काठमाडौं ।  कवि, नाटककार तथा साहित्यिक पत्रकार वासु शशीको ९०औँ जन्मजयन्तीको अवसरमा वासु शशी स्मृति परिषद्द्वारा आयोजित कार्यक्रममा विभिन्न साहित्यिक पुरस्कार समर्पण गरिएको छ ।

कार्यक्रममा ‘वासु शशी साहित्य पुरस्कार’ साहित्यकार वसन्त चौधरीलाई प्रदान गरिएको छ । त्यस्तै ‘वासु शशी स्रष्टा पुरस्कार २०८२’ जयदेव भट्टराईलाई र ‘कृष्ण सरस्वती साहित्य पुरस्कार २०८२’ हरि मञ्जुश्रीलाई समर्पण गरिएको हो । उक्त कार्यक्रम नेपाल प्रज्ञा प्रतिष्ठानमा सम्पन्न भएको थियो ।

पुरस्कारहरूको राशि क्रमशः वासु शशी साहित्य पुरस्कारका लागि २५ हजार रुपैयाँ, वासु शशी स्रष्टा पुरस्कारका लागि २१ हजार रुपैयाँ तथा कृष्ण–सरस्वती साहित्य पुरस्कारका लागि २५ हजार रुपैयाँ रहेको छ ।

परिषद्का अध्यक्ष कालीप्रसाद रिजालको सभापतित्वमा सम्पन्न कार्यक्रममा प्रमुख आमन्त्रित व्यक्तित्वका रूपमा गीतकार तथा चलचित्र निर्देशक यादव खरेल सहभागी हुनुहुन्थ्यो  । कार्यक्रममा विष्णुविभु घिमिरे, राधेश्याम लेकाली र सरस्वती जोशीलगायतको उपस्थिति रहेको थियो ।

कार्यक्रमलाई सम्बोधन गर्दै यादव खरेलले वासु शशीलाई नम्र, सरल र बहुआयामिक स्रष्टाका रूपमा स्मरण गर्दै उहाँका कृतिहरू पुनःप्रकाशन गर्नुपर्ने आवश्यकता औँल्याउनुभयो । सभापति रिजालले वासु शशीको व्यक्तित्व र सिर्जनात्मक योगदानको स्मरण गर्दै उहाँलाई प्रेरणाको स्रोतका रूपमा लिन आग्रह गर्नुभयो ।

पुरस्कृत स्रष्टाहरूका बारेमा परिषद्का उपाध्यक्ष श्रीओम श्रेष्ठ ‘रोदन’ले प्रकाश पार्दै वसन्त चौधरीको साहित्य, गीतसङ्गीत तथा सांस्कृतिक क्षेत्रमा योगदान उल्लेख गर्नुभयो । उहाँले जयदेव भट्टराईको साहित्यिक पत्रकारिता र अनुसन्धानमुखी लेखन तथा हरि मञ्जुश्रीको सम्पादन, लेखन र प्रकाशन क्षेत्रमा गरेको योगदानको चर्चा गर्नुभयो ।

कार्यक्रममा पुरस्कृत स्रष्टाहरूले आ–आफ्ना मन्तव्य राख्दै वासु शशीजस्ता स्रष्टाको नाममा स्थापित पुरस्कार प्राप्त गर्न पाउँदा गौरवको अनुभूति भएको बताउनुभएकाे थियाे । कार्यक्रमको सहजीकरण ठाकुर बेलवासेले गर्नुभएको थियो ।