“डा. नवराज केसीको ‘स्वस्पर्श’ पढेर सकेँ । उनको पहिलो कृति शून्यको मूल्यले तानेको मन ‘स्वस्पर्श ‘मा गएर अडिएको थियो । पढ्दै गर्दा, आफ्नो जस्तै एक भारी जीवन बोकेका पात्रहरू र तिनको जीवनसुख र मेरो जीवनयात्राका जीवनखुशी सँगसँगै दगुरिरहेका थिए । जसरी खुशीको समय बित्न समय लाग्दैन, त्यसरी नै स्वस्पर्शलाई पूर्ण स्पर्श गर्न पनि समय लागेन । समय, गन्तीका अढाइ दिन र त्यो अढाइ दिनको दैनिक सालाखाला अढाइ घण्टा ।
अब शुरु हुन्छु पुस्तकतिर । किनकि मैले यो लेख्नुपर्छ । जुन उद्देश्यले, ज-जसमा लेखकले कृति समर्पण गरेका छन् (बालबालिका अनि युवा), मैले त्यहाँसम्म पुर्याउनुपर्छ । मेरो खेती मैले गर्नुपर्छ ।
‘स्वस्पर्श ‘ केवल कथाहरूको सङ्ग्रह मात्र होइन । यो त आफैँभित्रको शक्ति र आशाको खोजी गर्ने एउटा मार्गनिर्देशन हो । पूर्वीय दर्शन (बुद्ध विज्ञान) को संगम हो । यसमा कर्णालीका भुइँमान्छेका भोगाइ बनेका कथाहरू, देश परदेशका हरेक भेगका हरेक मान्छेले आफ्नो आन्तरिक द्वन्द्वलाई बुझ्न र जीवनप्रति सकारात्मक बन्न निकै प्रेरणादायी छन् । एकपटक पढ्नुपर्छ पढ्ने जतिले ।
‘स्वस्पर्श’ ले मलाई भावनात्मक रूपमा मात्र होइन, बौद्धिक रूपमा पनि निकै प्रभावित पार्यो । डा. केसीले आफ्नो चिकित्सकीय अनुभव र पूर्वीय दर्शनलाई जसरी जोडेका छन्, त्यो साँच्चै प्रशंसनीय छ । यो पुस्तक पढेपछि मलाई आफैँलाई महसुस गर्ने र जीवनलाई हेर्ने दृष्टिकोण नै बदलिएको महसुस भइरहेको छ ।
म दुःखलाई बेचेर भावनामा मात्र बगेका साहित्य त्यति रुचाउँदिनँ । जीवनका यथार्थपूर्ण तर्कलाई विषयवस्तु बनाइएका कथा मेरा रूचिका विषय हुन् भन्ने ठान्दछु जुन मैले धेरैको बीचमा डा. केसीको लेखनीमा पाएको छु ।
यो पुस्तक मानिसको जीवनका उतारचढाव र मनोवैज्ञानिक अवस्थामा केन्द्रित छ । मानिस आफ्नै आन्तरिक द्वन्द्वमा अल्झिरहेको बेला, त्यसबाट निस्किएर कसरी आफूलाई सम्हाल्ने र आफैँप्रति कसरी आकर्षित हुने (स्वस्पर्श) भन्ने कुरा यसमा देखाइएको छ । सङ्घर्षशील सुखान्त अन्त्य बोकेका पात्रहरूले भरिएको छ पुस्तक ।
जंगबहादुर, उनकी आमा, पत्रिकाको ग्याङ, पर्वतको पर्वत जस्ती आमा प्रत्येकले पूरा कर्णाली एक्लाएक्लैले उचालेका छन् ।
‘सबै दुःखमा दुःखी हुनैपर्छ भन्ने छैन‘ ( पृष्ठ ३४) !
गर्बे दाइ – त्यो असाध्य, असैह्य रोगको बोझ बोकेका अदम्य साहसी बाउ !
“जीवनमा कहिल्यै एक्लो हुनु नपरोस् भनी भाकल गर्नेलाई देउताले छोरी दिँदो रहेछ ।” (पृष्ठ ४६)
आँखा रसायो । मुटु भक्कानियो । तर गर्विलो छाप छापे गर्बे दाइले ।
मन्दिरे मुस्कान – बिउखुशीको कथा, परदेशमा आधा काटिएको हात, पूरै काटिनबाट आफैंले बचाएको जलेको खुट्टा र उनको सङ्घर्षपछिको मुस्कान । भो, म वर्णन गर्न सक्तिनँ । मेरो डा. केसीको जत्रो मुटु छैन । तपाईंहरू आफैं आफ्नै आँखाले हेर्नुहोला ।
“एउटा हात काटियो र त मैले आफ्नो जिन्दगी जोड्न सिकेँ ।” (पृष्ठ ८०)
” जिन्दगीमा जे पो होस्, मुन्टो उतै फर्काउनू, जता उज्यालो हुन्छ ।” (पृष्ठ १०१)
सानी नानीको पीडा र समाधान । किरणको अपाङ्गता र साइकल, हिम्मत र हरियाली अभियान । नवराज भेडा, रिटायर्ड आमा, अस्मिता बादीको माया बाँड्ने जागिर आदि आदि । हरेक कथाका सिङ्गो पात्र र एक्ला योद्धा । साथमा आमा, अनि बा र डाक्टर ! न फूल न बुट्टा । केवल हिम्मत, स्व-विश्वास, संघर्ष र सफलता नै सफलताको कथा ।
आत्म-उपचार पद्धति र बौद्ध दर्शन : लेखकको दार्शनिकता र मनोवैज्ञानिक पाटो, स्व-अनुभूति र आन्तरिक उपचार ! – “अरूलाई दिएको माया आफ्ना लागि उपचार पो हुने रहेछ !”
‘स्वस्पर्श’ शब्दको अर्थ आफैँले आफैँलाई छुनु वा महसुस गर्नु हो जस्तो लाग्छ मलाई । हरेक दर्शनका मानिस बाहिरी संसार र अरूको स्वीकृति खोज्दै भौंतारिरहेका हुन्छन् । तर डा. केसीले स्वस्पर्शमार्फत् आफ्ना आन्तरिक घाउहरूलाई आफैँले आत्मसात् गरेर निको पार्ने अर्थात् आन्तरिक ऊर्जा र क्षमतालाई चिन्नुपर्ने सन्देश दिएका छन् ।
डा. केसीको लेखन शैली सरल, गम्भीर, कलात्मक र बौद्धिक छ । कुनै अक्षर फुलबुट्टे छैनन् । जताततै फूलैफूल छन् । मानिसको आन्तरिक द्वन्द्व, डर, र खुशीको मनोविज्ञानलाई सरल र प्रभावकारी भाषाशैलीमा उतारिएको छ । चिकित्सकीय भाषामा जीवनका जटिलताहरूलाई बुझाउन प्राकृतिक, प्रमाणित र दार्शनिक बिम्बहरूको प्रयोग गरिएको छ । मानवीय संवेदनालाई नछोडीकन तर्कपूर्ण रूपमा प्रस्तुत गरिएकाले यो कृति पाठकलाई भावुक बनाउनुभन्दा पनि जीवनका कठोर वास्तविकतालाई स्वीकार गर्न बाध्य बनाउँछ र अगाडि बढ्न अभिप्रेरित गर्छ ।
अन्त्यमा, डा. नवराज केसीको ‘स्वस्पर्श’ केवल कथाहरूको सङ्ग्रह मात्र नभएर आन्तरिक उपचार (Self-Healing) को एउटा आत्मकथात्मक मार्गनिर्देशन हो । जस्तोसुकै सङ्कट वा असफलतामा पनि मानिसको मनले कसरी आशाको दियो बाल्न सक्छ भन्ने कुरा यस पुस्तकले सिकाउँछ । यदि तपाईं जीवन र यसका दार्शनिक पाटोहरूबारे गहिरो अध्ययन गर्न चाहनुहुन्छ भने यो पुस्तक एक उत्कृष्ट विकल्प हो ।
डा. केसीले आफ्नो पहिलो कृति ‘शून्यको मूल्य’ (सास, साहस र स्नेहको कथा) मार्फत पाठकमाझ राम्रै स्थान बनाएका थिए भने यस पुस्तकले मानिसको मानसिक स्वास्थ्य, संवेग र जीवनप्रतिको दृष्टिकोणलाई परिवर्तन गर्न मद्दत गर्छ भन्ने मेरो विश्वास छ ।
यति सुन्दर कृति, यो सुन्दर सृष्टिलाई प्रदान गर्नुभएकोमा लेखक धन्यवादका पात्र हुनुहुन्छ । डा. केसीले भन्नुभएजस्तै यो पुस्तक धेरैको जीवनको ‘बीउखुशी ‘ बनोस् ।



यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।
१४ असार २०८३, आईतवार 









