रमा हरेक दिन उसरी नै बढार्छे घर आँगनको कसिङ्गर । जति बढारे पनि दिन बित्न पाएको हुँदैन, उस्तै परे घण्टा बित्न पाएको हुँदैन जस्ताको तस्तै हुन्छ घर । आमैलाई मन्दिरबाट फर्किदा सधैंजसो गनगन नै गर्नुपर्छ, “दुबो मौलाएको पो राम्रो,  झार त उखेलेर फाल्नु नि बुहारी ! गाईले पनि खाँदैन ।”

आँगनमा केही नभेटेर आमै बारीको डिलको बन्सो केलाउन पुग्छिन् ।

‘बढार्नु बढार्यो, उखेल्नु उखेल्यो, दिन बित्न पाएको हुँदैन उत्तिकै फोहर ।’, रमाले मनमनै उही कुरा दोहोर्याई, “हुन्छ आमा !”

आज्ञाकारी विद्यार्थीले ‘बुझेँ सर !” भने झैं आज्ञापालन गर्नु र आमैको सेवामा लाग्नु उसको नियमित स्वभाव हो ।

“नयाँ पिढीले गर्छ भन्नु पनि आहान् नै भो । लोकसेवाले घ्यू खारे झैं खार्छु भन्छ । नयाँ  कर्मचारी हाजिर भएको दिन घुस खान्छ । कति बढार्नु, कति थुन्नु   ?”, आमै टिभीको समाचार सुनेर दिक्क हुन्छिन्, “तिमीलाई पनि यस्तै त होला बुहारी, यो घर सम्भार्नु !”

आमैको पेटमा थोरै तातो गएपछि साँच्चिकै जन्मदिने आमा नै हुन् जस्तो लाग्छ उसलाई ।

‘नौलो नेता, नौलो पार्टी आयो, उखुमै गर्ला पो भनेर भोट खसाल्यो !  बैठक बसेको दिन भत्ता बढाऔं भन्छ । कसलाई भन्नु, त्यो पनि  कच्चा रहेछ ।”, आमैको ध्यान टिभीमै छ । रमाले आँगन छेउको झार उखेलेर मलखाडीमा थुपारी । त्यहाँबाट नमिठो गन्ध आइरहेको थियो ।

‘मल पाकेछ । सबै नमिठो गन्ध खराब हुँदैन ।’, उसले सोची ।

‘सेवासुविधा बढी भयो भने अनियमितता नगर्लान् । कर्मचारीलाई तलब प्रर्याप्त भयो भने लामो हात नगर्लान् ।’, उसले आफ्नो न्यून वेतनभोगी श्रीमान् सम्झी ।

उसले ढोकाछेउ, आमैको सारीमा टाँसिएर आएको कसिङ्गर उठाएर डस्टविनमा फाली  ।

ढोकाबाटै, टिभीमा आइरहेको समाचार उसका कानमा ठोक्कियो – ‘सतप्रतिशत भत्ता र अनेकन सुविधा पाएका विमानस्थलका, भन्सारका, करका,  निगमका कर्मचारी नै बढी भष्ट्राचारमा… थुनिएका छन् ।’, टिभीले मुख्य समाचार भन्दै बिट मार्यो ।