रक्सी र छालाको रङ
मूलः ऐलन पैटन
अनुवादः गोविन्द गिरी प्रेरणा
दक्षिण अफ्रिकाले सन १९६० मा आफ्नो स्वर्ण जयन्ती मनायो। यस भवसरमा सम्पूर्ण राष्ट्र यो थाहा पाएर खुशीसहित आश्चर्यचकित भए कि सर्वोत्कृष्ट मूर्तिकलाको पुरस्कारको एक हजार पाउण्ड एडवर्ड सिमेलेन नाउँको एउटा कालो जातिको मूर्तिकारलाई उसको ‘अफ्रिकी आमा र छोरो’ नामक मूर्तिको लागि दिइनेछ ।
पछि थाहा भयो कि यदि पुरस्कार समितिले आफ्नो नियममा “यो प्रतियोगिता केवल गोरा प्रतियोगीहरुको लागि मात्र खुल्ला छ” भन्ने शर्त नभुलेको भए यो पुरस्कार सिमेलेनलाई कहिल्यै प्राप्त हुँदैनथ्यो । पुरस्कारको घोषणापछि अनेक गोराहरूले दक्षिण अफ्रिकी परम्परागत नीतिहरूको उल्लङ्घन गरेकोमा त्यस समितिको भर्त्सना गरे। वेश यही भयो कि पुरस्कार वितरण समारोहमा सिमेलेन उपस्थित थिएनन्, नत्रभने एउटा विकट सङ्कट उत्पन्न हुने थियो ।
जब मैले सिमेलेनलाई निम्तो गरेर उसलाई वधाई दिंदै व्राण्डी खान निम्तो गरें, तब उसले भन्यो ” धन्यवाद ! राम्रो खालको रक्सी पिउन पाएको यो दोश्रो अवसर हो । के तपाईं जान्न चाहनुहुन्छ पहिलोपल्ट मैले यस्तो राम्रो रक्सी कसरी पिएथें?”
“निश्चय नै! भन्नुस्, भन्नुस् !” भनेपछि मैले उसले यो कथा सुनायो।
“प्रतियोगितापछि मेरो कलाकृति केही दिनको लागि एलवस्तर पुस्तक भवनमा प्रदर्शन गरिएको थियो ।
एकदिन राती कामबाट फर्किरहेको बेला म त्यो भवनको सामुन्ने अडेर आफ्नो कलाकृति नियालेर हेर्दै थिएँ। त्यो बेला त्यहाँ म बाहेक अरु कोही थिएन । त्यति नै बेला एउटा गोरो युवक मेरो छेउ आएर अडियो र मलाई भन्न थाल्यो, ” म जबजब यो कलाकृति हेर्छु, मुग्ध नभई रहन सक्दिन । तिमीलाई यो देखेर अझ बढी खुशी लाग्नुपर्छ यसकारण कि यो मूर्ति तिम्रै जातीको एडवर्ड सिमेलेन नाउँ गरेको मूर्तिकारले बनाएको हो । के तिमी उसलाई चिन्दछौ ?”
“अँ।”
“मूर्ति अलि ध्यान दिएर हेर त! आमा आफ्नो छोरालाई त्यति स्नेहले हेरिरहेकी छैन जति उसको रक्षा गरिरहेकी छ, अनिश्चित भविष्यबाट!”
मलाई चुपचाप देखेर उसले भन्यो -“उसलाई यो कलाकृतिको लागि एक हजार पाउण्डको पुरस्कार प्राप्त भएको छ । यति ठूलो रकम कुनै कालाजातीको व्यक्तिले दक्षिण अफ्रिकामा कहाँ पाउँछ र!”
०००
रात निकै बितिसकेथ्यो र मलाई ओलेंडोको अन्तिम रेल भ्याउनु थियो । फेरि यो गोरा थियो र मेरो लागि अपरिचित पनि । तर कुनै गोरो मान्छेको मुखबाट साथी भन्ने सम्बोधन सुनेको यो मेरो पहिलो घटना थियो । मेरो मन उसको घर जाने प्रस्ताव मान्न तयार भयो। फेरि मलाई केही कुराको सम्झना भयो र मैले भनें – “तपाईलाई थाहा छ, हामी कालाजातीका लागि राती बाह्रबजेपछि शहरभित्र पस्ने अनुमति छैन ।”
“जान्दछु, तर तिमीलाई धेरै बेर लाग्दैन । मेरो घर नजिकै छ। आउ, जाउँ! अँ, के तिमी अफ्रिकी (कालाहरूको मातृभाषा) बोल्न सक्छौ ? मेरो अंग्रेजी त्यति राम्रो छैन । क्षमा गर्नु । मेरो नाउँ रेन्सवर्ग हो, अनि तिम्रो ?”
“मेरो नाउँ वाकाती हो र म ओलेंडोमा बस्छु।” आफ्नो गलत नाउँ बताउन म वाध्य थिएँ ।
मलाई उसंग हिंडिरहँदा आश्चर्य लागिरहेथ्यो। बाटोमा हामी आपसमा बोल्दै बोलेनौं र हामीलाई कसैले देखेनन् पनि । जब हामी उसको घरछेउ पुग्यौं, उसले “एकछिन पख्नोस है!” भनेर भित्र गयो। घरबाट आइरहेको आवाजबाट थाहा लाग्यो कि घरमा उ मेरो बारेमा बताइरहेको थियो । अनि उ हाँस्दै बाहिर आयो ।
त्यति नै बेला घरबाट थुप्रै स्त्रीहरू बाहिर आएर मलाई स्नेह र आदर सहित भित्र लगे । एउटीले विस्तारै भनी “रेन्सवर्ग सधैं राती त्यो कलाकृति हेर्न जान्छ । भन्छ कि यस्तो अनुपम कृति जसले बनायो उसभित्र अवश्य भगवानले वास गरेको हुनु पर्दछ।”
रक्सी पिएर जब म घर जान तत्पर भएँ, सबैले प्रेमपूर्वक विदाई गरे। वाटोमा रेन्सवर्गले मलाई सोध्यो -” थाहा छ, म सोचिरहेछु कि हाम्रो देश कति सुन्दर छ !”
तर उ वास्तवमा के सोचिरहेथ्यो त्यो मैले थाहा पाइसकेको थिएँ । उ मलाई प्रेमपूर्वक स्पर्श गर्न चाहन्थ्यो तर छुन भने सकिरहेको थिएन । विभाजनको अँध्यारोमा बस्दा बस्दा उसको आँखा अन्धो भएको थियो ।
र एउटा मानिस जब अर्को मानिसलाई प्रेमपूर्वक छुन पाउँदैन तब घृणाले उसलाई विनाश गर्न उत्साहित हुन पुग्छ ।
०००



यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।
२ मंसिर २०८२, मंगलवार 










