ऊ मेरो घरबेटीको छोरो । कतै जानुपर्दा ऊ मलाई पनि सँगै लिएर हिँड्थ्यो । घरमा गाईजस्तो देखिने ऊ बजारमा निस्केपछि भने बिरालोको रूप धारण गरिहाल्थ्यो । उसका साथीहरू सिपी खोज्न आएका हुन्थे । सिपी अर्थात् क्यान्सर पाइप रे ! उनीहरू सूर्य चुरोटलाई सिपी बनाउँदै छोट्याउँथे । हिरोले जस्तो पोज गरेर तान्न अभ्यस्त थिए उनीहरू । उनीहरू मेरो मुखमै फुक्न पनि पछि पर्दैनथे । म धुवाँले अत्तालिन्थेँ । खाऊ खाऊ भन्दै कर गर्थे ।राजधानीमा नौलोपौलो म हरेक कुरामा हाँसको बथानमा बकुल्लोजस्तो हुन्थेँ । अझ भनूँ भने म उनीहरूका लागि खेल्ने कुरो जस्तै भएको थिएँ ।

चुरोटको गन्ध घरसम्म पुग्नबाट रोक्नका लागि ओखती थियो सोलो चकलेट । सोलो मैले पनि खान पाउँथेँ । अब मैले चकलेट खाएबापत त्यसको मूल्य उठ्ने गरी काम पनि गर्नै पर्यो ।

ऊ भन्थ्यो, “यत्ति त गर्दिन्छ नि क्यामेल ब्रोले ।”

एउटा टेलिफिल्ममा गाउँबाट सहर पसेको हरि ह्यारी भएको हुन्छ । उसको लवाइ, हिँडाइ, बोलाइ सब बेग्लै अर्थात् सहरको हावाले छोइसकेको । त्यही हेरेपछि नै हो उसले मलाई क्यामेल भन्न थालेको । खुबै म ऊँट नै हुँ जस्तो !

मैले उसको मुख सुँघिदिनुपर्ने । मापसे गर्नेलाई ट्राफिक प्रहरीले गर्छन् नि त्यस्तै गर्नुपर्ने । उसलाई के नामले पुकारूँ ? चुसे ? मैले ‘ठिक छ’ भनेर लालमोहर लाइदिएपछि ऊ घरमा गाई भइहाल्यो ।

उसका बाआमा बिहेको कार्यक्रममा गाउँ गएका थिए । मैले उसलाई साथ दिनुपर्ने भयो । उसले बैठक कोठामा नै सुत्ने भन्यो । भुइँमा डन्लप ओछ्याएर पल्टियौँ । टिभी कार्यक्रम हेर्दाहेर्दै म त निदाएछु ।

राती केही आवाजले मेरो निद्रा खुल्यो । यसो हेर्छु त भर्खर जन्मिँदाको हुलियामा जवान गोरागोरी भाँडाकुटी खेलिरहेका । ऊ मलाई ढाड फर्काएर गजधम्म बसेको थियो । मैले आँखा तन्काएँ । टिभीको मधुरो उज्यालोमा ऊ घडी मर्मत गर्न लागेझैँ एकतमास आँखा टाँसिरहेको थियो । मेरा आँखा पनि फुक्लिएर गए र टिभीको स्क्रिनमा टाँसिए ।

टिभी बन्द गरेर ऊ बाहिर निस्कियो । उसले ढोका बिरालोको चालमा खोल्यो । टिभीको पर्दा निलाम्मे भयो । कवि भूपी शेरचनका नीला सर्पहरू दुलातिर पसे !

केहीबेरमा ऊ कोठामा झुल्कियो । ऊ फर्किँदा पनि बिरालो नै बनेको थियो । उसले भिसिडीबाट भिडियो क्यासेट फुत्त निकाल्यो । मलाई त उही गाउँघरतिर टेपको रिल मात्रै थाहा थियो । हामीले बिग्रेको क्यासेटको आन्द्रा घरको वरिपरि टाँगेर हावामा हुइँहुइँ बजाउँथ्यौँ । भिसीडी भन्ने त पछि मात्र थाहा पाएको ।

मैले निदाएझैँ गरेँ । टिभी बन्द गरेर ऊ पनि सुत्यो । उसको फ्वाँफ्वाँ सुरु भयो । म यता निद्रा टरेकाले हाई हाई गर्दै कोल्टे फेर्न लागेँ । आँखाभरि गोरागोरीका भाँडाकुटी नाच्न लागे । मेरो मुख रसैरस भयो । मेरा अगाडि दुइटा करौँती उभिए— उसले मलाई किन भनेन ? मीठोमसिनो एक्लै खाएको ?

⁕⁕⁕

ऊ र म स्वयम्भूबाट आ–आफ्नै साइकलमा हुइँकिएका हौँ । हाम्रा साइकल कालीमाटी, त्रिपुरेश्वर, थापाथली हुँदै बागमती पुल तरेर अगाडि बढे । हाम्रो गन्तव्य थियो पाटन । ऊ मैले पसल गर्दा मेरो ग्राहक थियो । उसले मलाई केही कामका लागि भनेर दगुराएको थियो । हामीले लगनखेल हुँदै पाटन दरबारको दिशा ताक्यौँ । एउटा पसलअगाडि उसले साइकल रोक्यो र दुई रुपैयाँ क्वाइन दिएर मलाई चकलेट किन्न भन्यो । म अनकनाएँ । उसले नै चकलेट किन्यो । एउटा चकलेट मलाई दियो र भन्यो, “यो पैसा हैन र ? तपाइँ साहुजी भएर पनि पैसा चिन्न नजान्नी यार !” ऊ मलाई पछिसम्म पनि साहुजी भन्थ्यो । उसले मलाई पैसाको मूल्य चिनायो ।

ऊ निखुर कालो थियो । उसलाई मान्छेहरूले घुच्चुकपछाडि रिट्ठा भन्थे । ऊ कुखुरालाई खुक्रा भन्थ्यो । ऊ मान्छेलाई मान्छी भन्थ्यो । ऊ पिस्तोल सजिलै हात पार्न सक्ने गफ पनि दिन्थ्यो । हिरोले जस्तै पिस्तोल हानेको अभिनय पनि गरिहाल्थ्यो । ऊ दीपक मनाङेको नाम लिएर डर पनि देखाइहाल्थ्यो । ऊ मेरो पसलमा कहिलेकाहीँ अण्डा माग्थ्यो र त्यहीँ प्याट्ट फुटाएर ठाडो घाँटी लाइदिन्थ्यो ।

मैले उसलाई सोधेको थिएँ, “इन्डियनहरू काम गर्न किन नेपालमा आउँछन् ? नेपालीहरू त काम खोज्दै भारतमा जान्छन् त ।” उसले भनेको थियो, “नेपालीहरू इन्डिया हजार कमाउन जान्छ, हामी यहाँ लाख कमाउन आउँछ ।”

म ऊसँग हिन्दी सिक्ने प्रयासमा कनीकुथी हिन्दी बोल्न खोज्थेँ । मैले बुझे झैँ हाँ हाँ गरेँ ।

उसले मलाई एउटा कपडा पसलमा पुर्यायो । ऊ कपडा लगेर प्रिन्ट हान्ने काम गर्थ्यो । त्यहाँ उसले भुक्तानी लिन रहेछ । त्यस दिन पनि उसले भुक्तानी पाएन । उसले पनि मेरो पसलबाट सामान लग्दा यसरी नै झुलाउँथ्यो । त्यस पसलकी साहुनी उसले नमस्कार गरेन भनेर रिसाई रे ! ऊ भन्थ्यो, “मैले त्यसलाई किन नमस्कार गर्ने ? मैले त्यसको के खाइदिएको छ ? एउटा नमस्कारको २० रुपैयाँ दिने भए म दिनभरि नमस्कार गरेरै बस्छु । नमस्कार थोडी सस्तो छ ?”

ऊ हरेक कुरामा पैसा अघि सार्थ्यो ।

उसको सम्पर्कको जालो त ठुलै रहेछ । उसले मलाई एउटा घरमा पुर्यायो । त्यो घरको माथ्लो तलाको कोठामा एक जना इन्स्पेक्टर’साब बस्दा रहेछन् । नमस्कार ठोकीवरी ऊ भुइँमै बस्यो । भुइँमा नरम कार्पेट ओछ्याइएको थियो । यो नमस्कारको उसले कति पैसा पाउँछ होला ? म पनि उसको नजिकै बसेँ । एउटा नमस्कार त मेरो पनि खर्च भयो । मैले पनि पैसा पाउँला के !

इन्स्पेक्टर’साब ३२ इन्चको टिभीमा क्रिकेट हेर्दै रहेछन् । केहीबेरपछि उनले भिसिडी हाले र टिभी खोले । उनको टिभीमा अब अर्कै खेल सुरु भयो । सेतो जोडी नीलो धन्दा गर्दै थियो । ठुलो टिभीमा सबै कुरा ठुलै देखिए । रोमाञ्चित हुँदै सोध्छन् झन्, “ठिक छ हैन भैया ?” मलाई त भैया पो भनिदिए । त्यहाँबाट निस्केर कतै ऐना हेरिहालूँ जस्तो भएको थियो मलाई । उनीहरू मलाई हेरेर आँखा सन्काइरहेका थिए । टुँडाल सम्झिएँ अनि म किसमिसजस्तै चाउरिएँ ।

पुलिस अफिसरसँग छु । सँगै गएको ऊ साक्षी छ । नदेख्नुपर्ने के के देख्दै छु ? सपना हो कि बिपना जस्तो । मलाई भने आफ्नै साँप्रा चिमोटूँ चिमोटूँ जस्तो भएको थियो ।

⁕⁕⁕

हनुमान ढोका डबलीछेउको एउटा साइबर क्याफेतिर लाग्छु । क्याफे सडकको सतहभन्दा अलि तल छ । ढोकाको निधारमा लेखिएको छ —माइन्ड योर हेड । हेड माइन्ड गरेर म भित्र पसेँ । एउटा लेख टाइप गरेर पठाउनु छ । एउटा खाली कम्प्युटरमा बसेँ । क्याफे सञ्चालक किबोर्ड काखमा लिएर पटटट पटटट टाइप गर्दै छन् । मलाई पनि उनले जस्तै टाइप गर्न कहिले आउँछ होला ? आफैँसँग प्रश्न । मेरो पछाडि बेन्च थियो । बेन्चमा कलेजका केटीहरू बसेका थिए । उनीहरूले मसिना ठाडो धर्का भएको आकाशे कमिज र नीलो पाइन्ट लाएका थिए । उनीहरू कम्प्युटरको पालो कुर्दै थिए ।

मलाई इमेलहरू हेर्न मन लाग्यो । एउटा पछिल्लो मेलले मेरो ध्यान तान्यो । के रहेछ भनी फ्याट्ट खोलिहालेँ । दृश्य त हेरिनसक्नु पो ! स्क्रिनभरि एउटा युवती मैतिर फर्केर टुक्रुक्क बसेकी थिई । उसको ज्यानमा कुनै वस्त्र थिएन । म कति आत्तिएँ भने के गर्ने भन्ने मेसो नै पाइनँ । मैले डाइरेक्ट सट डाउन गरेको भए हुन्थ्यो होला तर त्यस्तो चेत कहाँ ? म त दुई हातले स्क्रिन छोप्न पो थालेछु । यसो पछाडि फर्कन्छु त केटीहरू एकापसमा हेराहेर गर्दै हाँसिरहेका । मेरो बेहाल देखेर उनीहरू उठेर बाहिर गए । बल्ल पो दृश्य बन्द गर्ने होस आयो । कम्प्युटर बन्द गरिसक्दा मेरो अनुहारमा पसिनाका दाना फलिसकेका थिए ।

⁕⁕⁕

त्यो साइबर क्याफेको जमाना थियो । पोखराको एउटा साइबर क्याफेमा पसेको छु । तीनवटा सटर भएको ठुलो कोठामा थुप्रै कम्प्युटरहरू राखिएका छन् । कम्प्युटरहरू तीनतिरै भित्तालाई मुख फर्काएर बसेका छन् । हरेक कम्प्युटरका लागि क्याबिनको व्यवस्था छ । पछाडि भित्ता र दायाँ बायाँ पार्टेसन भएको कारण गोपनीयता राम्रो छ । प्रायः साइबर क्याफे यस्तै हुन्थे । कतैकतै त फेन्सी स्टोरको चेन्जिङ रुमजस्तै लक गरेर ढुक्कले बस्ने व्यवस्थासमेत हुन्थ्यो । श्रीमान् विदेशमा हुनेहरूलाई टार्गेट गरेर बनाइएका साइबर क्याफेमा प्रायः जवान महिलाहरू हुन्थे । भिडियो कलको विकल्प साइबर क्याफे नै त थियो ।

लम्बाइतिरको एउटा कम्प्युटरमा बसेको छु । मेरो बायाँतिरको कर्नरमा रहेको कम्प्युटरमा एउटी केटीको आवाज अलि चर्को चर्को सुनिन्छ । ऊ घरीघरी कुनै केटाको नाम पुकार्छे । उसको आवाज लट्ठ परेको सुनिन्छ । उसको कुरा सुन्दा ऊ उसको लोग्नेसँग भिडियो कल गर्दै छे भन्ने अनुमान गर्न सक्छु । ऊ यसरी हराएकी छ मानौँ ऊ आफ्नै घरको कोठामा छे ।

यसो आँखा तन्काएर हेरेँ । उसले हरियो कुर्ता लगाएकी रहिछे । ऊ अझै उत्तेजित हुँदै बोलिरहेकी छ । डिस्टर्ब नै भयो । म चाहन्छु उसलाई भोल्युम कम गर्न भन्न । तर दृश्यले मेरो भोल्युम नै बन्द भयो । क्याबिनको कम्प्युटरमुनिको भाग केही खुला थियो । उसले कुर्ताको अगाडिको फेर उचालेकी थिई । सुरुवाल तल सारेकी थिई । अरू त वर्णन गर्नै परेन । थाहा पाएँ, उसले त भिडियो कलमा प्रत्यक्ष प्रसारण गरिरहेकी रहिछे । मेरो दिमाग नै शून्य भयो । एकाएक मुटुको धड्कन बढेर आयो । अनुमान गर्न सक्छु, प्रतिमिनेट १२० पुगेको थियो होला धड्कन । मेरो त शरीरै शीताङ्ग भयो । एक घण्टा पुग्न अझै २० मिनेट बाँकी थियो । म त्यहाँ धेरैबेर बस्नै सकिनँ । ऊ जोसिइरहेकी थिई । म ३० रुपैयाँ बुझाएर फटाफट आफ्नो बाटो लागेँ । म पछाडिको भित्तामा टाँगिएका बुद्ध मौनधारण गरिरहेका थिए ।