दार्जिलिङका लेखक मनोज बोगटीले आफ्नो किताब ‘संवेदी प्रश्नमा’ लेखेका छन् – एउटा पुस्ताले युवाहरूलाई जतासुकै केटाकेटी देख्छ ।
यही विषयमाथि घोत्लिंदै गर्दा एउटा हिन्दी चलचित्र युट्युबमा भेटियो । त्यो चलचित्र हेर्दै थिएँ, त्यहाँ एकजना अवैतनिक सल्लाहकार सल्लाह दिँदै थिए, ‘छोरीको बिहे त ठुलै घरानामा गर्नुपर्छ किनभने छोरी ठुलो घरमा पुगी भने छोराको पनि सम्बन्ध ठुलै घरमा हुन्छ ।’
ती मानिसका मृत्यु भएका उनका बाबुको तस्बिरमुनि लेखिएको थियो, ‘ज्ञान मत बाडो, क्यू कि यहाँ सब ज्ञानी है ।’
मैले यसै साता लेखेका दुई स्ट्याटस हुन् । मान्छे र समाज बुझ्न यस्ता तर्कले पक्कै मद्दत पुग्छ किनभने आजको हाम्रो समाज र मान्छे पुरै आत्मकेन्द्रित छन् । केही हदसम्म परनिर्भर र पुरै आत्मकेन्द्रित भने हुन्छ । समाजको संरचना निर्माणकै चरणमा यो व्यवस्थाले एउटा छाप पारेको छ कि हामी त्यसमै अलमलिएका छौं ।
भर्खरै भारतमा तहल्का मच्चाउने एउटा चलचित्र आयो, १२ फेल । त्यो चलचित्रको सन्देश गजबको छ । मान्छेको आँट र साहसको कदर गर्न लायकको बनेको छ, त्यो चलचित्र । भारत विश्वसामु आफूलाई समृद्ध र ठुलो भाइ ठान्छ तर उसको व्यवस्थाभित्रका विचलनबारे जानकार छैन ।
शासन, प्रशासन जब जन पक्षीय बन्दैन, तब जति नै विकास र संरचना निर्माण भए पनि फरक पर्दैन । १२ फेल चलचित्रमा मनोजकुमार शर्माले आइपीएस बन्न गरेको संघर्षको कथाले शासन, प्रशासनभित्रको दुरूह रूप झल्काउँछ । उनै मनोज बोगटीहरू त्यही भारतीय नेपालीहरू हुन्, जसले भारतभित्र आफूलाई खोजिरहेका छन् । उनी ‘संवेदी प्रश्न’मा पोखिन्छन् । भारतीय नेपालीहरू आफ्ना वर्ग, समुदाय र पहिचानमाथि कति गर्व गरिरहेका छन् वा भारतीय शासकहरू यो समुदायप्रति कति सहयोगी छन् । कलकत्ताको सोच, नेपालीत्व अनि ममता बेनर्जी र नेपालीहरूका सपना, यी सबै चिजहरू एकादेशका कथाहरू मात्र हुन् ।
अनि नेपाल ? नेपाल कहाँ फरक छ र । यहाँको नेतृत्व पनि उही ड्याङको मुला त हो । देश बनाउने सपना र आफू मात्र बनिने बिपनाभित्र धेरै अन्तर छ, मनोज ! विशाल भारतभित्र बसेर तिमीहरूले नै देख्यौ, भोग्यौ, के नेपाल मै बसेर त्यो देखिँदैन र ? प्रस्ट छ कि देश ठुलो र सानो भएर फरक पर्दैन शासकवर्गमा हुर्किएको चेतमा भर पर्छ । हो, मनोज तिमीले भनेको सत्य हो । शासकवर्गले अरू सबैलाई आफूभन्दा मुनि ठान्छन्, आफूलाई अगुवा ठान्ने पुस्ताले युवाहरूलाई केटाकेटी ठान्छन् ।
राजनीति जो पोखरीभर जमेर बसेको हिलोपानी छ र त्यहाँभित्र छौँ हामी केही भुराभुरी माछा ।
मनोज बोगटीले लेखेजस्तै, देखेजस्तै छ, हाम्रो अवस्था पनि । राजनीतिको फोहोर पानीभित्र कमलको फूल फुलाउन अब कसले सक्ला ? धेरै मान्छे निराश भएर बिदेसिन्छन् । कतिपयले नयाँपनको खोजीमा आफूलाई तल्लीन बनाउँछन् ।
अनि उनैले गरेको अर्को तर्कना छ, अघिको पुस्ताले हामीलाई केटाकेटी देख्छ । पक्कै पनि मान्छे यस्तो प्राणी हो, ऊ कहिले पनि आफूलाई असक्षम र बुढो ठान्दैन । उसले जहिले पनि आफूलाई सक्षम ठान्छ, अरू भन्दा जान्ने मान्छ । दक्षिण एसियाको राजनीतिको रोग हो यो । नेपाल, भारत, बंगलादेश, पाकिस्तानजस्ता देशमा राजनीतिमा पुस्ताको प्रश्न जटिल बन्दै गएको छ ।
मान्छे नै यस्तो जान्ने प्राणी हो, जसले जानेको भए जानेको अभिनय गर्छ र नजानेको कुरामा पनि त्यसै गर्छ । अर्थात् म जान्दिन भन्न जान्दैन । जब मान्छेले नजानेको काम गर्दैन, त्यो देशको उन्नति हुन्छ । अझ भनौं, जानेको मान्छेले घमण्ड गर्दैन तर नजान्नेले तमास गरिरहेको भेटिन्छ । अल्पज्ञानी भयंकरी भनेजस्तै आधा गाग्रीको पानी छचल्किन्छ रे । हो, यो संवेदी प्रश्न हो ।
त्यही भारतका मनोजकुमारहरू एउटा प्रतिनिधि हुन्, जसले आ–आफ्नो ठाउँबाट विद्रोहको राँको बाले । भारतमा हेपिएका नेपालीहरू, जसले आफ्नै राज्य माग्दा गोली खाए । असमान भूगोलभित्र आफूलाई सीमित राख्न बाध्य भए । मिजोरम, आसाम, उत्तर प्रदेश, सिक्किम, नागाल्याण्डदेखि हिमाञ्चल प्रदेशसम्मका नेपालीहरूमा संश्रय छ । उनीहरूमा हामी को हौं भन्ने अन्योल छ ।
त्यही भएर त मनोज बोगटीहरू कहिले दिल्ली विरुद्ध त कहिले कलकत्ता विरुद्ध विद्रोह बोल्छन् । कविता लेख्छन्, कथा लेख्छन्, निबन्ध लेख्छन् । उता चलचित्रमा मनोजकुमार शर्माहरूले फरक प्रकृतिबाट परिवर्तनका लागि संघर्ष गर्छन् ।
हो रहेछ, शासन, प्रशासनमा परिवर्तन नआएसम्म जति नै क्रान्ति भए पनि केही हुँदैन । त्यही भारत हो, जसले व्रिटिश साम्राज्यसँग लडाइ लडेको थियो । महात्मा गान्धीहरूले चलाएको भारत छोडो आन्दोलनले त्यति बेला मूर्तरूप पायो, जब सिङ्गो भारत एक ठाउँमा अंग्रेज शासकविरुद्ध उभियो । नेपालले पनि राणाहरू विरुद्ध उही समयमा विद्रोह गर्यो ।
एकजना विदेशी साथीले एकपटक गरेको प्रश्न सम्झन्छु । ‘नेपालको क्रान्ति पछिको नेता हो ?’ मसँग यस प्रश्नको उत्तर थिएन । जसरी चीनमा माओपछि देंग स्याओपिंगले देश बनाए, थिति बसाए । देश बनाउन मूल कुरा थिति चाहिन्छ । थिति भनेको नीति हो । हरेक क्रान्तिले परिवर्तनको आशा देखाउँछ । प्रत्येक आन्दोलनले नयाँ नेतृत्व जन्माउँछ । र, त्यो परिवर्तनको चाहना र स्थापित नेतृत्वले जनताको आशालाई सम्बोधन गर्न सक्नुपर्छ ।
अनि काठमाडौंतिर घुम्दा फिर्दा यसो गम्छु । सिंहदरबारतिर पस्ने बेलामा प्रेस पास नहुँदाको सास्ती भोग्छु । अनि सोच्छु, हाम्रो शासन प्रशासन अझै फेरिएको छैन रहेछ । सम्भवतः संसारको नेपाल एउटा यस्तो देश हुनुपर्छ कि आफ्नो देशको मुख्यालय जाँदा पास लिनुपर्छ । अनि देश कसरी बन्छ ? तब जनता सार्वभौम छन् भनेर कसरी पत्याउनु ?
एउटा तर्क कताकता जायज लाग्छ । जब शासन प्रशासन र नेतृत्व भ्रष्ट बन्दै जान्छ, त्यति बेला उसले गर्ने निर्णय लोकप्रियतामा आधारित हुन्छ । जस्तो: भारतमा आज महात्मा गान्धीहरूलाई भेट्न एमजी रोडमा पुग्नुपर्छ । देश गान्धीको बाटोमा चलेन, बरु एमजी रोडको बाटोमा गयो । भारतमा जताततै एमजी रोड बनेका छन् । बरु महात्मा गान्धीलाई पैसामा टाँसियो, उनको विचार हरायो । मान्छेहरू महात्मा गान्धीलाई नोटमा साटिरहेका छन् ।
नेपालमा पनि उस्तै छ मनोज । नेपाल पनि एकताका प्रचण्डपथमा कुद्ने अभ्यास गर्दै थियो तर त्यो टिकेन । बरु मदन भण्डारी मार्गमा जनता हिंड्न पाएका छन् । मदन भण्डारीका नाममा कलेज खुलेका छन्, स्र्पोट्स एकाडेमी र अरू त्यस्तै चिजहरू, जहाँ मदन भण्डारीलाई सीमित पारिएको छ । महान् दार्शनिक नेता बिपी कोइरालाका नाममा बाटिका बने , बाटो बने, चोकहरू बनाइए ।
आज न भारत गान्धीको बाटोमा हिँड्यो, न नेपालमा मदन भण्डारीको विचारमा चल्यो । गान्धीवाद र बहुदलीय जनवाद एउटै ड्याङका मुलाजस्ता साबित भए । जब विचारलाई व्यवहारमा लगिंदैन, तब हुने हुनामी यस्तै हो । त्यही भएर आज भारतमा कांग्रेस आइलाई एमजी रोडतिर मात्र भेटिन्छ । त्यही भएर नेपालमा भर्खरै बहुदलीय जनवादका भक्तजनहरूले आफूलाई मध्य–पहाडीतिर खोज्दै हिंडेको हुनुपर्छ । नत्र विचार किन सडकमा र तहकभडकमा भेटिन्थ्यो ।
जसरी मान्छेका मनबाट विचारहरू मर्दै जान्छन्, त्यसपछि महात्मा गान्धीहरू नोटमा बन्धक बन्छन्, त्यसरी नै पुष्पलाल, मनमोहन अधिकारी , बिपी कोइराला र मदन भण्डारीहरूका नाममा सडक बन्छन् । सालिकहरू ठडिन्छन्, अनि विचार मर्दै जान्छ ।



यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।
३० कार्तिक २०८२, आईतवार 










