आमा (१) : महत्त्व
आमा बिहानै उठ्थिन् । घाम भने सधैँ पछि पर्थ्यो ।
आमाको घरधन्दा धेरै हुन्थ्यो । भान्साको धुवाँले चाहीँ उनलाई प्राय: रुवाउँथ्यो । र, पनि सन्तानको खुशीमा उनी सधैँ रमाएकी हुन्थिन् ।
आमाको संसार ठूलो थिएन । एउटा शान्त घर, हाँसीखुशी रमाएका दुई सन्तान, थोरै चाहना, असीमित त्याग ।
आज पनि उनी सबेरै उठिन् । हिजो, अस्तिभन्दा अलि बढी प्रफुल्ल देखिन्थिन् । बिहान मात्र जेठो छोरो शहरबाट आएको थियो । उसको हातमा केही सामान थियो ।
“आमा, तिमीले आफ्ना लागि कहिल्यै केही किनिनौ । आज मैले ल्याइदिएको छु ।”, उसले एउटा पोको देखाउँदै गर्वले भन्यो ।
आमाले हेरिन् । एउटा राम्रो सारी थियो । समातिन्, मुस्कुराइन् । तर त्यो मुस्कानमा केही नबोलिएको अर्थ थियो ।
“बाबु, मसँग प्रशस्त छ ।”, उनले बिस्तारै भनिन् ।
छोराले अचम्म मान्यो, “कसरी ?”
आमाले उसको टाउको छोइन्, “तिमीहरू छौ त !”
छोरो केही बोल्न सकेन । उसको मन भारी भयो । उसले घर छाडेर गएका बा सम्झ्यो ।
आमाले बुझिन् । भान्सातिर पाइला बढाइन् ।
अनि छोरोले पहिलोपटक बुझ्यो, “आमा रहुञ्जेल छोराछोरी टुहुरा हुँदैनन् ।”
…
आमा (२) : जिम्मेवारी
उनले आज फेरि रातो लिपस्टिक लगाइन् । अनुहारमा फेसक्रीम मिलाइन् । छोरीले ऐना हेर्दै गरेकी आमालाई सोधी, “आमा, तिमी यति सजिन्छौ, मान्छेले के भन्छन् होला ?”
उनले भनिन्, “मान्छेले त त्यसै पनि केही न केही भनिरहेका हुन्छन् । अरुले के भन्लान् भन्ने सोचेर हुन्न नानी ।”
उनी एकल महिला थिइन् । समाजको नजरमा ‘पाचुके’ । तर उनले आफ्नो जीवनलाई कहिल्यै एक्लो मानिनन् । छोरीको भविष्यप्रति चिन्तित थिइन् । दिनभर अफिसमा जुद्थिन् । बाटोमा समाजसँग भिड्थिन् । रातमा आफ्नै सपनाहरूसँग लड्थिन् । कहिलेकाहीँ एक्लै नाच्थिन् । गाउँथिन् । यात्रारत हुन्थिन् पनि ।
छोरीले फेरि सोधी, “आमा, तिमी किन यति धेरै फरक छ्यौ ?” उनले ऐनाबाट आँखा नहटाई भनिन्, “किनकि म तिमीलाई सिकाउन चाहन्छु । नारी हुनु भनेको, आमा हुनु भनेको, आफूलाई गुमाउनु होइन ।”
छोरी चुप लागी । तर उसका आँखामा अझै पैतृक रङ यथावत् थियो ।
“आमाले यति धेरै स्वतन्त्र भएको पनि राम्रो होइन ।”, उसले आफैँलाई भनी ।
उनले बुझिन्, तर ध्यान दिइनन् । किनकि उनी जान्दथिन्, उनकी छोरी पनि यही समाजकी विम्ब हो । जसलाई साहसी होइन, आदर्शवान् आमा चाहिन्छ ।
“म आमा मात्र होइन, एउटी सचेत नागरिक पनि हुँ छोरी । यो समाजले महिलालाई दिने हरेक चित्र मेरो आँखामा झल्झली छ !”, उनले छोरीलाई सुम्सुम्याउँदै भनिन् ।
…
आमा (३) : जन्मभूमि
उसले आफैँलाई चिन्न सकिन । एउटा अकल्पनीय विध्वंस ज्वार उठेको थियो । उच्च शिरका सेता रेखाहरू खैरिएका थिए । समभाव देख्ने आँखाहरू उसिनिएका थिए । अनुहारको काया ढलेको थियो । आफ्नै सन्तानको चेतना दृष्टि गायब थियो ।
उन्मत्त छोराछोरी आ-आफ्नै कक्षमा रन्फन्निरहेका थिए । कोही चिन्ताग्रस्त, कोही मौज मगन ! उसलाई आफ्नो सृष्टि अलग्गै संसारको अंश प्रतीत भइरहेथ्यो । जहाँ ‘… आमा’ आवाज त थियो तर अस्तित्व शून्य !
उसले सम्झी, “एक समय यस्तो पनि थियो, जब ऊ नै घडी थिई । ऊ नै समय थिई । ऊ उठ्दा पूरा परिवार आराममा हुन्थ्यो । ऊ सुत्दा पूरा परिवार उठ्थ्यो ।
आज ऊ किनारमा सारिएकी थिई । उसलाई बोकेर उसकै सन्तानले उसमाथि आगो झोसेका थिए ।
उसले आफूलाई सोधी, “म अझै को हुँ यिनीहरूको ?”
त्यही बेला एउटा मलिनो आवाज आयो, “आमा, तिमी मेरी जननी हौ । मातृभूमि हौ । तिमी उठ्नुपर्छ ! म बोक्छु तिमीलाई !”
उसका आँखा रसाए । उसले माथितिर फर्केर हेरी । त्यो अनुहार अपरिचित थिएन । ऊ हिजो अलि बिसन्चो हुँदा हत्त न पत्त सोझो बाँस छान्न पुग्ने मध्येकै एक थियो ।
उसले बुझी, ‘उसमा अझै प्रशस्त रगत छ । उसका लाम्टा चुस्न आतुर सन्तानहरू छेउमै छन् ।’ र अझ अगाडि बुझी, “शायद जननी हुनुको खुशी यसैमा छ, जसरी एउटी युवती रजोवती हुँदा पनि हाँसिरहन्छे !”
…
आमा (४) : एउटा पूरा आकाश
भौतिकशास्त्रको विद्यार्थी सुमन निकै गम्भीर देखिएको थियो । ऊ ब्रह्माण्डको ‘ब्ल्याक म्याटर’ र ‘भ्याकुम’को शक्तिबारे थेसिस लेख्दै थियो । उसले टेबुलमा फिँजाएको एउटा रेखाचित्रलाई निकै गौर गरेर हेर्यो । जहाँ नीलो आकाशलाई अनन्त तर रित्तो देखाइएको थियो ।
आमा उसको छेउमै बसेर बाती कात्दै थिइन् । उनले सोधिन्, “के खोज्दैछस् बाबु त्यो रित्तो आकाशमा ?”
सुमनले भन्यो, “आमा, विज्ञान भन्छ आकाश त केवल एउटा ठूलो खाली ठाउँ, स्पेस मात्र हो । यसको आफ्नै कुनै अस्तित्व छैन । यसले त केवल तारा र ग्रहहरूलाई अड्याउने ठाउँ मात्र दिएको हो ।”
आमा मुस्कुराउनुभयो र सुमनको कापीमा एउटा सानो बिन्दु कोर्दै भन्नुभयो, “बाबु, यो बिन्दु तिमी हौ । अब भन, यदि यो कापीको सेतो भाग नहुने हो भने तिम्रो यो बिन्दु कहाँ अडिन्छ ?” ऊ निरुत्तर रह्यो । आमाले अगाडि भन्नुभयो, “विज्ञानले आकाशलाई खाली देख्छ, तर आकाश त आधार हो ।”
सुमनले सम्झियो, “आकाश नीलो देखिनुको कारण ‘रेले स्क्याटरिङ’ हो । जसले सूर्यको प्रकाशलाई फैलाएर धर्तीलाई जीवन दिन्छ ।” उसले एकटक आमालाई हेर्यो र महसूस गर्यो, “नारी पनि त्यस्तै आकाश हुन् । जसले परिवारका सारा दुःखका किरणहरूलाई आफूभित्र सोसेर सबैको जीवनमा शीतलताको नीलो रङ छरिदिन्छिन् । उनले पनि सन्तानको अस्तित्वलाई आफ्नो गर्भ र ममताको स्पेसमा सँगालेर राखेकी हुन्छिन् ।”
उसले बाहिर आकाशतिर हेर्यो । सूर्य बिस्तारै डुब्दै थिए । ताराहरू उज्यालिँदै थिए । आमा उठेर भान्साकोठामा गइसकेकी थिइन् । उसले आफ्नो थेसिसको शीर्षक परिवर्तन गर्दै लेख्यो, “आमा – एउटा पूरा आकाश !”
…
आमा (५) : माता शक्ति
निर्निमेष निद्राको गहिराइमा उसले आफूलाई अनन्तको मालिक पायो । उसभित्र एउटा ब्रह्माण्डीय संकल्प जाग्यो, “म एकबाट अनेक हुन्छु ।”
उसले ब्रह्मको रूप लियो । शून्यमा औँलाले रेखा कोरेर सुन्दर जगतको सृष्टि गर्यो । नदी, पहाड, वनस्पति र मानवको रचना गर्यो । लगत्तै उसले विष्णु अवतार लियो । जगतको भलाइका लागि धन, ज्ञान र साधनको समान वितरण गर्यो । तर अचम्म ! जति समान बाँडे पनि कोही धनी भइरहेका थिए । कोही गरीब कोही विद्वान् बनेर हठ प्रदर्शन गरिरहेका थिए । कोही मूर्ख बनेर अहंकार गरिरहेका थिए । उसले पर्याप्त शान्ति सुरक्षा दिन खोजे पनि मानिसहरूबीच कलह र ईर्ष्या बढ्दै गयो । उसको प्रशंसामा मन्दिर त बने, तर त्यहाँ श्रद्धा होइन, व्यापार र स्वार्थ मात्र भरियो ।
उसको दिव्य विवेक अलमलियो । उसले सोचेको स्वर्ग धर्तीमा उत्रिनै सकेन । रिसले चुर भएर शिव स्वरूप धारण गर्यो । महादेवको तेस्रो नेत्र खोल्यो । न्यायाधीश बन्यो । कसैलाई दण्ड दियो । कसैलाई पुरस्कृत गर्यो । संहारले डर त पैदा गर्यो तर प्रेम र सन्तुष्टि ल्याउन सकेन । ऊ थकित भयो । तीनवटै देव शक्तिको भूमिकामा पनि उसले आफूलाई अपूर्ण र असफल पायो ।
“के म कहिल्यै तृप्त हुन सक्दिनँ ?”, उसले आफैँलाई प्रश्न सोध्यो ।
अन्त्यमा, उसले सबै देवत्व त्यागेर एउटी साधारण युवतीको रूप लियो । आफूलाई अरूमा समर्पण गर्यो । उसले आफ्नो गर्भमा एउटा सानो स्पन्दन महसूस गर्यो । त्यो स्पन्दनसँगै उसभित्रका सारा अहंकार, दण्ड र न्यायका परिभाषा पखालिए । जब उसले आफ्नो सन्तानलाई जन्म दियो । पहिलो पटक छातीमा टाँस्यो । उसको शरीरका रोम-रोममा एक अपूर्व वात्सल्यको सञ्चार भयो । सन्तानको एउटा सानो मुस्कानमा उसले सारा ब्रह्माण्डको सुख पायो । उसले महसुस गर्यो, “सृष्टिको नियम दण्ड वा समान वितरणमा होइन, केवल निःस्वार्थ ममतामा अडिएको रहेछ ।”
त्यही आनन्दको पराकाष्ठामा उसका आँखा खुले । बिहानको झुल्के घाम कोठामा छिर्दै थियो । उसले सपनामा देखेको त्यो दिव्य मातृत्व शक्ति, उसकी आमा, उसलाई भन्दै थिइन्, ” बाबु, उठ ! चिया खाऊ !”
उसले आफ्नै मुटुको ढुकढुकीमा महसुस गर्यो, “सृष्टि, स्थिति र लयभन्दा माथि एउटा अमोघ शक्ति छ, जसलाई ‘आमा’ भनिन्छ । जहाँ नियम र न्याय असफल हुन्छन्, त्यहाँ मातृत्वको करुणाले संसारलाई पूर्ण बनाउँछ ।”



यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।
१४ असार २०८३, आईतवार 










