अन्नी विगतका घटनाबाट लखेटिएकी छन् । बिर्सन चाहेर पनि सक्दिनन् । विगतका सम्झनाले पनि एक्लै टोलाउन पुग्छिन् । छाया जस्तै उनीबाट टाढा नहुने सम्झना किन लगातार मनभरि आइरहेका छन् ? एक्लै त हुनै हुन्न । तर परिस्थितिले एक्लै पारिरहन्छ । अनि स्मृतिहरू उछिनपाछिन गरेर मनभरि टाँगिन आइपुग्छन् । केही सम्झनाहरु त स्वादिला पनि छन्, स्मृतिले त्यो परिस्थितिमा पुग्दा पनि आनन्द लाग्ने ।

अन्नीले एक्लोपनमा स्मृतिको ताना खोलिन् । त्यतिबेला उनी त्यस्तै चार पाँच वर्षकी थिइन् । उनकै उमेरको विवेकसँग परालको कुन्यूमा खेलेको सम्झना । त्योभन्दा अघिल्ला स्मृतिहरू उभाउन सकिनन् । शायद आमाको काखमा दुध चुस्दै अर्को दूधलाई समातेको, बाबाको पिठ्युँमा चढेको, दादाको हातको औला समाती हिँड्दा रमाएको, यस्तै घटनामा रमाएकी हुँदी हुन् । तर ती ताजा छैनन् ।

‘विवेक र म छुट्टिनै सक्दैनथ्यौं । मलाई विवेकसँग खेल्न साह्रै मन लाग्थ्यो । खेल त के खेल, धुलीमाटी, पर्खालको घर बनाउने, धुलोमा लेख्ने, चिमुसी, लुकामारी, लडीबुडी त्यही नै थिए त्यति बेलाका खेल । जीतहार नहुने खेल, ख्यालख्यालका खेल । तर खेल्दाखेल्दै अरूले देख्दा कस्तो कस्तो भने लाग्थ्यो । आजभोलि त्यो लाज भएर आएको छ ।

तातो घाम लागेकोले होला, बिहानको खानापछि बाबाआमा आँगनभरि बिस्कुन फिंजाएर धान बताउन जुट्नु भो । आँगन जोरिएको घर अङ्कल अन्टीलाई पनि कामको चटारो थियो, तिमीहरू खेल भनेर विवेकलाई हाम्रै आँगनमा ल्याएर छाडिदिनु भो । आँगनको छेउमा असरल्ल रल्लिएको परालको रासमाथि हामी लडीबुडी गर्न थाल्यौं । उफ्रिन थाल्यौं । मज्जाले उफ्रिन थाल्यौं । मेरो नाकमा परालले घोचेर नाथ्री फुटेछ ।

मलाईभन्दा विवेकलाई दुख्यो क्यार, रुँलाजस्तो गरी मलाई हेरेर टोलाइरह्यो । मलाई त दुखेको थिएन, तर रगत देखेपछि अलि डराएँ । आमाले प्युरी ल्याएर पुछिदिएपछि फेरि हामी खेल्न थाल्यौं । मेरो हातमा समातेर विवेक तुलसी मठसँगैको लालुपाते चुँडेर मेरो मुसाकाने चुल्ठीमा सिउरिदियो । मैले पनि लालुपातेको एउटा सानो पात चुँडेर उसको कानमा लगाइदिएँ । त्यसपछि एकअर्कालाई हेरेर खुबै हाँस्यौं । किन त्यसो गरेको होला ? के मजाले हाँसेका हौँला ? त्यतिखेर बालमनले प्रश्न गर्न पनि जान्दैनथ्यो । प्रश्न गर्ने सामर्थ्य भए त्यसरी मज्जाले कहाँ खेलिन्थ्यो र । चेतनाले व्यवहारलाई उन्मुक्त हुन कहाँ दिन्थ्यो र ? चेतनाले त खुसीलाई कैद पो गर्न पुग्छ ।

विवेक राम्रो छ । ऊ सधैँ मलाई खेलाउँछ, भनौं मसँग खेल्छ । लालुपाते लगाएर, परालमा लडीबुडी गरेर खेल यात्रा शुरु गरेका थियौं हामीले । आज ऊ आफ्नै बाटोमा कता हरायो कता, म आफ्नै बाटोमा । हामी खेल्दा आमाले एउटा रोटी पनि भाँचेर बराबर दिनुहुन्थ्यो, बारीको अम्बा पनि एकै दानालाई आधा आधा गरेर दिनुहुन्थ्यो । फुर्सदमा मीठामीठा कथा सुनाउनुहुन्थ्यो । घाँस काट्ने, मीठा खाना बनाउने, रुख चढेर अम्बा टिप्ने, धान बताउने, ढिकी कुट्ने, हामीलाई भुलाउन मीठामीठा कथा भन्ने, आमाले कति थोक जान्नुभएको, कति राम्रा कथा जान्नुभएको होला भनेर मख्ख पर्थ्यौं । यी पहिला स्मृति, कहिल्यै नबिर्सिने स्मृति ! चोखा स्मृति  !’

अरू स्मृति अन्नीका लागि भयङ्कर छन् । बिर्सनुपर्ने घटनाहरू स्मृतिमा आइरहन्छन् । ती सम्झन लायक छैनन् ।

‘नौ कक्षामा पढ्दा एक दिन स्कुल सकेर घर फर्किंदै गर्दा बाटो मोडिएको ठाउँमा एकान्त पारेर विपुलले झ्याप्प समातेर म्वाइँ खायो । न मैले प्रतिरोध गर्न सकेँ, न चिच्याएर गुहार गुहार भन्न नै सकेँ । ऊ एकान्त अवस्थाको पखाईमा रहेछ । कति दिनदेखिका उसको योजना थियो कुन्नि । म उसकी सहपाठी, उसले किन त्यो दुष्प्रयास गर्यो । थरर्र कामेका खुट्टा, आँसुमा भिजेका गाला, पूरा बोल्न नसक्ने अवस्थामा म सके जति दौडिंदै आमाको काखमा घोप्टिन पुगेछु । काखमा घोप्टेर रोई मात्र रहेँ, जति सोधे पनि कारण बताउन सकिनँ । बताउँदा अर्को बित्यास परे के गर्ने ? अब त अलि अलि बुझ्ने भैसकेँ । आमालाई यति मात्र भनेँ, आमा म त्यहाँ पढ्न जान्न । अर्को स्कुल राखिदिनोस् । बाबालाई केही नभन्नुहोस् ।

बिचरी मेरी कमजोर आमा ! म जस्तै कमजोर आमाले के गर्न सक्नुहुन्थ्यो र ? बाबालाई बताइहाल्नु भो । रोएर मात्र बसेँ, बाबालाई पनि कारण बताइनँ । बाबाको रिस कहाँ थामिन्थ्यो र ? स्कुलमा हेडसरलाई झण्डै पिट्नु भाको । बिचरा हेड सर, उहाँलाई के थाहा म डराएको कारण । मलाई किन नबताएको भनेर उल्टै प्रश्न तेर्स्याउन थाल्नु भो । म निहुरिएर उभिइरहेँ । अब कहिल्यै घटना नदोहोरियोस् भनी बाबाले चेतावनी दिएपछि स्कुल जान थालेँ ।

फेरि हेडसरले एक्लै बोलाई धेरै केरकार गर्नु भो । एकमन त सबै बताई दिऊँ जस्तो लाग्यो । अर्को मन यी गिद्धहरूले जसरी पनि लुछाचुँडी गरेर जिन्दगी बरबाद गर्लान् भन्ने लाग्यो । हेडसरले जति फकाए पनि बताइनँ । कक्षाका सबै केटासाथी गिद्धजस्तो लाग्न थाल्यो ।

जेनीलाई भनेँ – मलाई कहिले पनि एक्लै नछाड, क्लासमा तिमीसँगै बस्छु, तिमीसँगै फर्किन्छु, स्कुल पनि तिमीसँगै जान्छु । शायद जेनीले अनुमान गरी कि क्या, ऊ जहिल्यै पनि सँगै बसी, कहिल्यै एक्लो हुन दिइन ।

त्यो दिनको घटनापछि विपुलले कहिले मलाई सिधा आँखाले हेर्न सकेन । कुकर्मको अपराध बोध गरेर हो कि कुन्नि ? मैले पनि कहिल्यै त्यो गिद्धलाई हेरिन । हामीबीच अजङको पहाड ठिङ्रिङ्ग उभिएको थियो । अहिले पनि उसलाई सम्झिने बित्तिकै उसको डिठ अनुहार, सनासा जस्ता क्रूर हात मलाई गाँजेर गाला जोड्न आएको भान पर्छ । विवेक भएको भए ?’

विपुलले अन्नीको पढाइ बिगार्यो, मन बिगार्यो । साँच्चै भन्ने हो भने जीवन बिगार्यो । किशोरावस्थाको तरल मनोविज्ञानलाई बेस्सरी हल्लाइदियो, आँधी नै ल्याइदियो । आमा, बाबा र हेडसरलाई बताउन नसक्ने अवस्था सिर्जना गर्यो । साथीहरूको सर्कल सानो बनायो । साथीहरूलाई शङ्काको व्यवहार गर्ने र आइसोलेसनमा पुर्याउने काम गर्यो । नाटकीय रूपमा व्यक्तित्व विकास हुने अवस्थाको छङछङे खहरेलाई धमिलो, मैलो बनाइदियो । अन्नीलाई विपुलको आकृतिले एकान्तमा जहिले पनि सताइरहन्छ । निद्रामा पनि सताइदिन्छ । कहिले त सपनामा राक्षस बनेर सनासा जस्ता क्रूर हात र खाउँला जस्तो आँखा ट्वाल्ल पारेर आइदिन्छ । केटा साथीहरूको हेराइ तिखो बाण जस्तो लाग्छ । सबैजसो केटाहरूमा विपुलकै ठी र क्रूरता देखिन्छ ।

‘गणेश मन्दिरमा मंगलबारे पूजा गर्न आमासँगै जाने गर्थें । मेरो र दादाको पढाइ राम्रो होस् भनेर आमा मंगलबार सूर्यविनायक गणेशको व्रत बस्न थाल्नु भो । आमाहरू सन्तानलाई आफूभन्दा प्यारो मान्छन् । दादा र म क्लास चढ्दा आमामा खुसीको पर्बाह रहँदैन । हामीले पछि के गर्छौं र आमा त्यति खुसी हुनुहुन्थ्यो, हामीलाई भेउ थिएन । देउता भेटेपछि आमा लामै पूजा गर्नुहुन्छ ।

एक दिनको पूजामा आमाले ट्याम लगाएपछि बाहिर निक्लेर सत्तल बगलको पारिजात रुखमुनि उभिएर शहरतिर हेर्दै थिएँ, जगत दाइले मलाई क्वार्र हेरेर ठिङ्ग उभिइरहेको रहेछ । उसका जोर आँखा मेरो छातीमा गढेर हेरिरहेका थिए । यस्तो हेराइ जगत दाइले कहिल्यै गरेका थिएनन् । जगत दाइको हेराइ गिद्धे थियो । उनका आँखाले मेरो छातीमा झिरले रोपे झैँ भयो, म पसिना पसिना भएँ । फिस्स हाँसेर बोल्ने दाइ आज गिद्धे नजरले किन डसिरहेको छ ? आमा पूजा सकेर निक्लिएपछि मात्र राम्ररी सास फेर्न सकेँ ।’ जगत दाइले आमालाई स्वाङ पारिहाल्नु भो ‘कति लामो पूजा गर्नुभएको अन्टी ?’

‘मैले ढिला गरेर के भो र ? दाजुबहिनी सँगै थियौ, रमाइलो कुराकानी गरेर बसेको भए भैहाल्थ्यो नि ।’

‘त्यतिखेर भने मनमनै आमासँग पनि रिसाएँ । लाग्यो, म बाहेक मेरो मन बुझ्ने कोही भएन । छोरी मानिसका लागि उमेर नै असुरक्षा हो । किशोर अवस्था काट्दै गएपछि हामी छोरीका लागि ठूला बुबाको छोरो दाजु, छिमेकी भाइ, स्कुलका साथी, नाता भनाउँदा सबै गिद्ध बनेर आउँछन् । नजिक नजिक हुन खोज्छन्, लहसिन्छन्, सुमसुम्याउँछन् र मौका पाउने बित्तिकै गिद्ध बन्छन् । पिपासु हुन्छन् । समयले साथ नदिँदा मात्र साधु हुन्, समय पाएपछि तिनीहरूका आँखा, हात, मुख, भावना सबै गिद्धभन्दा खतरा हुन्छन् । मैले चाहेर पनि आमालाई बताउन सकिनँ ।

छोरीको निजत्व हुँदैन, आमालाई बताएर के गर्ने ? आमा पनि यस्तै गिद्धहरूबाट लुछिएर यहाँसम्म आइपुग्न भएको त होला नि ? मैले जस्तै उहाँले पनि भोग्दै आउनु भएको होला र लुरुलुरु यो बुहार्तन काट्दै हुनु होला । समयको जर्जर बाटोमा आमाले कति रगत र आँसु झार्नु भयो होला । उमेर ढल्कँदै गर्दा, दुखमा पसिनामा त आमा यति राम्री हुनुहुन्छ । मेरी शालीन आमा, तपाईंको शालीनताभित्र पक्कै संयम लुकेको हुनुपर्छ । तिम्रा गहिरा आँखाभित्र वेदनाको खात हुनुपर्छ । मेरी आमा !

प्रवेशिका पास पछि अरू सचेत भएँ । अरूको हेराइको भाव पूरै बुझ्न थालेँ । मायाका अभिनय बुझ्न थालेँ । बोलाइको बहाना बुझ्न थालेँ । व्यवहारको भेउ पाउन थालेँ । तर कसिलो गरी मन कहिल्यै बाँध्न सकिन । घरको चौघेराबाट बाहिर हुने बित्तिकै म छोरी भएकै कारण असुरक्षित छु । डराएर हिँड्छु । लमतन्न बाटो पनि समय ढुकेर मलाई गिजोल्न, आक्रमण गर्न तयार होला जस्तो लाग्न थाल्यो । बाटोका रुख पोथ्राहरूबाट पनि सनासाजस्ता क्रूर हात निकालेर कुनै नामधारी पुरुष मलाई चुस्न आउला जस्तो लाग्न थाल्यो । अब त बताउन अन्नी, जेनी, सुभा पनि छैनन् । ती मोरीहरू पनि मजस्तै लखेटिएका होलान् । कि बब्लिगम भएर सहेका होलान् बा यस्तै हो भनेर मन बुझाएका होलान् ।

कलेजमा पढ्न हिँडेकी थिएँ । हुइँकिँदै आएको प्रमेशले मोटर बाइक रोकिहाल्यो । झसङ्ग भएर अल्तालिएँ, आत्तिएँ । सोचेँ –आज भने म अपहरणमा पर्ने भएँ । ‘किन आत्तिएकी अन्नी, म प्रमेश के, बस म एक्लै छु । कलेज पुर्याउँछु ।’ सहपाठीले निश्छल रूपमा गरेको अनुरोध ठाडै अस्वीकार गरेँ । ‘तिमी जाऊ । रुचि पर्खेकी छ, म उसैसँग आउँछु ।’ आफू सुरक्षित हुन मैले ढाँटिदिएँ ।

मैले बोली पनि पुर्याउन सकिन । प्रमेशले पक्कै बुझ्यो होला । मलाई थाहा छ, रुचीलाई उसको बाबाले पुर्याइदिनुहुन्छ । बाबाको मोटर छ, बाबा कृषिका हाकिम हो । प्रमेशका निश्छल शब्दलाई विश्वास गर्न सकिन र ढाँटिदिएँ । उसले के सोच्यो कुन्नि ? जे सोचोस्, शुरुमा मीठै बोले पनि, मायामा बोले पनि समयले साथ दिएमा ऊ पनि राक्षस बनेर मजस्ता कमजोर केटीलाई च्यातच्युत पार्न पक्कै पछि पर्दैन । समय पाउने बित्तिकै उसको मनमस्तिष्क पूरै मैलिन्छ । राम्रै अर्थमा मोटरबाइकमा बसे पनि देख्नेले बारसत्ताइस कुरा काट्छन् । समाजले छोरो मानिसको कुरा काट्दैन, छोरी मानिसको कुरा काट्छ । समाजलाई छोरी नभएर हुँदैन, तर छोरीप्रति निष्ठुर छ । मायामा पनि छोरी सधैँ हार्नुपर्छ । पुरुष जितेर मख्ख पर्छ, हामी माया पाउँदा पनि हार्नुपर्छ । सृष्टिमाथि अन्याय गर्ने समाज !

एउटा आइडिया मनमा आयो । सिँगार पटार नगरी रैलोमैलो भएर हिँड्ने । नराम्रो, रैलोमैलो देखेपछि त केटाका आँखाहरू तेर्सिंदैनन् होला । त्यो पनि सही ठहरिएन । पहिला त आमा नै कराउन थाल्नु भो ‘अन्नी तँलाई के भा’छ कुनै केटाको चक्करमा परेर निराश त भएकी होइनस् ? किन विरक्त देखिन्छेस् ?’ एक मनले आमालाई बताउन चाहेर पनि अर्को मनले मानेन । कलेजमा केटाहरू कुरा तिमीलाई सञ्चो भएन कि के भो भनेर देखावटी सहानुभूति बर्साउन आइपुगे । भवेशले चरणसँग भन्दै थियो, ‘अन्नी बिमारी हुँदा पनि क्या च्वाँख छे । आँखा हेर न आँखा, कति गहिरा र प्रेमिल छन् । बिमारले सुन्दरता छुपाउन कहाँ सक्छ ?’ नसुनेझैँ गरेँ । धराने विष्णे अर्कोलाई भन्दैथ्यो – ‘क्या दब्स छ’ । दोषी आँखाहरू । कुन नजरियाले हेरेका होलान् ? आँखा फुटाउन भएन, मुखमा मोसो दलेर कलेज जान भएन । जे गरे पनि यिनीहरूका आँखै दोषी ।

कलेजको क्यान्टिन गेटमा मतिर नहेरे जसो गरी प्रवीण लय हाल्दै थियो–‘हामीले नहेरे तिम्रो सुन्दरताको के मूल्य…।’ पापीहरू आँखा नपरेका फूलहरू हुन्नन् ? के सुन्दरता अरूका लागि हो ? आफैमा यसको कुनै मूल्य छैन ? ऊ आफै रमाउन भाका हाल्न सक्दैन ?

हामी केटी पनि केटाहरूलाई त्यस्तै हैरान बनाउने, निचोरनाचर पार्ने, दब्स भन्ने, दपेट्न सक्ने स्थितिमा पुुग्न पाए हुने नि । पुराणका सयमदेखि थिच्दै आएको समाजमा हाम्रो स्थिति त्यस्तो आउला र ? आए पनि  हजारौं वर्ष लाग्ला । त्यसैले यो जीवनमा हामी यसरी नै लतारिनु पर्छ । थिचिएर, चेपिएर, चेप्टिएर, पिल्सिएर बस्नु पर्छ । घरदेखि, गर्भदेखि गर्नुपर्ने विद्रोह चाहे जसरी कहाँ सम्भव छ र ?

बीर अस्पतालमा उपचारका लागि भर्ना भएका मामालाई हेर्न सूर्य विनायकबाट मिनिबस चढेँ । जान त उति इच्छा थिएन, आमाले कर गर्नु भो । मामा पनि म भनेपछि हुरुक्कै हुनुहुन्छ । अफिस टायम गाडी खचाखच हुने नै भयो । अधबैँसे परपुरुष कोचमकोचको फाइदा लिन थाले । थाहा नपाई जसरी मेरा ओठ र छातीतिर खस्रा हातहरू डाम्न आइपुगे । केटैकेटाको भीडमा एउटी केटी कुनियतले स्यान्डबिच हुनुपर्ने बसको यात्रा । जोरले कराएँ ।

सिटमा बसेको त्यस्तै वयको पुरुषले दया गरेर सिट छाडिदियो । उम्लिएर निचोरिएको मन लिएर भद्र पुरुषले छाडिदिएको सिटमा बसेँ । समाज पूरै पशु भैसकेको छैन भन्ने लाग्यो । मेरै सिटसँग उभिएको ऊ भद्र पनि नजानिँदो रूपमा मलाई कताकता एक्सरे गर्दै लहसिंदै रहेछ । महाङ्काल स्थानमा पुगेर ओर्लिएपछि भने बाँचेको अनुभव गरेँ । मन आत्तियो, ती भद्रहरू न मेरै पछिपछि त आइरहेका छैनन् ?

मोबाइलमा त्रिविले स्नातकको परीक्षाफल प्रकाशित गरेको नोटिस आयो । रिजल्ट हेर्न चारु, स्याङ्मो, नानी र म बस चढेर बल्खु गयौं । राम्रै गरेका थियौं रिजल्टले पनि त्यो देखायो । चारु र म फस्ट डिभिजनमा, नानी र स्याङ्मो दोस्रोमा पास भएछौं । हामी मिल्ने साथी, प्रसन्न छौं । खुसीयाली मनाउन हामी केटीहरूलाई मन लाग्छ । स्याङ्मोले बौद्धतिर गएर मःम खाने प्रस्ताव राखिन्, चारुको चाहना चाट खाने थियो, नानी महाबौद्ध गएर मःम खाऊँ भन्न थालिन् । म भने सबैकी साझा, जसले जे भने पनि हुन्छ भन्ने । नानीकै जित भयो । महाबौद्धमा उभिएर मःम खानुको अर्कै आनन्द । बोतामा मम खानेको भीड हुँदोरहेछ । खुल्ला आकाशमुनि भिडभाडमा उभिएर मम खाएको अनुभव लिइयो, त्यो पनि स्नातक पास गरेको दिन ।

हामी आआफ्नो बाटोमा बाँडिने क्रममा भक्तपुर जाने चारु र म बागबजार आएर मिनिबस चढ्यौं, नानी त असनतिरै भएकीले उतै बसिन्, स्याङ्मोले बौद्धका लागि टेम्पो चढिन् ।

स्याङ्मो महसुर छिन् । उनीसँग हिँड्दा असुरक्षाको अनुभव नै हुँदैन । केटाले जिस्क्याए पनि बाउला फर्काएर किक हान्न पोजिसन लिन्छिन् । टाइ क्वान दो पनि सिकेकी छन् रे । म पनि त्यस्तै हुन पाएको भए । कराटे खेल्न, बलियो हुन मेरो समाजले मलाई कहाँ सम्मति दिन्थ्यो ।

सोचमा मग्न थिएँ, खुसी पनि थियो । चारुले कहाँ हराएकी ए मोरी भनेपछि झल्यास्स् भएँ । बानेश्वर आइपुगेका रहेछौं । यात्राभरि चारुले साथ दिइन् । ऊ घरसम्म आएर आमासँग जिस्किन लागिन – हजुरकी अन्नी जिम्मा लिनोस् आमा । चारुको स्वभाव अलि जोली खालको छ । आमाले खाजा नखाई जान दिनु भएन । म खुसी देख्दा आमा पनि प्रसन्न हुनुहुन्छ । आमाको खुसीको बाँध फुट्यो–छोरी हो, अब बीए पनि पास गर्यौ, राम्रो घर भए विवाह गर्नुपर्छ । विवाह भनेको उमेरमा गर्ने कुरा हो …। आमाको के के भन्ने विचार थियो कुन्नि मैले रोकिदिएँ । घामलाई सूर्यविनायकको पहाडले छेकिसकेकाले चारु पनि माथितिर लागिन् ।

विवाह उल्लास दिने उत्सवको शुरु हुन सक्छ ? विवाह सम्झौतामा टुङ्गिएको देखेको छु । प्रमिलाका श्रीमानले फेसबुक र इन्स्टा हेरेकोमा शङ्का गरेर उसलाई हकारेछ । प्रमिला के कम, तीन महिनामै ब्रेकअप दिइछ । विदेशमा पढेकी, धेरै कमाउन सक्ने भएपछि सधैँ हारेर ऊ किन बस्थी । रहर बन्दकी राखेर, खुसी सम्झौता गरेर, मायामा हारेर, मान श्रीमान र उसका लागि दिएर बस्नु आफैभित्रको कैद हो । ठीक गरी प्रमिलाले । पढेलेखेका केटीहरू पनि मायामा रड्ड पर्छन्, तर सहजीवनमा रहन सक्दैनन् । जीवनका सहविजेता बन्न सक्दैनन् । रहरहरू कैद गरेर, निजत्व सेलाएर बाँच्छन् । प्रमिलाको जस्तो सबैले गर्न सके पो ।

हामी छोरीको न आफ्नै घर छ न सुरक्षा कवच । स्नातक गरेपछि घरमा बस्न नहुने हो ? जन्मघर नै हाम्रो नहुने, परघर कसरी आफ्नो हुन्छ ? आफ्नो थर, पहिचान र वंश अन्यत्र समाहित गरेर विवाह गर्नु सहयात्रत्रा गर्नु हो ? छोरीहरूले निजत्व र स्वतन्त्रतालाई कैद गरेर रमाउनु पर्ने हो ? अरूको लागि रमाउनुपर्ने हो ? मैले छोरी पाए भने म पनि यसै गर्छु ?

प्रसन्न मुद्रामा बाबा घरभित्र पस्नु भो । बाबाको खुसी चेहराले पनि फेरि मेरै विवाहको कुरा त गर्ने होला नि ? डरले थरर्रर कामेको छु । विवाहको कुरा गरिहाल्नु भो भने मौन प्रतिकार गर्नु बाहेक के उपाय छ र ? म प्रमिलाको आँट वा स्याङ्मोको सामर्थ्यमा कहाँ छु र ? बरु दाइ भए उसले केही सपोर्ट गर्थ्यो कि । विवाह नै गर्न परे विवेकसँग गर्न पाए हुने नि । मैले भन्न सके उसले पक्कै नकार्दैन होला । होइन प्रेम, विवाहको प्रस्ताव त केटाले राख्नु पर्छ । हैन, विवेक र मेरो सम्बन्ध निस्वार्थ साथीत्वको थियो, त्यसलाई स्वार्थमा बदल्नु पाप हो ।

‘यता आऊ बाबा ।’ पर्सेको बोको झैँ बाबा नजिक गएँ । बाबा मेरो ईश्वर । दादा र मेरोलागि बाबाले के गर्नु भएन । उहाँका जीवनका सबै खुसीहरू दादा र ममा टुङ्गिन्छन् । केही भन्नु भए प्रतिकार कसरी गर्ने ? म पास भएको खबर आमाले गरिसक्नु भएको रहेछ । खुसीले आइफोन–१४ दिँदै बाबाले मलिन स्वरमा भन्नुभो, ‘तिम्रा इच्छा पुर्याउन कहिले सकिन । भन्न त भनिनौ, तर थाहा छ यो तिम्रो रहर ..।’ बाबाका आँखा हर्षमिश्रित दुखले टलपलिएका थिए । स्थितिले मलाई पनि भावुक बनायो । यति माया गर्ने बाबा, आमा, दादालाई छाडेर जानुपर्ने दिन पनि आउँछ !

बेलुका खाना खाँदै गर्दा बाबाले भनिहल्नु भो– ‘अन्नी म तिमीलाई तिमी जस्तै राम्रो केटो खोज्छु । अब त पढाइ पनि करिब सकियो । छोरीको जात, उमेरमै विवाह गर्नुपर्छ ।’

मैले केही भन्न सकिन । मेरा हातहरू लुला भएर गए, मुछेको भात मुखसम्म पुर्याउन नसक्ने भएँ । बाबा आमालाई पनि मधुरो देखेँ । मन एकतमासको भो । मेरो मनमा एउटा केटाको अस्पष्ट विम्ब आयो । त्यो राम्रो केटो । के त्यसले विवेकले जस्तै मनमा राख्छ ? आफै सम्झन्छ ? सडक, यात्रा, कलेज, मन्दिर जहाँ पनि रक्षात्मक बन्नुपर्ने छोरीलाई आफै बनेर माया गर्छ ? फेरि त्यो राम्रो बिम्ब क्रूर विपुलमा बदलियो ।

राम्री देखिँदा पनि चिथोरिएँ, नराम्री बन्दा पनि सुख पाइनँ । प्रेममा, यौनमा, रूपमा, जहिले पनि हार्नुपर्ने  छोरीले । भौतिक माया होइन, भावनाको माया गर्ने, मलाई आफै सम्झने केटो पो राम्रो हुन्छ । श्रीमतीलाई बस्तु वा ग्याली आर्ट सम्झने समाजमा त्यो सीमा माथि उठेको केटा पाइन्छ र ? मनभरि प्रश्नै प्रश्न छन्, समाजले उत्तर दिएको छैन । उत्तर आउनेवाला पनि छैन । उत्तरहरू जहिले पनि मेरा विरुद्ध हुनेछन् । निजत्व विरुद्ध हुनेछन् । निष्ठुर भएर भन्न मन लाग्यो – बरु छोरी गर्भमै रित्तिए हुने नि !

जीवनमा छुटेको सबैभन्दा निश्छल मेरो बालापन, त्यै राम्रो थियो । म कति सुरक्षित थिएँ । विवेक थियो, म थिएँ, लाललुपाते र परालको असरल्ल रास थियो । त्यो बालापन !