प्रिय सिमोन,

शायद सन् १९८३ हुनुपर्छ । मेरो नेतृत्वमा हाम्रो कलेजमा हरिभक्त कटुवालको स्मृति दिवस मनाउँदा  हरिभक्त मिथक भइसकेका थिए- रक्सीको, कविताको,  गीतको अनि यायावर कथाहरूको ।  तर कटुवालको सृजना प्रतिको मेरो मोह  र झुकाउ उनी बितेको ४५ वर्षपछि उतिकै ताजा कायम थियो जतिको सन् १९८३मा  जुन वेला म १२ कक्षामा पढ्थें ।  त्यस वेला मलाई थाहा थिएन एकदिन नियतिले मलाई कटुवाल भूमि असम पुराउँछ भनेर अनि त्यहीं यात्राले मलाई साहित्य सृजनामा तन, मन र धन दिएर समर्पित साहित्यकारहरूसँग साक्षात्कार गर्ने अवसर दिन्छ भनेर ।

 

“बा, पाठशाला जान्न म

इतिहास पढाइन्छ त्यहाँ मरेका दिनहरूको

खिया लागेका कलका पुर्जाहरू जस्तै

गणितका सूत्रहरू पनि साह्रै पुराना भइसके

रहर छैन मलाई बाँचिदिने

केवल इतिहासका पानाहरूमा,

मैले त बाँच्नुपर्छ आउने दिनहरूमा

इतिहासको गतिलाई उछिनेर

इतिहास भन्दा बढी अरू केही भएर

त्यसैले बा, पाठशाला जान्न म

इतिहास पढाइन्छ त्यहाँ मरेका दिनहरूको ।”

स्कूलमा हुँदा पढेको  हरिभक्तको  ‘रहर’ कविताले लगाएको हुटहुटीले  मलाई स्थूल रूपमा नै असम पुर्‍यायो यस पटक जनवरी महीनाको शुरूमा ।  हुन त सिमोन म र मेरो पूर्णांगिनी तीर्थाटनको निम्ति भनेर कार्यक्रम तर्जुमा गरेका  थियौं । तर कटुवाल भूमिको साहित्यिक उर्भरताले तीर्थाटनलाई साहित्यिक यात्रामा रूपान्तरण गरिदियो ।  नेपाली साहित्यमा पर्या-चिन्तन र सृजनामा दत्तचित्त भएर लाग्नु भएका गुवाहाटी निवासी  कवि-कथाकार देवेन सापकोटाको आग्रहले  तीर्थाटनलाई नयाँ स्वरूप दिने कार्य भयो ।

ए नदी, कुन वेला तिम्रो मृत्यु भएको हो ?

के प्लास्टिकका कसिङ्गरले उकुसमुकुस थिचेर

कुनै करोना रोगी स्वासरुद्ध भए जसरी

तिम्रो मृत्यु भएको हो ?

तर

वर्षा हुनासाथ

कुनै मस्त तरुनीसरह 

छङछङ नृत्य गर्न लाग्दिरहिछ्यौ

दुवै बगरमा हरियाली फरिया फिँजाई

हुर्काउँदै, खेलाउँदै अगणन जीवकुल आफ्ना अवयवभित्र

काठमाडौंबाट प्रकाशित हुने नवप्रज्ञापनमा प्रेषित यो कविता उनको पर्या चेतनाको द्योतक हुन् । पेसाले प्राध्यापक त्यो पनि विज्ञानको भए पनि वास्तवमा उनी पर्या-कथाकार पनि हुन् । ‘परिश्रान्त पृथिवी’ कवितासंग्रह बाहेक ‘पृथिवीका सुस्केराहरू’(पर्या-कथासंग्रह), ‘मनोराग’ (कथासंग्रह) र ‘यता हुँदा उताको झझल्को’( नियात्रासंग्रह) प्रकाशित भइसकेको छ ।

अनि अनायास जोडिन पुग्छ गुवाहाटीमा  गोठाले कवि कविता गुनगुनाउँदैः

“तँ त गइहालिस् एक 

मुठी तातो पानी दिने कोही छैनन् 

ठिकै भयो जस्तो पो लाग्न थाल्यो 

दुःखै लुक्यो तेरो !

छोरो अफलाइनमा

छोरी अनलाइनमा

बुहारी चुनावमा व्यस्त

नातिनातिना भिडिओ गेममा

म ओच्छ्यानमा !

एक मुठी तातो पानी दिने कोही छैनन् बुढी ।

तेरो इच्छा नै थियो 

आयुष्मती हुने, सेतो वस्त्र लाउनु नपरोस् भन्ने

म रङ्गीन वस्त्र लगाएर पनि सुस्त मन

कोही छैन बोल्ने र सुन्ने मेरो कुरा

तेरो यादले सारै सताउँछ बुढी !

काकाकुल झैं भएको छु

एक मुठी तातो पानी दिने कोही छैनन् बुढी !”

उनको ‘बुढी’  शीर्षकको यो कविता सेतोपाटीमा सोह्र हजार पाँच सय भन्दा बढीले साझा गरिसके । वर्तमान जनजीवनको तीतो सत्यलाई सिंहावलोकन गरी लेखिएको यो मार्मिक कविता उनको ‘पातको फिरफिरे’ कवितासंग्रहमा समावेश छ ।

यो पढेपछि अनि मलाई लाग्यो हरिभक्त मरिसकेका रहेनछन् । आफूलाई गोठालो अन्तरे भन्न रुचाउँछन् कवि पुरूषोत्तम उपाध्याय दाहाल । पेसाले बैंकर भए पनि हृदयले खाँटी कवि । ब्रह्मपुत्र नदीको किनारमा हुर्किएका कवि उनी ब्रह्मपुत्रको छेउछाउका लेखक पद्मश्री लीलबहादुर छेत्रीका नजीकका मान्छे हुन्, उनी आफै भन्छन् ।  उनका कथाहरू भुइँमान्छेलाई प्रतिनिधित्व गर्छन्  र यसको प्रमाण हो उनको कथासंग्रह- ‘लोहितकिनारका गोठ र गोठालाहरू’ । लोहित अर्थात ब्रह्मपुत्र । दशकौं अगाडि दूरदर्शनमा हेरेको कल्पना लाजमीद्वारा निर्देशित तथा भूपेन्द्र हजारिकाले संगीत दिएको टेलिसिरियल ‘लोहित किनारे’ हेरेको झट्ट याद आयो यो कथा संग्रहको शीर्षकले ।

अनि  जोडिन पुग्छौं हूज हू अफ गोर्खा मार्टिर्स अफ इन्डिया, हिस्ट्री अफ गोर्खाज इन आईएनए कोलोनियलिज्म इन इन्डिया एन्ड हिस्ट्री अफ इन्डियन गोर्खा मार्टिर्स इन फ्रिडम स्ट्रगल का लेखक पुरूषोत्तम भण्डरी । उनकै घर हाम्रो कार्यक्रम स्थल ।  वाणिज्यको विद्यार्थी भए पनि उनी इतिहासलाई माया गर्छन् र भारतीय गोर्खाहरू इतिहास लेख्न तन र मन मात्र होइन धन पनि खर्च गरेका छन् । उनको त परिवार नै साहित्य सृजनामा समर्पित रहेछन् । पत्नी रमा भण्डारी हिन्दी र नेपालीमा कविता कोर्ने अनि छोरी लोहिता भण्डारी अंग्रेजीमा कविता लेख्ने ।

तीन दिनको छोटो बसाइँमा ‘बसाइँ’ उपन्यासका लेखक लीलबहादुर छेत्रीसँग साक्षात्कार गर्ने अवसर त जुरेन तर नेपाली जनजीवनका केही पाटाहरू बुझ्ने मौका पाएँ । त्यहाँका अधिकांश नेपालीहरू नेपाली भाषा बाहेक असमिया, अंग्रेजी र हिन्दीमा सिद्धहस्त रहेछन् । ‘सपनाको जरो पहिल्याउँदै’ (कवितासंग्रह), ‘शब्द शिल्पर कारुकार्य’ (असमीया निबन्धसंग्रह), ‘एक सय लिमारिक’ (हास्यव्यङ्ग्य मुक्तकसंग्रह), ‘ती पाइलाहरू’ (कवितासंग्रह), ‘प्राप्ति अप्राप्ति’ (कथासंग्रह), ‘तवेलामा घोडाहरू’ (कवितासंग्रह), ‘जलप्रपात’ (असमीया कवितासंग्रह),’रुद्ध अनिरुद्ध’ (कथासंग्रह), ‘अनुहारभित्रको आकाश’ (उपन्यास), ‘सिर्जन समीक्षण’ (निबन्ध संग्रह) आदिका सर्जक इन्दु प्रभा देवी असामिया पढाउँछिन् कलेजमा । इन्दु प्रभा देवीको कविता र कथा नेपाली भाषामा भन्दा असमीया भाषामा नै पहिले छापिएको थियो ।

भेट हुन्छ इन्दु प्रभा देवीलाई त्यही साहित्यिक कार्यक्रममा अनि मित्र विमल भौकाजीद्वारा सम्पादित ‘झ्यालबाट विश्व चियाउँदै’ उपहार दिन्छु जसमा उनको एउटा कथा पनि समावेश थियो । हालसालै इन्दु प्रभा देवीको नयाँ परिचय थपिएको छ नेपाली साहित्यमा- कार्यकारी अध्यक्ष, असम नेपाली साहित्य सभा ।

त्यही कार्यक्रममा भेट हुन्छ हिन्दी र नेपालीमा दह्रो कलम चलाउने लेखिका- गोमा अधिकारी ! उनका कृतिहरूमा ‘नेपाली भाषा र संस्कृति’, ‘मणिपुरमा नेपाली साहित्य एक अध्ययन’, ‘भारतीय नेपाली साहित्यको विश्लेषणात्मक इतिहास’ र ‘नारी सर्जक’  नेपालीमा तथा  ‘आतुर माध्य’ (संयुक्त काव्यसंग्रह), ‘पूर्वोत्तर काव्य सृजन’ (संयुक्त काव्यसंग्रह) हिन्दीमा र ‘शून्य प्रहारका साक्षी’ नेपालीबाट हिन्दीमा अनुवाद प्रमुख छन् । कवि गोमा अधिकारी एक सशक्त अध्येता र अन्वेषक हुन जसले नेपाली साहित्यलाई हिन्दी पाठक माझ परिचित गराउन उद्यत छिन् ।

“तिम्रो लागि

एउटा कविता लुकाएर राखेको छु,

शीतले कोरेका

पवित्र शब्दहरूलाई

मुटुको  रागिनीले छोपेर राखेको छु

मनमा उठेका

इन्द्रेणीको रङ्गहरूले

तिम्रा लागि महल सजाएर राखेको छु

तिमी आऊ न

तिम्रो लागि

एउटा कविता लुकाएर राखेको छु

आकाङ्क्षाहरूको

एउटा पहाड थुपारेको छु

तिम्रो र मेरो लागि

एउटा नयाँ आकाश बनाएको छु,”

‘एउटा कविता तिम्रा लागि’ शीर्षकको उक्त कविताका कवि फिराक गोर्खाली पनि टुप्लुक्क आइपुग्छन् कार्यक्रम निक्कै टाढाबाट अनि आफ्नो कविता पाठ गर्छन् ।  कवि सुरज गजुरेल, सम्पादक सिताराम अधिकारी र अनुवादक चम्पा उपाध्याय पनि जोडिन आउँछन् कार्यक्रममा । ‘अथाह’ (उपन्यास) नेपालीबाट असमीयामा अनुवाद, ‘मालती’ (उपन्यास) नेपालीबाट असमीयामा अनुवाद,  ‘डम्फु’ (उपन्यास) असमीयाबाट नेपालीमा अनुवाद, ‘अरण्य’ (उपन्यास) असमीयाबाट नेपालीमा अनुवाद आदि चम्पा उपाध्यायका अनुवाद कृति हुन् ।

प्रिय सिमोन, तिमीलाई थाहा नै छ होला सन् १८०० को अन्ततिर भारतीय नेपाली साहित्यको केन्द्रबिन्दु थियो बनारस । सन् १९१८ देखि बिस्तारै दार्जीलिङतिर भारतीय नेपाली साहित्यले बसाइँ सर्छ ।

कालान्तरमा सन् १९८६ पछि यो सिक्किमतिर लम्कन्छन् र अहिले ब्रह्मपुत्रको किनारमा अवस्थित असमको उर्वर भूमिमा आएर ऊर्जावान् भएको छ । हुन त  मणि सिंह गुरुङको सम्पादनमा जनवरी १, १९३६ (करीब ८९ वर्ष अघि) मा शिलोङ, भारतबाट ‘गोर्खा सेवक’ साप्ताहिक पत्र प्रकाशन शुरू भएको थियो त्यसपछि  धेरै पत्रिकाप्रकाशित भएका छन् जसमध्ये केबी नेपालीको सम्पादनमा प्रकाशित ‘बिन्दु’ पत्रिकाले अनवरत रूपमा ६ दशक भन्दा बढी साहित्य सेवा गरिरहेको छ । अनुराग प्रधान, दिलबहादुर नेवार, नव सापकोटा छविलाल उपाध्याय, भविलाल लामिछाने आदि पनि साहित्यिक पत्रकारिताका केही नक्षत्र हुन् असमका ।

यही सिलसिलामा पत्रिकाको उदय र अस्ताउने रोगलाई चुनौती दिंदै रूद्र बरालको नेतृत्वमा ‘इन्द्रेणी’ प्रकाशन शुरू हुन्छ सन् २०२३ अक्टोबरमा । प्रकाशन हुने क्रम अहिले पनि जारि छ । तर युवा कवि चन्दन छेत्रीको असामायिक मृत्यको कारणले रूद्र बरालसँग भेटघाट हुन सकेन । सुयोग्य समालोचक त हुन् यिनी यस बाहेक उनी असल कवि पनि हुन् :

“चुपचाप चुपचाप मेरा पोस्टहरू पढ्दै जानू

चुपचाप चुपचाप मेरा कविताहरू हेर्दै जानू

कसैलाई सुइँको नदी रचनाहरू नियाल्दै जानू

मन्तव्यहीन अभिव्यक्तिहरू मनभित्रै पोख्नू

मनभित्रै परगेल्नू

चबाउनू

चुपचाप पचाउनू

चुपचाप चुपचाप समीक्षा गर्नू

समालोचनाले धराशायी पार्नू चुपचाप

न नपरे चुपचाप च्यात्नू

मनबाट मिल्काउनू “

समको भूगोलको अल्पज्ञान रहेछ मलाई, सिमोन ! अहिले पो थाहा पाएँ । भेट्न सकिनँ कवि निलीमा आचार्य:

“हिजोआज गाउँ शहरतिर लागेको छ

पिठ्युँमा सपनाको साम्राज्य बोकेर 

गाउँका प्रत्येक 

बाटा

गोरेटा 

सडक

सबै शहरतिर जाँदैछन् 

आऊ न ! एकपटक, हेरेर जाऊ 

आफ्नो प्यारो गाउँ 

के भन्नु सबै म्यासेजमा !

यहाँ कुशल मङ्गलै छ

तिमीले जस्तो छोडेर गएका थियौ ठिक 

त्यस्तै त्यस्तै छ

बेठिक केही छैन ।”

निलीमा, टुलुमणि देवी र पूजा आचार्यको संयुक्त सम्पादनमा इन्द्रेणीको नारी विशेषाङ्क प्रकाशित भएको छ । यो अंक निक्कै पठनीय हुनु एक मुख्य कारण हो- यसले सम्पूर्ण भारतीय नेपाली महिला साहित्यकारहरूलाई समेटेको छ ।  ‘परिवर्तन र अन्य कविता’ (कविता सङ्ग्रह), ‘रजत’ (उपन्यास) र ‘जूनको पर्खाइमा’ (कविता सङ्ग्रह) निलीमाको प्रमुख कृतिहरू हुन ।

भेट्न खोजेको तर भेट्न नसकेको कवि हुन नैना अधिकारी । ‘अनन्त भोक’ शीर्षकको कवितामा नैना अधिकारी लेख्छिन् :

“धर्तीलाई गहिरो निद्राबाट ब्यूँझाएर

ब्युँझन्छ माटाको चुलो

अदृश्य खुड्किलाबाट ओरल्दै आउँछ बहुआयामिक भोक

धेरै अनुहार देखाउँदै

स्वतन्त्रताअघि

स्वतन्त्रताको भोक थियो,

पाएपछि

गाँस, बास र कपासको भोक झाँगियो

भोक बस्ने आपट्टे जङ्गल बन्यो उनको

हजारौं-लाखौं कोमल र खस्रा हातहरूले

फरुवा चलाए

पसिना चुहाए

बाली उमारे

अनि

एक गाँस जाउलाका लागि

भोकभोकै सुते

स्वतन्त्रताका कथा सुन्दै ।”

नैना कविता बाहेक समालोचनामा पनि पोख्त कलम चलाउँछिन् ।  ‘साहित्य सिर्जनाका बान्कीहरू’ र ‘समालोचकीय ऐनामा सिर्जनाका प्रतिबिम्ब’ उनको समालोचना कृति हुन् भने ‘असमेली नेपाली समालोचना’-को तेस्रो भाग ढाकाराम काफ्लेसँग संयुक्त सम्पादन गरेकी छिन् । ‘घात प्रतिघातका उद्गारहरू’ र ‘अमूर्त कारागार’ उनका कविता कृतिहरू हुन । उनले साहित्य अकादमीबाट युवा साहित्य पुरस्कार पनि पाइसकेकी छिन् ।

अर्का भेट्न नजुरेका  कवि हुन मोहन सुवेदी –

“भर्खरै खोलिएको एउटा नयाँ किताब 

सुवासित भयो सम्पूर्ण कोठो शब्दले 

सुगन्धित भए गुम्सिएका विचारहरू

सेता पृष्ठहरूमा लिपिबद्ध भएका प्रहरहरू

झ्यालबाट उड्दै आएर 

थपक्क बस्दछ हत्केलामा रङ्गिन पुतली

लामो यात्रामा खुलै राखेको किताब 

बुद्धत्वका सुदीर्घ ऋचाहरू पढेर 

ढोकाबाट निस्किएको ज्ञानको सुरिलो लय

आत्मीय सम्पर्क छ किताब र रोटीको 

जसरी अन्तरङ्गता छ मृत्युसित नुनको 

माटोसित अलग्गिन नसकिने पाइलाहरू 

एक-अर्कोसित जोडिन्छन् शब्द र तस्वीरहरू”

यस्तो दमदार कविताका कवि सुवेदीलाई यसपालि भेट्ने साइत नजुरेकै रहेछ लेखक खगेन शर्मा जस्तै । मित्रसेन थापा माथि विद्यावारिधि गरेका लेखक, अन्वेषक, अध्येता खगेन शर्मालाई काठमाडौंमा केही क्षण त भेट भएको थियो तर असममा रूद्र बराल र खगेन शर्मासँग लामो विमर्श गर्ने योजना थियो यस पालि अपुरो नै रह्यो सिमोन । भेट हुन सकेन साहित्यकार ज्ञानबहादुर छेत्री ।

सन् १९८८ मा ‘उषा मंजरी’ काव्यमा साहित्य अकादमी पुरस्कार पाएका पुष्पलाल उपाध्याय, नेपाली साहित्यका सर्वाधिक चर्चित कवि हरिभक्त कटुवाल, पद्मश्री लीलबाहदुर छेत्री, पद्मश्री गीता उपाध्याय, मणिसिंह गुरुङ, युद्धवीर राणा, विक्रमवीर थापा, केबी नेपाली आदिको पदछाप पच्छाउँदै  नयाँ पुस्ताका कवि लेखक असमबाट भारतीय नेपाली साहित्यलाई हाँकिरहेको छन् । उल्लेखित नामहरू पहिलो पुस्ताका हुन् भने रूद्र बराल, देवेन सापकोटा, खगेन शर्मा, मोहन सुवेदी, इन्दुप्रभा देवी, पुरूषोत्तम उपाध्याय दाहाल आदि दोस्रो पुस्ताका सारथी । नैना, निलीमा, पुजा आदिले तेस्रो पुस्तालाई प्रतिनिधित्व गर्दै भारतीय नेपाली साहित्यलाई नयाँ उचाइँ दिइरहेछ भन्दा अन्यथा नहोला ।

“आफैलाई खोजिरहनुको उत्सुकताको पछि
गुमाउँदै जानुको चिसो विवशताले पीडित मेरो मुटु
खै, आज कविता सोच्नै मान्दैन,
शायद त्यसैले होला सुनगाभा ।
तिम्रो मुस्कानभन्दा मेरा आँखामा यसवेला
ती वृद्ध सज्जनको मलिन अनुहार खेलिरहेछ
जो घण्टौं एउटा लामो क्यूमा उभिएर पनि हिजो साँझ
मट्टितेलको रित्तो भाँडो हल्लाउँदै घर फर्किरहेका थिए,
जाती हुन्थ्यो बरु म कवि नभएर
त्यही रित्तो भाँडोभरि मट्टितेल हुन सकेको भए,
मेरो देशको एउटा घरमा एक रात एक छाक बल्न सक्थें
एउटा वृद्धको खिन्न अनुहार केही क्षण उज्यालो पार्न सक्थें
 तर सुनगाभा ।
मेरो देशको कुनै समस्या पनि टार्न नसक्ने म कवि भएँ
– जो तिम्रै मुस्कानमा मात्र अल्झिरह्यो ।“ – ( हरिभक्त कटुवाल)

नेपाल र भारतको साहित्य जोड्ने कवि हरिभक्त कटुवालको कविता जस्तो छैन स्थिति अहिले नेपालमा पनि, भारतमा पनि । असममा अहिले साहित्यकारहरू समृद्ध छन्, विवेकशील छन्, सुरक्षित छन् र यसैले सृजनशील पनि छन् ।  वि.स. २०२९ मा प्रकाशित भएको यो जिन्दगी खै के जिन्दगी हो’ कविता संग्रहको भूमिकामा कटुवाल लेख्छन्, “कतै कसैले मलाई निराश पनि भेट्लान्-त्यो पनि मैले भोगेको वास्तविकता नै हो । म पुरानो परिपाटीबाट सम्पूर्ण मुक्त छैन र आउँदो पिँढी माथि पनि दह्रो आस्था राख्दछु । त्यसैले मलाई लाग्छ, म यो सन्दिग्ध कालको जरासन्ध हुँ ।“  हरिभक्त कटुवालको दह्रो आस्थालाई यथार्थमा रूपान्तरण गरेका छन् सिमोन असमेल साहित्यकारहरूले ।