ऊ मुलतः कवि हो । जसको लागि ऊ कवि होइन उसको लागि गीतकार, जसको लागि ऊ गीतकार होइन, उसको लागि नाटककार । जसको लागि नाटककार पनि होइन, उसको लागि नरदेन रुम्बा रुम्बा रुम्बा जन्मकै छैन ।

नरदेन अहिले बाँचेको भए ७१ वर्ष पुगिसक्थे तर नियतिले ४३ वर्ष पनि बाँच्न दिएन, “बाँच्न चाहनेहरु” सिनेमाका गीतकारलाई । बेजोड गीतकार नरदेन रुम्बाका धेरै सपनाहरु अधुरो नै रहे । सायद उँहाको सपना पूरा हुन अझै धेरै बलिदान दिनु पर्छ होला दार्जिलिङले ।

नरदेन रुम्बाको यो कविताले  उँहाको सपना बोकेको छ, एउटा सिङ्गै युग बोकेको छः

हामीले आकाश मागेका होइनौँ

हामीले बतास मागेका होइनौँ

थोपा-थोपा हाम्रो रगत खसेको माटो मागेको

हामीले छातीले पेलेर ढुङ्गाहरू माटाहरू बनाको माटो मागेको

हामीले त हाम्रो आँसु माग्यौँ,

बाबु-बाजेका करङ्ग र मासु माग्यौँ

सानो कुरा होइन यो (ठाउँ)

दार्जीलिङ दार्जीलिङ ।

 

नोर्देन रुम्बा

उजेली पनि लग्यो, अँधेरो पनि लग्यो

पानी पनि लग्यो, पँधेरो पनि लग्यो

हाम्रो जिन्दगीको टुक्रा टुक्रा लग्यो

हाम्रो रुखको बोक्रा बोक्रा लग्यो

बिक्री गर्यो हाम्रो टीकाहरू

त्यही हो यदि यो शासन भने

तिम्रो नै सिंहासन भने, हामी बस्दैनौँ, तर खस्दैनौँ

एक सोर, एक माग हाम्रो गोर्खाल्याण्ड

कसले लग्यो हाम्रो सुन?

ताँदीदेखिको, कसले लुट्यो चन्द्रहार चाँदीको

रूने आँखा पनि छैन, अब

न चाँप छ, न गुराँस, न एउटा चोखो बाँस

हाम्रो चौतारीमा घाम लाग्दा अरू बसेको हेर

हाम्रो आँगनमा फूल फुल्दा अरूले टिपेको हेर ।

काकझोडामा मेरो साथी ज्ञानुको तीनतले घरमा बीच तलामा बस्थे नरदेन रुम्बा । सबभन्दा तल बस्थिन् सहिद भएका चित्रकार कृष्ण सुब्बाकी आमा । म समय समयमा साथीको घरमा जान्थेँ, कहिलेकाहीँ कृष्ण सुब्बाकी आमालाई भेट्न ।  मधुर धुन सुन्थे बीच तलामा । नरदेनले बजाएको रे । मेरो अग्रज फुपूको छोराहरु सँगै स्टेट बैङ्कमा काम गर्ने सहकर्मी भए पनि मेरा निम्ति नरदेन दाजु मिथक थिए, कता कता देखेको तर बोल्न नपाएको ।

शरद प्रधान

नरदेन दाजुले सानै उमेरदेखि कविता लेख्न सुरु गरे पनि चर्चामा आएको चाँहि सन् १९७२ मा, गोर्खा दुःख निवारक सम्मेलन दार्जिलिङले भानु जयन्तीको अवसरमा आयोजित विराट नेपाली साहित्य सेमिनारको कवि गोष्ठीबाट हो ।  ‘हिजो जस्तै अनिँदो विहान’ कविताले सबैलाई आकृष्ठ पारेको सम्झन्छन्  नरदेन दाजुको सहकर्मी एंव प्रसिद्ध कथाकार शरद क्षेत्री । ईश्वर बल्लभलगायत चालीस जना कविहरुले भाग लिएको कवि गोष्ठीमा उत्कृष्ट कविताहरुलाई मनबहादुर मुखियाको सम्पादनमा ‘सेमिनार’मा प्रकाशित गरिएको थियो, जस्मा नरदेन रुम्बाको कविता पनि परेका थिए ।

गीतकार नरदेनको उदय कहिले भयो ? ठ्याक्कै भन्न त गाह्रो छ, तर उँहाको कविता यात्रासँगै गीति यात्रा पनि सुरु भएको अनुमान लगाउन सकिन्छ। अगम सिंह गिरीको अवसानपछि दार्जिलिङको गीतहरुमा जातीय चेतनाको कमी सबैले महसुस गरेका थिए । शरण प्रधानको असामायिक निधनले नेपाली गीति लेखनमा ठूलो क्षति पुराएको थियो । सन् सत्तरीको दशकको मध्यतिर मनबहादुर मुखियाको ‘अनि देउराली रुन्छ’ नाटक र गीतहरुको तरङ्गले दार्जिलिङ पुलकित थियो । मनबाहदुर सर पनि काठमडौँ पलायन भएपछि निकै टुहुरो महसुस गरे गीत प्रेमीहरुले । तर नरदेन दाजुले गीत लेख्न थालेपछि पुनः सलबलाए गीतहरु र कविताहरु । जस योन्ञन ‘प्यासी’, कमल गुरुङ, पुरण गिरीहरु विस्तारै प्रवेश गरे गीत लेखनमा।

हाम्रा अति प्रिय मुर्धन्य संगीतकार कर्म योन्ञनले  नरदेन रुम्बाको एउटा गीतमा सहकार्य गर्ने अवसर पाएका थिए, जसलाई अरुणा लामाले गाउनु भएको थियो । उँहा लेख्नु हुन्छ, “नरदेन रुम्बाको ‘फ”ललाई सोधेँ कहाँ गयो कता गयो भ्रमरा’ गीतलाई संगीत भर्न मलाई दिएको थियो । यो गीत अरुभन्दा छुट्टै अनि शब्दहरु पनि आकर्षक थिए । मैले यो गीतलाई संगीत भर्दा के पाएँ भने यो गीतलाई कतै काट्छाँट गर्नु परेन । नरदेन रुम्बा पोख्त गीतकार मात्र होइनन्, एक भावुक गीतकार पनि हुन् । मलाई खुसी लाग्छ कि गीतकार नरदेन रुम्बासित गरेको मेरो यो कार्य निक्कै चर्चित रह्यो ।”

गाइने दाइलाई सुनकेशरीको केश सोध्नै भुलेँ

भोकै मर्ने लाहुरेको देश सोध्नै भुलेँ ।

यस गीतको बारेमा  गायक-संगीतकार दुर्गा खरेल एउटा रोचक प्रसङ्ग सुनाउनु हुन्छ । भारतमा रिकडिङ् गर्दा लटरपटर गरेर सेन्सर पास गरे पनि  रेडियो नेपालमा ‘भोकै मर्ने लाहुरेको देश सोध्नै भुलेँ’ लाइन नै सेन्सर गरिदिए छन् । यो लाइनविना नै गीत रिगडिङ् भएछ ।

नरदेनलाई मन पर्ने संगीतकार थिए धनञ्जय थापा, तर समयमा संगीत नगरेपछि दुर्गा खरेलले संगीत गर्ने अवसर पाएको तथा  दावा ग्याल्मो दिदीले गाउनु भएको सदावहार गीत हाे, ‘शुभकामना खाली खाली दिनेलाई दानी भनेर जाँदैछु, लिएर आँचलभरि मायाको निशानी ।

दुर्गा खरेल दाजुले नरदेन रुम्बाको धेरै गीतहहरु गाए अनि संगीत पनि दिए । यसै सन्दर्भमा दुर्गा दाजु लेख्नु हुन्छ, “ नरदेन रुम्बा दाइसित हाम्रो सांगीतिक सहकार्य नाटक “म मरेपछि ” बाट भएको हो । गायिका दावा ग्यल्मोले यही नाटकको गीत “शुभकामना खाली खाली” गाएकी थिइन्, जसलाई श्रोताहरुले अत्याधिक रुचाए अनि पछि लोकप्रिय बन्यो । त्यसपछि यस्तो समय पनि आयो, नरदेन दाइ हाम्रै निम्ति गीत लेख्नुहुन्थ्यो अनि हामी संगीत उहाँकै निम्ति गर्थ्यौँ । यस क्रममा उहाँका विविध रङका गीतहरुलाई हामीले संगीतले सजायौँ । उहाँका गीतहरुमा नवरङ अनि नवरस पाइन्छ । प्रेममा चुर्लुम्म डुबेका गीतहरु हुन् कि हाँस्यरसका गीतहरु हुन्, लोक आधारित गीत हुन् कि शास्त्रीय पाटाका गीत हुन उहाँ सबै प्रकारका गीतहरुमा उहाँको कलम समान रूपमा चल्थ्यो । एउटा खास कुरो यहाँ भन्न चाहन्छु कि उहाँमा संगीतको राम्रो ज्ञान थियो । उहाँले लेखेका गीतको धुन उहाँले गुनगुनाएर हामी कहाँ ल्याउनु हुन्थ्यो अनि यस गीतको धुन यस्तो हुनुपर्छ होला भनेर सल्लाह पनि दिनुहुन्थ्यो । एक उम्दा गीतकार, एक सन्की गीतकार अनि एक उत्कृष्ट गीतकारको रुपमा नरदेन रुम्बालाई सम्झन चाहन्छु ।”

चन्दन लोमजेलको संगीतमा  नोरदेन रुम्बाको शब्दमा  ‘मेरा सबै रातहरू’ गीत भने १९९० तिर काठमाडौंमा रेकर्ड नारायणगोपालको स्वरमा भएको थियो । ‘तर यो गीतपछि भने म र नरदेन दाजु दुवैले गायक नारायण गोपाललाई भेट्न पाएनौं,’ चन्दन दाजू भन्छन् । यो गीत निके चर्चामा आए, नरदेनको गीतिकारितालाई नँया उचाई दिए । चन्दन दाजुलाई ३० वटा जति गीतहरु दिएको थिए नरदेन रुम्बाले, धेरै त संगीत गरे पनि। पछिल्ला दिनमा  चन्दन लोमजेलको संगीतमा नेपथ्यले नरदेन दाजुको यो गीत गाएको छ जुन निकैले रुचाए पनिः

कसैले सोधे कुन हो तिम्रो गाउँ

काँधमा न्यानो जहाँ घाम लाग्छ

स्वर्गको छेउ जहाँ मन लाग्छ

म भन्छु हजुर यही हो मेरो गाउँ

कुरा नलुकाई भन्न मन लाग्छ

आँखा छ हाम्रो तर देख्छ अरूले

कलम छ हाम्रो तर लेख्छ अरूले

गाउँ छ हाम्रो तर बस्छ अरू नै

जीवन छ हाम्रो तर खेल्छ अरू नै

बहिनीलाई खोजेँ नौगेडीभरि

पुछेको उसको सिन्दुरभरि

दिदीलाई खोजेँ शीरबन्दी छ कि

त्यो रातो लाछा केसमा छ कि

चार आनीभरि सुनको फूली

भाइटीकाभरि आशिष चुली

आँखामा आँशु मनमा बह

सयपत्री माला मायाको दह

भाइलाई खोजेँ पहिरोभरि

खोलाको फाटी भुमरीभरि

भेटेको निधार सलामभरि

बारुदको जम्मै छड्याम्मभरि

दाजैलाई खोजेँ बाँसघारीभरि

शत्रुको सबै हातेरभरि

कठैबर नि देखिनँ मैले

पानीमा केही लेखिनँ है

चन्दन दाजु नरदेन रुम्बाको सम्झना गर्दै लेख्छन्, “घरैमा साई-भजन गाइरहने र हार्मुनियम समेत धेरथोर बजाउने अनि स्केल, नोटेसन, मेजर-माइनरका ज्ञाता नरदेनकहाँ एकपटक गीत माग्दै गायिका डेजी पुगेकी रहिछन् । यसो गम खाएर उनले तुरुन्तै लेखेर दिएछन्- ‘कति बग्यो कति बग्यो, पुलमुनि पानी रेसम…’ संयोग के भने यो गीतमा नरदेन आफैँ पनि संगीत भर्दै रहेछन् । मैले  संगीत भरेर सुनाएपछि उनी अचम्म पर्दै भनेछन्, ‘म पनि यही स्केल र स्टाइलमा धुन भर्दै थिएँ ।’

नरदेन रुम्बामाथि प्रसिद्ध समालोचक स्व. लक्कीदेवी सुन्दासले गरेको टिप्पणि पनि पठनीय छ; “नरदेन रुम्बा १९७२-१९९० तिरका चर्चित युवा-स्रष्टा, उनका कविता दार्जीलिङका पत्रिकाहरु अस्तित्व, धुँवा, खोजी, हाम्रो समाजमा कतै कविता, गीत र अन्तराष्ट्रिय कविहरु पाब्लो, नेरुदा (चीलीका कवि) र रसियालि कवि येस्तुसेन्कका कविताहरु फ्रान्सेली निबन्धकार र विचारक अर्बट कामु प्रबन्धलाई उनीद्वारा अनुवाद गरी हाम्रो सानो पत्रिका (१९७१ सम्पादक) प्रकासित गरी नेपाली पाठकलाई परिचित गराउने कवि थिए ।”

नरदेन रुम्बाले सबैभन्दा थोरै लेखेको विधा हो नाटक । चलचित्रहरू – ‘बाँच्न चाहनेहरु’, ‘ कही अँध्यारो  कही उज्यलो’’, तथा नाटकहरू- ‘पर्सनल डायरी’, ‘म मरेपछि’ र ‘ गीताव्य’को लागिउनले गीत लेखे ।

नरदेन रुम्बाले दुईवटा नाटक पनि लेखेः दुँनिया र मृगतृष्णा।  मृगतृष्णा प्रसिद्ध निर्देशक प्रताप सुब्बाले निर्देशन गरेका थिए।  यो नाटकमा बौद्ध भिक्षु, उपगुप्त र नर्तकी वासवदत्ताको विरोधाभासपूर्ण कथा छ ।

संगीत समीक्षक तथा लेखक प्रकाश सायमी नरदेन रुम्बालाई उत्कृष्ट गीतकार मान्नु हुन्छ, सायद नाम लिँदा एक दुई नम्बरमा नै लिनु हुन्छ । धेरैपल्ट उहाँले आफ्नो कार्यक्रम अजर अमर गीतहरुमा नरदेनको गीतिकारिताका बारेमा चर्चा गर्नुभएको छ । सायामी लेख्छन्, “नरदेन रुम्बा कम गीतले धेरै उँचाई र गहराई नाप्न सक्ने एक शक्तिशाली धातु हो। उसको छाया ऊ जस्तै स्पष्ट र प्रखर छ ।”

अंग्रेजी भाषामा राम्रो दखल थियो नरदेन रुम्बाको । नोर्जाङ स्याङदेनको कविता र विन्दया सुब्बाको कथाको नरदेन दाजुले गरेको अंग्रेजी अनुवाद भारतीय अकादमीबाट प्रकाशित हुने प्राची पत्रिकामा छापिएको थियो । अनुवादको धेरैले खुलेर प्रंशसा गरेका थिए ।

नरदेन रुम्बाको शब्दमा गीत गाउनेहरुमा अरुणा लामा, डेजी बराइली, पेमा लामा, मिरा राणा, कुमार सुब्बा, सूर्य थुर्लुङ, पवन गोले, हिरा रसाइली, दावा ग्यल्मो, बद्रि-दुर्गा खरेल,  देवकुमार दुमी, कुन्दनराज सुब्बा, रिमला मोक्तान, उदय सोताङ्ग, रमेस बरदेवा, राम बिष्ट, सागर बल, शंकर गुरुङ, किरण वाइबा, वाङ्गेल लामा, दिलिप सार्की, अजनिस राई आदि प्रमुख हुन् । अनि संगीतकारहरुमा  कर्म योन्जन, मणिकमल क्षेत्री, बसन्त क्षेत्री, चन्दन लोमजेल, बद्रि-दुर्गा खरेल, धनञ्जय थापा, टासी बाङचुक ।

मैले मन पराएकै गीतहरु नरदेनको रहेछ । त्यसपछि म नरदेनको फ्यान बनेँ ।

‘पोहोर साल खुशी फाट्दा’  गीतबाट प्रसिद्धि कमाएको वरिष्ठ गीतकार राजेन्द्र थापा नरदेन रुम्बाबारे लेख्छन, “म दुई लाइने कविता गीतभन्दा लयबद्ध बोलचाले कुराकानीकै रुपमा गीत लेख्ने भएकोले बहुतै कम गीत र गीतकारहरुले मलाई झड्का दिएर तानेको अवस्था छ । परन्तु फूलले सोध्यो गीतको फर्मेटिङ र अभिव्यक्तिको शैलीले मलाई बिजुली झड्का दिएपछि नरदेन रुम्बाको खोजखबर गर्न थालेँ । मैले मन पराएकै गीतहरु नरदेनको रहेछ । त्यसपछि म नरदेनको फ्यान बनेँ । नयाँ केटा गीतकार भन्ने सझेँ तर मेरै समकालीन उमेरका रहे पनि किन उनी त्यतिपछि देखा परे र नेपाली गीतलाई हीरा गीतहरुबाट वन्चित गराए ? यो प्रश्न मैले अरुणा दिदीलाई पनि सोधेको थिएँ ।”

नरदेन रुम्बाको गीतमा मोहित नहुनै कमै छन् । भावपूर्ण लय  र अर्थपूर्ण शब्दले भरिएको गीतहरु वर्तमान समयको बोध गराउँछ । नरदेन रुम्बाको गीतमाथि टिप्पणी गर्दै समालोचक एंव गीतकार गीता त्रिपाटी लेख्छिन्, “जसरी साँझपखको एकन्तमा पहाडी खोलाको बगिरहेको प्रतिध्वनिले पानीको मोहक आनन्द दिन्छ, नरदेन रुम्बाका गीतहरूको छुवाइ त्यस्तै हुन्छ । प्रेम, प्रकृति र समूल मानवीय सम्बन्धलाई अझै माथि माथि के के रहस्यमय भावले कुँदिदिनु नरदेनका शब्दका अभूतपूर्व सिर्जना हुन् । उनका गीत सुनिरहेको क्षण म खास बाँचेको हुन्छु ।”

नरदेन रक्सी निकै पिउथे, सायद त्योबेला उनी काम गर्ने अड्डामा नपिउने कमै थियो होला। तर  मातेको किस्सा बाहिर आएनन् । कतै कतै प्रेम प्रसङ्ग पनि नसुनेको होइन । दुर्गा खरेलको स्वरको ‘बान्की परेको माया बान्की परेको, तिम्रो त मुस्कान नै बान्की परेको’ कुनै युवतीलाई देखेर लेखेको कुरा सुनेको थिएँ ।

कुनै समय समकालीन साहित्य कर्म गरेका कथाकार हुन् शंकर सुब्बा फागो । सन् १९७२ मा गोर्खा दुःख निवारक सम्मेलन दार्जीलिङले भानु जयन्तीको अवसरमा आयोजित विराट नेपाली साहित्य सेमिनारमा सँगै सहभागी भएका थिए कथाकारको रुपमा । उनीहरु कुमार प्रधान सरको घरमा साईभजन हुँदा सँगै जाने गर्थे ।

नरदेन रुम्बा बारे लेख्छन् शंकर दाजु, “नरदेन रुम्बा हामीभन्दा सिनियर भएकाले उहाँसँग मेरो त्यति राम्रो हिमचिम भएन । उहाँ राम्रो कविता र गीतहरु लेख्नुहुन्थ्यो । उहाँका गीतहरु बद्री दुर्गा खरेलले धेरै संगीतबद्ध गरेर गाउनु पनि भयो । केही दावा ग्याल्मोले पनि गाइन् । एउटा धनञ्जय थापाको संगीत र स्वरमा आएको गीत दार्जीलिङमा निकै चर्चाम आएको थियो । त्यो गीत ” मलाई आफ्नो धूनमा बाँच्न देउ / तिमी आफ्नो बाटो हिँडिदेउ / मायालु बनी नाआइदेउ “, भन्ने निकै प्रसिद्ध भयो तर रेकर्ड भए जस्तो लागेन । अर्को  “बान्की परेकी …” भन्ने दुर्गा खरेलले गाउनुभयो ।  नरदेन कठोर स्वभावको कोमल कवि तथा गीतकार हुनुहुन्थ्यो ।”

पछिल्ला दिनहरुमा नरदेन रुम्बाको कवि छविलाई गीतकारको प्रसिद्धीले ओझेल पार्दै गयो । सन् १९९७८ मा निकालेको  २२ वटा कविताहरुको संग्रह ‘प्रक्षेप’ले रुम्बालाई स्थापित कविको रुपमा त चिनाए तर  अर्को कविता संग्रह भित्त्तेचित्रले प्रकाशनको उज्यालो देख्न पाएन । नरदेन रुम्बाका कृतिहरु उनकी श्रीमती साबी रुम्बाको पहलमा सन् २००६ मा प्रकाशित भएको छ, जसमा नरदेन दाजुको कविता र गीतहरु संग्रहित छन् । नरदेन दाइले लेखेका गीतहरु औरा, पहाडकी रानी, निष्ठुरी आदि क्यासेटहरुमा सममहित छन् ।

मलाई रुम्बाको आत्महत्या कविता औधी मन पर्छ, यो कविता एक किसिमको ‘कनफेसन’ पनि हो जस्तो लाग्छः

म सधैँ रक्सी पिउने गर्छु एक्लै

एउटा कोठाभित्र कसैले थाहासम्म नपाओस्

म इन्साफ गर्न खोज्छु

आफ्नो प्रत्येक भुल र व्यवहारलाई

आफ्नो पक्षमा तोलेर जहिले पनि

म ईश्वरलाई पनि इन्साफ गर्न खोज्छु

उसका अन्यायहरुलाई म न्याय गर्न खोज्छु

आफ्नो निम्ति

दु;खहरुको कारण निकाली निकाली

म सधैँ घोच्ने सियोहरुलाई निकाली

जुन दिन मैले गर्न खोज्ने

यी सबै न्यायहरु सकिन्छ

सायद त्यसैलाई मानिस कोहीबेला

आत्महत्या भन्छ ।