
दार्जेलिङसित सिमाना जोडिएको पान्थरको पूर्वी पाखामा हाम्रो बसोबास थियो । मेरो बाल्यकाल त्यहीँ बित्यो । उस बेला याङरुप च्याङथापू भन्थे अहिले पुरानो लिम्बू सांस्कृतिक नाम याङवरक भयो ।
हाम्रा परिवार सदस्यहरू, आमा, बुबा, काका, फुपूहरू, गाउँ–छिमेकका स्वजनहरू प्रत्येकले ‘दोर्लिङ’ शब्दको उच्चारण गर्दथे । किनभने परपर ताप्लेजुङसम्मका हाम्रा आफ्नाहरू ढाकर तोक्मासित त्यही बाटो आइजाइ गर्थे । कति दिन लगाएर काबेलीपारिदेखि हिँड्दै पाटीहरूमा बास बस्तै, उठेर ढाकर कस्तै हिँड्नेहरूका ढाडमा घिउका टिन, अदुवा, सुकेका खोर्सानी जस्ता मसला अथवा चिराइतो, मजिटो जस्ता औषधिका अप्रशोधित भारीहरू हुने गर्थे ।
उतातिर दार्जेलिङ विजनवारी कहाँ कहाँ पुर्याएर आफ्नो सर्दाम बिक्री गरी ती रित्ता ढाकर फेरि भरेर गाउँ ल्याउँथे— मट्टीतेलका टिन, नूनका बोरा, कपडाका थान, फलामका ढिका यस्तै केके जाति । हाम्रो नाम्रेक भन्ने गाउँका पुछारको मूलबाटामा ढाकर–तोक्मासित लर्को लागेर मिवाँ खोला तर्ने, पारिपट्टिको गढी बजारमा बिसाएर तीन चम्के अँगेनामा कित्ली बसाई चिया पत्ती उमाल्ने, अनि नून हालेर आआफ्ना सिलवरे थालमा भरी भरी पिउने यात्रीको बजार हुन्थ्यो । त्यो दृश्य आज सपना भयो । त्यहाँदेखि ढाकार–तोक्माको लहर उकालै माथि फलैंचा पुग्थ्यो, त्यहाँबाट उतैउतै पर च्याङथापू जगात् पुगेर केही रीत मुन्धुम पूरा गरी ठाडे खोला तर्थे अनि ता उकालै उकालो फालोटको कोठी ताकेर हिँड्थ्यो लस्कर ।
यस्तो परिवेशमा मेरो बाल्यकाल बितेकाले गर्दा ती चित्रहरू नित्य आइरहन्छन् । तिनको पृष्ठभूमिमा ता दार्जेलिङ नै हुन्छ । त्यो अदृश्य र अप्रकट दार्जेलिङ कालो बादलमा लुकीबसेको पानी जस्तो । साहू महाजन त्यसैको कुरा गर्छन्, लाहुरे भर्तीवाल त्यसैको, आच्छाम, भोटाङ, मनिपुर जानेहरू त्यसैको । मन सधैं एक अज्ञात तिर्खाले उम्लिरहन्थ्यो— त्यो दार्जेलिङ भन्ने ठाउँ झिलिक्क, एकपल्ट देख्न पाए कस्तो हुन्थ्यो !
त्यसैले आजभन्दा ५२ वर्ष पहिले लेखेको मेरो मुगलान उपन्यासको पहिलो वाक्य छ— हिजोआज त दोर्लिङलाई दार्जेलिङ भन्न थालेछन् । मेरा सुतार र ठूले जस्ता पात्रहरूले पहिलोपल्ट दार्जेलिङ टेक्ता आश्चर्य र हर्षले झन्डै बौलाएका थिए । पहाडबाट लगेको सामान त्यहाँकै कैयाँलाई जिम्मा लाए, पैसा थापे अनि लोरीमा चढेर अज्ञात विश्वतिर पखेटा फिँजाउँदै उडे । कहिल्यै नफर्किने गरी ।
हाम्रो बाल्यकालमा दार्जेलिङ विम्ब उत्पन्न गर्ने तत्त्वहरू अरू पनि थिए— रिकुटे खोजेर दार्जेलिङ जानेहरूलाई गल्लावाल भन्थे, छालाका बूट लाएर तिनीहरू गाउँ पस्थे, १८–२० वर्ष खेतबारी जोतेर रिटायर भएका गाउँका बूढा गोरु भेला गरी ‘डाँडापारि’ लान भनी ‘गोरुवाल’ गाउँ–गाउँमा घुम्थे । दार्जेलिङ भनेको मुक्तिको उज्यालो देखाउने विचित्रको संसार होला जस्तो लाग्थ्यो । तर डाँडापारिको अन्धकारमा त्यो खास्टो ओढेर लुकिरहेको जस्तो दार्जेलिङ । मलाई पनि सात वर्षको लाग्ने बेलामा पिताजीले लगेर गढी बजारको श्री हरि मिडिल स्कूलमा नाम लेखिदिनु भयो । दुईतले काठको स्कूलमा तीस–चालीस विद्यार्थी थियौं होला । मलाई ‘माष्टरहरू’ले एकै चोटि कक्षा एकमा राखिदिनु भयो किनभने म एक त पण्डितजीको छोरो त्यसमाथि चण्डी गीता आदि पुस्तक खरर पाठ गर्ने सक्ने थिएँ । तर भदौ महीनामा भर्ना गरेर पछि मुङ्सिरमा ‘इयर्ली इग्जाम’ दिनु थियो ।
स्थानीय गाउँका दुईजना शिक्षक हुनुहुन्थ्यो भने दुईजना दार्जेलिङका । त्यो फालेलुङ हिमाल कटाएर कसरी कसले उहाँहरूलाई हाम्रो गाउँमा ल्यायो होला । कुमारहाङ बेगा सरले हो कि स्थानीय कमिटीले हो कि । एक जना गुरुको नाम थियो— आसाङ तामाङ अर्का राईसर । दुवै जना गढी गाउँमा कतै बस्नु हुन्थ्यो ।
आसाङ सरले पिटी, संगीत, सफाइ, अनुशासन गराएर पढाउने, राईसर पढाउने मात्र । हामी ‘दार्जेलिङका माष्टर’ भन्थ्यौं । कति जान्ने, कति कडा— यी ता दार्लिङको अर्कै जगत्बाट आएका भने जस्तो लाग्थ्यो । बिहान स्कूल गिरानमा फालिन लाउने, लेफ राइट र इस्ट्यान् इजी आदि परेट सिकाउने, यो नेपाली शीर उचाली…. ‘प्रेयर’ सिकाउने, हप्तामा एक दिन फूलबारी गोड्न लाउने, कैले परेड, कैले पौडी, कैले नसोचेका कर्म गराउने ती दार्जीलिङका माष्टरहरू अर्कै पाराले पढाउँथे— क आकार का, क छोटा इकर कि, क बडा ईकर की, क एकर के, क ऐकर कै, क ओकर को, क औकर कौ, क सिरिविन्दु कं, क दवास विन्दु कः । यस्तो पाराले पढाउँथे । कक्षा कोठा थिएनन्, दुई तला मात्रै । कोही फलेकमा कोही बेन्चीमा बस्थ्यौँ ।
मलाई हजुरबाले घरमै पढाउनु भएको र अघिल्लो वर्ष गाउँले पाठशालामा सिकेको सबै ज्ञान त्यो अंग्रेजी स्कूलमा पुगेपछि छोपियो, एकराते पैराले बेँसीका खेत छोपिए जस्तै । हामीले ता क लाई कान्धानी का, बाइमात्रा कि, दाहिना की, तल्कुरे कु, वर्धन्ने कू, एकलख के, दोलख कै, लक्कानु को, दोलकन्ना कौ, सिरिविन्दु कं, क विसर्ग कः पढेका थियौं । दुई तीन महीना जति भर्भनाएर दुईचार बेत खाएपछि मैले बल्ल सिकें । ६५ वर्ष नाघे कहिलेकाहीँ मनमा अझै ती दुई तरिका बाझ्दछन् । त्यति मात्र थिएन दार्जेलिङका माष्टरले हामीलाई चार लाइन कापीमा अंग्रेजीका जुँगे अक्षर लेख्न सिकाए । ब्ल्याक बोर्डमा ठूलो फीटले धर्का तानेर ती बीचमा स्मल र क्यापिटल लेखिदिन्थे, हामी हेर्दै घोप्टो परेर सार्ने कोशिश गर्थ्यौं । नेपाली र अंग्रेजीका पुस्तकहरू दार्जेलिङबाट बोकाएर ल्याउँथे तिनै माष्टरहरूले । त्यसबेला पढेका पारसमणि प्रधान र धरणीधरका कति कविता अझै कण्ठ छन्—
टिकटिकटिक गर्दै भन्छ बेला बताई
समय नगर कहिल्यै व्यर्थमा नष्ट भाइ
समय यदि गरौंला व्यर्थमा नष्ट ऐले
दिई धन पछि फेरि पाइने छैन कैले ।
दार्जेलिङले बाल्यकालमा यस्तो छाप छोड्यो । मिनपचास (यो शब्द पनि उतैबाट आयो होला) बिदाको बेलामा त्यो सेतो फालेलुङ हिमाल काटेर ती गुरुहरू कसरी दार्जेलिङ फर्किन्थे, कसरी फेरि आउँथे, केही अनुमान छैन तर गाउँमा एक नयाँ संस्कृति बसालेका थिए । तिहारका नाचगानमा सात दिनसम्म हार्मोनियम र मादल भिरेर ‘इस्कुले’ नाचसँग गाउँ–गाउँ जान्थे । त्यसरी अन्न–पानी, रुप्या, पैसा चन्दा मागेर चलेको हाम्रो अंग्रेजी शिक्षा दिने स्कूल । दार्जेलिङका आसाङ सरका औँला हार्मोनियममा चल्न थालेपछि उनी आकाशतिर फर्केर आँखा चिम्लन्थे । गानाको सुरमा कसरी त्यो शिर हल्लिएको ! बजारका साथीहरू भन्थे— आसाङ सरले दार्जीलिङमा दुई वर्ष टाउको हल्लाउने मात्रै तालिम गरेका अरे— हामी छक्क पर्थ्यौं । त्यो हार्मोनी बाजा, दार्जेलिङबाट ल्याएका भन्थे । नत्र त्यो दुर्गम प्रान्तमा यस्ता सभ्यताका संकेत— केवल मादल, मुरली, बाँसुरी, मुर्चुङ्गा, नगरा, च्याबु्रङ, डमरु, शंख यस्तै थिए । यो गीतको अंश पनि दार्जेलिङबाटै आयो होला अथवा त्यो हार्मुनियम देखेर हाम्रा गाउँकाले नै कथे होलान् कि मलाई थाहा छैन । गीत यस्तो थियो—
हरमा हर हार्मुनी बजो दाम परो हजार
सँगै जौं दाउरा सँगै जौं पानी सँगै जौ बजार ।
यस्तो दार्जेलिङ सानैमा एकपल्ट देखें । बसाइँका भारी बोकेर हिँड्ने बाआमासँगको यात्रामा । तर त्यसको सम्झना छैन । मटर देखेर तर्छेको, मटर गाडी गनाएर उल्टी आएको, अलेली सपना जस्तो छ । तर त्यस अदृश्य भूमिको चित्र मनबाट कहिल्यै मेटिएन । आसाङ सरले शिर हल्लाउँदै आँखा चिम्लेर यस्तो दार्जेलिङ गीत गाउँथे :
साइँली माइली दार्जेलिङ कस्तो छ
दार्जेलिङ शहर बत्तीकै लहर हेरिरौं जस्तो छ ।
वर्षौंपछि पहाड छोडेर हाम्रो परिवार मधेस झर्यो । त्यहाँ पुगेर झापाको घैलाडुबा हाई स्कूलमा पढ्दा दार्जेलिङका भारती लगायतका केही पत्रिका अनि पुस्तकहरू प्रशस्त आउँथे । विद्यालयमा विशाल पुस्तकालय थियो । हाम्रा गुरुहरू दार्जेलिङ–कालेबुङ पढेका थिए । त्यहाँ मैले निकै दार्जेलिङ पढेँ । पछि काठमाडौंमा पढ्न आएको बेला एउटा पाठ थियो— एल डोराडो । त्यो भूस्वर्ग ता दार्जेलिङ हुनुपर्छ त्यसैले मैले आजसम्म त्यहाँ जान त्यसलाई देख्न पाइनँ भन्ने लाग्थ्यो ।
धेरै पछि, बीए, बीएड पास गरेर काठमाडौंबाट झापा फर्केर मोरङको एउटा विद्यालयमा शिक्षकता (आसामको शब्द) गर्न थालें । दार्जेलिङ गवन्र्मेन्ट कलेजमा बीएस्सी पढेर आएका भरत सुब्बा नामक मेरा गाउँले मित्र पनि त्यही विद्यालय (राधिका मावि उर्लाबारी) मा सँगै पढाउँथे ।
दार्जेलिङमा निकै वर्ष बसेका उनी अहिलेको शब्दमा ‘स्मार्ट’ थिए । म २२ वर्षको उमेर लागेपछि उनैको साथमा दार्जेलिङ पुगेँ र बल्ल सचेत भएर दार्जेलिङ हेर्ने अवसर मिलेको थियो । त्यसपालिको भ्रमण संस्मरणलाई त्यसको एकतीस वर्ष पछि एक्लै एक्लै एक्लै (निबन्धसंग्रहमा) २०६० मा प्रकाशित गरेँ । जसको शीर्षक छ दार्जेलिङमा मेरो एक अन्तर्वार्ता ।
यसको आरम्भ यस्तो छ : सिलगढीबाट ट्याक्सीमा चढी हुइँकिएर हामी दार्जीलिङ पुग्यौं । बस स्टपमा पुगेर उत्रिनु पूर्व एउटा ठूलो केटाले ट्याक्सीमा टाउको घुसाएर विनम्र भावले बोल्यो ‘एक्स्क्यूज मी, सर ! डु यू लाइक टु स्टेइ एट एनी होटेल ?’ केटाले कसलाई सोधेको हो मैले बुझिनँ र पल्याकपुलुक आँखा डुलाउँदा थाहा लाग्यो— प्रश्नको पेटारो मै माथि खनिएको रहेछ । मैले तुरुन्त कान ठाडा पारेँ । अब अंग्रेजी आवाजसँग भिड्ने दिन आएछ भनी मेरो होश हप्किन थाल्यो । तुरुन्त फुच्चेलाई उत्तर दिएँ— ‘नो नीड’ । ऊ बाक्लो भीडतिर अंग्रेजी पर्रा छोड्दै भासियो ।
त्यो घानबाट फुत्केर हामीले झोली तुम्बी भिर्यौं । साथी अघि अघि थिए उनलाई मैले लुरुलुरु पछ्याएँ । एउटा क्यान्टिनमा पुगी झोला बिसायौं । साथीकै बन्दोबस्त उनकै चाँजो–पाँजो । त्यो नौलो मुलुकमा बोलेर कल्याण छैन भन्ने अन्दाज गरी मैले आफ्नो सास दबाएर उनलाई पछ्याउनु आफ्नो कर्तव्य ठानेँ ।
बेलुका भयो । भात खाने बेला भयो । उसिना चामलको हरक थाहा पाएर भातको सट्टा रोटी रोज्ने मेरो निर्णय थियो । म दाल रोटी खान लागें साथी हरके चामलको बाफ उडाएर भात खान लागे । सँगैका साथी त्यो देख्नेलाई रमिता हुँदै गयो । दोकाने बजूले मेरो मुखतिर हेर्दै भन्नुभयो, ‘हैन, याँ नानी त ‘बेंगाली’ भनेर भर परेको त हैन रैछ पो ?’ । ‘हैन बजू ! म त नेपाली पो ।’ आमैले आँखा फारेर आश्चर्यको जिभ्रो टोकिन् । उनले वचनले पनि थपिन् ‘ओ ! नेपालमा बसेर नगनाउने अलुवा चामल खाको रै’छ । एई ! नि त नानी ! देश परदेश गर्नुपर्छ । ए …घरैमा बस्यो । मीठो मीठो खायो । अब परदेश आए पछि ठुस्सै गनाउने भातको फेला पर्यौ नि । भोकले मर्छौ तिमी त ।’
बजूको छेड हनाइले मलाई अपमानित भएझैं लाग्यो । मनमनै सम्झें— मैले कति देश परदेश गरेँ, डुलें, फिरें, देखें, भोगें आज आएर यस्तो ? अनि बजूलाई भनें पनि ‘आ ! बजू, मैले छ महिनासम्म रोटी मात्र खाई बसेको, भात भन्दा रोटी नै बढ्ता स्वाद पाउँछु ।’ (पृ. ५–६)
तर अक्षरले ता मलाई अलिक पहिलेदेखि नै दार्जेलिङ पुर्याएको रहेछ । काठमाडौंमा बसेको समयमा कसोकसो नेपाली साहित्य सम्मेलनसँग पत्राचार सम्पर्क गरी काठमाडौंमा पनि दियालो पत्रिका मगाउन थालें । दश–बाह्र प्रति मगाउने, एक दुई राख्ने अरू न्यू रोड पिपलबोटमा दिने गर्थें, बिक्थे । पैसा जम्मा गरी पान–दश कति रुप्पे हुन्छ गोस्वारा हुलाकबाट धनादेश गर्न थालेँ ।
कोसँग पत्राचार गरेँ थाहा छैन । अहिले हेर्दा ती दिनमा श्री तुलसी बहादुर छेत्री लामो समय अध्यक्ष हुनुहुँदो रहेछ । म यता आफूलाई साहित्यकार उत्रिसकेको ठान्थेँ । मधुपर्क, रूपरेखा, गोरखापत्र आदिमा छपाउन थालेको थिएँ । उता दार्जेलिङ पनि पठाएछु । नभन्दै दियालोको वर्ष १५, हाँगो ७७ मा मेरो एक कविता छापियो जुन यस प्रकार छ :
दियालो
नेपाली साहित्य सम्मेलन पत्रिका
“शहरभित्र एकान्त खोपी यो गरोस् उज्यालो
झोपडीभित्र यसैले बालोस् मनको दियालो !!”
वर्ष १५, हाँगो: ७७, चैत २०३१ (मार्च १९७५)
आजको रमाइलो साँझ
भित्रको छटपटीलाई छाद्न तत्पर म
कालो किरमिरको अस्पष्ट रेखामा
पोखिन तत्पर गुँडुलिएका भावहरू,
तर,
बेफुर्सद मैले—
जानुछ नाइट ड्यूटिमा
जानुछ मट्टीतेलको लाइनमा
पुग्नुछ चामलको ब्ल्याकमा
तोरीतेलको कूपनमा
घिसार्नु छ निर्मम तरिकाले रित्तो पेट
बूटहरू पड्किने सडकमा
मूतहरू बग्ने नाली छेउ
भूतहरू फुत्त फुत्त भित्र बाहिर गर्ने
कोठीको कालोले छेलिएर
श्रीमान्हरूले विकाश गर्ने ठूलठूला
महलका जूठेल्नामा
युगको नग्न परिवेशलाई लिएर
मन्त्रमुग्ध भाषणहरू कानभरि उघाउन
टुँडिखेलको बारैबारबाट
बाहिर निस्कन नपाएर
यो रमाइलो साँझमा ।
गन्ती गर्दा पचास वर्ष पुगेछन् मैले दार्जेलिङसित भावनात्मक एवम् आक्षरिक सम्बन्ध जोडेको । त्यसको बीस वर्षपछि (१९९५ मा) मात्र मैले दार्जेलिङको सचेत यात्रा गरेँ । त्यो पूर्ण साहित्यिक उद्देश्यको थियो । त्यसपछि पनि समयान्तरमा अनुल्लेख्य आवागमन हुँदै गरे, छोटा व्यक्तिगत, पारिवारिक । सन् २०२२ को बर्खामा विश्व नेपाली साहित्य महासंघको एक महासम्मेलनमा कार्यपत्र प्रस्तोता बनी पुगें । तर यसपालिको ता अतीतलाई बिर्साउने र ऐतिहासिक थियो भन्ने कुरा मिति २०८२ जेष्ठ २५ मा साहित्यपोस्टमा प्रकाशित मेरो ‘दार्जेलिङमा सम्पन्न एक ऐतिहासिक कर्मको अमर सम्झनामा’ आलेखले जानकारी दिएको छ ।
यसपालिको सम्मेलनमा दार्जेलिङ जाँदा अरू पनि अनेक उपलब्धि भए, स्मरणीय कुराहरू भए । सबैभन्दा पहिलो कुरा ता साहित्य सम्मेलनले प्रकाशित गरेका चयनित कृतिहरू प्रदर्शनीमा थिए । त्यहाँ उल्लेख गरिएका ४१ थान पुस्तक १६ थना दियालोका विशेषाङ्कहरू आफ्नो नजिकको बाक्सामा सुरक्षित गर्नुपर्ने कुरा रहेछन् । त्यस्ता प्रकाशन छेउमा राख्ता मात्रै पनि मनोबल उच्च हुने भन्नु जस्तो । तर सकिएन एक डेढ मनको भारी त्यो हतारमा ल्याउनु सम्भव थिएन । तर कति अमूल्य कृति उपहारहरू प्राप्त भए । भाइ शरदले तिनको परिचय दिँदैछन् । म पनि आफ्नो हिसाबले तिनलाई सन्दर्भ परेको ठाउँमा सम्झाउँदै गर्नेछु ।
यसपालि (जेठ १०) हामी पुगेको साँझ पाहुनाहरूको व्यवस्थापन हेर्दै डा. जीवन नामदुंग हाम्रो होटल (एलिस भिला) मा आउनुभयो । भोकतिर्खा कति खप्तै भोलिपल्टदेखि आरम्भ हुने वृहत् कार्यक्रमको व्यवस्थापन चिन्तामा समर्पित उहाँसँगै बसेर दुई सुक्खा रोटी तरकारी खायौं, आनन्द मनाएर छुट्टियौं ।
भोलिपल्ट बिहानदेखि साँझसम्म सम्मेलन भवनमै बितायौँ । फर्केर एकछिन चौरस्ता डुल्न निस्कियौं । शरद भाइले भन्नुभयो— ऊ त्यहीँको ठाडो उकालामा सिँढी चढेर जाँदा नन्द हाङखिम सरको घर पुगिन्छ । मैले भनें, “त्यसो भए जाऊँ उहाँको दर्शन गर्न मन छ । धेरै पढ्न पाएको छैन ती बहुमुखी प्रतिभाका एक दुई कृति पढेँ । सन् २०१४ का साहित्य अकादमी पुरस्कारले सम्मानित नन्द हाङखिम…।” तर रात खस्तै थियो । झरी पर्ला जस्तो साँझ उकाला सिँढीहरू चढ्ने आँट आएन ।
मेरो सौभाग्य, त्यही बेलुकी आठ बजेतिर एक पात्र आए प्लाष्टिकको ठूलो झोलामा तीन ग्रन्थ (अठार सय पृष्ठ जतिका) उचाल्दै एक भाइ भित्र पसे । धेरै बोल्ने संजोग मिलेन । तर अत्यन्तै आदरणीय एक ख्यातिलब्ध स्रष्टाको तर्फबाट यो अमूल्य उपहार प्राप्त गर्दा म हर्षले अभिभूत भएँ । ती भाइले सुनाए, “उहाँ यता आउन सक्नुहुन्न ।” उसो भए भोलि हामी यी वरेण्यको दर्शनमा जौंला । यस्तै सल्लाह गरेर सुत्ने बेला पार्दै थियौं । नन्द हाङखिम् कृति कृञ्जका भाग १,२,३ छामेर उचालेर ढोगेर राखेँ । यस्ता ग्रन्थहरू सिक्किमको परी प्रकाशनका उपहार रहेछन् । गीत, कविता, कथा, नाटकका अविच्छिन्न साधक हाङखिमज्यूको यस ग्रन्थमालालाई चिनाउने गरी लेखिएको सिक्किमका मुख्य मन्त्री प्रेमसिंह तामाङका यी शब्द सुनेर बिजुली निभाएँ—
साहित्यसाधक नन्द हाङखिमका कविता, कथा, निबन्ध आदि सबै विधाका सिर्जनाहरू चर्चित अनि पाठकप्रिय रहे तापनि नाटक विधाले भने उहाँलाई कालजयी बनाएको देखिन्छ । भारतीय नेपाली साहित्यमा कम्ती लेखिँदै आएको नाटक विधामा आफूलाई निरन्तर लगाइराख्नु उहाँको विशेषता हो । कलमकै माध्यमबाट समाजमा आफ्नो चिनारी सुरक्षित राख्ने एकजना वरिष्ठ सर्जक हुनुहुन्छ नन्द हाङखिम । उहाँको यसै दिव्य साधनालाई कदर गर्दै सन् २०१४ मा सत्ता ग्रहण कथा सङ्ग्रहका निम्ति साहित्यसम्बन्धी भारतकै सर्वोत्कृष्ट सम्मान साहित्य अकादमी पुरस्कार पनि प्रदान गरिएको छ । यो उहाँको सम्मान मात्र नभएर अटल साधकका निम्ति नै प्रेरणा हो भन्ने म ठान्दछु ।
यस्ता असम्भव लाग्ने कर्मका दृष्टान्त उता पाइन्छन् । इन्द्रबहादुर राई, अगमसिंह गिरी, पारिजातहरूलाई यस्ता ठेली पढेका थियौं । त्यही सम्मानित हारमा आदरणीय नन्द हाङखिम गाँसिनु भएको रहेछ । मभन्दा नौ वर्ष जेठा नन्द सरको भोलि दर्शन गरौंला भन्ने सल्लाह बाँधी हामी ढल्कियौं ।
भोलिपल्ट बिहान चिया–पान गरी आ–आफ्नो सेशनको तयारीमा लाग्यौं । अनि छिटै गरेर नजिकको गोर्खा रङ्गमञ्च पुग्दा अतिथि जम्मा भइसकेको स्थिति थियो । त्यसपछि ता भित्र पसेर आसन ग्रहण गर्यौं र एकै चोटि बेलुकी साढे सात बजे बिदा पायौं । गलेर हत्तु भएका रहेछौं हामी । त्यो रात मुश्किलले एलिस् भिल्लाको ओछिनमा पुग्न सक्यौं ।
भोलिपल्ट बिहान बिदाइको दिन थियो । त्यसैले चिया नखाईकन अस्तिकै हमजाएगा गुरुजीलाई बोलायौं । उनी हाजीर भएर आँगनमा सामान ‘लोड’ गर्न थाले । पानी पर्दै थियो, हामीलाई जोगाउँदै अलिक तल्तिर चोक बजारको बस स्टेण्ड पुर्याए । त्यहाँ अर्को पालो परेको गुरुजीसँग हाम्रो सम्पर्क मिलाइदिए । हामीलाई सानो भ्यान गाडीमा बसाएर एकएक कप चिया अर्डर गरे । कस्तो मीठो सुवासित चिया । भरे हामीबाट त्यसको पैसा लिन मानेनन्, उनले आफैं तिरिदिए र त्यो सानो सिकारु डाइबरलाई अराइराखे— “उहाँहरू ठूलो साहित्यकारहरू हो, नेपालदेखि आउनेहरू हो । तेसकारण एति रुप्यामा लानू र कर्सियाङको फलान् ठाउँमा उतार्दिनू ।”
एउटा गाडी चालकको चेतना, बोलीवचन र व्यवहार देखेर हामी छक्क पर्यौं । जम्मा चिनारी भनेको अस्तिको दिन उनले हामीलाई पशुपतिनगरदेखि होटल एलिस भिल्लासम्म पुर्याएका मात्र हुन् । आज त्यत्रो हार्दिकता प्रकट गर्दै हाम्रो खातिर गर्ने गुरुङ भाइले भने, “यो मेरो गाडी पैसा कमाउनलाई होइन, सेवाको लागि र टाइमपास । म ईश्वरमा विश्वास गर्छु ।” वास्तवमा पेन्सनर लाहुरे ती गुरुङ भाइ निधारमा पहेंले टीकाधारी हेर्दा सन्त देखिन्थे ।
त्यहाँदेखि हामीलाई खार्साङ पुर्याउने केटो चालक एकदम अररो, बटारिएको परेछ । अघिल्ला सीटमा बस्छौं भन्दा दिएन, यो ‘सिलिगुडीको कोटा’ भन्यो । हामी पछिल्तिर खाँदिएर बस्यौं । धन्य डा. गीता छेत्री पनि हाम्रै साथमा हुनुहुन्थ्यो । हाम्रो रक्षा गर्दै बीच बाटामा चिया खाजा खुवाएर लानु भो । गाडीको भाडा पनि हामीले तिर्न पाएनौं, त्यो ऋण कहिले तिर्नु हो ! पहाडको भित्तो काटेर अतीतमा बनाएको दार्जेलिङको बाटो अत्यन्तै साँघुरो । दोहोरीलत्ता माङ्ली परेका साना गाडी । दुई घण्टा लगाएर हामीलाई खार्साङमा उतार्यो । हस्पिटल रोड पर्तिर रेल्वे स्टेशन छेउमा उत्रेर एउटा निर्माणाधीन घरको पेटीमा सामान थुपारी बस्यौं । त्यहींबाट मैले ऋषि भाइलाई फोन लगाएँ । ऋषि राई मेरा पुराना चिनारु भाइ । उनैको निमन्त्रणामा हामी खार्साङ उत्रिएका थियौं । आजैको दिन यहाँ असीत राई स्मृतिग्रन्थको लोकार्पण तथा अन्य कर्महरूको आयोजना राखेका छन् । यहाँको असीत राई स्मृति साहित्यिक मञ्च विगतका छ महीनादेखि कार्यक्रमको उचित समयको प्रतीक्षामा थियो । यसघरी दार्जेलिङ आउने अतिथिहरूलाई पनि बाटो मिलाएर यता फिर्नु सजिलो पर्ला भनी यो मिति मिलाएका हौं भन्थे ।
पानी झरीको दिन एकछिन प्रतीक्षा गरेपछि एउटा सानो भ्यान गाडी आइपुग्यो । ती भाइले सामानसँग हामीलाई मिलाएर बसाए नजिकै डाँडाका टुप्पो जस्तामा उभिएको माउन्टेन भ्यू होमस्टेमा लगेर जिम्मा लगाए । सनसाइन स्कूलको नजिकै नयाँबजार भन्ने ठाउँको त्यो होमस्टेको तीन तलामाथि चढ्यौं । अति सुन्दर र उतातिरका मनोहारी दृश्य सम्पूर्ण देखिने घरमा भनेसम्मको आनन्द भयो । यो मेरा लागि दार्जेलिङको दोस्रो होमस्टे थियो । तीन वर्ष अघि बतासेभन्दा तलको सुनाखरी होमस्टे पनि यस्तै आकर्षक थियो ।
माउन्टेन भ्यूका सञ्चालक भाइ देवेन एक शिक्षक पनि रहेछन् । बहिनी पेमू उस्तै हार्दिक । बिहान बेलुकी दम्पती मिली अतिथि स्वागत गर्ने, दिनमा अर्थोक । कस्ता रमाइला, हँसिला र बिर्सिनसक्नु आतिथेय मिले खार्साङमा ।
हतारमा हामी छ जना (श्री रोचक घिमिरे, डा. तुलसी भट्टराई, प्रा.डा. कुमार कोइराला, श्री शरच्चन्द्र वस्ती, श्री शरदप्रधान) खाजा चिया बनाइमागेर सेवन ग¥यौं अनि आनन्दले थकाइ मार्दै बस्यौं । यो थियो २६ मई २०२५ का दिन । एकछिनमा असीत राईको कार्यक्रममा जानु थियो । मैले सम्झेँ रात परेपछि वारिपारि, तल माथि एक लाख बिजुली बत्ती झलल… गर्लान् । मैले उहिलेको गीत सम्झें—
दार्जेलिङ ज्यानको बिजुली बत्ती खार्साङको तारबत्ती
रेलैमा चढी टिकसै काटी उत्रौंला पार्वती ।
तर यो तारबत्ती के हो, रेल कहाँ थियो, पार्वती कता—केही थाहा थिएन ।
२७ असार २०८२
सुकर्मटोल, कीर्तिपुर



यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।

