“मलाई पत्नीको गतिविधि फिटिक्कै चित्त बुझेन । गाउँघर समाज हँसाएर रमिता देखाउनुभन्दा घर छोड्नु उत्तम ठानेँ ।” उसले प्रहरीलाई आफ्नो नाम ठेगाना दुरुस्तझैँ बतायो । शारीरिक हुलिया र मानसिक अवस्था हेर्दा उसको सबै भनाइ जस्ताको तस्तै सही मान्नु प्रहरीका लागि पनि गाह्रो थियो तर पनि सूचना अगाडि बढाउनुको विकल्प थिएन । सम्बन्धित जिल्ला प्रहरीमा खबर पुग्यो ।
रमेशको बाबु हराएको पच्चिस वर्षभन्दा बढी भएको थियो । ऊ घरबाट कसैलाई केही नभनी बाबु खोज्न ननिस्किएको पनि होइन । भारत र नेपालका अधिकांश सहर खोज्दा पनि बाबुजस्तो अनुहार भेट्टाउन सकेको थिएन । उसले आज वडा प्रहरी कार्यालयबाट आएको खबर यसरी सुन्यो, ‘उसकै बाबुको नाम ठेगाना बताउने, अन्दाजी ६० वर्षको एउटा व्यक्ति वीरगन्जको अस्पतालमा छ । हुलिया पहिचान गरी बुझिलिनू ।’
उसले आमालाई सुनायो । ‘हात खुट्टाका नङ्ग्रा घोटेर, शरीर खियाएर केटाकेटी हुर्काएँ । बैँसमा छोडेर गएको मान्छे यो उमेरमा के चाहियो ? ‘ पत्नीको मन मात्र बोल्यो । आमा चुप लागेकी देखेर दाजुलाई सोध्यो, “दाजु, म बुझेर आउँछु । के रहेछ ?”
“उनले घर छोडेर जादाँ तँ एक वर्षको थिइस् रे, के अनुहार चिन्छस् र खोजीनीति गर्छस् । भो छोड्दे । यत्तिका वर्ष बाउ नभएर के भयो ? उमेर छँदै, चाहिने वेला घरदेश चाहिँदैन, जब मर्ने वेला हुन्छ घरको ठेगाना याद आउँछ मान्छेलाई ।” दाइले पनि मुन्टो बटारेपछि उसले काका बाबुलाई दुरुस्तै सुनायो । काका बाबु झस्किए, ऊ वेला दाइसँग लिएको सापटी सम्झिए । कुरो मिलाउँदै भने, “अस्पतालमा सरकारले उपचार गरिरहेको छ । बाँचे आइहाल्छन्, मरे खबर पाइएला, गएर बुझेर केही गरौँला । अहिले किन खर्चको भारी बोक्छौ भतिज ।” काकाले उसको काँधमा हात राख्दै सान्त्वना दिए ।
ऊ खङ्रङ्ग भयो । आफ्नै मान्छेहरूको मानवीयता मरेको देखेर आफैँलाई धिक्काऱ्यो । ‘आफ्नो मान्छे हो, होइन यकिन समेत गर्न नचाहने मान्छेहरूसँग ‘म’ हुनु नहुनुको पो के अर्थ रह्यो र ? यसरी त एक दिन सबै लावारिस ।’
भोलि बिहानको उज्यालो नहुँदै रमेश घर नभएको हल्ला गाउँभरि फैलियो । “एउटा अर्को हुतीहारा जिम्मेवारीबाट भाग्यो ।” दाइ चाहिँले अंसियार घटेको अनुमान लगायो । अंशको हानथापमा वंश घटेको अनुमान लगाउने कोही देखिएनन् ।
यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।