तिम्रै खुसीका निम्ति, जिन्दगीको दाउ हारेँ मैले ।
मनका सबै चाहनाहरू, एक–एक गरी मारेँ मैले ।

हरपल खुसी देख्न पाऊँ, सधैँ रमाएको हेर्न पाऊँ
तिम्रो सपनाका लागि, मनको मझेरी बारेँ मैले ।

बेहोशीमा बर्बराउँदै तिम्रै नाम जपिरहन्छु म
देख्छ्यौ कि तिमीले आँसु, लुकाएरै झारेँ मैले ।

यस्तो लाग्छ जिन्दगीमा, तिमी छैनौ केही छैन
जसोतसो बाँच्नैको लागि, अन्तै हल नारेँ मैले ।

थाहा पाउँछु तिम्रो हाल, अचेल अरू कसैबाट
बदनाम हौली तिमी भनी, अन्तै डेरा सारेँ मैले ।

कुनै दिन नआओस् है मलाई सम्झी रुनुपर्ने
खुसी खोज्दै तिम्रो, यो जीवन सखाप पारेँ मैले ।