अहिले मीनभवन क्याम्पस भनेर चिनिने नेपाल कमर्स क्याम्पस मीनभवन बानेश्वरमा वि.सं. २०३४-३६ समूहको स्नातकको विद्यार्थी कालमा भेट भएको हो लव गाउँलेसँग । बालाजुको उत्तरको फुटुङ गाउँका लव कसरी मीन भवन पढ्न आइपुगे, तर छोटो समयमै हाम्रो मित्रता झाङ्गियो । दुवैको साहित्यमा रुचिले यसो भएको हुनसक्छ ।

लवको अक्षर निकै राम्रा । लोभलाग्दा हुन्थे । हामी सँगसँगै पुस्तकालय जाने, गफ गर्ने इत्यादि गर्न थाल्यौँ । पढाइमा पनि हामी दुवैको अवस्था ठिकै थियो । मलाई लाग्छ उनले जागिर खाइ नै पो सकेका थिए कि ?

वि.सं. २०३६ सालको विद्यार्थी आन्दोलन उत्कर्षमा पुग्यो । त्यसले निम्त्यायो जनमत सङ्ग्रह । त्यसले निम्त्यायो सडक कविता क्रान्ति । सडक कविता क्रान्तिको पहिलो दिन नयाँ सडक पीपलबोटमुनि उत्तरपूर्वी कुनामा कविता पढ्ने ८,१० जना साहित्यकारमा मोहन कोइराला, हरिभक्त कटुवाल, अशेष मल्ल लगायत लव र म पनि थियौँ । छिटै सकिएको थियो कविता वाचन । त्यसपछि सडक कविता क्रान्तिका प्रणेता तथा नेता भवानी घिमिरेले हामी दुईलाई त्यस दिनको समाचार यसरी लेख्नू भनेर मौखिक रुपमा बताए र त्यो समाचारको बहुप्रति बनाएर विभिन्न दैनिक तथा साप्ताहिक पत्रिकामा लैजान खटाएका थिए । हामी उनको आदेशको शिरोपर गर्दै समाचार बनाएर विभिन्न अखबारको कार्यालय वा भनौं प्रेसहरुमा गएका थियौँ ।

लव गाउँलेका साथमा गोविन्द गिरी प्रेरणा

सडक कविता क्रान्तिको अवधिभरि भवानी दाइले हामीलाई त्यो काममा निरन्तर खटाए । त्यसबाट के फाइदा भयो भने हामीले धेरै प्रेस र पत्रिकाको ठेगाना पत्ता पायौँ र ती पत्रिकाका सम्पादक र कम्पोजिटरहरुसँग परिचय भयो । सम्पादकहरु त यदा कदा भेटिन्थे, धेरैजसो प्रेसमा कम्पोजिटर नै भेटिन्थे । ती कम्पोजिटर सम्पादक भन्दा कम हुँदैनथे । किनभने पत्रिकाको पाना भर्ने जिम्मा तिनकै हुँदोरहेछ र हामीले दिएको समाचारले सहयोग नै हुनेरहेछ । त्यसमाथि थप हामीले ती कम्पोजिटरलाई हाम्रा रचना पनि दिन थाल्यौँ । तिनीहरुसँग दोस्ती भयो र अखबारहरुमा हाम्रा रचना सहजै प्रकाशित हुन थाले ।

यसैबिच हामी सँगसँगै लेख्न पनि थाल्यौँ । नेपाल कमर्स क्याम्पस मीन भवनमा एक महिला लाइब्रेरियन थिइन् । सुन्दरता त ठिकै थियो, तर तिनको कपाल निकै लामो थियो, सामान्य महिलाको भन्दा । हँसिलो व्यवहार हुन्थ्यो पुस्तकालयमा जाँदा । अनि हामीले उनलाई विषय बनाएर कथा लेख्यौँ ।

लवको लेखनमा के शक्ति थियो कुन्नि, मैले चाहँदा पनि प्रकाशित हुन नसकेका दुई ठाउँमा उनको चाहिँ कथा प्रकाशित भयो, मेरो भएन । यौटा त “नयाँ सन्देश” साप्ताहिक थियो । हरेक शुक्रबार मानिसको हातहातमा पुग्ने । मैले “नयाँ सन्देश” मै प्रकाशनका लागि कथा लेख्न थालेको थिएँ साँच्चै भन्नुपर्दा । तर नयाँ सन्देशमा मेरो कथा कहिल्यै प्रकाशित भएन, बरु बन्द भयो । लवको कथा चाहिँ प्रकाशित भयो । गोरखापत्रको शनिबारीय परिशिष्टाङ्कमा एकताका क्याम्पसका विद्यार्थीहरुको रचना प्रकाशित हुने स्तम्भ थालियो, त्यसमा मैले पनि प्रयास गरेँ, तर मेरो रचना कहिल्यै प्रकाशित भएन त्यो स्तम्भ चालु हुन्जेल । लवको भने छापियो । म हुनसम्मको छक्क र आश्चर्य चकित भएको थिएँ । तर अन्ततिर भने सँगै वा अघिपछि गरेर भए पनि प्रकाशित भयो ।

मेरो एउटा कथा “अभिव्यक्ति” मा प्रकाशित भएपछि अब उप्रान्त साप्ताहिक पत्रिकामा होइन साहित्यिक पत्रिकामा मात्र रचना प्रकाशन गर्ने अठोट गरेँ । साहित्यिक पत्रिकामा प्रकाशित हुँदा स्तरीय भइन्छ भन्ने मेरो सोच थियो । तर लवले भने, “म महिनौं कुर्न सक्दिन प्रकाशित हुनलाई” भन्दै साप्ताहिक पत्रिकामा नै लामै समय अल्झिए ।

सडक कविता क्रान्तिमा भाग लिँदा लव सरकारी जागिरमा थिए । उनलाई जिल्ला पञ्चायत सचिवालय डिल्लीबजारबाट सेन्ट्रल जेल सुन्धारामा सरुवा गराइए । यो उनलाई सजायस्वरूप सरुवा गरिएको थियो ।

त्यही ताक लवसहित विधान आचार्य, बद्री चापागाईं हिमाली, सुशिल ढुङ्गेल र म विच यौटा मित्रताको सञ्जाल बन्यो । हामी हरेक शनिबार कतै न कतै पुग्थ्यौँ । छुट्टीको दिन रमाइलो हुन्थ्यो । साहित्यकै कारण हाम्रो मित्रता भए पनि साहित्यमा मात्र हामी सिमित भएनौं । यो सञ्जालमा कहिलेकाहीँ ठगेन्द्र त्रिपाठी पनि सामेल हुन्थे । उनको संलग्नता अलि थोरै थियो । तर यी सबैमा लव र म बढी साथ हुन्थ्यौँ ।

लव आफ्नो गाउँ फुटुङ जाउँ भनिरहन्थे । एक दुईपल्ट म उनको गाउँ गएर बास बसेँ । फुटुङ त्यतिबेला गाउँबाट काँठमा रुपान्तणर हुँदै थियो । मजा लाग्थ्यो । म कालिमाटीमा श्याम ड्राइभरको घरको छिँडीमा डेरा गरेर एक्लै बस्थेँ । एकाधपल्ट उनी पनि मेरो डेरामा बसे । त्यसरी बस्दा म जागिरमा हिँड्ने बेलामा मेरो कोठाको साँचो छाडेर जाउ भन्थे । तर म अलि सङ्कोची थिएँ, मैले दिइन । उनी त्रिपुरेश्वरमा डेरा गरेर बस्न थालेका थिए पछि । त्यो डेरा छोडेपछि उनी झण्डै महिनौं मेरो डेरामा बसे । म पकाउँथेँ । सङ्गै खान्थ्यौँ । सँगै अफिस जान्थ्यौँ तर साँचो मसँगै हुन्थ्यो र साँझ सँगै डेरामा आउँथ्यौँ । उनले बेलाबेलामा साँचो माग्न छाडेनन् । तर मैले कहिल्यै दिइन ।

एकदिन बद्री चापागाईं हिमालीको डेरामा बिहानको खाना खाने कार्यक्रम बन्यो । लवले नै बनाएका थिए कार्यक्रम । हामी कालधारा गयौँ, क्षेत्रपाटी । त्यहाँ बद्री चापागाईं हिमाली मुरारीराज शर्मा उर्फ कथाकार मुरारि अधिकारीसँग बस्दा रहेछन् । मजाले सुकुलमा पलेटी कसेर खाना खायौँ । मुरारि अधिकारिसँग हल्का परिचय थियो र उनको कथा मलाई मन परेकोले उनलाई त्यही रुपमा सम्झन्थेँ । खाना खाने क्रममा उनले भने, “गोविन्दजी ! लव र तपाईं यस्तो मिल्नुहुन्छ, सँगै बस्नुस् न मिलेर ।“

मैले भनें, “हामी सँगै मिलेर बसिराका छौँ ।“

“हैन, कोठा दुवैले सेयर गरेर बस्नु भो भने दुवैलाई खर्च किफायत हुन्छ नि !” उनले थप भने ।

लव त पाहुनाकै रुपमा मसँग बसेका थिए । म उनले साँचो माग्नथालेपछि तर्सेको थिएँ । मेरो अनुपस्थितिमा कोठामा आउने उनको मनसाय बुझेर म साँचो दिने पक्षमा थिइन । म हाँसे मात्र । तर मलाई लागिरह्यो, मुरारिजीले आफ्नो मनोज्ञानले त्यसो भनेका हुन् कि लवले भन्न लगाएका हुन् ।
जे होस् मैले साँचो कहिल्यै दिइन र अलि समयपछि त उनको विवाह नै भयो । अनि कहिले फुटुङ कहिले ससुराली कुश्लेचौर गर्न थाले ।

खासमा लवले जिल्ला पञ्चायत सचिवालय डिल्लीबजारमा काम गर्दा परिचय भएकी अन्जुकुमारी सिंहसँग विवाह गरे । यसैताक अन्जु भाउजुको नाममा नागबेली पत्रिका दर्ता गराएर उनले साहित्यिक पत्रकारिताको पनि सुरुवात गरे । अन्जु भाउजुको नाममा पत्रिका दर्ता भए पनि सबै काम लव नै गर्थे ।

अचानक लव गाउँले बिते भन्ने खवर पाएँ । कसैले भन्यो, को हो भन्ने याद छैन । म झस्किएँ । मैले मुरारिराज शर्मालाई फोन गरेर सोधेँ । उनले थाहा नभएको बताए । अरुहरुसँग पनि सोधेँ, कसैले यो खबर नसुनेको बताए । अनि बतास नआई रुखको पात हल्लिन्न भन्ने आहान छ नेपालीमा । के भाको हो बुझ्नै सकिएन । फोन र खैखबरी अनेक गर्दा पनि पत्तो नलागेपछि एकदिन सोचेँ, तिनको अफिस गएर पत्तो लाउँछु ।

अनि म उनको अफिस गएँ, बबर महल । तिनी पछिल्लो समय कुनै मन्त्रालय अन्तर्गत बबरमहलमा काम गर्थे । म बडो दुःखी मुद्रामा रुन्चे अनुहार लिएर उनको अफिसको कोठा ढकढकाउन पुगेँ । अनि म देख्दछु, लव त मजाले आफ्नो सरकारी कुर्सीमा पो विराजमान भइराखेका । मेरो आङ सिरिङ्ग भयो ।

उनले आफ्नो शैलीमा भने, “गोविन्द ! तिमी अचानक आयौ त ! बस !”

म उनको टेवुल सामुन्नेको कुर्सीमा बसेँ । अनि सविस्तार सबै कुरा बेलिविस्तार लाएँ । उनी खासै उत्तेजित भएनन् । अलि दुब्लाएका रहेछन् । स्वास्थ्य अलिक खस्केको चाहिँ रहेछ । उनले भने, “हिँड क्याण्टिनमा जाउँ चिया खान !”

मैले भनें, “चिया होइन म तिमीलाई अण्डा खुवाउँछु सगुन !”

अनि अण्डा र चिया खाएपछि हामी छुट्टियौँ ।

भएको के रहेछ भने, वीर अस्पतालमा भर्ना भएर उपचारका गरिरहेका कवि भूपी शेरचनलाई उनी भेट्न गएका रहेछन् । अलिक ज्यास्ती मदीरापानले लवको शरीर फूकिढल भएको रहेछ । अनि भूपीले कसैसँग पछि भनेछन्, “लव त रक्सीले खत्तम भएछ ।“

त्यो खत्तम भनेको उनी बितेछन् भन्ने हल्ला भएको रहेछ ।

पछि लवले यस विषयमा लामै निबन्ध लेखेर राष्ट्र बैङ्कको मिर्मिरे पत्रिकामा छापे । यो यौटा उनको जीवनको तितो अनुभव थियो, हुन त यस्तो हल्लाले आयु झन् बढ्छ भन्ने पनि भनाइ छ हाम्रो समाजमा ।

जब मेरो “सुतेको समुद्र” शीर्षकको कथा प्रकाशित भयो अभिव्यक्तिमा, अत्यन्त चर्चित पनि भयो। त्यो चर्चाले लव र मेरो मित्रतामा धाँजा पर्यो । के सुरमा हो कुन्नि उनका ती सुन्दर कथा लेख्ने सुन्दर अक्षरका हस्तलिपिले त्यो कथा मैले हिन्दी पत्रिकाबाट चोरेको हो भनेर पाठक प्रतिकृया पठाएछन् । मलाई नगेन्द्रराज शर्माले लवले आफ्नै हस्ताक्षरले सुन्दर अक्षरमा लेखेको कुरुप पत्र पढ्न दिनु भयो । मलाई हुनसम्मको आश्चर्य र स्वाभाविक मानवीय आक्रोश पनि भयो । साथी त मेरो चर्चाले बौलाएछन् भन्ने लाग्यो । त्यहाँ प्रष्टै लेखिएको थियो, “यो पक्का चोरीको कथा हो । म प्रमाण दिन सक्छु । यसलाई अवश्य छाप्नुहोला । अनि म प्रमाण देखाउँनेछु ।“

मैले नगेन्द्रदाईलाई सोधेँ, “अब के गर्नुहुन्छ ? छाप्नुहुन्छ ?”

उहाँको प्रष्ट उत्तर थियो, “प्रमाण मागेको छु । प्रमाण आयो भने छाप्छु ।“

म ढुक्क भएँ । प्रमाण त भए पो आउँथ्यो । त्यो पाठक प्रतिकृयाको रुपमा आएको आरोप छापिएन । तर त्यसको ननिको छाप चाहिँ मेरो मुटुमा छापियो । त्यसपछि पानी बाराबार भो । भेटघाट बोलचाल बन्द भो । भेटघाट अलि पछि भए पनि मन खुल्न सकेन । एउटै थालमा खाएर एउटै ओछ्यानमा सुतेको साथीबाट मैले त्यो अपेक्षा गर्ने कुरै थिएन । फेरि हामी विच कुनै फाटो वा बैमनस्य पनि थिएन । सिवाय मैले मेरो कोठाको साँचो उनलाई दिन गरेको इन्कार !

उनी सन् १९९० ताक सरकारी खर्चमा तालिम वा छोटो अध्ययनका लागि अमेरिका आए । त्यही बेला उनले र होमनाथ सुवेदीले गरेको सल्लाह र छलफलको प्रतिफल नै आज विश्वव्यापी भएको अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज हो । यता वासिंटन डिसीमा संस्था दर्ता भएर खुल्यो र काठमाडौंमा नेपाल च्याप्टर लवले खोले र लामै समय उनले नेपाल च्याप्टरमै हाली मुहाली गरेर बसे । अमेरिकामा होमनाथ सुवेदीलाई अनेसास परिवारवादले गाँजियो भनेर आरोप लगाउँदै गर्दा लवले नेपालमा एकल ढङ्गले च्याप्टरलाई खल्तीमा राखेर मजाले चलाइरहेका थिए । उनी सरकारी कोटामा अध्ययनका लागि अष्ट्रेलिया जानुअघि अनेसासको मुखपत्रको रुपमा अमेरिकाबाटै प्रकाशित हुने अन्तरदृष्टि नेपालबाट यौटा विशेषाङ्क प्रकाशित गरेर विमोचन समेत गराएका थिए ।

लवले कथा लेखे । कविता लेखे । उपन्यास लेखे । किताव पनि प्रकाशित गर्दै गए । पछिल्लो समय उनले आफ्नो जीवनको भोगाइयुक्त गैरआख्यान लेखे, “अष्ट्रेलिया ब्लूज” । त्यसको भव्य विमिचन पनि गरे । त्यो कृति उनको अध्ययनको लागि अष्ट्रेलिया जाँदाको र त्यहाँको बसाइलाई विषय बनाएर लेखेका हुन् । यो कृतिलाई नियात्रा भन्दिए पनि खासै फरक पर्ने देखिन मैले, किनभने यस्ता कृतिलाई आजकाल खुलेयाम नियात्रा भन्न थालिएको छ । तर उनले “गैर आख्यान” भनेर बुद्धिमत्तापूर्ण काम गरेको ठानेँ मैले । यसमा उनी खुलेका छन् निजी जीवन, सरकारी कामकाजको तौर तरिका, विदेशमा भोग्नुपर्ने यथार्थको नग्न प्रस्तुतिमा । हम्मेसी त्यतिसम्म इमान्दार हुन चाहँदैनन् नेपाली लेखकहरु । उनको लेखकीय इमान्दारीको उचाइ देखिन्छ त्यहाँ ।

लवको जीवनमा कोरोनाकालमा २ घटना भयो । एक, उनले आफ्ना जागिरे जीवनमा चहारेका विदेश यात्राको रोमाञ्चक बर्णन फेसबुकमा धारावाहिक पोष्ट गरेर समयको सदुपयोग गरे । दोश्रो उनकी धर्मपत्नी अन्जु भाउजुको दुखद निधन भयो । उनले उपचारका लागि पाएको हण्डर पनि सामाजिक सञ्जालमा साझा गरेका थिए, जुन निकै मार्मिक थियो ।

उनको पछिल्लो कृति अङ्ग्रेजीमा प्रकाशन भयो, जर्मनीबाट । त्यसको विमोचनमा म पनि काठमाडौंमै थिएँ र बोल्ने पनि अवसर पाएको थिएँ । समारोहमा भारतीय मूलका कवि तथा अनुवादक आरडी युयुत्सुले यथार्थको नजिकको कुरा तर अप्रिय बोले र लवले त्यसको जवाफी झटारो पछि सामाजिक सञ्जालमा ठोके । लव सामाजिक सञ्जालमा निकै सकृय छन् । झण्डै यौटा नियात्रा पुस्तकनै धारावाहिक रुपमा फेसबुकमा पोष्ट गरे ।
अहिले अवकाशप्राप्त एक्लो जीवनका यात्री लव गाउँले, लेखनमा र सामाजिक सञ्जालमा सकृय नै छन्, उनको आफ्नो सबै जसो आनीबानीलाई जीवन्त राख्दै ।