`इतिहास बखान नभै, सम्बन्धित कालखण्डका व्यक्तित्वहरूको बयान हो´ भन्ने मूल मर्मलाई आत्मसात् गर्दै झापाका अग्रज पत्रकार एवं इतिहास खोतल्न खप्पिस लेखक तीर्थ सिग्देलद्वारा लेखिएको पछिल्लो अनुसन्धानात्मक ऐतिहासिक कृति हो – त्यो झापा ।  `औलोको प्रकोप , बसाइसराइ र भूमिसुधार´ उपशीर्षक राखेर पुस्तकाकार दिइएको यो गैरआख्यान कृति हो ।  `झापा´ शब्दको शाब्दिक अर्थदेखि शुरु भएको यो पुस्तकले नेपालको प्रशासनिक विभाजन इतिहासको ३६ औँ जिल्ला, झापा बनेको तथ्यबाट आफूलाई पाठकसामु प्रस्तुत गरेको छ । त्यो झापाका मुख्य आदिवासी (सन्थाल, किसान, मेचे, राजवंशी, गनगाई, ताजपुरिया, धिमाल आदि) को तत्कालीन जीवनशैली र जीवनस्तरको चर्चा-परिचर्चा  गर्न लेखकले निकै मिहिनेत गरेको देखिन्छ । साथसाथै उनीहरूको बुद्धिमानी जीवनशैलीमा तत्कालीन पहाडबाट आप्रवासन हुनेहरूको विवेकशील प्रभाव र अन्तरसम्बन्धको बुनाइले कसरी आदिवासीहरूको जीवनशैलीमा परिवर्तन ल्यायो र उनीहरू कसरी क्रमशः आर्थिक रूपमा सबलबाट कमजोर हुँदै गए भन्ने जल्दोबल्दो अनुसन्धानमूलक विषयमा समेत सिग्देल घोत्लिएपछि बनेको छ – त्यो झापा ।

वर्तमान भनेको इतिहासको उपज हो । यसको अर्थ यो पनि होइन कि प्राचीन इतिहास नै सर्वोच्च इतिहास हो । वर्तमानको प्रत्यक्ष सम्बन्ध भनेको भर्खरै (४०/५०) वर्षको आसपासका घटना/परिघटनाहरूमा अन्तर सम्बन्धित हुन्छ । यही यथार्थमा टेकेर लेखिएको `त्यो झापा ´, प्रथम दृष्टिकोणले बोलिएका वाक्यहरूको सँगालो हो । लामो समय पत्रकारिताको माध्यमबाट खोजमूलक सामाग्री पस्किन खप्पिस सिग्देलले अन्तर्वार्ता प्रकाशनकै परिष्कृत शैलीमा पुस्तक प्रकाशन गर्नु नेपाली गैरआख्यान लेखनमा एउटा नौलो अभ्यास समेत देखिएको छ ।

उबेलाको पल्लो किराँत र लिम्बुवान तथा विजयपुरको इतिहाससँग तत्कालीन अवस्थामा झापाको कस्तो अन्तरसम्बन्ध थियो भन्ने कुरामा लेखकले जानकारहरूबाट सकेसम्म खोतल्न सफल भएको देखिन्छ । उल्लेखित राज्यहरू नेपाल एकीकरण अभियानमा समाहित भएपश्चात् खास गरी हालको झापा क्षेत्रमा कस्तो राजनीतिक प्रभाव रह्यो भन्नेतर्फ विशेष बयान दिँदै पुस्तकले हाल आएर `महेन्द्रवादी राष्ट्रवाद´ नामले राजनीति अवधारणा लिएको राज्यको नीतिको तत्कालीन आवश्यकता र वस्तुनिष्ठ अन्तर्यको मसिनो विश्लेषण गर्नु अर्को महत्त्वपूर्ण पाटो हो ।

तत्कालीन झापाको कर प्रणाली र जमीनदारी प्रथाको चिरिफारो गर्दै पुस्तकले खास गरी राणा शासनको समयमा नेपालका उर्वर भूमिमा हुने गरेको असमान कर प्रणालीको वस्तुनिष्ठ बयान दिएको देखिन्छ । साथसाथै उक्त कर प्रणालीले आजित भई कतिपय जमीनदार र किसान समेत बसाइसराइको अवस्थामा पुग्नुपरेको कुरा, बयान पढ्दै जाँदा भेटिने तथ्य हुन । यसबाट तत्कालीन झापामा आप्रवासन मात्र नभै विप्रवासन समेत थियो भन्ने तथ्य उजागर गर्छ ।

हालको झापाको खास गरी माईपश्चिम भनेर चिनिने भूभागमा राज्यको नजर तुलनात्मक कम परेको कारण समेत घुमाउरो रूपमा खोतल्ने प्रयास भएको छ । यो कुराको पुष्टि तत्कालीन अवस्थामा मेची राजमार्ग निर्माण गर्न रेखाङ्कनको सवालमा भएका रस्साकस्सीका राजनीतिको चिरफारबाट प्रस्ट हुन्छ । यति मात्र नभै,  हालको दमक-चिसापानी (फाल्गुनन्द) कच्ची राजमार्गलाई उतिबेला नै मेची राजमार्गको रूपमा निर्माण गर्न पदम सुन्दर लावतीले लिएको अडान र उक्त अडान निस्तेज पार्न पहुँचवालाहरूको बोलबालाको बेलिबिस्तार समेतलाई पुस्तकले समेट्ने प्रयास गरेको देखिन्छ ।

राजवंशी भाषामा `बाडी´ शब्दसँग जोडिएका ठाउँका नामहरू (बालुबाडी, धुलाबाडी/बारी, जात्रुबाडी, चैतुबारी/बाडी आदि) को ऐतिहासिक पृष्ठभूमि तथा झापाका प्रमुख ठाउँहरू (शिवगन्ज, राजघाट, राजगढ, सैनिकमोड, बिर्ताबजार, भद्रपुर आदि) को मसिनो इतिहास खोतलेको यो पुस्तकमा हालका झापालीहरूले आफू बसिरहेको ठाउँको नामकरणको इतिहास बुझ्न सक्नेछन् ।

त्यो (आधुनिक) झापा निर्माणका प्रत्यक्ष ३२+२ = ३४ (२ जना आसाममा बसोबास गरिरहेका र झापासँग परोक्ष रूपमा जोडिएका) जना हिस्सेदारहरूको बयानलाई जस्ताको तस्तै उतारिएको यो पुस्तकले प्राचीन झापाको सम्भव भएसम्मको चित्रण गर्दै यो (उत्तर आधुनिक) झापा निर्माणसम्मको  अविराम यात्रामा भएका खास गरी पुस्तकको उपशीर्षकका अवयवहरूलाई उतारेको देखिन्छ । उल्लेखित ३४ जनाको बयानका आधारमा रहेर वर्तमान झापा निर्माणका सयौँ व्यक्तिहरूको प्रत्यक्ष योगदानको विश्लेषणात्मक दस्ताबेजको रूपमा आएको यो पुस्तक संग्रहणीय पुस्तक हो । एउटै क्षेत्रमा बसोबास गर्ने लगभग समान उमेर र अनुभवका व्यक्तित्वलाई सारथि बनाएर बकपत्र शैलीमा तयार भएको कारणले गर्दा पुस्तकमा कतिपय ऐतिहासिक घटना क्रमहरू (२००७ सालको क्रान्ति, तत्कालीन पहाडको लिम्बुवान विद्रोह र यसबाट पहाडे आर्य समुदाय बसाइसराइको चपेटामा परेको परिघटना, मोरङबाट झापाको स्वतन्त्रता, झापा बजारबाट भद्रपुर/चन्द्रगढी सदरमुकामको स्थानान्तरण, भूमिसुधार अभियानको अन्तर्य आदि) कुराहरू दोहोरिएको भेटिन्छ । दस्ताबेजमूलक पुस्तक भएकाले आगामी संस्करणमा उल्लेखित त्रुटिहरू अझै मसिनो गरी सम्पादन गर्न सके किताब थप परिमार्जित र परिष्कृत  हुने देखिन्छ ।

पटक पटक उपशीर्षक केन्द्रित बयानमा उद्वेलित भए पनि उल्लेखित समयकाल र यस बीचमा, देशमा भएका राजनीति घटनाक्रम र तिनीहरूमा तत्कालीन झापालीहरूको भूमिका र योगदानलाई समेत छोटकरीमा बुझ्न यो पुस्तक एक सारथि बन्न पुगेको छ । यसै गरी झापाको शैक्षिक उन्नयनमा खास गरी तत्कालीन अवस्थामा तेह्रथुम आसपासबाट बसाइँ सरी आउने पहाडी मूलका मानिसहरूको योगदानको यथेष्ट चर्चा समेत पुस्तकले बटुलेको देखिन्छ ।  इतिहासमा नलेखुन्जेल कुनै चिजबिज, घटना, व्यक्ति या पद्धतिको महत्त्व नहुने यथार्थमा आधारित यो पुस्तक त्यस्ता पाठकको पाठ्यसामग्री हो, जो वर्तमानलाई विगतको उपज मान्दछन् ।

मिडिया रिसर्च सेन्टरबाट प्रकाशित यस पुस्तकको मूल्य छ सय १५ रुपैयाँ रहेको छ ।