बतासले गीत गाउन थालेपछि
रूखका पात र डालीहरू नाच्न थाल्छन्
र मेरो मन पनि नाच्न थाल्छ बतासको लयमा
झरनाले बजाउँछन् करतल ध्वनि
पहाडका टाकुराहरू दर्शक बनेर मुस्कुराउँछन्

जीवनमा धेरै कुरा सिकाएको छ प्रकृतिले
र विनीत शिष्यझैँ  सिकिरहेछु

घामको झुल्कोसँगै हिमाल मुस्कुराउँछ
हिमालसँगै मुस्कुराउन थाल्छ मेरो ओठ
र त्यो मुस्कानले सुनौलो बनाइदिन्छ दिन
मलाई त्योभन्दा ठूलो उपहार के हुन सक्छ?

नदीको सुसाइको लय समाउँदै
धेरै चोटि गीत गाएको छु सँगसँगै
सुसेलेको छु लयमा लय मिलाउँदै
बगाउँदै छु जिन्दगी पानीको लहरसँगै

बोटबिरुवाको स्पर्शमा रमाएको हुन्छु
पातहरूलाई स्पर्श गरेर बात मार्छु
मलाई तिनै बोटबिरुवाहरूले
फुल्न सिकाएको छ
मुस्कुराउन सिकाएको छ
र नाच्न सिकाएको छ

म फूललाई खुसीको स्रोत देख्छु
फक्रेको फूलले मुस्कान फुत्काइहाल्छ
काँडा पनि फूलको रक्षार्थ सतर्क रहन्छ
आफ्नो धर्म निभाइरहेको हुन्छ
र सजग रहन सचेत गराउँदछ

ढुङ्गासँगै अनेक खेल खेलेको छु
म ढुङ्गालाई पूजेर हुर्किएको मान्छे हुँ
मलाई विश्वास छ कि, ढुङ्गामा सत्यता छ
ढुङ्गाले झूट बोल्दैन र पक्षपात गर्दैन
त्यसैले हो मैले ढुङ्गालाई पूज्न थालेको

बतासले मलाई कोट्याउन आउँछ
जिस्किएर, छिल्लिँदै, स्पर्श गरेर उडी जान खोज्छ
तर मैले अङ्कमाल गरिदिन्छु निश्चिन्त
मुटुको कुनाकन्दरासम्म लुकाइराख्छु

मध्यरात जूनको टहटह रोमाञ्चक उज्यालोमा
एकान्तमा जूनसित प्रेमिल बात मारेको छु
बिन्ती बिसाएको छु- जूनसँगै उडाई लैजान

जूनमा शीतलता मिल्छ
जिन्दगीको तनाव त्यही शीतलतामा निभाउने गर्छु

अनुपम यो प्रकृति
शाश्वत छ, जो छ प्रकृतिमा
आफ्नै कर्म र धर्ममा अडिग रहन्छन्
र अनन्त, अनवरत आफ्नै लयमा लीन छन्

प्रकृतिप्रति कृतज्ञ म
प्रकृतिवादको अनुयायी हुँ
मलाई प्रकृतिले सिकाएका पाठ:
कर्तव्यपरायणता
अनुशासनशीलता
मानवतावाद
र प्रकृतिवाद।