‘दिदी, ह्वाइ आर यु किपिङ् दिस हट्स फोटो?’ मामाकी छोरी रियासाले गरेको यो प्रश्नले ममताको मन भारी भयो ।

‘नो रिजन । ह्वाइ ? केटाकेटीलाई किन खोजी चाहियो ?’

‘म केटाकेटी त होइन होला नि त, दिदी ? न्यूयोर्कको यो घर भएर पनि तँलाई चाहिँ खरायो बस्ने जस्तो घर किन भ्यालुवेबल लागेको ? यसलाई हेरेर आँसु पनि झार्छेस् । बरु तँचाहिँ केटाकेटी भइस् । भन् न, के हो कुरा ?’

‘सक्दिनँ बुने, भन्न ।’

‘नो, रिक्वेस्ट । प्लिज, दिदी ।’

‘ओके, बट यु डोन्ट अन्डरस्ट्यान्ड नेपाली ल्याङ्ग्वेज ।’

‘आइ डु, । मलाई सबै आउँछ । सुनेर होइन, नेपाली साहित्यका किताब पढेर । बाबाका धेरै किताब मैले पढिसकेँ । मलाई बाबाले छुट्टै सिकाउनुहुन्छ नेपाली भाषा । उहाँ अमेरिकामा बसेर पनि नेपाली साहित्य पढ्ने र लेख्ने गर्नुहुन्छ । तँलाई थाहै छ त !’

‘तर म तँलाई भन्न सक्दिन यो कुरा । यो अकल्पनीय छ ।’

‘म सुन्न सक्छु ।’

‘तर रुन पाइने छैन ।’

‘हुन्छ । डन ।’

० ० ० 

म ४ कक्षामा पढ्दाको कुरा हो । कहिल्यै बिर्सिन नसकिने कुरा ।

राजा र व्यवस्थाको विरोध गरेको भन्दै नेपाली भाषी भुटानीमाथि त्यहाँको राज्य सत्ताले हामीहरूमाथि निगरानी मात्र बढाएन, यातना दिने, घर जलाइदिने र खेद्ने काम पनि गर्न थाल्यो । हत्या गर्ने काम पनि गर्न थाल्यो ।

मेरो जेठो दाजुलाई देश द्रोहको आरोपमा पक्रिएर लगे, आजसम्म बेपत्ता छन् । लास पनि छैन, सास पनि छैन ।

‘ममता, तिम्रा दाइ भेटिएनन्, नि !’ प्राय सबैको सामूहिक प्रश्न यही थियो । यो प्रश्नले मेरो मनमा भुईँचालो जान्थ्यो ।

‘छैन । अब त माया मारिसक्यौँ दाजुलाई ।’ म निराशाजनक उत्तर दिन्थेँ ।

ज्यान जोखिममा पर्न थालेको अनुभव भएपछि हाम्रो परिवारसँगै करिब एक लाखको हाराहारीमा हामीहरू भुटान छोडेर भारत आयौँ आफ्नो गुमेको धरती र आकाश खोज्न ।

तर त्यहाँको प्रहरीले हामीलाई नेपालको पूर्वी सिमाना काँकडभिट्टामा ल्याएर छोडिदियो । नेपाल सरकार र विदेशी दातृ संस्थाहरूको सहयोगमा हामी शिविरमा बस्ने अवसर पायौँ ।

‘हामीलाई तीन ठाउँ राख्ने रे ।’ यस्ता हल्ला फैलिन्थ्यो ।

‘कहाँ कहाँ ?’

‘हामीलाई चाहिँ दमकमा रे । अरू गोलधाप र पथरीमा ।’

हामीले दमकको बेलडाँगी शिविरमा बस्नु पर्ने भयो ।

हट अर्थात् छाप्रा बने हामी बस्नलाई । अर्कैले बनाइदियो त्यो । खान अर्कैले दियो ।

हामी कुँडो दिएर पालेका गाईबस्तु भयौँ । बिहान अर्काको भरमा उठ्यौँ । अर्काको खायौँ । अर्काको धर्तीमा टेक्यौँ र सुत्यौँ । अर्काको आकाश हेर्यौं । अर्काको हावा फोक्सोले तानेर सास फेर्‍यौं । अर्काको पानी खायौँ । आफ्नो त धर्ती पनि लगिदिए, आकाश पनि । हामी रित्तो थियौँ । हाम्रो जीवन अर्काले दिएको कुँडोमा अडियो । कुँडोले कसरी खुसी दिन्थ्यो ? विदेशी संस्थाको कुँडाे । बुबा, आमा, म र भाइ थियौँ ।

म कक्षा ११ पढ्न थालेँ काम गर्दै । अर्को साल उच्च मावि पनि सकेँ ।

छाप्रोमा हामी बाँचेकै थियाैँ ।

उतैबाट हामीसँगै भागेर आएका ओखरवोटेका पूर्ण विष्ट मेरो बाख्रा हेर्ने साथी थियो । उसको बालाई भुटानी सेनाले लगेको थियो । कहिल्यै आएनन् ।

आमा र ऊ मात्रै थिए परिवारमा ।

उसकी आमा मलाई नियालिरहन्थिन् मेरा अवयवहरू ।

सायद उनको पनि यही चाहना थियो — म उनकी बुहारी बनूँ ।

पूर्ण रिसाहा र भङ्ज्याहा थियो, म शान्त स्वभावकी थिएँ । थाहा छैन, मलाई कसरी त्यो मान्छे मन पर्‍यो । दुई विपरीत प्रवृत्ति भएका मान्छे एउटै हुन सक्दैनन् भन्ने मान्यता थियो । पत्याउनै गाह्राे भयो । मेरो जीवनमा यसरी पत्याउन नसकिने काम पनि मैले गरेछु । सुनेकी थिएँ, राम्रा मान्छेले नराम्रालाई मन पराउँछन्, नराम्राले राम्रालाई, अग्लाले होचालाई, होचाले अग्लालाई, शान्तले चुलबुलेलाई ।

मेरो पनि यस्तै भएछ ।

उसको चुलबुलेपनलाई मेरो शान्तपनले कर्‍याप्पै पारेर अँगालो हाल्यो । अर्को वर्ष हामी विवाह बन्धनमा बाँधियौँ सामान्य विधिबाट । तथापि आशीर्वाद धेरैबाट पायौँ । थाम्नै नसक्ने गरी ।

समयले मलाई उच्च शिक्षा पढ्ने बाटो खोलिदिएन ।

बरु मलाई आमा र पूर्णलाई बाबा बन्ने अवसर दियो ।

छोरी ।

हामी बिहानै आठबजे गृह निर्माण कामको लागि मजदुरी गर्न दमक, पथरी र उर्लाबारी जान्थ्यौँ । साँझमा घर फर्किन्थ्यौ । खान र बस्न युएनएचसीआर र क्यारिटस नेपाल जस्ता अनेकौँ अन्तर्राष्ट्रिय दात्री निकायले दिन्थे । अनि हामीले बाहिर कमाएको पैसा जम्मा गर्दै गर्दै रह्यौँ । जब मेरी छोरी जन्मिई, म काममा जान पाउन छाडेँ । म बाँधिएँ ।

पूर्ण मात्र काममा जाने गर्थे । उनी सिमेन्टका मिस्त्री थिए । उनको दैनिक ज्याला सामान्य मजदुरको भन्दा तीन गुणा थियो । उनी गीत सुन्न र गाउन पनि सौखिन थिए । पारखी हुँ भन्न पनि भ्याउँथे ।

म उनलाई बेलुका सम्भव भएसम्मको परिकार पुर्याएर खाना तयार गरिदिन्थेँ । उनी ठुलाठुला गाँसले हतारोमै सिद्ध्याउँथे ।

‘बिस्तारै खानु नि  किन हतार गरेर खाएको ?’ म प्रश्न गर्थें । तर उनी केही नभनी खाइरहन्थे ।

समयले मलाई अकल्पनीय क्षणमा लगेर  फ्याँकिदियाे । म अब बाहिरको सारा दुनियाँबाट पृथकिएर यो छाप्रोमा कैद भएँ । मेरो सारा जीवनका किरणहरू यो छाप्रोको छानाले छेकिदियो । यो छाप्रोको जस्केलाले सिमाना छुट्याइदियो ।

म उज्यालोको यात्रामा पदार्पण गर्न नपाउने भएँ । मेरा सारा सिपहरू त्यही छाप्रोको अँध्यारो कोठामा निचोरिएर बसे । म अँध्यारोमै रमाउन थालेँ । म दश मिटरमा  जोडिएका छाप्राको भीडमा मैले छोरीलाई हिँड्न सिकाएँ । खेल्न सिकाएँ । सास फेर्न सिकाएँ । ताते ताते भनेर धर्तीमा पाइला राख्दै पढाएँ । उसले पाइला राखी, जहाँ धर्ती पनि आफ्नो थिएन । आकाश पनि आफ्नो थिएन । छोरीलाई खुवाउँदा र स्कुल पठाउँदा, लुगा धुँदा, खाना तयारी गर्दा घरमै समय बित्थ्यो । म छोरीका भविष्यमा आफ्नो भविष्य साट्न थालेँ, आफ्नो भविष्य देख्न थालेँ । मैले आफ्नो भविष्य अर्कासँग जोडेर हेर्न थालेँ ।

पूर्ण दिनभरि काममा जान्थे । सिमेन्ट, रड, ढुङ्गा, गिटी, बालुवा र इँटासँग उनको जिन्दगी साटिएको थियो । उनी तिनै इँटासँग संवाद गर्थे । सिमेन्टको धूलोसँग संवाद गर्थे । हातका र खुट्टाका छाला साउने गोरुको काँध जस्तै छालाको पत्र गएर घिनलाग्दो हुन्थ्यो । उनको जीउ चल्दैनथ्यो बेलुका । छोरी उनलाई छोप्दै जान्थी । उनले हरेक दिन छोरीलाई केही न केही किनेर ल्याइदिन्थे । उनी छोरीलाई काँधमा बोकेर मुस्कुराउँथे । छोरीले उनको दर्दलाई कम गरिदिन्थी भन्ने लाग्यो ।

तर मेरो मन खिन्न हुन्थ्यो, मैलो उनको मुस्कान निकाल्न सकिनँ । मलाई  हेरेर उनी मुस्कुराउन सक्दैन थिए । ममा कुनै खोट भएर होला भन्ने लाग्यो । अस्तिसम्म ममा खोट थिएन । आजकल खोट भयो । समयले मान्छेको उपयोगिता सिर्जना गर्ने र नष्ट गर्ने गर्दो रहेछ भन्ने लाग्यो । समयले मेरो महत्त्व जलाएर खाग बनाइदियो भन्ने लाग्यो ।

उनी साइकल भित्र राखेर हातखुट्टा धोए पछि खाना खान बस्थे । उनलाई बोल्न मन लाग्दैनथ्यो, म आफैँ जोक भनेर उनको मुहारमा हाँसो भित्र्याउने प्रयास गर्थें ।

खानापछि उनी अगाडिको फलैँचामा निस्किएर साथीहरूसँग गफ गर्थे । अनि सुत्न भनेर ओछ्यानमा आउँथे । लखतरान उनी पल्टिसक्दा निदाउँथे । घुर्न थाल्थे दश मिनेटमै । म र छोरी बेग्लै खाटमा सुत्थ्यौँ । केही समयपछि म बिस्तारै उनको कम्मलमा घुस्रिन्थेँ । न्यानो लाग्थ्यो । दिनभरिको पसिनाले जीउ गन्हाए पनि, त्यो स्नेह भन्दा शक्तिशाली कुनै हालतमा पनि हुँदैन थियो । उनी लगातार घुर्थे, म उनको शरीरलाई बिस्तारै स्पर्श गर्थे, तर उनी मुढो लडे जसरी लडेका हुन्थे । उनी मुढो थिए । म त्यही मुढोको समिप्यतामा स्नेहका अजस्र धारा बगेको कल्पना गर्थें ।

हाम्रो छाप्रोको छिमेकी बिजुली बिक्रम कार्की दुर्घटनामा घाइते भएपछि दिनभर घरै बस्थ्यो । उसकी श्रीमती छत्रमाया दिउँसो मेरो पूर्णसँग लेबरको काम गर्न उर्लाबारी जान्थी । उसको छुट्टै साइकल नभएकोले गर्दा ऊ मेरो पूर्णसँगै  काममा जान्थी । तिनीहरू एउटै साइटमा काम गर्थे । बेलुका सँगै आउँथे । तर छत्रमाया घरमा आएर खाना पकाउन, लुगा धुन, घर सफा राख्न, धन्दा गर्न व्यस्त हुन्थी । उसलाई कसैसँग बोल्ने फुर्सद पनि थिएन । तर कामबाट फर्केपछि मेरो पूर्णलाई पुरै फुर्सद थियो । कति अन्तर रहेछ महिला र पुरुषमा ? यही भिन्नता नापेर आज करोडौँ छत्रमायाहरू रुग्ण बाँचिरहेका छन् । अनि करोडौँ पूर्णहरू आनन्दको जीवन बाँचिरहेका छन् ।

छत्रमाया मलाई बिहान जाने बेलामा ‘दिदी, घर हेरिदिनु है’ मात्र भन्थी । म दिउँसो बेलाबेलामा उनको घरमा हेर्थें। किन उसले मेरो घरमा हेरिदिनु भनेकी ? त्यो घरमा त्यही बिजुली विक्रम मात्र बस्थ्यो । मैले उसलाई किन हेर्नु पर्ने ? तैपनि म बेलाबेला हेर्थेँ उतातिर । ऊ घरमा एउटा भ्याङ्ले कट्टु लगाएर बस्थ्यो । पाँच मिटर परबाट मेरो दृष्टि पर्थ्यो उसको तिघ्रा मास्तिरको भ्याङ्ले कट्टुमा । ऊ सम्हालिँदैन थियो मलाई देखेर पनि । ऊ अशक्त थियो । कयौँ पटक उसको त्यो भ्वाङ्ग साइडमा ह्वाङ्गै भएको देख्थेँ छाप्रो भित्रबाट । लुकेर हेर्थें कयौँ पटक । उसका छोराछोरी थिएनन् । ऊ राम्ररी हिँड्न सक्दैनथ्यो । ऊ झापाको पाडाजुँगीमा गाडी दुर्घटनामा परेर मुस्किलले बाँचेको मान्छे हो । दुइटै हात राम्ररी चल्दैनथे । बिस्तारै मात्र हातहरू तल माथि गर्न सक्थ्यो । समय लाग्थ्यो हातलाई तलमाथि गर्न ।

आफैँलाई कयौँ पटक प्रश्न गर्थें । पापी होइन मेरो मन ? यसरी अर्काको शरीरमा आँखा लगाउनु अनैतिक, भ्रष्ट र पतित मनस्थिति हो भन्ने लाग्यो । यो अक्षम्य हो भन्ने लाग्यो । तर किन म उसलाई नहेर्न सक्दिन ? उसकी श्रीमतीले नै ‘हेर्नु’ भनेकी यसर्थ हो ? पक्कै होइन । मेरो मन फुलेर आउँथ्यो छत्रमायाको घरतिर नजर लगाउन मात्र पाउँदा । टाउको चिसो भएर आउँथ्यो । मुख सुक्थ्यो । म मेरो छाप्रोको भित्रैबाट पर बिजुलीलाई हेर्थेँ । अनि पोखिन्थेँ छचल्किएर ।

एक दिन मेरा आँखा मेरो छाप्रो भित्रबाट बिजुलीको नसम्हालिको शरीरमा पुगेछन् । पूर्णले देखे । केही पनि भनेनन् । मलाई थाहा भएन, अरू बेला मेरा आँखा त्यहाँ परेका । पूर्णले मलाई क्रमशः आफ्नो मनबाट निकाल्दै लगेका रहेछन्, पछि थाहा पाएँ । मैले बिजुली विक्रमको शरीर हेरेँ भनेर यसरी म माथि उपयोगिता समाप्त भएको ठाने होला । तर उनले दिनमा दुई पटक एक घण्टा साइकलको पछाडि छत्रमायालाई बोकेर हिँड्दा पनि मैले कहिल्यै मनमा प्रश्न गरिनँ । नमिठो ठानिनँ । मैले कामको कुरा सोचेँ । छत्रलाई साइकल किन पनि भनिनँ । कति अन्तर रहेछ म र पूर्णमा ? एउटी महिला र पुरुषमा ?

‘पैसाको आवश्यकता छ हामीलाई । दुई जनाले नै काम गर्नु पर्छ अब ।’ एक दिन हठात् पूर्ण बोले ।

‘हुन्छ । नानी ?’

‘आमाले लाने । अब एक वर्षकी भई । हुन्छ साइटमा लग्दा । महिलाले सानो नानी लिएर काममा आउँदा मानिसले अन्यथा पनि ठान्दैनन् ।’

छोरीलाई झुन्ड्याएर काममा जानु पर्ने भयो मैले । साउनको झरीमा म छोरीलाई लिएर साइटमा काम गर्न जान थालेँ । कयौँ पटक छोरी पानीमा भिजी । निमोनियाँ भएछ । पूर्णलाई मैले अनुरोध गरेँ धरान वीपीमा उपचार गर्न लैजान, तर उनले पैसा छैन भने ।

‘धरान लान पैसा छैन । यहीँ जे जस्तो उपचार पाइन्छ, गर्नु पर्छ ।’ उनले सम्झाउने प्रयास गरे ।

‘तिमीसँग पनि होला नि अलिक अलिक ?’

‘छैन । सबै घरखर्चमा सकियो ।’

‘खान र अन्य खर्च त युएनएचसिआरले दिएकै छ त !’

उनी चुप लागे । उनीसँग कुनै उत्तर थिएन ।

हिजोसम्म छोरीलाई मायाको टुक्रा ठान्ने एकाएक निष्ठुरी भए जस्तो देखिए उनी । यो कसरी सम्भव छ ? समयले प्रेमका सबै धागाहरू एकाएक चुट्याएर लैजाँदो रहेछ, यो पनि आभास पाएँ मैले जिन्दगीको यो भोगाइबाट ।

मेरो एउटा औँठी थियो जेठा मामाले दिएको, त्यही दमक बजारको ग्यालेक्सी जवेलरीमा बेचेर छोरीलाई धरान लगेँ । समय ढिला भइसकेकोले डाक्टरहरूले मलाई च्यामबरमा बोलाएर भने, ‘बहिनी, दुख नमान्नु है हाम्रो कुरामा । ढिला ल्याउनु भयो नानीलाई । धेरै ढिला भयो । तैपनि हामी प्रयास गर्छौं ।’

मेरो शरीरका सबै इन्द्रिय एकै चोटि रोकिए जस्तो भयो । भाउन्न भयो । आँखा तिरमिराए । निस्पट्ट अँध्यारो भयो मेराअगाडि । मैले यति बेला मेरो कथित लोग्ने पूर्णको चेहरा सम्झेर धिक्कार मानेँ ।

दुई घण्टापछि छाेरीले मलाई पनि छाडेर गई । उसले बाबुलाई त पहिल्यै छाडिसकेकी थिई, मलाई पनि छाडी । मन थामिएन । रतुवा खोला नजिक ल्याएर छोरीलाई अन्त्येष्टि गरेँ । तिमी मेरी छोरीको हत्यारा हौ पनि भन्दिएँ पूर्णलाई । तर उनी साइकल टिपेर हिँडे बिहानै एक शब्द नबोली ।

मनले आफैलाई प्रश्न गरेँ, ऊसँग के थियो र उसलाई रुङ्नु मैले ? सिलिगुडीको प्रधान नगरमा मेरी सानीमा थिइन्, त्यहाँ गएर एउटा काम गरेर जीवन बिताउने सोच राखेँ । आमालाई पनि लिएर गएँ ।

जव शरणार्थीहरूलाई अमेरिका लैजाने कुरा चल्न थाल्यो, आमाको अकल्पनीय प्रक्रिया आयो,

‘ममता, अम्रिका नजाने म त । यहीँ मर्छु । नेपालमा । मेरा बा आमा जन्मेका ठाउँमा । म जन्मेको ठाउँमा । इलामको माइपोखरीमा ।’

आमाको यो सपना पनि पूरा भएन । उहाँ सिलिगुडीमै बित्नुभयो । सानीआमा र सानाबाले सबै काम गराउनु भयो ।

म फेरि एक पटक टेक्ने न समाउने भएँ ।

अर्को मनले स्वतन्त्र भएकी छु भनेर चित्त बुझाएँ ।

मलाई मेरो स्वतन्त्रता प्यारो लाग्न थाल्यो । म म भएर बाँच्ने निर्णय गरेर त्यहाँ आइपुगेँ । सोचेँ, मलाई पाप लागे पनि लागोस् । श्राप लागे पनि लागोस् । मेरो जीवनभन्दा ठुलो कुनै पाप पनि छैन, कुनै श्राप पनि छैन । जीवन भन्दा ठुलो कुनै कुनै धर्म पनि छैन । मेरो म भन्दा महान् चिज अरू केही पनि रहेनछ । म दमकको शरणार्थी शिविरबाट सिलिगुडी आइपुग्दा थाहा भयो, पूर्णले आम सञ्चार माध्यमलाई ममता हराइन् भनेर सूचना प्रेषित गरेका रहेछन् । सप्तरङ्गी एफएमले त्यही फुकिरहेको थियो भनेर शिविरका साथीहरूले म्यासेज पठाए । तर म हराएकी थिइनँ, बरु म भेटिएकी थिएँ । त्यतिन्जेल म हराइरहेकी रहिछु । उस दिन मात्र मैले आफैँलाई भेटें, चेतनालाई भेट्नु नै आफूलाई भेट्नु रहेछ  । म भेटिइँदा पूर्णको लागि चाहिँ हराएँ ।

म फेरि नेपाल फर्किएर पथरी शिविरमा काकासँग बस्न थालेँ ।

दमक छाडिदिएँ ।

पूर्णलाई छाड्नु थियो मैले ।

कालो छायालाई छाड्नु थियो मैले ।

जिन्दगीको दागलाई छाड्नु थियो मैले ।

बिहे गर भनेर काकाले भन्नुहुन्थ्यो । मलाई त्यो शब्द नै भारी लाग्थ्यो । त्यसैले बिहे गरिनँ ।

मजदुरी गर्न थालेँ । जीवन सबैतिर अन्धकार जस्तो लाग्यो ।

तर दुई वर्षपछि शरणार्थी तेस्रो स्थानान्तरणका लागि फारम खुल्यो । धेरैले कतै नजाने, स्वदेश फिर्किनु पर्छ पनि भने ।

तर मैले फारम भरेर अमेरिका जाने निवेदन गरेँ ।

परिणाम, म अमेरिका आएँ ।

छोरीको अस्तु छोडियो ।

पूर्ण छोडिए । साथीभाइ छोडिए । परिवार छोडिए ।

जीवनको बाटोमा भेटेका कयौँ मान्छेहरू छोडिँदा रहेछन् ।

अनि नभेटेका मान्छेहरू जीवनको बाटोमा आइपुग्दा रहेछन् ।

‘ओ हो, म त भावुक बनेछु …! अनि कसरी कमल भिनाजुसँग भेट भयो त ?’, रियासाले चासो देखाई ।

उहाँसँग मेरो फेक म्यारिज भएको थियो ।

उहाँ भुट्निज होइन । ‘पियोर’ नेपाली । मैले उहाँलाई अमेरिका आउने बाटो खोलिदिएकी थिएँ फेक म्यारिज गरेर । अमेरिका आएपछि पनि हामी अलग्गै बस्यौँ । तर एक वर्षपछि पनि उहाँले कसैसँग बिहे गर्नुभएन । तर मलाई माया गर्नुभएको रहेछ भन्ने थाहा पाएँ । प्रस्ताव राखेँ मैले नै । मेरो फेक म्यारिज रियल म्यारिजमा परिणत भयो ।

म दोस्रो पुरुषको सहयात्री बन्न पुगेँ ।

अर्को वर्ष पूर्ण पनि अमेरिका आए । उनले अझै विवाह गरेका थिएनन् । मैले उनको फेसबुक पेज हेरेँ । उनको स्टोरीमा ‘हराएकी ममता’ भनेर मेरो फोटो राखेका थिए ।

मैले ‘पहिली ममता भेटिई । अब दोस्री ममता खोज्ने कष्ट गर्नु होला’ भनेर लेखिदिएँ । उनले यो पढे, तर फ्रेण्ड रिक्वेस्ट पठाएनन् ।

हराएकी ममता सायद तिनले भेटे होलान् ।

थाहा छैन… ।

ममताको कथा सकिएको थियो कि थिएन थाहा छैन, तर रियासा गहभरि आँसु पारेर किचनतिर पसी ।

ममताको मनमा भने भुमरी परेको प्रस्ट देखिन्थ्यो ।

आकाश र धर्ती खोज्नेहरूको कथा सीधा रेखामा किन कुद्थ्यो !

त्यो निकै किरिङमिरिङ हुन्छ ।