
आमा बोल्न नै सक्नुभएन । फोनमा दुवैतिरबाट आवाज रोकिइरह्यो । आमाको बोली बिचमा रोकिएपछि मनमा डरले डस्न थालिहाल्यो । ५० कटिसक्नुभएको आमालाई मैले केही सपना देखाएर गाउँको बुकुरोमा छाडेको छु एक्लै ।
“कान्छा आज बिहानै मैले … !”
आमा बोल्न नै सक्नुभएन । फोनमा दुवैतिरबाट आवाज रोकिइरह्यो । आमाको बोली बिचमा रोकिए पछि मनमा डरले डस्न थालिहाल्यो । ५० कटिसक्नुभएको आमालाई मैले केही सपना देखाएर गाउँको बुकुरोमा छाडेको छु एक्लै । उहाँले पनि जीवनमा देख्नुभएको सम्पूर्ण सपनाको वृत्तचित्र हुँ म । उहाँको दैनिकी नै हो हरेक बिहान उठिस् भन्दै मोबाइल बजाइदिने । मैले ६ बजे कलेज जानलाई कहिल्यै अलराम नै राखेको छैन । कुन्नि कसरी थाहा पाउनुहुन्छ ? बिहान ५:३० मा मेरो फोनमा घण्टी बज्छ ।
आमाले बोल्न छोड्नुभए पछि मैले यताबाट दोहोर्याएर सोधिरहेँ, “आमा के भयो ? किन नबोल्नुभएको ?”
आमा यसरी फोनमा अड्किनुभएको यो पहिलोचोटि त होइन नै । चाडबाड आउँदा घर आउन्नस् भन्दै रुन्चे स्वर पार्नुहुन्थ्यो । बर्खा लागे पानीमा नभिज् भन्दै गर्दा स्वर रुन्थ्याे उहाँको । म पनि अनेक बहाना बनाएर उहाँलाई हँसाउने प्रयास गरिरहन्थेँ । मेरो पनि को नै छ र ? कि आमा कि दुःख नै त हो साथी । म राजधानीमा परिश्रम बेच्थेँ र आमालाई आश्वासन देखाइरहन्थेँ ।
आमा भन्नुहुन्थ्यो, “म यो ठाउँ छाडेर कहीँ जान्न । यहीँ अन्तिम सास बिसाउँछु । तँ जता चहार्न गए पनि चाडबाडमा चाहिँ घरै आइजो है ।”
मैले पनि कहाँ रहरले गाउँ छाडेर आएको थिएँ र ? जीवनको सम्भावना बटुल्न निस्केको थिएँ घरबाट ।
आमाले उताबाट फेरि भन्नुभयो, “आज बिहानै बर्ढादा … !”
उहाँको स्वर काँपिरहेको थियो । मनमा चिसो पस्यो । भूकम्पले निकै हल्लाएको हाम्रो घर । पूरै त भत्किसकेको थिएन । बनाउनका लागि घर भत्काउने योजना भए पनि सरकारबाट पाउने भनिएको राहतको पैसो नपाएर गाउँका एक दुई घरहरु अझ बनेका थिएनन् । त्यसमा हाम्रो घर पनि थियो । हाम्रो गाउँमा भूकम्पले भत्किएको घरमा राहत दुई प्रकारले वितरण हुँदै थियो । एउटा जाइका नाम गरेको एनजिओ र अर्को नेपाल सरकार । घरहरुलाई दुई भागमा वितरण गरिएको थियो । जाइका एनजिओ थियो । उसले नेपाल सरकारसँग गरेको सम्झौताअनुसार रकम वितरण भइसकेको थियो । तर यता हाम्रो सरकारको चलन उही त हो । एउटै कामका लागि वर्षौं लगाउने । त्यसैमाथि हाम्रो घर सुरुको चरणमा नपरी पछाडिको चरणमा परेको हो । गाउँकै कुनै एक जना काकाले हाम्रो घरलाई तिनीहरुको त भत्केको छैन भनिदिनुभएपछि सुरुको चरणमा नपरेको रहेछ । आखिर हामी बोल्न नसक्ने भएर नै त होला है यस्तो भएको ।
घर भत्काइएको थिएन । भात पकाउन र सुत्नका लागि छुट्टै कटेरो बनाइएको थियो । भएका केही अन्नपातहरु त्यही भूकम्पले हल्लाएको घरमा नै राखेका थियौँ ।
आमालाई म भनिरहन्थेँ, “आमा दिउँसोमा मात्र जानुहोला मकै र धान निकाल्न । बिहानै अँधेरोमा नजानु नि ।”
आमा प्रतिउत्तरमा भन्नुहुन्थ्यो, “तँलाई भन्न सजिलो छ । याँ आफूलाई कतिबेला काम सकुम् हुन्च । दिउँसोमा मकै निकालेर बस्न भ्याउन परेन । भैँसी बाख्राको बुजो लाउन परेन र ? फुर्सदाँ त हो नि ढिकी जाँतो गर्ने ।”
मनमा डर पस्यो, “त्यही बुढी आमालाई खुसी राख्न यति दुःख गरेको छु । तिनैलाई केही भयो भने ?”
मैले फोन काटेँ र यताबाट फेरि डायल गरेँ । आमाले पाँच छ घण्टी गएपछि उठाउनुभयो, “के भयो आमा बिहानै ?”
उहाँले उताबाट बोलेको आवाज राम्ररी सुनिएन । फोन फेरि काटियो । मोबाइलको नेटवर्क राम्रोसँग टिप्दैनथ्यो कुनै बेला गाउँमा । हुन त राजधानीमा त छ यस्तो समस्या । त्यो त गाउँ । के भएछ आमालाई ? म अन्योलमा परेँ । सोचेँ, “आमाको माया कति निश्चल हुन्छ सन्तानप्रति । बरु सन्तानहरु ठुला भएपछि आमाबुबालाई हेला गर्दछन् ।” म पनि कलेज जानु थियो । ५ बजेर चालिस मिनेट गइसकेको रहेछ । कलेज जाने तयारी गर्नु त पर्यो । म बाथरुम गएँ, आएँ । निस्किनै के लागेको थिएँ । फेरि मिसकल देखियो मोबाइलमा । यताबाट मैले कलब्याक गरेँ । आमाको फोन नै लागेन ।
आमालाई पक्कै केही भएको हुनुपर्छ । यसरी फोन काटिँदा आमाले प्रायः दोहोर्याएर फोन गर्नुहुन्नथ्यो । म उठेँ भन्ने थाहा पाउनुभए पछि आफ्नो काममा लाग्नुहुन्थ्यो आमा । हामी प्रायः बेलुका दिनभरिको आमाको कामको विवरण सोध्न र आफ्नो कामको विवरण सुनाउन फोनमा कुरा गर्थ्यौं । बिहानमा उहाँले फोन गर्नुको एउटै कारण मलाई उठाउनु हो ।
मनमा डर लागिरह्यो । फोन धेरैपटक नै नलागेपछि म कलेजका लागि निस्किएँ । रानीवनबाट रत्नपार्कको गाडी पाउन सहज कहाँ थियो र ? हामी गाडीमा चढेका हौँ कि गुन्द्रुक खाँदिनका लागि कुनै भाँडोमा पसेका हौँ हामीलाई नै थाहा हुँदैन थियो । पाइला हाल्ने ठाउँ हुँदैनथ्यो । कलेज पुगेँ । कलेज सकेर त्यतैबाट बागबजार जानुथियो मलाई, कामका लागि । अल्छी लागेको दिनमा बरु कलेज जान्नथेँ तर काममा भने जानैपर्दथ्यो । यहाँ को थियो र बाँच्न सघाउने, आफूमा जतिसुकै समस्या भए पनि काममा जानका लागि तयार हुनुपर्दथ्यो । साहू कुन कर्मचारी कति बजे आइपुग्छ भनेर आफू चाहिँ ९ बजे नै अफिस आउँथ्यो र ११ बजे खाना खान भनेर निस्कन्थ्यो । काठमाडौँ आएर सुरुमा नै प्रेसमा काम गर्न थालेको थिएँ ।
सम्झन्थेँ, “त्यहाँ चलेका मेसिनहरुमा हाम्रो खुसी पनि सँगै पेलिएका छन् । तर त्यहाँ छापिएका पानाहरुमा हाम्रो भविष्यको सुनिश्चितता किन छापिन्थ्यो र ? खुसी पेलिएपछि त भविष्यको सुनिश्चितता छापिनु नि । नहुने रहेछ सोचेजस्तो । सायद यसैको कारण होला संसारमा बनेका विकासका इतिहासहरुमा कामदारको होइन पैसादारको नाम आउने ।”
कलेज पुगेँ । मन भारी थियो । कसैसँग बोल्न मन लागेको थिएन । अगाडिको बेञ्चमा बस्नै मन लागेन । सदा अगाडिको बेञ्चमा बस्ने मलाई अगाडि नदेखेपछि नेपाली समालोचना पढाउनुहुने विदुला म्यामले सोध्नुभयो, “प्रकाश, आज किन पछाडि बसेको ?” मैले मसिनो स्वरमा त्यत्तिकै मात्र भनिदिएँ । उहाँले मलाई कक्षामा राम्रो विद्यार्थीको रुपमा हेर्नुहुन्थ्यो । म पनि उहाँलाई श्रद्धाको आँखाले हेर्थेँ ।
जीवनले दुःख देखाएको थियो तर दुःखबाट कसरी उम्कने भन्ने कुरा सिकाइसकेको थिएन । म त्यसैको खोजीमा निस्केको एउटा यात्री थिएँ । आमाले गुनासाका पोकाहरु पोख्दै गर्नुहुँदा म भन्थेँ, “आमा तपाईंको छोरालाई हुर्कन दिनुस् । यो पीडाको पोखरीबाट उतारेर उल्लासको उत्तेजना भरिदिनेछु तपाईंमा ।”
आमा मैले त्यसो भन्दै गर्दा पिल्ल आँसु झार्नुहुन्थ्यो । आमाको आँखामा दुःख बगेको म हेर्न सक्दिनथेँ र एउटा बहाना बनाएर आमाबाट ओझेल पर्थेँ तर मेरा आँखाहरु पनि त सजल भइसकेका हुन्थे त्यतिबेलासम्म ।
कलेज सकियो, मैले आमालाई फोन लगाएँ । फोन लाग्यो तर उठेन । भदौको सुरुवाती समय थियो । आमा बिहान घाँस काट्न जानुहुँदा मोबाइल घरमा नै छोडेर जानुहुन्थ्यो । सोचेँ, घाँस काटेर फर्कनुभएको छैन ।
किन किन पाइलाहरु अगाडि बढ्न मानेकै थिएनन् काममा जानका लागि । तर साहुको गाली गरिरहने अनुहारले झस्काइरहन्थ्यो । म करिब १० बजे काममा पुगेँ । साथीहरुले के भयो भनेर कलेजमा पनि सोधेका थिए । लाग्यो, आज अफिसमा पनि यसैको शिकार हुनुपर्छ । म आफूलाई सम्हाल्न खोजिरहेको थिएँ । मन मानिरहेकै थिएन । सचेततालाई कहिलेकाहीँ अतीतले जित्दोरहेछ । म अतीतसँग मडारिँदै थिएँ र सचेततासँग हार्दै । मनले आमालाई र आमाको बिहानको कुरालाई छोड्नै मानेको थिएन । आमा त्यसरी नआत्तिनुभएको भए मलाई खासै केही फरक पर्दैनथ्यो । फोन काटिन त कति दिन काटिन्थ्यो, काटिन्थ्यो । तर आमाको अत्यास काट्न गाह्रो हुँदो रहेछ । केही खान मन लागेन । बागबजारकै एउटा साधारण होटेलमा म बिहानको खाना खान्थेँ । होटेल साहूलाई पनि आज खाना खान्न भनिदिएँ । उसलाई कसैले खाना खायो कि खाएनसँग सवाल थियो तर किन खाएनसँग थिएन ।
अफिसको ढोकामा पुगेर एकपल्ट फेरि फोन डायल गरेँ । आमाको फोन यसपटक पनि उठेन । मन झन् आत्तियो । कतै आमालाई गाह्रै भएर फोनसम्म उठाउन नसक्नुभएको हो कि ? कसलाई गरेर सोध्ने त ? सावित्री काकी पनि स्कुल गइसक्नुभएको होला भन्ने लाग्यो । तर पनि उहाँलाई एकपटक फोन गरेँ भने त आमाको सञ्चो बिसञ्चो थाहा हुन्छ भन्ने लाग्यो । उहाँलाई फोन गरेँ । उहाँका अनुसार आमा बिहान घाँस काट्न जानुभएको रहेछ । एकपटक मन अलि शान्त भयो । कम्तीमा आमालाई केही भएको रहेनछ । काकीलाई गाउँको हालखबर सोधेँ । सबै ठिकै रहेको बताउनुभयो । काकीको कुराले केही राहत त मिल्यो मनमा तर बिहान आमा किन आत्तिएर फोन गर्नुभएको रहेछ ? त्यो कुरा जान्न मन लागिरह्यो ।
केही होला अब बेलुका सोध्नुपर्ला भन्ने लाग्यो । काममा मन त्यति गएन । तर नगरेर पनि के गर्नु ? आफू बाँच्नु थियो, आमालाई कम्तीमा घर जाँदा एउटा धोती र काठमाडौँको केही खानेकुरा लगिदिनु थियो । घरमा आमाले बाख्रा पाठो र घ्यू बेचेर दैनिकी त चलाउनु हुन्थ्यो तर बचत गर्न गाह्रो नै हुन्थ्यो । समाज यसरी अगाडि बढेको थियो कि पैसा नहुनेको कुनै अस्तित्व नै छैन । गाउँमा खेती लगाउन निमेक दिन पनि गाह्रो हुने अवस्था थियो । गर्न सके आफ्नै खेतबाट उत्पादन हुने अन्नले पुग्थ्यो तर त्यही खेती लाउन समस्या भइसकेको थियो गाउँमा ।
दिनभरि जागिरले जोत्यो । बिहान आउँदाको भन्दा बेलुका फर्कँदाको अवस्था झन् नाजुक हुन्थ्यो गाडीको । कतै झुण्डिने ठाउँ पाए डेरामा पुगिन्छ भन्ने हुन्थ्यो । गाडी चढ्नलाई भाग दौड चलिरहन्थ्यो हरेक दिन । गाडीबाट डेरामा पुगेपछि आज त आइपुगियो भोलि कसरी जाने आउने भन्ने पीर पर्दथ्यो मनमा । बेलुका खाना बनाएर खाएपछि आमालाई फोन गरेँ । आमा पनि भर्खर खाना खाएर बस्नुभएको रहेछ ।
मैले सोधेँ, “बिहान के भयो र आत्तिनुभएको ?” आमाले फेरि एकपटक आधा बोल्नुभयो, “आज बिहानै बढार्दा तेरो बाउको… !”
आमाको घाँटीमा केही अड्किएजस्तो भयो उहाँको बोली पूरै सुन्न पाइनँ । फोन काटियो वा काट्नुभयो ? फेरि गरेँ । उहाँले फोन उठाउनुभयो तर बोल्नुभएन ।
बाउ शब्द सुन्नासाथ मन एक प्रकारले मडारिएर आयो । मैले शब्दमा मात्र चिनेको बाबु शब्दले किन पोल्छ यति धेरै ? मेरो बुबा… तपाईंलाई चिन्न पाइनँ । समयले मलाई तपाईंको काखमा खेल्न दिएन । मैले सधैँ सम्झने वाक्य हो यो ।
===
२०५४ सालको कुरा हो । म २ वर्षको रहेछु । देशले भोगेको १० वर्षे युद्धको एउटा शिकार मेरो बुबा पनि हुनुभएको हो । बुबा अलिअलि पढ्नुभएको मान्छे । जागिरे नै त होइन तर गाउँमा अरुभन्दा केही सचेत हुनुहुँदो रहेछ । दुर्गम गाउँ, सत्ता पल्टाउन भन्दै र गरिबहरुको पक्षमा वकालत गर्न भन्दै नेपालमा सरकार पक्षसँग लड्न तत्कालीन माओेवादीले युद्धको थालनी गरेको थियो । युद्धले लगाएका घाउहरु आज पनि कहाँ बिसेक भएका छन् र ? सपनाको सिँढी भएका मेरा बुबाजस्ता धेरै मानिसहरु आज पनि बेपत्ताकै सूचीमा त सूचीकृत छन् । न लासको टुङ्गो छ, न सासको ।
सबै जना घरमा नै थिए रे । दशैँ आउन त्यस्तै २५ दिन जति बाँकी थियो रे । बुबा गाउँ चहारेर भर्खर आउनुभएको रहेछ । दिउँसोको त्यस्तै एक बजेतिर दुईजना मानिसहरु गाउँमा आएका रहेछन् । गाउँमा नयाँ मानिसहरु आएपछि सबैको सात्तो जान्थ्यो । मानिसहरु डरले काम्थे । सबैले चासो राखेछन् किन आए भनेर ? तर सोध्ने आँट कसैको पनि नहुने । हजुरबुबा, हजुरआमा र बुबा सबै जना घरमा नै हुनुहुन्थ्यो रे । आमा तिजमा माइत जानुभएको घर फर्कनुभएको रहेनछ त्यतिबेलासम्म । सुत्केरी मान्छे । त्यसैमाथि आमा फेरि गर्भिणी बन्नुभएको रहेछ । त्यतिबेलाको समाज । त्यस्तै त हो नि । एकमात्र सन्तान आज त मान्य हुँदैन भने त्यतिबेला । बुबा कान्छा छोरा र आमा पनि माइतीको कान्छी छोरी भएर मात्र अलिक ढिलो बिहे भएको रहेछ र आमा २५ वर्षको हुँदा म जन्मेको रहेछु ।
ती मानिसहरु हाम्रो घरमा आएछन् र भनेछन्, “यहाँ मह र खसी छ रे हामीलाई दिनुपर्यो ।”
उनीहरुलाई हजुरबुबाले पिढीँमा बस्न अनुरोध गर्दा उनीहरुले ओठे जवाफ फर्काएछन्, “हामी खसी सोध्दै छौँ, गोठ देखाउनुस् न किन बस्न पर्यो । हामीलाई अन्त पनि जानु छ ।”
बुबा र हजुरबुबा दुवै जना मौन हुनुभएछ । उनीहरुले हजुरआमालाई पानी दिनुस् खानलाई भनेछन् । उनीहरुको बोली अलि फरक लागेको थियो रे बुबाहरुलाई । बुबाले खसी भए पनि नबेच्ने कि भन्ने कुरा गर्नुहुँदा बेला भएपछि धेरै पाल्यो भने आफैँलाई हानि हुन्छ भनेका रहेछन् । उनीहरुले खसी जसरी नि लैजाने अड्डी कसेपछि बुबा र हजुरबुबाले हामी खोजौँला नि त दिम् भन्ने सल्लाह गरेर खसी उनीहरुलाई दिई पठाउनुभएछ ।
“उनीहरुले खसी हेर्दै गर्दा हाम्रो घरको वरपर सबैतिर नियालेका थिए रे ।” हजुरबुबा सुनाइरहनुहुन्थ्यो, “उनीहरु खसी खोज्न त बहाना बनाएर आएका रहेछन् तेरा बाउ घरमा छ कि छैन भनेर बुज्न आको रैच ।”
त्यही दिन बेलुकी केही नकावधारीहरु हाम्रो घरमा आएछन् र बुबालाई लिएर गएछन् । लाँदै गर्दा नागरिकता पनि बोक्न भनेछन् । भए लालपूर्जा पनि । तर लालपूर्जा हजुरबुबाको नाममा भएकाले उनीहरुले त्यत्तिकै छाडेछन् । गाउँमा एक राउण्ड हवाइ फायर भएपछि गाउँका सबै मानिसहरुको आवाज दबिहाल्यो । कोही बोल्न सक्ने अवस्थामा नै भएनन् । हजुरबुबा र हजुरआमा धेरैबेर रोईकराई गर्नुभएछ । तर उनीहरुले किन सुन्थे हजुरबुबा र हजुरआमाको कुरा । हजुरआमा त त्यहीँ बेहोस् हुनुभएछ । हजुरबुबा केही परसम्म पुग्नुहुँदा एक जनाले ढाडमा एक लात्ती मारेछ र भनेछ, “यहाँभन्दा अगाडि आइस् भने तेरो पनि यहीँ लास हुनेछ ।”
गाउँमा सन्नाटा छायो । मेरा अरु काकाबुबाहरु हुनुहुन्न । ५ वटा छोरीपछि सत्यनारान पूजा लगाएर जन्मनुभएको रे बुबा । भोलिपल्ट बिहान घाम उदायो, गाउँ उदाउन सकेन । बुबालाई कहाँ लग्यो र कसले लग्यो ? कसैलाई थाहा भएन । हजुरआमाको होस खुलेनछ । उता आमालाई थाहा नै थिएन । कान्छा हजुरबुबाका छोरा महेश ठुल्बा आमालाई लिन जानुभएछ । घरमा हजुरआमा बिरामी भएको भन्ने बहाना बनाएर आमालाई ल्याउनुभएछ । घरमा आउँदा परिस्थिति अर्कै । हजुरआमाजस्तै आमाको पनि होस् हुने कुरै भएन । हुर्किएपछि नै बिहे गरेकी मेरी आमा पनि ५ दाजुहरुकी एक्ली बहिनी ।
धेरैपटक धाउनुभएछ हजुरबुबा र गाउँका अरु केही मानिसहरुले सदरमुकामसम्म । उहाँहरुले बुबाको बारेमा जानकारी पाउनुको सट्टा ओठे जवाफ र धम्कीभन्दा केही पाउनुभएनछ । धेरैचोटि धाउनुभएछ गाउँभन्दा माथि लेकतिर भएको जनसरकारको कार्यालयमा । उनीहरु पनि त्यसै भन्दा रहेछन्, “हामीलाई थाहा छैन । उमेशजीलाई गाउँमा नबस्नुस् भन्दा मान्नुभएन । कसले के गर्यो र कहाँ लग्यो हामीलाई थाहा नै छैन । थाहा भए तपाईंहरुलाई हामी भनिहाल्थ्यौँ नि । हामीलाई पनि दुःख लागेको छ उमेशजी हराउनुमा तर हामीलाई कुनै विवरण नआई हामी कसरी सहिदको सूचीमा राखौँ ?”
आमाले त्यही पीरले राम्रोसँग खान नै छोड्नुभएछ । गर्भमा रहेको बच्चा ५ महिनामा खेर गएछ । सँगै भएको मान्छे हराउँदाको पीडाले गर्भबाटै खेर गएको मान्छेको चिन्ता त्यति लागेन भन्नुहुन्छ आमा र पनि खेर गएको सन्तान सम्झिरहनुहुन्छ बेलाबेलामा । धेरै रोईकराई गरे पनि बुबाको पत्तो नलागेपछि बुढेसकालले समाइएका हजुरबुबाका खुट्टाहरुले धाउन छाडेछन् प्रहरीचौकी र जनसरकारको किल्लामा । जीवनलाई कतिसम्म तोडमोड गर्नुपर्दो रहेछ भन्ने कुरा आमाले पनि बुझ्नुभएपछि उहाँले पनि मनसँगै घर सम्हाल्न थालेर बुबाले देखाउनुभएको जीवनको सुखद सपना ममाथि देख्नुभएछ । आज पनि मलाई सानो चोट लाग्यो कि आमालाई नै दुख्छ मलाईभन्दा पहिले । हजुरआमा भने बुबाको लास र सासको पत्तो नलागेपछि गल्दै जानुभयो । म ९ वर्षको थिएँ । २०५९ माघ १० गते उहाँले पनि हामीलाई सदाको लागि बिर्सनुभयो र महाप्रस्थानको यात्रा गर्नुभयो ।
“प्रकाश तँ चाहिँ राजनीति नगर है । हामी तँलाई हामीभन्दा अगाडि गुमाउन चाहन्नौँ ।” हजुरबुबा भन्नुहुन्थ्यो ।
म सानै थिएँ । भन्थेँ, “हजुरबा मैले के गरेँ र ?”
“गरेको छैनन् तर ठुलो भएपछि पनि नगर है भनेको ।” म हजुरबुबाका सबै कुरा त बुझ्दिनथेँ तर उहाँको आँखामा आँसु देख्दा भने मलाई खल्लो लाग्थ्यो । यस्तो लाग्थ्यो हाम्रो असल मित्र भनेकै आँसु हो । मलाई आशाको केन्द्र मान्नुहुन्थ्यो । हजुरआमालाई पनि गुमाएपछि हामी घरमा तीन जनामात्र भयौँ ।
जो कमजोर छ उसैलाई एकमाथि अर्को चोट थपिरहन्छ । सायद भगवानलाई पनि लाग्दो हो अनुभवीले नै पीडा सहिरहन सक्छन् । हजुरबुबा पनि हामीलाई छाडेर जानुभयो २०६८ साल मंसिरमा । म भर्खर ११ मा पढ्दै थिएँ । सपना पूरा गरेर हजुरबुबालाई सुखी बनाउने मेरो सपना तुहियो । हामी आमा छोरामात्र भयौँ । गाउँलेहरुले आमालाई भन्दै थिए, “अब उमेश फर्कन्न । तिम्ले छोरोलाई सम्झाएर किरिया गर्दा हुन्च ।” यो कुराले आमालाई त छिनाल्थ्यो नै, मलाई पनि उस्तै बनाउँथ्यो ।
२०७० सालमा काठमाडौँ पढ्नकै लागि माइली फुपू र भिनाजुले काठमाडौँ बोलाउनुभयो । आमाले पहिले त मान्नुभएन ।
मैले सम्झाएँ, “आमा सधैँ घरमा बसेर पनि त भएन । म पढेर महान बनेको हेर्ने रहर छैन हो तपाईंलाई ?”
आमा बोल्नुभएन । साटोमा मलाई अँगालो हालेर धेरैबेर रोइरहनुभयो । मैले घर छोड्ने निर्णय गरेँ । त्यही वर्ष माइली फुपूले आमालाई मोबाइल र सिमकार्ड लगिदिनुभएको थियो । मैले पनि काठमाडौँ आएको केही समयमा बागबजारमा जागिर आएँ । आएको केही महिनामा एउटा मोबाइल किनेको थिएँ । त्यसभन्दा अगाडि म फुपूकै मोबाइलबाट आमासँग कुरा गर्थेँ । मैले जागिर खाएपछि भिनाजुले उहाँहरु बस्नुभएकै नजिकै एउटा कोठा खोजिदिनुभयो । भिनाजुले आधा भाडा तिरिदिनुहुन्थ्यो र आधा म तिर्थेँ ।
सबैजना फुपूहरुको प्यारो नै थिएँ । उहाँहरु भन्नुहुन्थ्यो, “तेरो बाउ पनि तँजस्तै थियो तेरो उमेरमा । अभागी रैचस् बाउलाई देख्न पाइनस् । खै त्यो जमानामा फोटोको पनि त्यति चलन थिएन । के गर्चस् त ?”
मलाई पनि खेद लाग्थ्यो आफ्नै बुबालाई चिन्न नपाउने अभागी छोरो हुँ म भनेर । यस्ता कुराहरु कसलाई भन्दै हिँड्ने ? म आफैँमा मौन बस्थेँ र एकान्तमा आफैँलाई दुखाइरहन्थेँ । आमाको सामु त बुबाको बारेमा उच्चारण गर्नै मन लाग्दैनथ्यो । याद नआएर होइन, आमालाई अतीत सम्झाएर दुःखी भएको हेर्न मन नलागेर ।
म बुबा शब्द सुन्नासाथ निकै दुःखी भएँ तर उताबाट आमाले रुञ्चे स्वरमा भन्दै हुनुहुँदो रहेछ, “मैले तेरो बाउको नेगेटिप पाएको छु आज बिहानै बढार्दा । यसबाट फोटो निकाल र तँ तेरो बाउको अन्वार हेर ।”
म मौन भएँ । आमालाई भन्नै सकिनँ । आमा यो डिजिटल जमाना हो । पानीफोटोबाट फोटो निक्लन निकै गाह्रो हुन्छ । निक्लिहाले पनि तपाईं पाउनुभएको बुबाको पानीफोटो निकै पुरानो हो, त्यसबाट पक्कै फोटो निक्लँदैन र तपाईंले देख्नुभएको सपना पूरा हुँदैन । मैले फोन नसुनेझैँ गरेँ र काटिदिएँ ।
यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।

