य मनुष्यपछिको दोस्रो महत्वपूर्ण उपन्यास भने । यस उपन्यासलाई फान्सेस तालियफरोले त अति महत्वाकांक्षी कृति भने । यो उपन्यास तुरुन्तै पाँच भाषामा अनुवाद भयो र तीसलाख प्रतिभन्दा बढी प्रतिहरु तत्कालै बिक्री भए । यस पुस्तकको सफलताले गर्दा उनी न्यूयोर्कको नेपाक नजिकै एउटा चार तल्ले भवन किन्न सफल भइन् र म्यानहाटनमा एउटा एपार्टमेण्ट ।

त्यस्तै उनको सबभन्दा लोकप्रिय कृति प्रेमी हो । यो वहुप्रतीक्षित उपन्यास सन् १९८७ मा प्रकाशित भयो । यसको कथावस्तु मार्गरेट गार्नरको जीवनमा आधारित छ । उनी केन्टुकी दाश थिइन् जो सिन्सीनाती, ओहायोबाट आफ्ना चार सन्तानसहित भागेकी थिइन् । जब उनी समातिइन्, उनले आफ्ना सारा सन्तानलाई मार्न चाहिन्, तर एउटा मात्रको घाँटी छिनाल्न सफल भइन् । यो घटना सन् १८५० मा भएको थियो र यस घटनाले राष्ट्रव्यापी रुपमा सनसनी फैलिएको थियो । साँच्ची भन्ने हो भने प्रेमीले उनलाई ख्यातिको सर्वोच्च शिखरमा पुर्याइदियो ।

उनको कालो बालक उपन्यास अन्य कृतिको तुलनामा अत्यधिक विवादास्पद भयो । यस उपन्यासको कथावस्तु एउटी कालीजातिकी स्त्रीमा आधारित छ जो गोरा जातिको बस्ती पेरिसमा आफ्नो काला जातिको प्रेमीकहाँ फर्कन्छे । अनि ज्याज वीसको दशकको हार्लेमको पृष्ठभूमिमा लेखिएको नविनतम उपन्यास हो ।

उनले लेखेका ५ कविताको सीमित प्रति संस्करण कारा वाकरको रेखाङ्कन सहित सन् २००२ मा प्रकाशित भएको थियो ।

उपन्यास सिर्जनाको साथसाथै मोरिसनले नाटक पनि लेखेकी छिन् । न्यूयोर्कको अल्बानीस्थित स्टेट विश्वविद्यालय, न्यूयोर्कमा उनी सिर्जनात्मक लेखनको कथा पनि लिन्थिन् । यसैताका उनलाई मार्टिन लूथर किङ्ग जुनियरको जन्मदिनको उत्सवको लागि इमेटको सपना देख्दै नामको नाटक लेखिन्, जुन सन् १९५४ मा हत्या गरिएको कालाजातिको युवक इमेट टिलको जीवन कथामा आधारित छ । मिसिसिपिमा एउटी गोरी केटीलाई सुसेली मारेकोमा ऊ निर्दयतापूर्वक मारिएको थियो । यो नाटक ‘क्यापिटर रिपोर्टोरी थियटर’ अल्बानीमा ४ जनवरी सन् १९८६ मा मञ्चन गरिएको थियो । यसरी नाट्य क्षेत्रमा लागे पनि उनका नाटकहरु भने तत्काल प्रकाशित भएनन् ।

मोरिसन नारीवादी लेखिका हुन् । तर यिनी राजनीतिक नारीवादी भने होइनन् । एलिस वाकरको शब्दमा यिनी ज्यादा महिलावाद छिन्, नारीवादीभन्दा पनि ।

मोरिसनका उपन्यासका चरित्रहरुको निर्माण, दृष्टि र भाषा उनको आफ्नै विगतबाट आएको हो । उनको दृष्टिमा स्वास्नी मानिसका आँखाहरु आधा बन्द हुन्छन् । खास गरेर भन्ने हो भने मोरिसनको लेखनको सम्पूर्ण आधार नै कालो जाति हो ।

नोवेल पुरस्कार प्राप्त गरिसकेपछि मोरिसनको प्रतिक्रिया थियो– नोबेल पुरस्कार प्राप्त भएको खबरले म अभिभूत छु । एउटा अमेरिकालीको हैसियतले यो पुरस्कार प्राप्त गर्नु नै ठूलो कुरा हो र एउटी अश्वेत अमेरिकालीको हैसियतले यो पुरस्कार जित्नु त झन् ठूलो कुरा हो … ।

आफ्नो लेखनको बारेमा उनको भनाइ छ– मेरो लेखन तात्कालिक आवश्यकता र जिम्मेवारी बीचको एउटा संवाद हो । यसको लागि मलाई स्मृतिहरुका विभ्रमहरुमा निकै भर पर्नु पर्दछ । किनभने म आफ्ना सांस्कृतिक सूत्रहरुको सत्य जान्नका लागि अरुको साहित्य र समाजशास्त्रको मद्दतको भर गर्दिनँ ।

मातृसत्ता मेरो उपन्यासहरुको केन्द्र हो । यो सत्य हो । सम्भवतः यसै कारण मलाई प्रश्न गरिन्छ, जुन समाजमा पुरुष र पुरुषबीच नै भेद र पक्षपात गरिन्छ, त्यहाँ महिलाहरु जीवनको बोझ उठाउन सक्षम हुन सक्छन् ? तर मेरो भन्नु छ– पुरुषलाई उसको कार्यकुशलता र आफ्नो आश्रितलाई रेखदेख गर्नेको दृष्टिकोणले चिन्न सकिन्छ । ल्यक्ति के हो भन्दा पनि काम नै यसको परिचय हुन्छ । तर अब पुरुषको काम सीमित भएको छ । यसको कारण त्यो अर्थ व्यवस्था हो जहाँ हामी बाँचिरहेछौं । मोरिसनको दृष्टिकोण यस्तो थियो ।

उनको लेखनलाई प्रेरित गर्ने विषयप्रति उनको धारणा बेग्लै छ । उनले भनेकी थिइन्– “मलाई साहित्यमा व्याप्त विराट मौनले नै हमेसा लेखनप्रति प्रेरित गरिरहन्छ । कति कुराको कहिल्यै उच्चारण गरिएन, तिनलाई आफ्नो चिन्तन र सोचमा सोमल गरिएन, यही नै ती मौनता हुन् जसले अश्वेत केटीहरु र अश्वेत स्वास्नी मानिसहरुलाई कतिपय परिवेशमा सधैं अँध्यारोमा लुकाइराख्यो ।

टोनी मोरिसनले आफ्नो लेखन र कृतिका लागि नोवेल पुरस्कार अघि र पछि पनि अनगिन्ती पुरस्कार र सम्मान प्राप्त गरिन् । कैयन् विश्वविद्यालयले उनलाई मानार्थ डिग्रीहरु प्रदान गरे । उनीको जन्मथलो राज्य ओहायोले फरवरी १८ लाई राज्यव्यापी रुपमा टोनी मोरिसन दिवस मनाउने निर्णय राज्य सदनबाटै अनुमोदित भयो ।

उनको देहान्त ५ अगस्त २०१९ का दिन न्यूयोर्कको ब्रोञ्जस्थित मान्टेफायोर मेडिकल सेण्टरमा न्यूमोनियाको कारण भयो ।

उनको मृत्यु हुँदा उनी २ करोड डलरको सम्पत्तीकी मालिक्नी थिईन् । उनको अन्त्येष्टिमा प्रख्यात ज्याज सेक्सोफोनबादक डेभिड मुर्रेले शोकधून बजाएका थिए ।