
प्रिय बहिनी तैं तैं !
रणशूर लिम्बूको ‘बर्माको सम्झना’ पढेर भावुक भएको थिएँ । आज त्यही सम्झनाको देशकी चेली तपाईंको लेखनी पढेर मोहित भएको छु । ‘सुबिन भट्टराईको स्टारडम’ पढेर यस्तो लाग्यो, स्टार लेखकमाथि लेख्ने स्टार लेखिका । कति मीठो भाषा, कति सुन्दर शैली ! अनि विषयको गहनता उस्तै ।
स्टारडमले तानेर मलाई तपाईंका अरू रचनाहरूतिर पुर्याइछाड्यो । अनि पढें, ‘नगरकोटीको तालु’ । तालुले मलाई पाटनको नगरकोटीय तान्त्रिक गल्लीमा डुलायो ।
त्यसपछि ‘ओइ काठमाडौं !’ यसमा तपाईंको नेपाली भाषाप्रेमले नतमस्तक बनायो । मेरो हृदयकै कुरा जेरोक्स गरेको जस्तो लाग्यो । लाज लाग्नुपर्ने हामी नेपालीलाई । हामीलाई न भाषा, न भेषको माया छ, हुँदाहुँदा देशको पनि माया लाग्न छाडिसक्यो; र त देश रित्तिँदै छ ।
‘ओइ काठमाडौं’ पढेपछि साहित्यपोस्टमै प्रकाशित आर्यशको कविता ‘काठमाडौं, सपना र म’ सम्झन्छु । काठमाडौंलाई एउटी वेश्यासँग तुलना गर्दै उनी आक्रोश पोख्छन्—
काठमाडौं काठमाडौंजस्तो लागेन
नेपाल नेपालजस्तो लागेन
यहाँका मान्छे मान्छेजस्तै लागेनन् ।
तर काठमाडौं यस्तो खाल्डो हो, यहाँ आएपछि कोही हारेर फर्कन चाहँदैन, बुद्धिसागरको उपन्यास ‘एक्लो’ र त्यसभित्रको प्रमुख पात्र ‘श्री’जस्तै ।
तपाईंले नगरकोटीका पुस्तकहरू पढ्नुभएकै छ । पढेको मध्ये मलाई सहज लागेको ‘अक्षरगन्ज’ र ‘फोसिल’ । ‘मोक्षान्त काठमाडौं फिभर’ रत्न पुस्तकका प्रकाशक गोविन्द दाइलाई जस्तै मलाई पनि भारी पर्यो । तर त्यहाँ परेको एउटा खास ठेट शब्दले बिझाइदिन्छ ‘फोसिल’मा भन्दा बढी । यसरी नै बिझाएको छ, नगरकोटीको चिल्लो तालुले पनि । तालुको तलतिर परेको यौनकेशजनित एउटा ठेट शब्दले ।
विसं २०६५ सालयताका केही चर्चित नेपाली उपन्यासहरू, मदन पुरस्कार विजेतासमेतमा यस्ता शब्दहरूको बाढी नै आएको छ । समग्रमा हेर्दा अनुपम रोशी, सीता पाण्डे आदि महिला लेखकहरू समेत जमेरै खुलेको पाइन्छ । उपन्यासहरूमा चल्ने गरेको भए पनि पत्रपत्रिकामा त अलि फोहर भयो कि ! खाली ठाउँ राखेर काम चलाउँदा राम्रो हुन्थ्यो होला । नयनराज पाण्डेको उपन्यास ‘उलार’मा एउटा खास ठेट शब्द रिक्तस्थानमै बुझ्नुपर्ने दृश्य यहाँ स्मरणीय छ ।
तपाईं कथा लेखनबाट पनि उत्तिकै परिचित हुनुहुन्छ । बाह्रखरी कथाको प्ल्याटफर्ममा तपाईं चम्किइसक्नुभएको छ । यो वर्षको लोकप्रिय उपन्यास ‘नीलो प्रेम’को चर्चा सुन्दै गर्दा तपाईंको कथा ‘नीलो साँझ’को सम्झना आयो । त्यो कथा मीठो गरी बहेको छ । कथाकी पात्रको नाम ‘टौटौ’ रहेछ । तपाईंकै नाम जस्तो लाग्ने । त्यसमा वर्णन भएको कामलीलाको प्रसङ्गमा आएको झिँगाको लीलासम्म त ठीकै छ जुन मैले पनि घरीघरी सामना गरेको छु । अन्त्यतिर चाहिँ अलि बढी नै खुल्नुभएछ । टौटौको औँला नै खराब बनाइदिनुभयो नि त ! तपाईंले शंकर लामिछानेको ‘एब्स्ट्रयाक्ट चिन्तन प्याज’ पक्कै पढ्नुभएको छ । मान्नुहोस्, शंकरले नै सोधे, “टौटौको औंला खराब गर्ने पदार्थ कतै आन्द्राको तेजबाट बारम्बार उम्रेर आउने सृष्टिको क्रिम त होइन ?”
तपाईंले बिपीको चर्चित कथा ‘कर्नेलको घोडा’ पनि पढ्नुभएकै होला । भन्न मन लाग्यो— टौटौको तत्कालीन मनोभावना र त्यसको प्रतिक्रिया कोइरालाको त्यो कथामा जस्तै बिम्बमार्फत आएको भए ख्याल मजा हुने थिएन ।
प्रिय बहिनी !
तपाईं यति तिक्खर लेख्नुहुन्छ । छिटै तपाईंको पुस्तकीय कृति पढ्न पाइने आशा गरें । साहित्यपोस्टमै प्रकाशितलगायत लेखहरूलाई संग्रह बनाउँदा पनि उम्दा नै हुनेछ । खासगरी, ‘ओइ काठमाडौं’को भाषाप्रेम समस्त नेपालीले देख्नुपर्छ भन्ने ठान्छु । त्यसैको सिरिजको किताब बनाउँदा फरक पर्दैन ।
लेख्नुहोस् र लेखिनरहनुहोस् । बर्मामा रहेर पनि नेपाली भाषाको सेवा गरिरहनुहोस् । तपाईंलाई इतिहासले बिर्सने छैन ।
अक्षरानुरागी
कमल बयेली
पोखरा ।
= = =
लेखकका तर्फबाट
आदरणीय कमल सर ! तपाईंका केही समीक्षा र कथा साहित्यपोस्टमै पढेकी छु । यस अर्थमा म तपाईंका भावना र अक्षरसँग परिचित छु । शुद्ध, छरितो लेखन र शालीन भाषाको प्रयोग तपाईंका निधि हुन्, जसले मलाई तपाईंप्रति आकर्षण जगाएको छ । मलाई कल्पना थिएन, तपाईंले मेरा सबै लेखहरू पढेर यति गहिरो प्रतिक्रिया दिनुहुन्छ भन्ने । जब यो प्रतिक्रिया सम्पादकमार्फत पाएँ, लाग्यो–एउटा पुरस्कार प्राप्त भयो । लेखनलाई निखार्न लेखकलाई यस्ता प्रतिक्रिया चाहिन्छन् । तपाईंबाट प्राप्त यो शाब्दिक उपहार सबैलाई बाँड्ने अभिप्रायले यसलाई प्रकाशन गर्ने निर्णय गरेको छ । आखिर साहित्यपोस्टको उद्देश्य पनि लेखक–लेखक बीच अझ निकट ल्याउने र नेपाली भाषा–साहित्यलाई उन्नत बनाउने हो ।
तपाईंले दिनुभएका प्रशंसाबाट म मात्तिने छैन । तर यहाँ प्राप्त सुझावलाई मनन गर्नेछु । आगामी दिनमा त्यसलाई कति उतार्न सक्छु थाहा छैन । तर नेपाली भाषा र साहित्य प्रति मेरो प्रेम आमा र शिशुको जस्तै छ र यो शिशु कहिल्यै ठूलो हुनेछैन, कहिल्यै आमा छाडेर परदेश लाग्नेछैन । यो विश्वास दिलाउन चाहन्छु ।
मेरा लेखहरू पढेर मलाई हौसला दिने, मार्ग निर्देशन दिने र प्रतिक्रिया दिने सबैलाई यहीँबाट आभार प्रकट गर्दछु । मलाई लेखनको चौतारी दिने साहित्यपोस्ट र यसका समग्र टिमप्रति मेरो अपार श्रद्धा कायम नै रहनेछ ।



यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।

