चार पुस्तापछि ४ हजार किलोमिटर दूरी पार गरेर पुर्खाको धर्तीमा टेकेको आज दुई वर्ष पूरा भएको छ ।
काठमाडौं खाल्डोबाट पूर्वतिरको कुनै जिल्लालाई हाम्रा पुर्खाले भारी मनले छाडेका थिए रे । उनीहरूले देश छाडे, गाउँ छाडे तर भाषा छाड्न सकेनन् । समयसँगै धेरै कुरा परिवर्तन भयो, तर उनीहरूले बोकेर गएको संस्कृति, परम्परा र चालचलन छाड्न मानेनन् । पुस्तौंपुस्ता बितिसक्दा पनि कुनै दिन नेपाल फर्कने अभिलाषाले आफ्ना सन्तानलाई सकेसम्म बर्मेली हुनबाट रोक्दै गए ।
परिस्थितिले ठिमाहा बनाउँदै लगे पनि हामीलाई नेपालका अनेक कथा–व्यथा र मीठामीठा कल्पनाका कुरा सुनाइयो । त्यसमा जोडिएका आधुनिक सञ्जाल र सञ्चारले मलजल गर्यो । त्यसपछि त के थियो, भाषाको माया, तिम्रो माया र केही सिक्ने अभिलाषाले डोहोर्याउँदै मलाई तिम्रो धर्तीमा उतार्यो ।
जब विमानस्थलबाट ट्याक्सी लिएर सिनामंगलतिर झर्न थालें – लाग्यो, सिनेमामा हेरेको, सपनाहरूमा देखेको र पितापुर्खाले बताउने गरेको नेपाल (काठमाडौं) त अर्कै भइसकेको रहेछ । तिमी त नचिनिने पो भएका रहेछौ ।
यी दुई वर्षभित्र मैले थाहा पाएँ, तिमीले धेरैलाई सपनाको खाल्डोमा, कतिलाई आशैआशैको खाल्डोमा पुरेका रहेछौ । कतिलाई त सपना देख्नै नसक्ने गरी असफलताको विष पिलाइदिएका रहेछौ । आफ्नो मानेपछि देखेको–भोगेको कुरा त खुलेरै भन्नसक्नु पर्यो नि त । हैन र ?
बाहिरबाट हेर्दा जति तिमी शक्तिशाली देखिन्छौ, भित्र त्यति नै कमजोर छौ भन्ने विश्वास गर्दिन थिएँ । ‘रे’को पछि लाग्ने मेरो स्वभाव छैन । शुरूशुरूमा विश्वास नगरे पनि पछि अनुभवले हो मा हो मिलाउन वाध्य बनाइदियो ।
काठमाडौं ! तिमी निष्ठूर पनि छौ । अरूको इच्छा आकांक्षा बुझ्न चाहँदैनौ । सुन्न पनि चाहँदैनौ । म छक्क पर्छु तिम्रा विधि–विधानहरू देखेर ।
जस्तो कि, म नेपाली विषय लिएर स्नातकोत्तर गर्न चाहन्थें । मसँग म्यानमार सरकारले आधिकारिक रूपमा दिएको कम्युटर इन्जिनियरिङको प्रमाणपत्र थियो । सुनेको थिएँ, गैरआवासीय नेपालीलाई तिमीले सजिलै पढ्ने व्यवस्था मिलाइदिएका छौ । त्यही सुनेर त आएकी थिएँ । तर यथार्थ कति तीतो है !
मलाई कति दगुरायौ याद छ ? घरि सानोठिमी, घरि त्रिभुवन विश्वविद्यालय । हरेक पटक कुर्सीमा बस्नेहरूका फरक फरक कुरा । यस्तो लाग्थ्यो, उनीहरू मेरा दाता हुन् र म भीख मागिरहेको छु, नेपाली भाषा पढ्न पाऊँ । मेरो मातृभाषाको भोक देखेर पनि तिम्रा कुर्सीवालाहरूको मन पग्लिएन ।
‘बुझेर फोन गर्छु’ भन्ने कर्मचारीहरूको फोन कुरेर कति दिन बसें ? डलरमा भिसा फी तिरेर, होटेलको महँगो खाना खाएर कुनै अमूक कर्मचारीको फोन आउला भनेर बस्ने म कस्ती हुस्सु हगि ? मेरा लागि पो उनीहरू नेपाली दाजु–भाइ आफन्त थिए । उनीहरूका लागि म एउटी विदेशी केटी, जो जबरजस्ती नेपाली हुन खोजिरहेकी छे भन्ने पो रहेछ ।
कसरी बताऊँ ? मलाई नेपाली नागरिकता चाहिएको होइन, मलाई बर्मेली हुनुमै गौरव छ । बस, मेरा पितापुर्खाले बचाएर राखेको धर्म, संस्कृति र परम्परालाई बुझ्न पाऊँ । मैले आमाको काखदेखि बोल्दै आएको नेपाली भाषामा अझ दख्खल राख्न पाऊँ ।
सात–आठ महीना यसरी मलाई अल्मलाइदियौ, नेपाली भाषा पढ्ने मोह नै हरायो । अगाडि बढूँ त अनिश्चित यात्रा, पछि हटूँ समयको, पैसाको, ऊर्जाको खर्च । यसरी आफ्नो अँध्यारो खाल्डोमा पारेका थियौ मलाई । काठमाडौं खाल्डो त्यसै भनिएको कहाँ हो रहेछ र तिमीलाई ?
घरि कर्मचारीहरूबाट गाली, घरि प्राध्यापकहरूको प्रश्न, ‘तपाईं बर्मामा जन्मेहुर्केको मान्छे, नागरिकता उतैको छ । ‘म बर्माको नेपाली’ भनेकै भरमा भावनात्मक ब्लाकमेल गर्न पाइन्छ ?’
त्यो वेला म अपमानित तर मौन थिएँ । त्यो कोठा, त्यो कुर्सीमै म हराइदिए हुन्थ्यो भन्ने लागेको थियो । तर म बिलाउन सकिनँ । आफूले चाहेर हुन्छ र ?
आज बुझ्दछु, मिलाउन सकिने ठाउँ हुँदाहुँदै पनि तिमीले मेरो धीरताको परीक्षा लिइरह्यौ ।
अब उतै फर्कन्छु भन्ने मनमा आउँदैगर्दा बाबाको तस्वीरलाई गाली गरें, ‘बाबा, तपाईंले रोपेको नेपाली मोहका कारणले दुःख पाइरहेकी छु । अरू बर्मेली जस्तो किन सहज र चलनचल्तीको बाटो देखाएनौ ? नेपाली भाषा साहित्यप्रति नै लगाव किन गरायौ ? यसप्रति प्रेम किन गरायौ ?’
तस्वीर के बोल्थो र ? अनेक प्रश्नले ब्युँझाइरह्यो त्यो रात ।
देहत्याग गरिसकेका इच्छाहरूलाई भोलिपल्ट बिहानै तिम्रो दयाले पुनः ब्युँझायो । कसैले दया गरेको मलाई फिट्टी मन पर्दैन । म चाहन्छु माया । माया गर्न नसक्नेबाट सिधै अपहेलना । बीचमा रहनुपर्यो भने मलाई उकुसमुकुस हुन्छ । तर लक्ष्यको अगाडि अहंकार गौण हुँदो रहेछ ।
मेरो परिस्थिति थाहा पाएका एकदुई सहयोगीले राजनीति गर्ने चल्तीका नेतासँग भेटाइदिए । त्यत्रो महीना रल्लिंदै, दुःख पाउँदै, डलर खर्च गर्दै हिंडेकी म, केही दिन लगातार नेताको चाकडी र अनुनयपछि सबै सहज भयो । हिजोसम्म ‘हुँदैन’ भन्ने कर्मचारीहरू ‘तपाईंले भने जसरी त हुँदैन तर उपाय छ’ भन्दै स्नातकोत्तर होइन, स्नातक तहमा भर्ना हुनु पाउने व्यवस्था मिलाइदिए ।
यसरी तिमीले राजनीति र नेताको चाकडीको पाठ सिकायौ । मेरो नजरमा हिजो साहित्यकारहरू ठूला थिए । आज थाहा भयो, बिचरा साहित्यकारहरू आफ्नो विद्वतालाई काखीमा च्यापेर सानो काम गराउन नेताको पावर लाउनुपर्ने परिस्थितिमा रहेछन् ।
डियर काठमाडौं ! तिमीले मिथ्या मान्छे जन्माएका हौ कि मान्छेहरू नै मिथ्या बन्दै गएका हुन्, मैले बुझेकी छैन । जता जान्छु झूटैझूटको खेती पाउँछु । वर्ष बितिसक्यो, तिम्रा लागि स्नातकोत्तरमा भर्ना गरिदिन्छु भनेर आश्वासन दिने प्राध्यापकहरूको फोन आएको छैन । ‘सरी तैं तैं, तिमीले मेरो फोन कुरेकी थियौ, थाहा भएन’ भनेर उहाँहरूको कहिले फोन आउँछ, सोचिरहेकी छु ।
समस्या अध्ययनको मात्रै थिएन, अध्ययन भिसाका लागि आवश्यक पर्ने कागजात र अनाहकमा व्यथित भएको समयको कथा बेग्लै थियो । अध्यागमनका कर्मचारीको फोनको पर्खाइमा बस्दाबस्दै समय बित्यो । बरु समयमा भिसा नवीकरण नगरेको भन्दै एक महीनाको विलम्ब शुल्क खलप्पै तिर्नुपरेको थियो ।
वचन दिने, पूरा नगर्ने कस्तो रोग लागेको हो तिम्रा शहरका मान्छेहरूलाई । फाइदा बिना तिम्रा शहरका मान्छेहरू केही गर्न सक्दैनन् ?
विदेशी हुँ, त्यसैले अध्यागमन कार्यालय गइरहनुपर्छ । महीना दिनअघि त्यहाँ जान्छु, नयाँ कर्मचारी । अर्को महीना जान्छु, त्यो कुर्सीमा अर्कै कर्मचारी । हरेकलाई आफ्ना कुरा शुरूदेखि बुझाउनु पर्छ । कर्मचारी बसेको बिचरो त्यो कुर्सी पनि मेरो उही कथाव्यथा सुन्दासुन्दा वाक्क भैसक्यो होला ।
अनि नयाँ कर्मचारी ? आधा कथा भनेको छैन, अर्को काममा व्यस्त । (उसो त उनीहरूको बाध्यता, नबुझ्ने मूर्ख कहाँ हो र ?) पुनः सम्हालिन्छु । उनको फुर्सद हेर्छु र फेरि कोट्याउँछु । ‘अनि के रे ?’ भनेर सोधेपछि त्यही कुरा भन्छु । पटकपटक भनिसकेका कुरा दोहोर्याउनु पर्दा रीस, अपमान र पीडाले रन्थनिन्छु । अनि त्यो पुरानो कुर्सीलाई हेर्छु । पहिलेका कर्मचारीले पनि त त्यसरी नै दोहोर्याएर कुरा सुनेका थिए, होइन र ?
बर्माका नेपालीलाई पनि गैरआवासीय नेपालीहरूले पाउने सुविधा दिन अनुरोध गरेका अनेक अनुनयविनय र त्यस विषयमा भएका सरकारी निर्णयहरू सुनाउँदा सुनाउँदा वाक्क दिक्क भइसकें । तिम्रा कर्मचारीहरूलाई कुर्सीमा बस्न मात्र आउँछ, अंग्रेजी सिस्टमले थिचिएका उनीहरूलाई भित्री मन खोलेर, नेपाली हुन आउँदैन । एउटा विदेशी केटी नेपाली पढ्छु, विश्वभरि छरिएका नेपालीलाई विदेशमै बसेर नेपाली भाषा सिकाउँछु भन्दा उनीहरूलाई सिस्टमले दिंदैन । उनीहरूलाई आफ्नै अधिकारको प्रयोग गर्न डर लाग्छ । उनीहरू शंका गर्छन्, ‘बिना स्वार्थ एउटी केटीले नेपाली भाषाप्रति यति मोह किन राखिरहेकी छ ?’
तर जब माथिबाट आदेश आउँछ, त्यही कर्मचारी चूपचाप आदेश पालन गर्छ ।
दास मनोवृत्ति ।
अध्यागमनपछि शुरू हुन्छ सिंहदरबारको दौड । सिंहदरबारभित्र पस्नका लागि चिट लिन कति गाह्रो ! बल्लबल्ल शिक्षा मन्त्रालय पुग्यो, दुई दिनको काम कछुवाको चालझैं एक महीना लाग्छ । कारण, कार्यालय प्रमुख विदामा छन् रे ? उनलाई विदा दिने माथिल्ला कर्मचारीले उनको ठाउँमा अर्को मान्छे राख्नुपर्छ भन्ने थाहा पाउँदैनन् ? उनले लिएको विदाको क्षतिपूर्तिमा मैले विलम्ब शुल्क चाहिं किन तिर्नुपर्ने ? हाकिम विदाको क्षतिपूर्ति म र मजस्ता विदेशीहरूबाट अशूलउपर गर्ने यो कस्तो नियम हो, तिम्रो ?
म ब्राम्हण धितालकी छोरी । तर बर्मामा थर लेख्ने चलन हुँदैन । त्यसैले ‘धिताल’ लेख्ने बानी छैन । तर नेपाली देखिन धिताल लेख्न थालें । हुन पनि तिम्रो शहरमा मान्छेको नामभन्दा त्यो नाम कुन जातको भनेर प्रश्न गर्ने चलन छ । कोठा खोज्दा पनि कुनै न कुनै बेला यही प्रश्न ठोकिन्छ । जब कि मलाई जातका कुराले रिंगटा लाग्ने गर्छ । जे होस्, थर राखेपछि गैरआवासीय नेपालीका रूपमा कलेजमा भर्ना भएँ । तर जब नेपाल सरकारले दिने शैक्षिक प्रमाणपत्र चाहिएला, पासपोर्टमा नेपाली थर नदेखिएला, त्यो बेला अर्को झन्झट हुने पक्का छ ।
प्रिय काठमाडौं ! मलाई कसैले मीठो गरी नेपाली बोल्यो भने सुनिरहन मन पर्छ । तर तिम्रो शहरमा शुद्ध र मीठो नेपाली बोल्ने कति छन् र ? नेपाली आफ्ना मीठो मौलिक शब्दहरू हुँदाहुँदै पनि असुहाउँदो गरी अंग्रेजी शब्द जोड्ने उनीहरूको ख्याल रमाइलो लाग्दैन । त्यस्ता शब्दका प्रयोग गर्ने मान्छे आधुनिक, पठित र सुसंस्कृत ठानिने कस्तो संस्कार हो तिम्रो ? यस्तो नेपाली भाषा सुन्दा मलाई लाग्न थालेको छ, नेपाली भाषा भारत र बर्मामा मात्र होइन, नेपालमै संरक्षण गर्नुपर्ने अवस्थामा पुगिसकेको छ ।
प्रिय काठमाडौं ! हामी सानो छँदादेखि नै पिताजीले घरभित्र शुद्ध नेपाली भाषा प्रयोग गर्ने नियम बसाइदिनुभएको थियो । शब्दको बीचमा झुक्किएर बर्मेली शब्द पर्यो भने हामीले सजाय पाउनुपर्दथ्यो । नेपाली भाषा राम्रो होस् भनेर हामीलाई डिभिडी वा सिडीमा राजेश हमालदेखि दयाहाङसम्मका सिनेमा हेर्ने व्यवस्था मिलाइदिनुभएको थियो ।
अहिले सुन्दा सामान्य लाग्ला, तर त्यो समयमा नेपालबाट डिभिडीबाट सिनेमा मगाउनु र परिवारमा भाषा बुझाउने उद्देश्यले देखाउनु कति गह्रो काम थियो, तिमीले अनुमान गर्न सक्ने कुरा होइन । जे होस्, नेपालबाट किताबहरू मगाएर, अमूल्य पत्थरसँग अंग्रेजी–नेपाली शब्दकोश साटेर, सिडी डिभिडी मगाएर र डिसहोममार्फत नेपाल टेलिभिजनका कार्यक्रम हेरेर जानेको/सिकेको नेपाली लिएर यहाँ आएको हुँ ।
आजभोलि बाटामा हिंड्दै गर्दा तिम्रो शहरका विज्ञापन पाटीहरूमा लेखिएका विचित्रको नेपाली भाषा पढेर रुन मन लाग्छ । यस्तो लाग्छ, ती विज्ञापनहरूले आफ्ना सामग्री बेच्नेभन्दा पनि नेपाली भाषा कसरी बिगार्न सकिन्छ, प्रतिस्पर्धा गरिरहेका हुँदा रहेछन् । बरु गल्लीभित्रका साना खाजा–चिया पसलेहरूले आफ्नै लवजमा मीठा शब्द प्रयोग गरेर आफ्ना सामग्रीप्रति ग्राहकलाई आकर्षित गरिरहेका छन् ।
अनि मलाई लाग्छ, नेपालभित्र दुई वर्ग छन् । एउटा सम्पन्न र पढेलेखेका वर्ग, जसलाई नेपाली भाषा बिगार्नमा गौरव लाग्छ । अर्को विपन्न र अपठित वर्ग, जसले नेपाली भाषालाई आफ्नो सन्तानलाई स्याहारसुसार गरिबसेको छ । हो पनि, पढेलेखेका वर्गलाई नेपालमा बस्नु छैन । त्यसैले नेपाली भाषा उसको दायित्व होइन ।
शायद यही कारण हो, मेरो कलेजमा नेपाली भाषा–साहित्य पढ्नेहरूलाई अन्य विभागहरूका विद्यार्थीहरूले अपहेलनाका दृष्टिले हेरेको पाइन्छ । उनीहरूको अनुहारमा स्पष्टै झल्कन्छ, हामी नेपाली पढ्नेहरू अन्य विषय पढ्न नसकेर वा कुनै विषय नजानेर यो विषय लिएका हौं ।
बर्मा त्यस्तो छैन । उनीहरूलाई आफ्नो भाषाप्रति हुनुसम्मको गौरव छ । अहिलेसम्म भित्ता या विज्ञापन पाटीहरूमा बर्मेली भाषा बिगारेर लेख्ने गरेको पाइँदैन ।
कसैले बर्मेली भाषा बिगार्न खोजे छिमेकी देश चीनको उदाहरण दिइन्छ । आज चीन आफ्नो भाषा र संस्कृति संरक्षण गरेरै माथि गएको छ । बर्मेलीहरूले पनि चीनबाट सिक्नुपर्छ ।
कतिसम्म भने बर्मामा रहेका चीनियाँहरू आफ्नो भाषा बिर्सने डरले आफ्ना सन्तानलाई बाह्रै महीना, ३ सय ६५ दिन नै बिहान र बेलुकी सञ्चालन हुने चिनियाँ कक्षा लिन लगाउँछन् । समुदायले चलाउने ती कक्षाहरूमा चिनियाँ भाषा, साहित्य, संस्कृति र कलाको ज्ञान दिने गरिन्छ । चिनियाँको तुलनामा नेपालीहरू अलि अल्छी छन् । त्यसैले वसन्त विदाइका अवसरमा वर्षको तीन महीनाको पाठ्यक्रम अनुसारको नेपाली भाषा पढाइन्छ । तर खुशीको कुरा, नेपाली भाषालाई यहाँको जस्तो अपहेलना भने गरिंदैन ।
तर नेपाल सिंगो र स्वतन्त्र देश हुँदाहुँदै पनि आफ्नै भाषा यसरी अपहेलित भएको देख्दा म तीनछक्क पर्ने गरेको छु । मलाई कुनै सम्पन्न व्यक्तिले आफू गरीब भएर भिख मागिरहेको दृश्य प्रतीत हुन्छ ।
===
प्रिय काठमाडौं, माथिका कुरा सुनेपछि लाग्यो होला, म तिमीसँग विरक्तिएकी छु । तिम्रो आलोचना नै मेरो जीवनको उद्देश्य हो । त्यसो पटक्कै होइन । म तिमीमा रमाएकी छु । बर्मामा नेपाली किताबको खडेरी छ । नेपाली अक्षर चिनेर पनि त्यसलाई प्रयोगमा ल्याउन नपाएकी म आजभोलि नेपाली किताबहरूको थुप्रोमा रमाइरहेकी छु । मेरो कोठाबाट देखिने चाँगुनारायण मन्दिर, त्यहाँको अग्लो पहाडमा ठोक्किएर फर्केको चीसो हावाको छुवाइ र मनोहरा खोलाको प्राकृतिक दृश्यले तृप्ति दिएको छ ।
मैले आफ्नो भाषामा सपना देख्न थालेकी छु । रातले मीठो निद दिएको छ । तिमी ब्युँझिंदा मलाई मायाले सुमसुम्याएर उठाउँछौ र नयाँ ऊर्जा भरिदिन्छौ इलामको चियाले । बिहानपख स्वर्णीम तरिकाले बित्छ कि मेरो शहर मोगोकको बाटो नै बिर्सन थालेकी छु ।
थकाली रेस्टुराँमा पाइने ढिँडोले बिर्साउन थालेको छ, बर्मेली परिकार । पहिले लाग्दथ्यो, मौंहेन्खा र लेफेतौ नभई मेरो जीवन कट्न सक्दैन । वर्षौं खाइआएको चीज अचानक हराउँदा जिब्रोले मलाई निकै दुःख दियो । तर तिम्रो काँधकाँधमा फल्ने ठूलो खालको निगुरो, पहाडी कालो दालले मेरो जिब्रोको स्वाद फेरिदियो । मस्यौरा, गुन्द्रुक, सुकाएको च्याउबाट बन्ने विभिन्न परिकारले मेरो शरीरलाई पुष्ट बनाइदियो । थाहा छ, अकबरे खुर्सानी नटोकी खाना रुच्दैन अचेल । अँ, तिम्रो शहरको सबैभन्दा मन पराइने मोमो भने मैले कसैगरी मन पराउन सकिनँ ।
आखिर प्रेम गर्नेको सबै मन पर्नुपर्छ भन्ने पनि त छैन । तिम्रो धूलोधुवाँले भने मलाई दुःख दिइरहन्छ । मेरो दृष्टिमा कसिंगर पारिरहन्छ । छालाको रङ फेरिसक्यो । कपाल झरेर मुडुलो हुन्छु कि ! उकुसमुकुस हुन्छु म तिम्रो अस्तव्यस्ततामा । तर के गर्नु, तिमीसँग यसरी प्रेम बस्यो कि तिमीलाई छाड्नै नसक्ने भइसकेकी छु । तै पनि म विदेशी हुँ । यो हेक्का छ मलाई ।
नेपाली भाषाप्रतिको मेरो मोह बुझिदिने पद्मकन्या बहुमुखी क्याम्पसका प्राध्यापक तथा नेपाली विभागलाई धन्यवाद ।
सबैभन्दा पहिले नेपाली विभागका शैलेन्दुप्रकाश नेपालले भर्ना हुनलाई र विदेशीका रूपमा डलर नै तिर्नुपर्ने कठीन अवस्था सुल्झाउन ठूलो भूमिका निभाइदिनुभयो । प्रशासनभित्र पनि स–साना कर्मचारीले नेपाली मोह देखेर समस्या सुल्झाउने प्रयास गरेकै हुन् । पढाइ शुरू भएपछि नेपाली विभाग प्रमुख अम्बिका अर्यालले ‘तिमी अरु नेपाली विद्यार्थीभन्दा कम छैनौ’ भन्ने आश्वासन दिएर भए पनि मलाई अघि बढ्न प्रेरणा दिइरहनुभयो ।
कलेज भर्ना भएँ तर काठमाडौं जस्तो महँगो शहरमा बाँच्ने कसरी ? बर्माबाट ल्याएको पैसाले ४ वर्ष लामो पाठ्यक्रम पूरा गर्न सम्भव थिएन । यस्तो अवस्थामा मलाई जागीर दिने साहित्यपोस्टको टीमलाई सम्झिनँ भने उहाँहरूप्रति अन्याय हुन जान्छ ।
आफ्नो समयमा नेपाली डिप्लोमा गर्दा म गोल्डमेडलिस्ट थिएँ । यही सर्टिफिकेटका आधारमा जागीर पाएको सत्य हो । तर बर्मामा पाएको नेपाली सर्टिफिकेट कति कमजोर थियो भन्ने कुरा काम गर्दै जाँदा थाहा भयो । यस्तो बेलामा आदरणीय प्रधानसम्पादक अश्विनी कोइराला र सम्पादक कृष्ण ढुङ्गेलले दिनुभएको आडभरोसा र हौसलाले म सहज रूपमा साहित्यपोस्टको काम गर्न सक्ने भएँ । मेरो भाषालाई ठीक ठाउँमा ल्याउन आदरणीय भाषाविद् शरच्चन्द्र वस्ती आफैं साहित्यपोस्ट कार्यालयमा पटकपटक आएर धेरै शङ्का दूर गरिदिनुभयो ।
तिम्रो स्थानीय मिठाइ गुतपाक, पुष्टकारी, अमिलो पीरो पाउँहरूसँग परिचित गराइदिने होमबहादुर कार्कीलाई सधैं सम्झिनेछु ।
प्रिय काठमाडौं, तिमीलाई चिन्न मलाई निकै गाह्रो भएको थियो । तर तिमीलाई चिन्न साहित्यकार शरद् प्रधानले सहयोग गर्नुभयो । रेडियो टुरिजममार्फत शुरू भएको प्रधानसँगको हिमचिमले मलाई तिमीसँग परिचित हुने निकै ठूलो मौका मिल्यो ।
शरद् प्रधान, उहाँका साथीभाइ र साहित्यपोस्ट टिमकै हौसलाका कारण साहित्यिक लेखन पनि अघि बढ्यो । जसको बलमा बाह्रखरी कथा प्रतियोगितामा उत्कृष्ट २५ मा परें । यही कथाको माध्यमबाट फाइन प्रिन्टले पोखरामा गर्ने भव्य साहित्यिक महोत्सवको मञ्चमा उक्लेर आफ्ना कुरा राख्ने मौका दियो ।
पोहोर साल पनि बीस सेक्टेम्बर आएको थियो । त्यो बेला आफैंले आफैंलाई सोधेकी थिएँ, ‘तैं तैं, तँ खुशी छेस् काठमाडौंमा ?’
त्यो वेला म स्पष्ट थिइनँ । त्यसैले केही लेखिनँ । यसपटक तिमीलाई सम्बोधन गर्दै लेख्दै छु ।
प्रिय काठमाडौं ! म तिम्रो छातीमा तिम्रो ढुकढुकी सुन्दै यो लेखिरहँदा भन्न सक्छु, म खुशी छु ।
म अझै दुई वर्ष यहीं तिम्रै काखमा छु । दुई वर्षपछि नेपाली पाठ्यक्रमलाई बर्मेली पाठ्यक्रमसँग मिलाउने, उनीहरूले पढेको विद्यालाई नेपालमा पनि मान्यता दिने व्यवस्था मिलाएर फर्कने सोच छ । त्यसो भयो भने मैले जस्तो दुःख अरू बर्मेली विद्यार्थीले पाउने छैनन् । मैले जस्तो गुनासो गरेर पत्र लेख्नुपर्ने छैन । त्यो वेला तिमीलाई धेरै बर्मेलीले आशीर्वाद दिनेछन् ।
यो त अलि पछिको कुरा हो । तिम्रो सहयोग चाहिन्छ नै । आज भने साहित्यपोस्टको नियमित काम गर्न ढिला भयो । दोस्रो वर्षको परीक्षाको तयारी पनि गर्नु छ । यही कारण हतारमा विदा माग्छु ।
ओइ, काठमाडौं । किन नसुनेको ? बाइ बाइ !
यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।