सबै लेखक साहित्यकार हुन सक्दैनन् ।

तर, सबै साहित्यकार लेखक हुन् ।

 यो शीर्षक आफैँमा एउटा प्रश्न हो, तर्कना हो ।साहित्य एउटा सिर्जना हो । त्यसको रचना गर्ने व्यक्ति साहित्यकार हो । सामान्यतया यसको अर्थ यत्ति नै हो ।

तर, स्वतन्त्र विश्वकोश, नेपाली विकिपिडियामा साहित्यकार भनेर खोज्दा यस्तो भेटियो ।

साहित्यकार साहित्य सिर्जना गर्ने व्यक्ति हुन् । समाजलाई सही बाटोतर्फ अग्रसर गराउने व्यक्ति साहित्यकार हो ।

हिन्दी शब्दकोशले साहित्य की रचना करने वालोंको साहित्यकार कहते है मात्र भनेको रहेछ । अंग्रेजीमा अथर, लिटेरेचर, नोवलिष्ट वा राइटर भनि|दो रहेछ ।

यद्यपि, नेपालमा यसबारे त्यति धेरै बहस र छलफल भएको पाइँदैन । अहिलेसम्म साहित्यलाई विभिन्न वाद र जातसँग जोडेर हेर्ने काम मात्र भइरहेको छ । जस्तो कवि, गजलकार, नाटककार, कथाकार, उपन्यासकार । अर्थात्, कविता लेख्ने कवि, उपन्यास लेख्ने उपन्यासकार, नाटक लेख्ने नाटककार, कथा लेख्ने कथाकार ।

के सबै लेखक साहित्यकार हुन ? वा लेख्ने जति सबै साहित्यकार ?

यो प्रश्नले अन्योल बढाउँछ । जब म धेरै कार्यक्रमहरूमा जान्छु, तब चर्चित र नाम चलेका लेखकहरूले नै यस्तै अन्योल सिर्जना गरेको पाउँछु । जे सुकै लेखुन्, त्यो साहित्य हो कि होइन ? कथा, कविता, गजल, हाइकु, उपन्यास नाटक, यात्रा संस्मरण, नियात्रा वा आत्मकथा । यी सबै साहित्यका विधा होलान् तर त्यो लेख्ने मानिसका पछाडि कार थप्न लायक छन् वा छैनन् ।

मलाई लाग्छ, सबै लेखक साहित्यकार हुन सक्दैनन् । तर, सबै साहित्यकार लेखक हुन् ।

यसको सामान्य अर्थ खोज्ने हो भने यस्तो भेटिन्छ ।

लेखक एक व्यक्ति हो, जसले साहित्यको रचना गर्दछ । यसका अतिरिक्त उसले मौलिक सिर्जना गर्ने क्षमता राख्दछ । लेखक त्यो हो, जसले पाठकहरूलाई आफ्नो लेखन मार्फत कैद गर्दछ । आफ्नो सिर्जना मार्फत पाठकलाई बाँधेर राख्दछ ।

साहित्यको भोक जागेर लेख्नु र मनका भावना पोख्नु नै मात्र साहित्य होइन । लेखन विधा त गहन र अनुसन्धानमा आधारित हुन्छ ।

नेपाल प्रज्ञा प्रतिष्ठानद्वारा जारी गरिएको लेखक र साहित्यकार परिचय पत्र वितरण सम्बन्धी कार्यविधिले लेखक र साहित्यकार भन्नाले नेपालका भाषा, साहित्य, संस्कृति, दर्शन तथा सामाजिक शास्त्रमा आबद्ध स्रष्टाहरू र ती विषयहरूका अनुसन्धानकर्ताहरू  समेत सम्झनु पर्छ भनेको छ । यसरी हेर्दा नेपाल प्रज्ञा प्रतिष्ठानले लेखक र साहित्यकारलाई एउटै रूपमा लिएको देखिन्छ । जस्तो दुबैलाई लेखक र साहित्यकार भनेर पेश गरेको छ ।

नेपाली साहित्य क्षेत्रको सरकारी स्तरबाट व्याख्या विश्लेषण र उत्थान गर्ने आधिकारिक निकायले जारी गरेको लेखक र साहित्यकार परिचय पत्र वितरण सम्बन्धी कार्यविधिमा यी दुबैलाई एकै हुन् भनेर प्रष्ट्याएको देखिन्छ । जसको प्रस्तावनामा साहित्य सर्वजनीय विधा हो र साहित्यकारहरू राष्ट्रका निधि हुन । यिनीहरूले साहित्यका माध्यमबाट जीवन र जगतलाई केलाउँदै सफल जीवन जिउनका लागि मार्गनिर्दिष्ट गर्छन् ।

के लेखन र साहित्य एउटै हो वा यसका बिचमा अन्तर पनि छ ? लेखक र साहित्यकारका बिचमा कति अन्तर छ । केवल शाब्दिक रूपमा मात्र होइन, कामका आधारमा हेर्ने हो भने पनि केही न केही अन्तर त भेटिन्छ । दुर्गाप्रसाद दाहालद्वारा लिखित ‘नेपाली नाटक, निबन्ध, भाषासाहित्य र इतिहास’ मा उल्लेख गरिए अनुसार साहित्य शब्द संस्कृत भाषाको सहित शब्दबाट निर्माण भएको हो । शब्द र अर्थको सहभाव नै साहित्य हो । हितले युक्त भाव नै साहित्य हो । अंग्रेजी भाषामा ‘साहित्य’ का सट्टामा ‘लिटरेचर’ शब्दको प्रयोग गरिन्छ । ‘लिटरेचर’ शब्द ल्याटिन भाषाको ‘लिटेरा’ बाट निर्माण भएको मानिन्छ । तर, नेपाली साहित्यको इतिहास स्वतन्त्र विश्वकोश, नेपाली विकिपिडियाले धेरै पछि मात्र साहित्य शब्दको प्रयोग भएको पाइन्छ ।

पूर्वीय साहित्य शास्त्रमा साहित्यको छुट्टै परिभाषा पाइँदैन । काव्यको परिभाषाभित्र नै साहित्यको परिभाषा सन्निहित रहेको पाइन्छ भनेको छ ।

यसको अर्थ साहित्य शब्दले पनि समग्र लेखन विधालाई समेट्न सक्दैन भन्ने हो । जस्तो: लेखक त्यो हो, जसले विभिन्न शैली र तरिकाले शब्दको सिर्जना गर्दछ । जसको माध्यमबाट सञ्चार हुन्छ । लेखनको माध्यमबाट कथा, कविता, गीत, निबन्ध, उपन्यास लगायत विभिन्न रिपोट, लेख प्रकाशन गर्दछ । खासमा ऊ नै लेखक हुनुपर्ने हो । जसले आफ्ना यस्ता सामाग्री सञ्चार माध्यम र किताब मार्फत पस्केका हुन् ।

नेपाली साहित्य क्षेत्रका प्रसिद्ध संस्थाहरू पनि लेखक र साहित्यका नाममा विभाजित भएको पाइँदैन । वामपन्थी खेमाका लेखकहरूको आफ्नो संस्थाको नाम प्रगतिशील लेखक संघ छ भने प्रजातान्त्रिक पक्षधरहरूको संस्थाको नाम लेखक संघ छ । यत्रा ठुला संस्थाहरूका नाम नै लेखक संघ भएपछि फेरि साहित्यकार भनिरहनु किन पर्‍यो ? उनीहरू साहित्यकार हुन भने किन साहित्यकार संघ गठन गरिएन ? यो प्रश्न पनि उत्तिकै सान्दर्भिक छ । यसबारेमा थप बहस पनि जरुरी छ ।

बहससँगै निष्कर्ष पनि दिन सक्नुपर्छ । नत्र अलमल बढ्छ । अझ साहित्यजस्तो विषयमाथि टिप्पणी गर्दा जटिल अवस्था पनि आउन सक्छ । लेखन कसका लागि र किन ? भन्ने आम प्रश्न छ । अझ भन्ने हो भने विवाद नै छ । साहित्यकार अरूका लागि केवल मनोरंजनका साधन हुन् ? यो तर्क मेरो होइन, कुशलनाथ योगीको हो । यस प्रश्नको उत्तर हो या आफैँ प्रश्न हो ।

प्रज्ञा प्रतिष्ठान नामक सरकारी निकायमाथि उहिलेदेखि नै औला ठडिइरहेको बेला लेखक धनेन्द्र ओझाले लेखेका थिए – यहाँ कोही साहित्यकार छैनन्, सबैले आफ्ना मनको भँडास मात्र पोखेका हुन् । उनै धनेन्द्र ओझाले प्रज्ञा प्रतिष्ठानमाथि सुधारका प्रयास गरे, भत्ताविरुद्ध । उनले मुद्दा जिते ।

यहाँ म त्यही नेपाली लेखन क्षेत्रको प्रवर्धन र विकासकालागि जिम्मेवार निकाय प्रज्ञा प्रतिष्ठानका बारेमा लेख्दैछु । म यहाँ प्रतिष्ठानका बारेमा नारायण ढकालले अन्तिम पात किताबमा लेखे जसरी लेख्न त सक्दिन तर पत्रकारिता क्षेत्रबाट विरक्त लागेर लेखन क्षेत्रमा पाइला चाल्दै गरेको मजस्ता मान्छेलाई त्यतिबेला यहाँभित्र हुर्केको प्रवृत्तिबाट झन् पीडा हुन्छ । आजको प्रविधियुक्त जमानामा साहित्य र लेखन क्षेत्रको देशकै सर्वोच्च संस्थाको त्यो हालत देख्छु । जहाँ नाथे एउटा लेखक परिचयपत्र लिन मैले निवेदन दिएको वर्ष दिन पुग्दा पनि पाइएको छैन ।

अरू त के अपेक्षा गर्नु र ।

तीर्थ सिग्देल (२०३१) पत्रकारिता क्षेत्रबाट लेखनतर्फ पाइला चालेका व्यक्ति हुन् । पत्रकारिता क्षेत्रमा तीन दशक बिताएका उनका अहिलेसम्ममा ६ वटा पुस्तक प्रकाशित भइसकेका छन् । र, अहिले आफ्नो सातौं कृति आत्मपरक निबन्धको रुपमा ‘बिर्सिएका सपनाहरू’ लिएर आउन लागेका छन् । २०७३ सालमा पहिलो कृति ‘जीवनको गति’मार्फत लेखन क्षेत्रमा उदाएका उनी त्यसयता निरन्तर साहित्यको सेवामा तल्लिन छन् । २०७४ सालमा ‘पूर्वको राजनीति’, २०७६ सालमा ‘मनोनेट’ कथासंग्रह, २०७७ सालमा ‘एक दिन समयकथा, जीवन यात्रा र भोगाइ’ शीर्षकको यात्रा संस्मरण, २०७८ सालमा ‘मनको कैदी’ कथासंग्रह र २०८० सालमा ‘बिर्तामोड : उद्भव र विकास’ प्रकाशित भइसकेका छन् ।

तीर्थ सिग्देलको प्रकाशोन्मुख आत्मपरक निबन्धसंग्रह ‘बिर्सिएका सपनाहरू’ बाट