तीर्थ सिग्दे

प्रिय मौनता,
तिम्रा मौन आवाजमा कति शक्ति रहेछ,
आज म महसुस गर्दैछु                                                                          तिम्रो आँशमा कति बल रहेछ,
आज म अनुभूत गर्दैछु
नबोलेरै पनि संसार जितिने रहेछ
हारेर पनि जितिने रहेछ संसार
हार त एउटा क्षणिक कुरामात्र रहेछ
जित्न त दौडनुपर्छ
प्रायः जित्नेहरूले दौडेरै जितेका हुन्
तर, जित्नुमात्र जीवन होइन
हारेर पनि जितको अनुभूति गर्न सकिन्छ

कतै पढेको थिएँ
मौन आवाजका चित्कार शिर्षकको कविता
कतै सुनेको थिएँ
मौनताबारेको गीत, गजल
आखिर ऊ पनि त मान्छे हो
तिमी पनि मान्छे नै हौ
उस्तै मान्छे
आखिर मान्छे मनको कैदी त रहेछ

तिम्रा मनका भावना
तिम्रा मनका चाहना र अव्यक्त भावहरू
तिम्रो नबोल्ने ओठ, कुरा नफड्कार्ने जिब्रो
र हाउभाउ बुझ्छु म
मुखले नबोलेर के भो र ?
आखिर मनको भाव आँखाले बोल्छ
ओठले सङ्केत नगरेर के भो र ?
निधारले खोल्छ, मनको कुरा

प्रकृति पनि स्वार्थी हुन सक्दो रहेछ
धर्ती पनि बाँझो हुन सक्दो रहेछ
यी दुवैले कसैलाई अन्याय गर्दैनन् भनेको सुनेको हो
तर यहाँ यो नियम लागु भएन
सामाजिक मूल्य र मान्यताले पनि चिनेन
तिम्रो मौनतालाई
चिनेन तिम्रो महान्तालाई
तिम्रो क्षमता र योग्यतालाई

के तिमी साँच्चै बोल्न सक्दिनौ ?
के तिम्रो मन र मुटु छैन ?
तिम्रो मनले कुनै आशाको सञ्चार गराउँदैन ?
के तिम्रो मनले पीडा, खुसी
र दुःखलाई आत्मसात् गर्न सक्दैन ?

तिमी पनि त मान्छे नै हौ
तिम्रा पनि कथाहरू छन्
बस्….नलेखिएको मात्र त हो
तिम्रा पनि वेदना छन्
कविहरूले वर्णन नगरेका मात्र त हुन्
तिम्रा पनि त सपना छन्
कुनै इन्जिनियरले नकोरको मात्र हो
तिम्रो पनि त ओठ छ
बस… नबोलेको मात्र हो

प्रिय मौनता,
तिम्रो त्यो मुहार देखेर
कुनै चलचित्रको निर्देशक मख्ख पर्न सक्छ
तिम्रा दन्तलहर हेरेर
कुनै विज्ञापनमा खेलाउन सक्छ
तिम्रा ती केशराशि
कुनै नायिकाको भन्दा कम छैन
तिम्रो त्यो हेराइमा
जो कोही पनि मोहित हुन सक्छ
तैपनि तिमी बोल्दिनौ ?
अब त बोल मौनता
तिम्रो मौनताले हद गरिसक्यो
मानिसहरू अब आफैँ बोल्न थाले तिम्राबारे
नानाथरिका कुरा काट्न थाले
तिम्रो सुन्दरताको बारेमा
तिम्रो महिमाको जताततै चर्चामात्र छ
तिम्रो मौनताको

चौरस्तामा बसेर पनि कोही बोल्न सक्छ ?
रातौँ रात अन्धकारमा
घाम, जून र वर्षायाममा
चोकबजार र गल्लीनिर
हल्लिएर र रल्लिएर बसेका
हुलका हुल मान्छेहरूका माझ

भट्टीहरूबाट, चलचित्रघरहरूबाट
गिर्जाघर र मस्जिदहरूबाट
फर्केका मान्छेहरूले तिमीलाई
दिनदहाडै गिज्याउँछन्
दिनभर निदाएर, रातभर भुक्ने कुकुरहरूले
तिम्रै समीपमा सु… गर्दा पनि तिमी बोल्दिनौ
जँड्याहाहरू, हुल्याहाहरू
श्रीमतीको डरले घर नपुगी
तिमै समीपमा निदाउँदा पनि तिमी बोल्दिनौ ?

मलाई थाहा छ
तिमी एउटी नारी हौ
नारी हुनुको खास पीडा तिमीलाई थाहा छ
म त एउटा पुरुष हुँ, पुरुष
पुरुषप्रति कतिपय महिलाहरूको रिजर्वेसन छ
खासगरेर फेमिनिस्टहरूको
फेमिनिस्टहरू पनि महिला नै हुन
तिमी पनि महिला नै हौ
तर, खोइ ? आज ती फेमिनिस्टहरू
तिम्रो बोलीमा लगाम लाग्दा
उनीहरू किन बोल्दैनन् ?

कैँयौपटक उनीहरू यही बाटो भएर गए
नेताहरूले यही चौबाटोमा मञ्च बनाए
भाषणमा कुर्लिए, नाटकहरू देखाइए
महिला अधिकारको नारा उर्लियो
सत्ता र भत्ताका लागि थरिथरिका आन्दोलनहरू गरिए
तिनै मान्छेहरू मन्त्री भए
हिजोमात्र डन मन्त्री भयो
ऊ आज यही बाटो भएर गयो

खासमा
तिमीले नचाहेर नबोलेकी हैन
बोल्न नसकेर हो
मलाई थाहा छ
तिम्रो ओठ कोमल छैन
तिम्रो जिब्रो मासुको हैन
सोच्न सक्ने मगज छैन
बुझ्न सक्ने क्षमता छैन
तिम्रा आँखाले देख्तैनन्
फर्काउन सक्ने विवेक छैन
तिम्रो मुटु ढुङ्गाले बनेको छ
किनभने तिमी मान्छे हैनौ
किनभने तिमी त ढुङ्गाको मूर्ति हौ
तिमी त चौरस्तामा सिङ्गमर्मरबाट कुदिएकी
फगत एउटी नबोल्ने मूर्ति हौ
मौनतामा अल्झिएकी एउटी पात्र हौ
मलाई बिर्स…
तिम्रो मुटु छैन