
दुई महिनाअघि । बिहानको करिब ८ बजेतिर प्रधानसम्पादक अश्विनी कोइरालाको फोन आयो । म पद्मकन्या कलेजमा पत्रकारिताको कक्षा लिइरहेकी थिएँ ।
‘मालती उपन्यास कहाँ छ ? भागीरथी श्रेष्ठको ।’ हेलो, हाइ केही नभनी सोधिएको त्यो प्रश्नमा अलिकति रिस र डर मिसिएको भान भयो । यो किसिमको फोन बिरलै आउँछ । कुरा महत्त्वपूर्ण छ ।
मैले आफूलाई सामान्य बनाउँदै भने, ‘मसँग छ सर, चिन्ता लिनुपर्दैन ।’ थप केही भन्दै थिएँ, उताबाट फोन कट्यो ।
‘मालती’ पहेँलो गाता भएको भागीरथी श्रेष्ठको पहिलो उपन्यास । अझै पनि याद छ, म नेपाल आएको दुई तीन हप्तापछि, सम्पादकज्यूले केही उपन्यासहरू हातमा थमाइदिएर भन्नुभएको थियो, ‘यी साहित्यपोस्टले डिजिटल रूपमा प्रकाशन गर्न लागेका उपन्यासहरू हुन् । सबै टाइप गर्नुपर्छ । सबैभन्दा पहिले भागीरथी श्रेष्ठको गर्नू, त्यसमा पनि मालती चाहिँ सुरुमै ।’
काम भनेपछि हुरुक्कै हुने समय थियो । भर्खरभर्खर साहित्यपोस्टमा तालिम लिन थालेकी । नयाँ ऊर्जा र नयाँ उत्सुकता । किताब हेरेर बुझिन्छ त्यो किताब कति पुरानो हो र त्यसलाई कति जतनले कसरी थन्काइएको थियो । टाइप गरिरहेका अरू किताबको काम छाडेर मालतीको काम सुरु गरेँ । केही दिनमै मालतीको काम सकिएको सूचना सम्पादकलाई दिएपछि म अरू काममा लागेकी थिएँ । यत्रो समयपछि अचानक सम्पादकको रिस र डर मिश्रित फोन कटेपछि लाग्यो, केही त गडबड छ ।
अफिस पुग्नेबित्तिकै त्यो उपन्यासको खोजी गरियो । भुइँपत्ताल लाएर । आत्तिएका कारणले होला, भनेको समयमा किताब भेटिएन । म एकदम हडबडाएँ । टाइप गर्दा कति सुमसुम्याएको थिएँ त्यस उपन्यासलाई । राखेको ठाउँमा नभेट्टाउँदा म आफैसँग रिसाउन थालेँ । आफैँ कतै गोप्य स्थानमा थन्काए पनि हुन्थ्यो नि, अफिसमा किताबहरूको भीडमा त्यो मालती कता परि होली ? पुरानो किताब भनेर कसैले फ्याकेको रहेछ भने ? फेरि सम्झाएँ, त्यस्तो नहराउनु पर्ने हो । यतै कतै हुनुपर्छ । टाइप गर्नुपर्ने किताबकै खातमा भनी संयमित भई पुनः खोजेँ ।
टाइप गरिसकेका किताबको थुप्रोमा मालती थिइनन् । म आत्तिएँ । टाइप गर्न बाँकी किताबहरूमा खोज्न थालेँ । अँ, भेटियो । लामो सास फेरेँ । किताबलाई पुरानो शैलीले धागो, रसीले ब्यान्डिङ गरिएको थियो । अब त्यो गल्ती नदोहोरोस् भनी आफैसँग राखेँ ।
भागीरथीको यो उपन्यास टाइप गरेपछि मैले साहित्यकार भागीरथीलाई चिनेकी हुँ । म जन्मनु धेरै वर्षअघि लेखिएको त्यो उपन्यास पढेपछि मैले उनका कथाहरू खोज्दै साहित्यपोस्टमा छाप्दै गर्न थालेकी थिएँ । एक प्रकारले म नचिनिएकी, नदेखिएकी एउटी लेखिकासँग प्रेममा परेकी थिएँ ।
सम्पादकजी अफिसमा आउनु भयो र सोध्नुभयो, ‘खै मालती ?’ मानौँ यसैका लागि उहाँ तड्पिरहनु भएको छ ।
मैले आफ्नो ब्यागमा भर्खरै जतन गरेर राखेको उपन्यास उहाँको हातमा दिएँ । उहाँ उज्यालो हुनुभयो । केटाकेटी जस्तै बुरुक्क उफ्रिनु भयो । त्यसपछि किताबलाई प्रेमपूर्वक सुमसुम्याउँदै भन्नुभयो, ‘भागीरथी श्रेष्ठसँग भेट्ने हो ? उहाँले घर बोलाउनु भएको छ । १२ खरी कथा प्रतियोगितामा तिम्रो कथा छानिएपछि उहाँले तिमीलाई याद गर्नुभएको रहेछ ।’
ताजा ताजा छ, उहाँका कथाहरूको स्वाद मेरो मनमा । यस्तो बेलामा मलाई उहाँले चिन्नु भएको र घरमा बोलाउनु भएको कुराले खुसीको भण्डार नै मेराअघि राखिदिएको भान भयो ।
मैले स्वीकृतिको मुन्टो हल्लाउँदै भनेँ, ‘कहिले जाने ?’
उहाँले भन्नुभयो, ‘दिदीले खबर गर्नुुहुन्छ ।’
अनि एकदिन, सम्पादकको बाइकमा बसेर म बुढानीलकण्ठ जाने मूलरोडमा चपलीहाइट नपुग्दैको एउटा मोडमा चिटिक्क उभिएको उहाँको घरमा पुगेँ ।
फलामे गेट छिरेपछि सिधै उहाँको कोठामा छिर्ने बन्दोबस्त रहेछ । उहाँ एक्लै भान्सामा केही गरिरहनु भएको थियो । हामीलाई स्वागत गरेपछि उहाँले भन्नुभयो, ‘भोक लागिसक्यो होला, पहिले खाना खाऔँ ।’
मैले यताउति परिवारका अन्य सदस्यलाई हेरेँ । कसैलाई देखिनँ । टेबलभरि परिकार सजाउन थाल्नु भएको थियो, एक्लै । सहयोगी कोही देखिनँ । जब उहाँलाई सहयोग गर्न चौकामा पसेँ । अलमलमा परेँ । के गर्ने के नगर्ने । केही गल्ती पो भइदिन्छ कि । उहाँले कुरा गर्दै, तताउनु पर्ने खाना तताउँदै टेबलमा राख्न थाल्नुभयो । बीचबीचमा चौकाबाट टेबलसम्म पुर्याउने काम मलाई दिनुभयो । मलाई सहज भयो । ओसार पोसार गर्दै कुरा गरेँ ।
उहाँले सोध्नुभयो, ‘तिमी त बर्मेली, दाल-भात कतिको मन पर्छ ?’
जहाँ जन्मे पनि, नेपालीहरू भाते नै हुन्छन् । म पनि त्यस्तै छु । मैले भनेँ, ‘एकदम मन पर्छ । अझ गुन्द्रुक र तामा भनेपछि हुरुक्कै ।’
‘खाट्टी नेपाली रैछौ ।’ उहाँको भनाइले नागरिकताको प्रमाणपत्र दिएको भान भयो ।
सबै खानेकुरा टेबलमा ल्याएपछि केही सम्झँदै भन्नुभयो, ‘साँच्ची, अण्डा खान्छौ होइन ? भुसुक्कै बिर्सेछु ।’ यति भन्दै उहाँ फुर्तीसाथ उठ्नुभयो र एकै छिनमा अण्डा तार्न थाल्नुभयो ।
उहाँको हलुको र स्वस्थ जीउ देखेर म छक्क परेँ ।
‘यी सबै परिकारहरु आफैँ बनाउनु भएको ? अमलेट टेबलमा राख्दै गरेकी उहाँलाई सम्पादकले सोध्नुभयो ।
‘हो त, पहिले सासू हुनुहुन्थ्यो । उहाँपछि त एक्लै । हुनु त छोरा बुहारीहरू छन्, तर मलाई एक्लै बस्न मन लाग्छ । सगोलमा बस्ने हो भने यसरी तपाईंहरूलाई बोलाउन, मन लागेको कुरा खुवाउन पाउँथे ?’
उहाँ फेरि जुरुक्क उठ्नु भयो । हाम्रो गिलासमा तातो पानी गिलासमा खन्याएपछि भन्नुभयो, ‘जीवनमा स्वतन्त्रता धेरै महत्वको कुरा हो । स्वतन्त्रता प्यारो लाग्छ । आफ्नो स्वास्थ्यअनुसारको खाना पकाउने खाने, मन लाग्यो पढ्ने, मन लाग्यो जाने, मन लाग्यो सुत्ने । मेरो कारणले कसैलाई दुख नहोस् चाहन्छु ।’
कोठा सफा थियो । सरसामान मिलाइएका थिए । किताबको थुप्रो भए पनि ती असरल्ल थिएनन् । नजिकै खाट, बस्ने सोफा अनि एक खुड्किला माथि भान्सा र डाइनिङ टेबल ।
मलाई उमेर पुगिसकेकी एउटी प्रख्यात लेखिका यसरी एक्लै आनन्दले बसेकोमा अनौठो लाग्यो ।
पहिले हामीलाई किसिम किसिमले बनाएका अनेक परिकार ख्वाउनुभयो । त्यसपछि उहाँले आफ्ना लागि बनाएका सादा, अमिलो, पीरो चिल्लो केही नभएको सामान्य खाना खानुभयो । उहाँको यो आत्मीय माया देखेर मलाई आमाको याद आयो । खाना खाइसकेर उहाँ भान्सा सफा गर्न लागेपछि मलाई खटपट लाग्यो । हामीलाई केही गर्न नदिएर फुर्तीका साथ काममा खटिरहेको देख्दा मलाई उमेर जान्ने इच्छा भयो ।
कति वर्ष पुग्नुभयो ?
‘बुढी भएँ नि । ७५ वर्ष पुगिसकेँ ।’
अहो, उमेरले नेटो काटे पनि उहाँको फुर्ति ५०-६० जस्तो देखिन्थ्यो । फेरि आमा सम्झिएँ । आमा उहाँभन्दा कान्छी हुनुहुन्छ । तर यति फुर्तिलो हुनुहुन्न ।
००००
म आतुर छु, उहाँको कथा सुन्न । उहाँ भने धेरै ठाउँमा छापिइसकेका, लेखिइसकेका कुरा दोहोर्याउनु हुन्न भन्दै टार्न खोज्नु भयो । म एकछिन निन्याउरो भएँ ।
‘लौ हेर, रिसाएकी ।’ यति भनेर उहाँ हाँस्नुभयो । कति सरल र कति हँसिली । छक्क परेँ । थोरै पनि घमण्ड देखिएन उहाँमा ।
एकैछिनमा उहाँ धाराप्रवाह आफ्ना बारेमा बोल्न थाल्नुभयो । घरी मज्जाले हाँस्नुहुन्थ्यो, घरी निदाउरी । यस्तो लाग्दथ्यो, उहाँ बोल्दै गर्दा ती क्षणमा बाँच्दै पनि हुनुहुन्छ ।
उहाँ चार भाइकी एक बहिनी । जन्मथलो रिडी, त्यहाँको माध्यमिक विद्यालयमा पढ्नुभएको । भन्नुभयो, ‘सरहरूले एसएलसी पास गर, विद्यालयको नाक राख । चार जना थियौँ । कोशिस गरी पास भएँ । पास भइसकेपछि त्यहाँ उपहार दिनेहरूको लाइन लागेको थियो । दुर्लभ मानिने चाइनिजका पेन, अनि गिलास, थाल । भुइँमा खुट्टा नै थिएन । संसार नै जितेको जस्तो अनुभव भएको थियो । अहिले सोच्दा हाँसो उठ्छ । लाटो गाउँको तन्देरी भइयो । त्यहीँ पढाउन थालेँ । म केही नजान्नेले के चाहिँ पढाएँ होला ।’
उहाँको हँसिलो अनुहार झन् चम्कियो । म उहाँको खुसी महसुस गरिरहेँ । त्यो क्षण लामो हुन पाएन । उहाँको चम्किलो अनुहार एकाएक मलिन भयो र भन्नुभयो, ‘पढ्न एकदम मन लाग्ने, त्यो बेला रेडियो नेपालबाट बजेका गीत सुन्थेँ, गीतका लयहरूमा आफ्नै शब्दहरू भर्थें, गाउँको सानो पुस्तकालयमा जान्थेँ । प्रायः हिन्दी किताबहरू पढ्थेँ । नबुझी पनि कनिकथी पढेको पढै गर्थेँ । सरल भाषामा लेखिएका किताबको भाव बुझेर चाहिँ रमाउँथेँ । बुटवलको स्थानीय पत्रिकामा मेरो कविता छापियो सरद्वारा । साहित्यकार मोदनाथ प्रश्रितद्वारा निमन्त्रणा पत्र आयो, झापाको साहित्य सम्मेलनको लागि । दाजुहरू कोट्रोबासि भएपनि बाबा, आमा भने उदार नै हुनुहुन्थ्यो त्यो बेला पनि । अनि मिटिङ बसियो ।
त्यहाँबाट झापासम्म कसरी गइयो त्यो याद छैन । जब त्यहाँ पुगेँ मेरो परिचय यसरी दिइयो त्यहाँ – परिवार लिएर आउने साहित्यकार ।’
उहाँको कुरा सुनेर अचम्म लाग्यो । हुन पनि हो उहाँ आमा र दाजुसहित जानु भएको थियो साहित्य सम्मेलनमा । त्यो बेलाको गाउँघर, समाज मेरो आँखाअगाडि सरासर आइदियो ।
उहाँ भन्दै जानुभयो, ‘त्यो बेला मैले एउटा गीत प्रस्तुत गरेँ । जब प्रेमा शाहको ‘मलाई सम्भोग गर’ भन्ने कविता वाचन भयो । हलभरि वेन्स मोरले गुञ्जयमान भयो ।’ उहाँको भनाइअनुसारको त्यो गुञ्जाइ मैले कल्पना गर्न सक्छु । मैले एकछिन प्रेमा शाहलाई सम्झिएँ । र उहाँको त्यो कवितालाई पनि ।
समय लागेन वर्तमानतिर फर्किन । र सोधेँ, ‘काठमाडौँ चाहिँ कसरी आइपुग्नु भयो ?’
‘त्यसपछिको कुरा हो जब रेडियो नेपालबाट काठमाडौँमा छात्रावास खोलिँदै छ भन्ने कुरा आयो । जब मेरो पढ्ने इच्छाले झन् उग्र रूप लियो । तर त्यति सजिलो थिएन त्यो अवस्था । परिवारलाई भनेँ – यदि मलाई पढ्न दिएन भने यही नदीमा हामफाल्छु ।’
यसरी परिवारलाई थर्काई थर्काई मिटिङ बसाल्न वाद्य गर्नुभयो । पढ्ने महत्त्वाकाङ्क्षा होस् त यस्तो । गर्ने मन मात्र हुनुपर्छ । यो उदाहरण हो । मिटिङको निष्कर्ष अनुसार पढ्न आउनु भयो ।
अगाडि कुरा बढाउनु भयो, ‘विवाहको कुरा नआएको त कहाँ हो र ? म मान्न तयारीमा थिइनँ । जब म काठमाडौँ आउने भयो सबैले के बुझेका थिए भने अब यो पोइल जान्छे । तर म त्यो अवस्था आउन भने पटक्कै दिइनँ । जब कलेज जाने बाटोमा लाममा बसेका हुन्थे केटाहरू । जिस्काउँथे अनेक । उनीहरूबाट बच्न नै गाह्रो हुन्थ्यो ।’
केटी पढ्छे त पैला जान्छे भन्ने समाज पनि बुझ्न गाह्रो लागेन मलाई । उहाँको सफलतामा उहाँको परिवारले अवश्य गौरव गर्नुभयो नै । भन्नुभयो होला – छोरीले धेरै राम्रो काम गरिछ पढेर ।
त्यसपछि उहाँको पढाइको संघर्ष सुरु हुन्छ । पढ्ने रुचि उहाँको त्यो अनुभव मीठो लाग्यो । कताकता रोमाञ्च पनि महसुस भयो । उहाँ काठमाडौँबाट परीक्षा दिएर जानुभयो कुरा निक्ल्यो त्यहाँ गर्ने नाटक सम्बन्धी । ‘पढी गाउँ फर्केँ र त्यहाँको विद्यालयलाई केही गर्नुपर्छ भन्ने भावनाले गाउँका केटीहरूलाई जम्मा गरी नाटक खेलियो ।’
अघिदेखि मनमा खट्किरहेको कुरा निकाल्छु । उहाँको विवाह । भन्नुभयो, ‘गाउँको त्यो घरमा नै विवाह भयो । मेरो श्रीमान्लाई पनि साहित्यमा रुचि थियो त्यसैले कुनै बिघ्न आएन । अगाडि बढिरहेँ । गाह्रो त हुन्छ नै । काम, छोराछोरी, घरव्यवहार तर मन मात्रै हुनुपर्छ समय निकालिँदो रहेछ लेख्नको लागि ।’ जुन म सधैँ डराइरहने विवाहको र लेखन बीचको उहाँको धारणा सुनेर म आफूलाई लाक्षी पाएँ ।
मैले बीचैमा कुरा काटेर प्रश्न गरिहालेँ, ‘जीवनी लेख्ने विचार गर्नु भएको छ कि छैन ?’
निकै आत्तिएर बोल्नुभयो, ‘जीवनीको कुरा सोच्न थाल्छु । टाउको दुखेर आउँछ । कारण, के भने म माया ठकुरी र पद्मावती सिंह मिलेर आफ्नो आफ्नो आत्मकथा लेख्ने निर्णय गर्यौँ । आफूले लेखेका कुरा आदान प्रदान पनि गर्न थाल्यौँ । तर जब विवाहपछिको घटनाहरू लेख्ने कुरा आयो, हामी सबै रोकियौँ । खासमा असल्ली जीवन त विवाहपछि पो सुरु हुने रहेछ ।’
उहाँका कुराले हाँसो थाम्न सक्दिनँ । शायद यहाँ मेरो हाँसो अलिकति उन्मुक्त हुन पुग्छ ।
‘त्यसपछिको यात्रा लेख्नै सकिन्नँ । आँटै आउँदैन । आफूसँग जोडिएका हाँगाबिँगालाई असर गर्ला । जीवनमा राम्रो मात्र भएको छैन, त्यहाँ झुटो बोल्ने कुरा आएन । खुलेर लेख्न सकिन्न । अड्कलेर लेख्न मन लाग्दैन ।’
त्यसको लागि उदाहरण दिनुभयो मलयालम भाषाकी चर्चित भारतीय लेखिका कमला दासको । खासमा कमला दासलाई क्यान्सर भयो । अब मर्ने भइयो भनेर जीवनका सबै पाटाहरू खुलाउँदै स्थानीय पत्रिकामा छाप्दै गइन् । तर उनी क्यान्सरमुक्त भइन् । घर फर्कंदा उनलाई श्रीमान्ले पारपाचुकेको पत्र थमाइदिए ।
अनेक कुरा गर्दै जाँदा मैले सुरुमा पढेको र टाइप गरेको मालती उपन्यासतिर फर्कें । मलाई मालती उपन्यासको अन्त्य अलि अस्वाभाविक लागेको थियो । जिज्ञासा राखेपछि भन्नुभयो, ‘पोखरामा श्रीमान् जागिरमा हुँदाको कुरा हो । एकजना नाता पर्ने पाल्पाकी सानो छोरा लिएर आएकी थिइन् । पाल्पाको पोस्टिक खोला भन्ने केटी गाउँकै केटाले बिहे गरेर कलकत्ता लिएर गए । अनि तीन महिनापछि एकजना पन्जाबीले अपहरण गरे । तर माइती र घर सम्झिरहने ती केटी उता छोराछोरी, घर छोडेर गाउँ आई । फेरि पहिलो लोग्नेले अपनाएको थियो । त्यो घटनाले छोयो । बच्चालाई ऊ छोडी आउँदा आँखाबाट तप्प तप्प आँसु खसालेको थिएँ ।’ उहाँ एकछिन रोकिनुभयो । शायद विगतको आँसुले अहिले पनि पोलिरहेको छ ।
‘जुन मैले मालतीको उपन्यासको अन्त्य त्यसै संयोगान्त गरेको थिएँ ।’ फेरि रोक्नुभयो ।
अचम्म मान्दै सोधेँ, ‘कसरी, कहाँ कुरा बिग्र्यो ?’
‘त्यतिखेर म भूमिगत नेताहरूको संगतमा थिएँ । लेखेपछि समाजलाई पाटीको सकारात्मक सन्देश दिनुपर्छ । केही अपवादबाहेक तत्कालीन समाजले अपहरण गरिएकी दुई छोराकी आमालाई लोग्नेले स्वीकार गर्नै सक्दैन । यस्तो उपन्यासमा राजनीति छिराउँदा केही फाइदा पनि हुन्छ भन्ने कुरा आयो । अनि भएका घटना छाडेर काल्पनिक अन्त्यले उपन्यास बिग्रन गएको हो । मलाई त्यसले चुकचुक गराइरहन्छ । अझै पनि दुख लाग्छ त्यसको ।’
त्यो बेलाको समाज, राजनीतिको प्रभावमा पर्ने साहित्य-परिवेश स्पष्ट गरी आँखामा आयो ।
बिस्तारै हाम्रो हिँड्ने बेला भयो । अफिसको काम बित्न थालेको थियो । हिँड्दा हिँड्दै मैले सोधेँ, ‘दिदी तपाईंको यो एक्लो जीवन देखेर विवाह नगर्ने मेरो विचारलाई बल दियो । ‘तपाईं चाहिँ के सुझाव दिनुहुन्छ ?’
उहाँले अलि अचम्म मान्दै भन्नुभयो, ‘अहिलेको तिम्रो स्वास्थ्य बोलेको हो । जतिसुकै एक्लै बसे पनि आखिर परिवार चाहिन्छ नै । त्यसैले बिहे त गर्नैपर्छ । के बुझ भने जीवन सम्झौता हो ।’
‘…!’
म चुपचाप भएँ । उहाँको त्यो कोठा एकपटक सरासर नियालेँ । आँखाभरि स्वतन्त्रताको दृश्य नाचिरह्यो । नाकभरि स्वतन्त्रताको सुगन्ध फैलिरह्यो । कानभरि स्वतन्त्राको आवाज गुन्जिरह्यो । मनभरि स्वतन्त्रताको अनुभव भइरह्यो ।
टक्क रोकिएँ । ‘विवाह !’
जाने तरखरमा हामी उभियौँ तर मनमा एउटा प्रश्न घाँटीसम्म आएर अड्किरह्यो । ‘तपाईं छोराबुहारी, नाति-नातिना हुँदा हुँदै पनि एक्लै बस्नुहुन्छ । स्वतन्त्रताको वकालत गर्नुहुन्छ । अरूलाई चाहिँ विवाह गर्ने सल्लाह दिनुहुन्छ, किन होला ?’
गेटबाट बाहिर आउन्जेलसम्म पनि उहाँलाई प्रश्न गर्न मन लागिरहेको थियो तर सोध्न सकिनँ । अब सायद यो प्रश्न सोधिन्न र उत्तर पनि पाइन्न ।



यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।

