फेसबुक चलाउँदै थिएँ । अचानक “माँ प्रेम माधुरी”को नामबाट फ्रेन्ड रिक्वेष्ट आयो । प्रोफाइल फोटो ठूलो पारेर हेरेँ । ओशोभक्त रहिछन् । शरीरमा रातो गाउन र ओशोको आकृति भएको माला ! फेसबुकमा राखिएका अरू फोटातिर पनि दृष्टि लगाएँ । कुनै ध्यान गरेका, कुनै नाचेका, कुनै जङ्गलतिर शयर गर्दै गरेका ।

घुर्मैलो सम्झनामा उनको अनुहार चाहिँ कतै देखेको हो कि भन्ने लाग्यो । तर खुट्ट्याउन सकिनँ ।

रिक्वेष्ट “एसेप्ट” गरेँ । “एसेप्ट” गर्नासाथ कुरा उनैले शुरू गरिन् ।

“नमस्कार ! चिन्नु भयो नि ?”

“अलि गाह्रो नै पर्‍यो त । हाम्रो पहिले कतै भेट भएको हो र ?” मैले प्रश्नवाचक प्रत्युत्तर फर्काएँ ।

“लौ, भेट पो भएको हो र अरे ! हुन त हो नि है, ठूलो मान्छे भएपछि साथीलाई नचिने झैँ गर्छन् आजकल मान्छे ।”

उनले एकदम अनौपचारिक तवरले भनिन्, मानौँ कि हामी कुनै दिन अनौपचारिक साथी थियौँ ।

“त्यस्तो होइन । चिन्न अलि गाह्रो नै पर्‍यो । तर फेसबुकमा हेरेको तपाईँको फोटोले बताइरहेछ कि, काहीँ त अवश्य भेटेको हुँ । तर कहाँ भेटको हो भन्ने सम्झना आएन ।”

“हामी ग्रामिण आदर्श विद्यालयमा नौ र दश कक्षासँगै पढेका साथी हौँ । दशमा पढ्दा तपाईँको रोल नम्बर सात, मेरो चार । अब सम्झिनु भो ?”

“ए सम्झेँ सम्झेँ । तर तपाईँ त पूरै परिवर्तन हुनु भएछ । नाम पनि अर्कै भएछ । त्यसैले चिन्न गाह्रो पर्‍यो ।”

“परिवर्तन त संसारको नियम नै हो नि, तपाईँ चाहिँ पहिलेको जस्तै हुनुहुन्छ र ?” उनले मलाई नै प्रश्न गरिन् ।

“मतलब तपाईँ ओशोभक्त हुनु भएछ भनेको । म त ओशोभक्त भएको छैन नि । नाम पनि मेरो पहिले जे छ अहिले पनि त्यही छ ।” परिवर्तनको मेरो आशय बुझाउन खोजेँ ।

“जीवनमा शान्तिको खोजी नि । जता जाँदा, जे गर्दा शान्ति मिल्छ, त्यतै जाने, त्यही गर्ने त हो । आखिर शान्ति नै त रहेछ, जीवनको अन्तिम लक्ष्य । होइन र ?”

“हो नि ।” मैले असहमति जनाउने कुरै थिएन ।

“अनि कता हुनुहुन्छ आजकल ? कि तपोवनतिरै बस्नुहुन्छ ?” प्रश्न गरेँ ।

“होइन, आफ्नै घरमा छु । मध्यपहाडी लोकमार्ग छेउमै मेरो घर छ । बरु यता आउँदा पस्नुहोला ।” उनले अनुरोध गरिन् ।

उनले मेरो मोबाइल नम्बर मागिन् । आफ्नो नम्बर पनि दिइन् । नम्बरहरू एक अर्काको मोबाइलमा “सेभ” भए । सम्बन्ध नवीकरण भयो ।

० ० ० ०

हामी छुटेको तीस वर्षपछि एकदिन उनले दिएको “लोकेशन” पहिल्याउँदै म उनको घरमा पुगेँ । फेसबुकमा देखे जस्तै उनी घरमा पनि ओशो भक्तले लगाउने गाउनमा थिइन् । कोठाको भित्तामा ओशो रजनिशको ठूलो तस्वीर थियो । कोठाको कुनामा ओशोको मूर्ति । कोठाभरि धुपको सुगन्ध । बसाइँ सामान्य खालको  रहेछ । घरमा उनी एक्लै थिइन् ।

म उनले सङ्केत गरेको सोफासिटमा बसेँ । अर्को साइडमा उनी बसिन् । कुराकानी शुरू भयो ।

“धेरै पछि भेट भो ।” मैले भनेँ ।

“हो नि ।” उनले सहमति जनाइन् ।

“बच्चाबच्ची कति भए ?” यस पटक पहिले मैले सोधेँ ।

“दुईवटा छोरी छन् । एउटा अमेरिका छे, अर्की अष्ट्रेलिया ।” मैले के गर्छन् भन्ने सोध्नै नपाई उनैले बेलीविस्तार लाइन् ।

संवाद अगाडि बढिरह्यो ।

“तपाईँ चाहिँ के गर्दै हुनुहुन्छ आजकल ?”

“यहीँ नजिकैको विद्यालयमा पढाउँछु ।”

“सर र तपाईँ एउटै विद्यालयमा पढाउने हो कि, छुट्टाछुट्टै विद्यालय ?”

“सर त पढाउने होइन नि । म मात्र हो पढाउने हो ।”

“अनि सर के गर्नुहुन्छ र आजकल ?”

“पसल चलाउनुहुन्छ होलसेलको । उ त्यस घरमा पसल छ ।” उनले आफू बसेको घरभन्दा सय मिटरजति पल्तिरको अग्लो भवनतिर देखाउँदै भनिन् ।

“सर ‘टिचिङ’बाट रिटायर्ड भैसक्नु भयो र ?”

“होइन नि । उहाँ त शुरूदेखि नै व्यापार व्यवसायमा हो । म मात्र टिचिङमा हो ।” उनले भनिन् ।

म अक्मकिएँ । उनलाई केही भन्नै सकिनँ ।

“ती फरर्रर…. अंग्रेजी पढाउने झा सर, कसरी होलसेल पसलेमा बदलिए ?” मनमनै आफैँलाई प्रश्न गरेँ ।

म नोष्टाल्जिक भएँ ।

० ० ० ०

नौ कक्षाको कक्षाकोठामा प्रवेश गर्दैगर्दा उनीलाई मैले पहिलोपटक देखेको थिएँ ।

म कक्षामा पस्दा कक्षाकोठामा विद्यार्थीहरू भरिन लागेका थिए । अगाडिका बेन्चहरू त पूरै भरिभराउ थिए । उनी पहिलो लाइनमा नै थिइन् । पछिल्तिर केही बेन्चहरू खाली थिए । म पछाडितिर गएर बसेँ ।

म पहिलो दिन कक्षामा प्रवेश गर्दा कक्षा केही दिन चलिसकेको थियो शायद । सबै एक आपसमा परिचित जसरी कुराकानी गरिरहेका थिए । म चाहिँ कक्षा आठसम्म अर्को विद्यालयमा पढेर कक्षा नौबाट मात्र ग्रामिण आदर्श विद्यालयमा भर्ना भएको हुँदा एक्लो जस्तो थिएँ । हाँसको थानमा बकुल्ला जस्तो ।

पहिलो नजरमा नै उनी मलाई अलि फरक लागेकी थिइन् । केही दिन बित्दानबित्तै त म उनीसँग निकै आकर्षित हुन लागेको थिएँ । तर बोल्न सकिरहेको थिइनँ ।

उनको नाम के थियो कुन्नि । थाहा थिएन । सोझै नाम सोध्न पनि आँट आइरहेको थिएन ।

नाम जान्ने उत्सुकताले गर्दा सरले कक्षामा नाम बोलाएर हाजिर गरिदिए पनि हुन्थ्यो भन्ने लागिरहेथ्यो ।

कक्षामा हाजिर रोलनम्बर बोलाएर गरिन्थ्यो, त्यो पनि सरलाई जाँगर चलेको दिन मात्र ।

केटाहरू उनीसँग बोल्न वरिपरि झुम्मिरहेको देखिन्थ्यो । तर उनी कसैलाई वास्ता गर्दैनथिन् ।

कक्षा चलेको दुई हप्तापछि कक्षामा अंग्रेजी शिक्षक देखा परे । उनी तराई मूलका थिए । कक्षामा उनको हाउभाउ बडो फुर्तिलो थियो । त्यसबेला जाँघतिर सुकेको पैतालातिर फुकेको अमिताभ बच्चन शैलीको पाइन्ट खूब चलेको थियो । सरको पाइन्ट पनि अमिताभ बच्चनको जस्तै थियो । अंग्रेजि सर प्रायः सेतो सुटमै देखिन्थे । त्यस्तो दुर्गम गाउँतिर पनि सरले सधैँ सुट लगाएर हिँडेको देख्दा मलाई अचम्म नलाग्ने कुरै थिएन ।

ती सरले पहिलो दिन कक्षामा प्रवेश गरेर बडो फुर्तिका साथ अमेरिकन अंग्रेजी लवजमा भनेका थिए‐ “माइ नेम इज वेदान्त झा । आइ एम फ्रम सप्तरी ।”

अंग्रेजी सर आएको दिन ऊ झनै फुर्तिली देखिएकी थिई ।

पहिलो दिन केही समय अंग्रेजी शिक्षकले कक्षामा नेपाली शब्द नमिसाई अंग्रेजीमै के के भट्ट्याए । अनि तीन चार जना जति विद्यार्थीलाई प्रश्न सोधे । त्यसपछि उनीतरि इङ्गित गर्दै भने‐ “अब मिस इलाले भन्ने ।” मानौँ कि सर उनी अविवाहित नै भएको प्रमाणित गर्न नामका अगाडि मिस जोडिरहेका छन् ।

मलाई मिस भनुन् कि मेडम भनुन्, त्यतातर्फ धेरै चासो थिएन । चासो उनको नाम जान्नमा थियो ।

“ओहो ! उनको नाम इला । कस्तो राम्रो नाम !” उनको नाम सुनेर म उनीप्रति थप आकर्षित भएँ ।

उनको नाम नै राम्रो हो कि, मलाई उनीप्रति आकर्षण भएर उनको नाम राम्रो लागेको हो कुन्नि, त्यतातर्फ सोच्ने मलाई फुर्सद नै थिएन ।

फुर्सदचाहिँ मलाई इलाको गतिविधि लुकेर नियाल्ने थियो ।

पढाइमा प्रायः औसत विद्यार्थी थिए । यस्तो औसत कक्षामा सरहरूको ध्यान अलि जान्ने विद्यार्थीमा बढी नै केन्द्रित हुन्छ । अंग्रेजी सरलाई पनि शायद मिस इला अरूभन्दा जान्ने छिन् भन्ने लाग्दो हो कि । अंग्रेजीमा त झन सबै कमजोर नै थिए । मिस इला भने सरले सोधेको प्रश्नको उत्तर कनिकुथि दिन्थिन् । अंग्रेजी कमजोर भएको विद्यालयमा उनको त्यत्तिको अंग्रेजी राम्रो मानिन्थ्यो । म पनि अंग्रेजीमा अलि कमजोर नै भएकाले होला, सरले कक्षामा बोलेको अंग्रेजी त्यति प्रष्टसँग बुझ्दैनथेँ । यति चाहिँ प्रष्ट बुझ्थेँ कि मिस इलाको उत्तरबाट अंग्रेजी सर सन्तुष्ट छन् । सरको मुखबाट निस्केको मुस्कानसहितको “थ्यान्क्यू मिस इला” भन्ने शब्दले सरको सन्तुष्टि बताउँथ्यो ।

विद्यालयमा औपचारिक ड्रेस थिएन । केटाहरू प्रायः सर्टपाइन्टमा हुन्थे । केही कमिज सुरुवाल पनि लगाउँथे । दौरासुरुवाल भने विद्यालय प्राङ्गणबाट लगभग विस्थापित हुँदै थियो । एक किसिमले दौरा सुरुवाल लगाएर विद्यालय जानेहरू पाखे गनिन सक्थे । म पनि दौरा सुरुवाल छोडेर कमिज सुरुवाल र इष्टकोटमा त पुगिसकेको थिएँ, तर सर्ट पाइन्टको स्टेपमा उक्लिन भने बाँकी नै थियो । केटीहरू भने अधिकांश कुर्तासुरुवाल र सलमा हुन्थे । फ्रक लगाएका फाट्टफुट्ट देखिन्थे । एक मात्र उनी, अर्थात् मिस इला भने स्कर्ट लगाएकी हुन्थिन् ।

म इलासँग नजिक हुन खोज्थेँ । तर प्रयासहरू असफल थिए ।

म मात्र होइन, उनीसँग अरू पनि नजिक हुन खोज्दा हुन् । अरू पनि सफल त कहाँ भएका थिए र ?

विद्यालयमा दिउँसो एक बजे मध्यान्तर हुन्थ्यो, एक घण्टा । गाउँमा टिफिन बक्समा खाजा हुने कल्पना नै थिएन । कोही पानी खान धारातिर जान्थे, कोही साथीसँगाती मिलेर साना साना समूह बनाएर चौरमा गफ गरिरहेका हुन्थे । कोही भलिभल खेलिरहेका हुन्थे भने कोही रुमाल चोर, डन्डीबियो जस्ता स्थानीय खेल खेलेर घण्टा बिताउँथे । राजनीतिमा रुचि भएकाहरू राजनीतिक गफगाफ पनि खूबै गर्थे ।

विद्यालयको चौरक्षेत्र निकै फराकिलो थियो । मध्यान्तरको एक घण्टा इला भने प्रायःजसो अंग्रेजी सरसँग गफ गर्दै चौरमा वरपर हिँडिरहेको देखिन्थ्यो । सरको लवाइखुवाइ मात्र होइन, उचाइ पनि अमिताभ बच्चनको जस्तो अग्लो थियो । अनि इला चाहिँ पूजा भट्ट जस्ती होची । सर र इलाको जोडी ऊँट र कछुवाको जोडी जस्तो देखिन्थ्यो ।

उनीहरू के के धुनमा गफ गरिरहेका हुन्थे कुन्नि, थाहा पाउँदैनथेँ । म आफू चाहिँ इलालाई चोरीचोरी हेरिरहेको हुन्थेँ । यदाकदा म आफ्ना केटा साथीसँग समूहमा भए पनि मेरा आँखा भने इलातिरै हुन्थ्यो ।

आफू पढन्ते विद्यार्थी भएर अंग्रेजी सरको प्रिय विद्यार्थी हुने, सरसँग जोडी भएर चौरमा घुम्ने र सरसँग आँखा जुधाएर कुरा गर्ने रहर मलाई पनि नभएको होइन । एक किसिमको इलाले सरसँग गफ गरेको ईर्ष्या पनि हुँदो हो ममा । तर ईर्ष्याले मात्र रहर पूरा हुने थिएन । आफू इला जस्तो हुन सकेको भए पो ।

अंग्रेजी सरसँग नजिक हुने रहर त छँदै थियो, तर त्योभन्दा बढी रहर इलासँग नजिक हुने थियो । इलासँग नजिक हुन पनि अंग्रेजी सरसँग नै नजिक हुनुपर्छ भन्ने लाग्यो मलाई । सरसँग नजिक हुने उपायको खोजीमा लागेँ । उपाय निस्क्यो । कक्षामा अंग्रेजी सरले पढाउँदा मैले प्रष्टसँग नबुझेको भनेर केही प्रश्नका बहाना बनाएँ । दिउँसो मध्याह्नमा सर र इला चौरको एक कुनामा दुबोमाथि पलेटी कसेर गफ गरिरहेका थिए । म उनीहरू भएका ठाउँमा गएँ । मैले बनाएका प्रश्न सरसँग सोधेँ । अनुहार चाहिँ इलाको हेरेँ ।

सरले दुई तीन मिनेट भित्रै मैले सोधेको प्रश्नको उत्तर दिइहाले । त्यसपछि इला र सर आपसमा कुरा गर्न थाले । फेरि म एक्लिएँ । उनीहरूको छेउमा आफूले आफैँलाई फाल्तु जोक्कर जस्तो पाएँ । अनि अप्ठ्यारो मान्दै म त्यहाँबाट अन्यत्रै लागेँ । उनीसँग नजिक हुने मेरो यो बहाना पनि काम लागेन ।

कक्षा नौ र दश यस्तै गरी इलासँग नजिक हुने रहरमा नै बित्यो । जिन्दगीको सुनौला दिनहरूमा पढ्नमा भन्दा बढी ध्यान इलातिरै गयो । तर इलाको ध्यान मतिर कहिल्यै खिच्न सकिनँ मैले ।

टेस्ट परीक्षा दिएर हामी आफ्नो घरतिर फर्क्यौं ।

दुई महिनापछि बल्ल टेस्ट परीक्षाको परिणाम प्रकाशित भयो । इला र म दुवै पास भएछौँ । टेस्ट परीक्षाको सर्टिफिकेट लिन र एसएलसीको फारम भर्न म विद्यालय गएँ ।

पास भएको खुशीमा एउटा आँट पनि थपियो । जे पर्लापर्ला यस पटक चाहिँ इलालाई भेटेर भन्नेछु– “इला म तिमीलाई मन पराउँछु ।”

आखिर सामाजिक हैसियत बराबर नभए पनि शैक्षिक योग्यताको हैसियत त इलाको र मेरो बराबर नै थियो । त्यसैले यो आँट आएको हुँदो हो ।

तर विद्यालयमा उनीसँग भेट भएन । उनी कुन दिन र समय विद्यालय पुगेर सर्टिफिकेट हात पारिन्, म कुन दिन र समय पुगेँ । भेट्न समयले जुराएन ।

एसएलसीमा हाम्रो विद्यालयको परीक्षा सेन्टर हाम्रो विद्यालयभन्दा धेरै टाढाको विद्यालयमा परेको थियो । एउटा विद्यालयमा सातवटा विद्यालयको परीक्षा सेन्टर हुँदा परीक्षार्थीको भीडले परीक्षा सेन्टरमा जात्रा लागे जस्तो थियो । सात दिन परीक्षा दिँदा मेरा आँखाले इलालाई नखोजेको होइन, तर परीक्षार्थीको जात्रामा कता उनलाई भेट्नु । त्यसमाथि परीक्षाको चटारो पनि त थियो ।

छ महिनापछि एसएलसीको रिजल्ट प्रकाशित भयो । म एसएलसीको सर्टिफिकेट लिन विद्यालय पुगेँ ।

यसपटक इलालाई भेटेरै छोड्ने मेरो अठोट थियो ।

तर विद्यालय पुग्दा थाहा भयो । मिस इला त एसएलसीको रिजल्ट नआउँदै गाउँबाट हिँडिन् रे ।

“कहाँ हिँडिन् ? शहरतिर क्याम्पस पढ्न ?” मैले हतार हतार सोधेँ ।

“होइन नि, अंग्रेजी सरसँग घरजम गर्न ।” एकजना साथीले मुख खोलेरै भन्यो ।

म छाँगाबाट खसे जस्तै भएँ ।

० ० ० ०

“के सोचिरहनुभएको ?” ‘माँ प्रेम माधुरी’को आवाजले म झसङ्ग भएँ ।

“केही होइन ।” म सम्हालिन खोजेँ ।

थप बोल्न बक नै फुटेन । के बोलूँ, के भनूँ भयो ।

“तपार्इँले त राम्रो जागीर खानुभएछ । प्रगति भएछ । साथीहरूले प्रगति गर्दा खुशी नै लाग्छ ।” म चुपचाप लागेको देखेर उनैले कुरा अगाडि बढाइन् ।

“मलाई पनि अरू जागीरमा भन्दा टिचिङमा रमाइलो लाग्छ । केही समय त मैले पनि पढाएँ । तर जिन्दगीको यात्रा आफूले तय गरेर नहुने रहेछ, नियतिले जता लान्छ उतैउतै ‍हिंड्नुपर्ने रहेछ ।” मैले थपेँ ।

“ठीक भन्नु भो, तपाईँले । हामी आफैँ आफ्नो वशमा छैनौँ । नियतिको वशमा छौँ । यी मलाई नै हेर्नुस् न, नियतिले यता ल्याइपुर्‍यायो । भएका दुवै छोरी विदेश छन् । एक्लो जीवन बिताइरहेछु ।” उनले जीवनप्रति अलिअलि गुनासो गरिन् ।

“सर हुनुहुन्छ त, कसरी एक्लै ?”

“सर हुनुहुन्न ।”

“हुनुहुन्न मतलब ? पसलमा हुनुहुन्छ भनेको होइन र ?”

“पसलमा त हुनुहुन्छ, तर मसँग चाहिँ हुनुहुन्न । अर्कीसँग हुनुहुन्छ ।”

“झा सर ! पसले रे ! अर्कीसँग ! के सुन्दैछु म ?” बेचैन भएँ ।

“होइन म अहिले तिनै इलासँग त छु, जो तीस वर्षअगाडि मेरो विद्यालयकी क्लासमेट थिइन् ?” रणभुल्लमा परेँ । झनै अकबक्क भएँ म ।

० ० ० ०

मेरो बेचैनी देखेर उनी फेरि आफैँ बोलिन्– “सबैले अरूको जिन्दगी समानान्तर रेखामा चलेको ठान्छन्, तर जिन्दगी समानान्तर रेखामा हिँड्दैन । जिन्दगी वक्ररेखामा अल्मलिन्छ । मान्छेहरू आफ्नो जिन्दगीमा सीधा बाटाहरू खोज्छन्, घुम्तीहरू मन पराउँदैनन्, तर जिन्दगी घुम्तीहरू खोज्दै लर्बराउँछ । कहिलेकाहीँ जिन्दगी यति रफ्तारमा कुद्छ कि घुम्तीमा पुग्दा गति नियन्त्रमा लिन सकेन भने जिन्दगी दुर्घटना भइदिन्छ ।”

म अझै केही बोल्न सकिरहेको थिइनँ ।

उनी एकोहोरो बोल्दै गइन्– “मलाई थाहा थियो विवेक, त्यतिबेला तिमी मलाई मन पराउँथ्यौ । तिमी मात्र होइन, विद्यालयमा मलाई मन पराउने तिमी जस्ता दर्जनौँ थिए । तर तिनीहरू कसैलाई म भाउ दिन्नथेँ, जसरी तिमीलाई मैले भाउ दिइनँ ।”

फेरि पनि म केही बोलिनँ ।

“किन भाउ दिइनँ, तिमीलाई थाहा छ ?”

“अँ, थाहा छ ।”

“भन त, किन ?”

“किन कि तिमी अंग्रेजी सरलाई प्रेम गर्थ्यौ ।”

“त्यही त गलत थियौ नि तिमी । तिमी मात्र होइन, अरू पनि त्यही सोच्थे कि, म झा सरलाई प्रेम गर्थेँ ।”

उनी धाराप्रवाह बोल्दै गइन् :

“म झा सरसँग नजिक हुन्थेँ, यसकारण होइन कि, म उहाँलाई प्रेम गर्थें, बरु यसकारण कि म अरू केटाहरूको प्रेम आतङ्कबाट सुरक्षित रहन चाहन्थेँ । झा सरसँग म नजिक भएको देखेर कोही पनि मेरो नजिक आएर प्रेम प्रस्ताव राख्ने हिम्मत गर्दैनथे । जसरी तिमीले हिम्मत गर्न सकेनौ ।

विद्यालयमा सबैले मलाई झा सरकी प्रेमिका बुझे पनि म उहाँको विशुद्ध मात्र विद्यार्थी थिएँ । तर झा सरको आँखामा चाहिँ म उहाँको विशुद्ध विद्यार्थी हुन सकेको रहेनछु ।

विद्यालयको टेस्ट परीक्षा सकेर एसएलसीको तयारी गर्दै थिएँ । म झा सरसँग ट्युसन पढ्न उहाँको कोठामा जान्थेँ । एक दिन झा सरले मलाई भन्नुभयो– “इला ! म तिमीलाई मन पराउँछु । तिमी र म बिहे गरौँ ।”

झा सर र मेरो उमेर दश वर्ष फरक थियो । मैले झा सरको प्रस्ताव अस्वीकार गरेँ । अस्वीकार गरेको यसकारणले होइन कि, उहाँको र मेरो उमेर दश वर्ष फरक थियो । अस्वीकार यसकारण गरेकी थिएँ कि, मेरो प्रेम अरूसँग थियो ।

“तपार्इँको त्यसबेला प्रेम अरूसँगै थियो ? के यो कुरा झा सरलाई पनि थाहा थियो ?” मैले सोधेँ ।

“थिएन । अलिकति गन्धसम्म पनि थिएन झा सरलाई । झा सरलाई मात्र होइन, मेरो घरपरिवार, साथीभाइ, छिमेकी कोहीलाई पनि मेरो अरू केटासँग प्रेम भएको कुरा थाहा थिएन । घर, परिवार, छिमेक, विद्यालय सबैतिर मेरो नाम झा सरसँग नै जोडिन्थ्यो । मेरो प्रेम अन्यत्र भएको थाहा पाएर झा सर दुखी हुनु भो । तर मलाई अरूसँग बिहे नगर भन्न सक्नु भएन । एसएलसीको परीक्षा दिई सकेपछि म घर छोडेर हिँडे– निराजनसँग । सुदूरपूर्वको मान्छे कोसौँ टाढाको सुदूरपश्चिममा आइपुगेँ– निराजनको प्रेम र विश्वासलाई मुटुमा साँचेर ।”

“को थियो निराजन ?”

“निराजन मेरो घर नजिकैको हेल्थपोस्टमा सामान सप्लाइ गर्थ्यो । हेल्थपोस्टमा सामान लिएर आउँदा रात पर्‍यो भने ऊ हाम्रै घरमा बास बस्थ्यो । दुई–चार पटककै भेटमा म ऊसँग प्रभावित भएको थिएँ । म यति छिटै ऊसँग आकर्षित भएँ कि, जसरी तिमीहरू मसँग एकै हेराइमा आकर्षित हुन्थ्यौ ।

मैले घरमा बुबाआमासँग आँट गरेर निराजनसँग बिहे गरिदिनु भनेको भए पनि हुन्थ्यो, तर मेरो र उसको जात मिल्दैनथ्यो । म तथाकथित उच्च जातकी थिएँ, ऊ तथाकथित तल्लो जातको । जात नमिल्नेसँग बिहे गरिदिने कुरा त्यो समय त्यो समाजमा कल्पना बाहिरको थियो ।”

“……..!”

“म निराजनसँग हिँडेसँगै झा सर पनि गाउँको विद्यालयबाट सरुवा लिएर हिँडनुभएछ । हल्ला चलेछ– म झा सरसँग हिँडेँ ।

जोसँग म घर छोडेर हिँडें, उनीसँग मैले एक दशक बिताएँ । दुई छोरी भए । दुई छोरी भएपछि ट्युमर भएर मेरो पाठेघर फाल्नुपर्‍यो । म सन्तान उत्पादन गर्न नसक्ने थोत्रो मेशिनमा परिणत भएँ ।

निराजनलाई गाउँलेले छोरीबाट वंश धानिँदैन भनिदिए । वंश नधानिने विश्वासमा निराजनले मेरो इच्छा विपरीत कान्छी भित्र्यायो । अहिले निराजन कान्छीसँग ऊ त्यो घरमा बस्छ । छोरा जन्मेको छ ।” इलाले पुनः उनको पति बस्ने घरतिर देखाउँदै भनिन् ।

० ० ० ०

तीन दशक बितिसक्दा पनि गाउँमा मिस इला अंग्रेजी पढाउने झा सरसँग हिँडेको हल्ला बाँकी नै छ । हल्ला मात्र होइन विश्वास नै छ । मैले पनि माँ प्रेम माधुरीको दर्शन नपाएको भए उनलाई इला झा नै बुझिरहने थिएँ ।

“साँच्ची यतिबेला वेदान्त झा के गर्दै होलान् ? उनको जिन्दगी सरल रेखामा कुद्दै होला कि वक्ररेखामा ठाउँठाउँ ठक्कर खाँदै होला ?” मेरो मनमा खुल्दुली भयो ।

“आजकल झा सर चाहिँ कता हुनुहुन्छ होला ?” मैले मेरो मनमा उब्जेको प्रश्न माँ प्रेम माधुरीतिर फालेँ ।

मेरो प्रश्न सुनेर इला उर्फ माँ प्रेम माधुरीले बरर्रर… आँसु मात्र झारिन् ।