आज पनि मैमाथि प्रश्न तेर्सियो ।
मैले केही गर्न सकिनँ भन्ने आरोप छ ।
आरोपमा केही सत्यता पनि होला । तर, यसको अर्थ यो होइन की त्यस घटनाको सम्पूर्ण जिम्मेवार म मात्र होइन । मलाई लागिरहेको छ, ‘त्यसदिन म उसले बोलाएको ठाउँमा गएको भए, म आज रहने नै थिइनँ’ ।
लाचार बनेर त्यो दिन हेरेर मात्र बस्नुको विकल्प थिएन । किनकि म मात्र यस्तो एउटा पात्र बनेको थिएँ । ती दिनका हरेक घटनाबारे म विज्ञ थिएँ । सायद त्यो अन्तिम भेट थियो, जसलाई मैले आफ्नो चीज गुमाएको थिएँ । आज म त्यो दिन बिर्सेर पनि सम्झन चाहन्न ।
निक्कै पर एउटा भयानक खाडल खनिएको छ । त्यो बाटो भएर जाने की नजाने निर्णय लिनु पर्ने जिम्मेवारी आफ्नै काँधमा छ । छोटो बाटो जाने की घुमाउरो बाटो ? यसको निर्णय लिन कसैलाई सोध्ने सुविधा छैन । आफैँले निर्णय लिनु पर्ने छ । छोटो बाटोे धेरै छोटो भएपनि भयानक डरलाग्दो छ । तर, लामो बाटो हिँड्न सहज छ ।
तर, मलाई त्यसो गर्न उचित लागेन । अर्थात्, हतारमा निर्णय लिएर पछि पछुताउनुको कुनै अर्थ हुन्न । किनभने मान्छे अगाडि बढेपछि बढ्यो । उसलाई पछाडि फर्केर हेर्ने फुर्सद कहाँ मिल्छ र ?
नजरको दोश लागेपछि,
अधरको मुस्कान हराउँछ…
त्यही त, हिँड्नु अघि हिँड्ने बाटोको अवस्था र बोल्नु अघि सुन्नेको अवस्थाबारे बुझिरहेमा कुनै घाटा लाग्ने छैन । बाटो नदेखी हिँडेर फर्किनु र जथाभावी बोलेर पछुताउनु उस्तै हो । जस्तो, हिँड्दाहिँड्दै ठेस लाग्न सक्छ । कहिलेकाहीँ सडकमा सर्पसँग जम्काभेट पनि हुन सक्छ । यात्रामा कहिलेकाँहीँ चोट पनि लाग्न सक्छ । कहिले बिच्छीले डस्छ पनि सक्छ ।
अनजानको कुरा बेग्लै हो । यदि कसैले जानाजान गर्छ भने त्यो गल्ती नै हो । किनकी धेरैले भोलि आइपर्ने संकटबारे सोचेकै हुन्नन् । उनीहरू केवल आजको मात्र चिन्ता गर्छन् र फस्छन् । हुनतः यो मानिसहरूको स्वभावजन्य कुरा हो ।
सक्षम, सवल र सम्पन्न भएर मात्र कहाँ हुन्छ र ? फेरि ज्यान ठूलो भएर मात्र हुन्न नि । कमिला र हात्ती बीच तुलना भएको कहाँ छ र ?
यो भनाई कतै नजर पर्छ । नजर लागेपछि सक्कियो । नजर परेपछि बित्यो । त्यो नजर नै दोसी बन्छ । सायद, त्यो दिनको पर्खाइमा हरेक मान्छेहरू हुन्छन्, जो आफैँ दोषको भागेदार बन्न चाहन्छन् ।
भनाइ नै छ नि,
नजरको दोश लागेपछि,
अधरको मुस्कान हराउँछ…
…
कुनै दिन
आफ्नै कार्यालयमा लामो समयसम्म काम गरेको मान्छेको प्रगति देख्दा खुसी लाग्नु स्वाभाविकै हो । त्यो भन्दा पनि खुसी यस अर्थमा थियो कि ऊ सँग झण्डै बीस बर्षपछि भेट भयो ।
समयको अन्तरालको कुरा के कुरा ? वर्तमानको कुरा पो सही लाग्छ । बिगत त एउटा नमीठो अतीत बनेर छाएको हुन्छ धेरैको जीवनमा । कतिपयको त काँडा नै बनेर आएको हुन्छ ।
अर्थात्, ऊ उसका लागि कोही थिएन । केवल एउटा यात्राको सहयात्री मात्र । आधाबाटोसम्म संगै हिँडेर छुट्टिएका यात्रीजस्तो । लामो बाटोसम्म सँगै यात्रा गरेर पनि परिचय गर्न छुटाएजस्तो । कुनै सुनसान जंगलभित्र गन्तब्य पहिल्याउन नसकेर रुमल्लिएको यात्रीजस्तो, कुनै लमतन्न परेर सुतेको हब्सीको अनुहारजस्तो सडकमा हिँड्दै गरेको एक्लो बटुवाजस्तो ।
उसमा मन पर्ने एउटै मात्र चिज थियो । त्यो आज पनि देखियो । हरेक मान्छेले सबै कुरा लुकाउन सक्छन्, तर एउटा चीज कसैबाट पनि लुकाउन सक्दैनन् । त्यो भनेको अनुहार हो, आफ्नो अनुहार । अझ उसको त्यो ओठमाथिको कोठीको त बयान गरिसाध्य छैन । आज पनि उसले अनुहार नियाल्यो । उस्तै अनुहार । उस्तै ओठ । अझ ओठ माथिको कोठी पनि उस्तै ।
गज्जब । उसले बीस बर्षसम्म आफूलाई लुकाउन सकी । तर, त्यो ओठमाथिको कोठी लुकाउन सकिन छ ।
उही चाल, उही ढाल… के हो, यस्तो ?
सिम्पल प्रश्न गर्ने उसको बानी अझै गएन छ, नबुझिने खालको ।
बुझेपनि, नबुझेपनि । उत्तर त्यतैतिर थियो, सायद नजरको दोष होला ।
त्यो समय त राप हो भन्ने बुझेका नै हुँदैनन् । जो एउटा रापको तापमा तातिएको बेला गरेको गल्तिको सजाय आज पनि भोगिरहेका हुन्छन् ।
जतिबेला उनीहरूको पहिलो भेट आफ्नै अफिसमा भाथ्यो । कुनै दिन उनीहरूले मजासँग आफ्ना मनका कुरा साटासाट गरेका थिए ।
आज त्यो समय छैन । समय धेरै अगाडि बढिसक्यो । तर, सवाल उही छ, उही जवाफ छ । उही सायरी छ, उही डायरी छ । पूरानो एल्बम, पूरानै छ श्यामश्वेत तस्विर । पूरानै मान्छे, पूरानै याद । नयाँ छ त केवल, मन । नयाँ मन, नयाँ याद । त्यो विगत एउटा नयाँ स्वरुपमा, रंगीन कलेवरमा सजिएको छ, पलपलमा ।
किनकि विगत त एउटा पदचिन्ह हो, जो सहजै मेटिन्न । त्यो राप हो, जो सहजै निभ्दैन । मान्छेहरू विगतलाई जर्बजस्ती मेट्न चाहन्छन् । बिर्सन चाहन्छन् । भुल्न चाहन्छन्, सँधैका लागि । त्यो अतीत बनेर कुनै दिन पनि नआओस् भन्ने चाहन्छन् । आफूले जान अन्जानमा हिँडेको त्यो बाटो कुनै दिन पनि दोहोर्याएर हिँड्नु परोस् भन्ने चाहँदैनन् । आफूले दिन रात गुजारेको त्यो समयको पदचिन्ह मेट्न चाहन्छन् ।
त्यो समय त राप हो भन्ने बुझेका नै हुँदैनन् । जो एउटा रापको तापमा तातिएको बेला गरेको गल्तिको सजाय आज पनि भोगिरहेका हुन्छन् । एउटा अतीतको अमीट छाप बनेर रहिरहेको हुन्छ ।
तर, उसले त्यस्तो कुनै प्रतिक्रिया देखाइन । बरु मेरो चिन्ता गरी ।
‘हजुर पनि त उस्तै नै हुनुहुँदोरहेछ नि …
‘उस्तै भनेको कस्तो …?’ प्रश्न गर्नु नै पर्ने भयो ।
‘फिटनेश शरिर, कालै कपाल र गोरो अनुहार । जुन पहिचान थियो । आजपनि उस्तै भनेको नि…’ उसले सहजै उत्तर दिइ ।
‘सायद कसैको नजरको दोश हुन सक्छ । नजरको दोश, जुन कुरा आज पनि मैले देखेँ ।’, मेरो प्रतिक्रियापछि उसले पीडा ओकली, ‘मान्छेहरू प्रायः नजरलाई दोष दिन्छन् र अधरको मुस्कान हराउँछन् । किनकी मान्छेहरू तनप्रति विश्वस्त हुन्छन् । तर, मनले भनिरहेको कुरामा त्यति ध्यान दिँदैनन् । मलाई आज पनि हजुरको कुरा उस्तै लाग्यो, प्रायः मान्छेहरू यस्तै कुरामा चुक्छन् । किनकी मान्छेहरूलाई आँखा अगाडि कै कुरामा मात्र विश्वास हुन्छ । कहिलेकाहीँ आँखाले पनि धोका दिन्छ । कहिले मुस्कानले, कहिले नजरले र कहिले अधरले पनि धोका खान्छ ।’
‘अझ त्यो मुस्कानरुपी जीवनमा जव सेतो पर्दाले ढाकिन्छ, त्यतिबेलाको त कुरा गरिसाध्य हुँदैन । फेरि पनि मान्छेहरू नजरलाई नै दोष दिन्छन् । वास्तवमा त्यो दोष नजरको हुँदै हुँदैन । त्यो दोशको जिम्मेवार मन हुन्छ । जतिबेला मनले त्यो पर्दालाई पर्गेल्न सक्दैन, त्यतिबेला दोष त नजरले नै पाउँछ ।’
हजुर त कुरा घुमाउन अझै सिपालु भइसेछ
‘किनकि मन एउटा बादलजस्तो हो, जुन त्यति सजिलै फाट्दैन । मन एउटा साधनजस्तो हो, त्यो सहजै किन्न पाइँदैन । बरु मन त एउटा हलुका बस्तु हो, जसलाई चिन्न र किन्न पहिले आफूलाई तयार पार्नुपर्छ । त्यो मन, जसले आजसम्मका प्रगति र उन्नतिमा लिन गरायो । त्यो मन त्यति सजिलै अरुप्रति उदार नहुन पनि सक्छ । जसरी मान्छेको मनभित्र उर्लेको भावनारुपी लहर हुन्छ, मान्छेले त्यसरी नै आफूलाई बगाउन सक्नु पर्छ । त्यो लहर, जसमा मान्छेको मन बगेको हुन्छ, त्यो रहरमा मान्छेको तन रुझेको हुन्छ, हो त्यही नै मन हो, जसलाई मान्छे नै चिन्नु पर्छ ।’
मेरो प्रतिक्रिया पछि उसले आँखा तन्काई, निधार खुक्च्याई । सायद कुरा बुझिन क्यार । तैपनि सामान्य प्रतिक्रिया दिन खोजी । त्यतिबेला उसको ओठ माथिको कोठी झन् राम्रो देखियो ।
उसले भनि, ‘…हजुर त कुरा घुमाउन अझै सिपालु भइसेछ ।’
‘त्यस्तो हैन… यो त जिन्दगीको वास्तविकता हो । जुन अनुभव र दुःखले आज्र्याको हो भन्नुपर्छ । यस्तो सोच जो सुकैले कहाँ अगाडि सार्न सक्छ र ?’, मेरो थप टिप्पणीपछि उसले भनि, ‘…सायद हुनसक्छ । तर, मैले यस्तो फिल गर्न नै पाइन । बरु मैले त्यो ठूलो गल्ति गरें, अब म त्यो गल्तिबाट पाठ सिक्न चाहन्छु । किनकी मान्छेसँग आँफै गल्ति गरेर पाठ सिक्ने समय हुँदैन, अरुले गरेको गल्तिबाट पाठ सिकेर अगाडि बढेमा प्रायः सफलता प्राप्त हुन्छ भनिन्छ । हो, मैले त्यतिबेला हजुरलाई चिन्न सकिन । त्यो मेरो महान भूल थियो, आज मैले नै गरेको गल्तिबाट पाठ सिकेँ । अब म फेरि त्यस्तो गल्ति गर्ने छैन ।’
‘एउटा मिहेनती मान्छे भएर पनि मैले हजुरको त्यो मिहेनतको सम्मान गर्न सकिनँ । कामको कदर गर्न सकिनँ । नामको इज्जत गर्न सकिनँ । किनकि म एउटा गल्ति गर्न उद्दत थिएँ । प्रायः गल्ति गर्ने बेलामा सबैलाई यस्तै हुन्छ होला… है ?’
‘त्यतिबेला मलाई मन भन्दा पनि तनप्रति विश्वास थियो । आफूलाई आफँैप्रति विश्वास थिएन । मेरो मन मसँग नै थिएन । एउटा बादलसरि उड्दै थियो, कतै पागलसरि । अहिले आफ्नो विगतलाई फर्केर हेर्छु । जीवनलाई यताउति पारेर नियाल्छु, म आज मेरो जीवन मेरो रहेको देख्दिनँ । आजको यो बैभवता भन्दा त्यो निरिहता नै प्यारो लाग्छ । आज मेरो प्रणयले दर्शाएको मायाभाव भन्दा पनि हजुरको एउटा गाली नै प्यारो लाग्छ ।’
‘वास्तवमा हजुरले सुरुमा भनेको कुरा नै सही रहेछ । मान्छे खुसी हुने भनेको धन, सम्पत्ति र महलले होइन रहेछ । त्यो त क्षणिकका लागि मात्र रहेछ । मान्छे खुसी हुने माया र प्रेरणाले रहेछ । आज बल्ल मलाई यो कुरा थाहा भयो । त्यो बेला मेरो आँखामा एउटा पट्टी बाँधियो, पर्दा लगाइयो जिवनभरी । एउटा सेतो पर्दा, जुन हेर्दा स्फटिक थियो । तर, त्यो पर्दा पछाडिको कालरात्री र भयानक पीडा म बाहेक अरुले कहाँ बोध गरेका छन् र ? आज लाग्छ, हरेक मान्छेको मनभित्र एउटा पर्दा हुन्छ । बस्, त्यो पर्दाले ढाकिएको जिन्दगी चिन्न मात्र सक्नु पर्ने रहेछ । हेर्दा देखिने चीज मात्र जीवन होइन, त्यस पर्दारुपी जीवन पछाडि नदेखिने गरी लुकेर रहेको बस्तुको पहिचान गर्न पनि सक्नु पर्ने रहेछ ।’
‘हरेक मान्छेको मनभित्र स्मृतिका छालहरू उर्लेका हुन्छन् । मान्छेहरू त्यो छालसँग पौठेजोरी खेल्न चाहन्छन्, पौडिन चाहन्छन् । त्यही छालसँग मितेरी लाउँदै तैरिन चाहन्छन् । लहरा, पहरा समात्दै अगाडि बढ्न चाहन्छन् । तर सबैमा त्यो क्षमता कहाँ हुन्छ र ? खोलाको माछाजस्तै मान्छे कहाँ पौडिन सक्छन् र ? हो, म त्यही छालरुपी जीवनका तरंगसँग खेल्दा खेल्दै किनारमा आइपुगेकी छु । आज मसँग फेरि त्यो समुद्री छालमा ताल मिलाउने साहस छैन । अलिकति बँचेको साहस र धैयर्ता पनि गुमाएँ मैले ।’
ऊ धेरैबेर एक्लै बोलिरही…
यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।