घाम किन यति धेरै मातिएको होला आज ? हैन… यसले अरू जोडी आँखा नै पो देखेन कि ? नत्र किन आँखै छेडुँला जस्तो गरी हेरेको त मलाई ?

गाडीको गति घटेको वेला बिहानको घामप्रति मेरो रीसको गति ह्वात्त बढ्छ । घाम जताबाट झुल्किन्छ त्यतै काममा जानुपर्ने हुनाले ऊबाट बच्न घरी माथि हेर्छु त घरी तल, घरी दायाँ त घरी बायाँ । केही गरे पनि तँलाई छोड्दिन भनेजस्तै गरेर एकोहोरो आँखामा ठोकिएको छ, ठोकिएको छ ।

आफ्नो मात्र पिरलो हो कि भन्दै वर्तिर पर्तिरका गाडीका ड्राइभरलाई हेरें । उनीहरू पनि घामबाट आजित भएर समुद्रको छालले किनारमा ल्याएर छोडिदिएको माछा जस्तै छटपटाइरहेका छन् । सकेसम्म घामको त्यो रातो डल्लोलाई छेक्न खोज्छन् तर न कालो चस्माले छेक्छ उसलाई न त छत्रे टोपीले नै । भर्खर झुल्केको घाम शायद धर्तीभरी छरिनु अगाडि नै काममा जानु परेर होला उसको शक्तिको पुञ्ज सबैको आँखाभित्रै पसुँला झैं गरेको ।

केरीबाट हाइवे ६४ पूर्व लिने बित्तिकैदेखि भीड शुरू भयो । सलह पसे जस्तो बाटामा पसेका गाडी कसरी छिचोल्ने हो, मनमा कुरा खेल्न थाले । बाहिर मान्छे देखिंदैनन् तर गाडी भने कति हो कति । मान्छेको टाउका तिनै गाडीका टाउकालाई गने हुने भयो । अगाडिका गाडी नहिंडेपछि वेलावेला त खुट्टा नै ठप्प हुन्छन् । त्यसमाथि घामको दादागिरी उस्तै । खुट्टा ठप्प हुँदा मात्र घामलाई घोसेमुन्टो लाउन सकिन्छ, नत्र त टाउको ठाडो पारेर बाटोलाई हेर्नै पर्‍यो । भीडमा तीखो घामबाट आँखालाई बचाउँदै हिंड्न घर बाहिर सुनिएको अपरिचित आवाजलाई ठम्याउन घरको छिंडी खोजे जस्तो आँखाले छिंडी खोज्नुपर्छ । त्यो छिंडीबाट बाटो पनि देखिनै पर्यो, कहाँ सजिलो हुँदोरहेछ र ।

जसले आफ्नो तातोपनाले लपेटेर हुर्काइ-बढाइ गरेर ठमठमी हिंड्नसक्ने बनाइदियो, आज किन उसैसँग यति धेरै रीस उठेको होला ? म गाडी रोकिएको वेला सोच्छु पनि । हुन ता घामलाई पनि मलाई जत्तिकै हतार होला नि पृथ्वीका कुनाकुनामा पुग्न । होइन… होइन… मलाईभन्दा उसलाई नै हतार छ नि धेरै ! मलाई त एउटा अफिसको एउटा घरमा न पुग्नु हो तर उसलाई हरेक गाउँ तथा शहरका हरेक घरमा, हिमालमा, पहाडमा, मैदानमा, पहरा अनि छहरामा पुगेर उत्तिकै उज्यालो र तातो छर्नु छ, अनि उसले हतार नगरेर भयो त ? भन्दै घामप्रतिको आफ्नो बढेको रीसको पारो आफैं घटाउँछु ।

अरू हिंडेपछि आफू पनि सँगै हिंड्नै पर्‍यो नत्र पछाडिका गाडीले झम्टिहाल्ने रहेछन् । हेर्दाहेर्दै अर्को लेनमा अगाडिको गाडी ढिलो हिंड्यो भनेर पछाडिको गाडीले सातो जानेगरी हर्न बजाएर ओभरटेक गर्‍यो । ओहो ! रीस पोख्ने ठाउँ पनि बाटै पो ! बाहिर निस्केर पाखुरा सुर्किनै नपर्ने, कति सजिलै रीस फेर्न पाइने । यसो सोचें, रीस उठे गाली गर्ने काइदा त यो हो नि ! हर्न बजाइदिएपछि तीन पुस्तालाई पुग्नेगरी त्यसैले सरापिहाल्ने रहेछ, किन गाडीबाट निस्किएर समय बरबाद पार्नुपर्‍यो र ! गाडीबाट निस्किएर झगडा गर्न समय पनि हुनुपर्‍यो । कसलाई पो फुर्सद छ र व्यस्त समयमा । अनि समय नहुने मान्छेलाई रीस चाहिं किन उठिरहनु पर्ने नि ! बसे हुँदैन ? आफ्नै दिमाग घुमिरहन्छ । सबैलाई समयमै काममा पुग्नु पर्ने भएपछि त अझ नाम र ठेगाना थाहा भए त डिजिटल झगडा पो बढी इफेक्टिभ हुन्थ्यो होला कि ! आफूलाई भने अगाडिकाले ढीलो गरे भने धारे हात लाएर गाली गर्न नपाए चित्तै नबुझ्ने । वेलावेला त मुख चिलाएर हैरान भैसक्छ । मैले नि गाडी जाममा परेका बेलाका आफैसँग धेरै बात मारेछु ।

गाडी जाममा फसेको बेला घडीले किन मौका छोपेर बुर्कुसी मार्नुपरेको होला ? घण्टाको सुई घुमाएर एक घण्टा ढीलो पारिदिऊँ जस्तो पनि लाग्छ तर मैले घडी घुमाएर समय रोकिन्छ र ? मलाई जस्तै अरुलाई पनि त यस्तै भएको होला । अझ आफ्ना बचरा अर्काको गुँडमा छोडेर आउने आमाहरूलाई त झन बच्चा लिन कतिखेर फर्किने भन्ने चिन्ता धेरै भएको होला । मेरा त धन्न ठूला भइसके, मनले भन्छ ।

“अफिस टाइममा कस्तो भीड हुन्छ, मलाई त बेलुका ठ्याक्कै एक घण्टा लाग्छ घर आइपुग्न ! घरबाट काम गर्नै मज्जा, सधैं भए नि हुने नि !” आदि इत्यादि गुनासा साथीहरूबाट प्रशस्तै सुनेकी थिएँ । के कुरा गरेका होलान् यिनीहरूले, म त घर बस्दाबस्दा वाक्क भइसकें एक घण्टाको त के, दुई घण्टै भए पनि ट्राफिक जाम सहिदिन्छु, जागीर मात्र होस् न ! भन्दै आफू जागीरे भएपछिको ट्राफिक जामको कल्पना गर्थें । जागीर शुरू भएकै दिन देखी त हालें ।

भाग्यसँग उहिल्यै छुट्टएकी म कर्मको पछि लागेको पनि धेरै भइसकेको थियो । रातदिनको मेहनतपछि छोटो समयको एउटा लुखुरे जागीर हात पारेकी थिएँ । पहिलो दिन ९ बजेसम्ममा आइपुगे हुन्छ भनेकाले सबै परिञ्च लाइसकेपछि बिहानको ८ बजे ट्राफिकलाई उल्याउँदै, जिल्याउँदै निस्किएकी थिएँ घरबाट । १० मिनेट मात्र के गएकी थिएँ, सबैका गाडी बाटैमा थला बस्लान् जस्तै भए । सर्दै सरेनन् । लु… खा… अब…? कति न ट्राफिक जाम सहन्छु भनेकी होइनस् ? ल सहेस् भन्दै एक मनले गिज्यायो । अर्को मनले उत्तिखेरै नडरा केटी… जागीरे जिन्दगी कहाँ तैंले भने जस्तो सजिलो मात्रै हुन्छ र ? यस्ता जाम त तेरा जीवनमा कति परे कति नि ! अहिले अर्को जाम थपिएको न हो, यो कुन नौलो कुरा हो र ! भन्दै जामका कथा सुनाउन थालियो ।

अगाडिका गाडी नहिंडेपछि मलाई ढाडस दिने मनका कैरन सुन्न थालें- उहिले काठमाडौंमा पढ्न बस्दा चक्काजाम त कहिलेकाहीं देखेकै थिइस् त्यो कुनै नौलो कुरा थिएन । त्यसमाथि मटि्टतेल पसलमै जाम हुँदा, मटि्टतेल नभएर भात पकाउने स्टोभ जाम हुँदा, धारामा पानी जाम हुँदा, लोडसेडिङले रातिको होमवर्क गर्नुपर्ने समय जाम हुँदा कस्तो भएको थियो सम्झी त ? भन्दै उसले विगतमा मलाई परेका सबै जामहरूको बेलीबिस्तार लाएर थोरै सान्त्वना त दियो तर पनि नयाँ बुहारी भएर घर खान जाँदाको जस्तै डर, संकोच, उत्साह र छटपटी सबै एकैचोटि आए । पहिलो दिन नै ढीलो पुगे के भन्ने हुन्, कसो भन्ने हुन् भन्ने भूतले खेदेको खेद्यै गर्‍यो ।

बाटामा थरीथरीका गाडी, परीपरीका गाडी एकछत्त बसेका जस्ता लाग्छन् । कुनै पुड्का, कुनै लामा, कुनै खिरिला त कुनै मोटा । तिनीहरू सर्दा बिस्तारै आफू पनि सर्छु तर घर बनाउने काठ बोकेको ट्र्कलाई पनि त्यति वेलै हिंड्नुपर्ने, बाटो बनाउने क्रेनलाई पनि त्यतिवेलै हिंड्नुपर्ने, दुर्घटना पनि त्यस्तै जामको वेला हुनुपर्ने, गाडी बिग्रिएर थला पनि त्यस्तै वेलामा पर्नुपर्ने आदि आदि जामका कारणहरू रहेछन् । उनीहरूलाई यो मेरो मात्र बाटो हो भन्न पनि नमिल्ने, सहन त परिगयो ।

अगाडिका गाडीको गति छिनछिनमा बढ्ने र घट्ने भइरह्यो । रोकिने र अगाडि बढ्ने क्रमको जुहारीले गर्दा घडीले धेरै बजाइसकेछ । धन्न चाँडै घरबाट निस्किएकीले उनीहरूले दिएको समय घर्किहालेको भने थिएन । बाटो अलि खाली भएको वेला जेसुकै होस् भनेर मैले नि आफ्नो गाडीको गति बढाएँ । तुरुन्तै एक्जिट देखायो ।

‘गाडी पार्क गर्न पाऊँ न मात्र, काम कसरी गर्ने मैले जानेकै छु नि !’ भन्दै ह्रालीको डयुक हस्पिटल काटेर दाहिनेतिर मोडिएँ । नभन्दै अफिसको गेटमै पुगें । पास चाहिने रहेछ भित्र जानलाई । आफू नयाँ भएको कुरा गेटकी महिलालाई जानकारी दिएपछि भित्र जान अनुमति दिई । उत्तरमा मनभित्र रहेको त्यही एउटा सजिलो शब्द धन्यवाद झिकेर उसलाई दिएँ र अगाडि बढें । पार्किङ एरिया ठूलै रहेछ । सम्झन सजिलो पार्नलाई गाडी नजिकै पार्क गरें । गाडीबाट बाहिर निस्किएपछि त अघिसम्म भारी भएका खुट्टा एकाएक हल्का भए । शरीरले एउटा ठूलो रोग काटेझैं भयो ।

दिएको समयभन्दा १५ मिनेट अगाडि नै पुगेकाले के गरूँ भन्दै बिस्तारै जागीरको नयाँ गोरेटोमा पाइला अघि सारें । अलिकति हिंड्ने बित्तिकै अफिसको ढोकैमा पुगें । त्यहाँभित्र पस्न पनि पास चाहिने रहेछ, आम्मै कति कडा !

काममा आउने वेला सबैको एकैसाथ परेकोले नयाँ मान्छे परैबाट थाहा पाए अरू कर्मचारीले । बिहानको हार्दिकता साट्दै उनीहरूका पछि लागें । बढो विनम्रपूर्वक मलाई ढोका खोलिदिए र भित्र कतै बस्न भनेर उनीहरू आफ्नो काममा लागे ।

म जस्तै अरू ३ जना नयाँ मान्छेहरू अघि नै आइसकेका रहेछन् । एकछिनमा अर्को थपियो । पछि थपिएको मान्छेले सबै नयाँ अनुहारलाई बोल्ने बाटो फुकाउँदै म तिमीहरूको सुपरभाइजर “लुइ” भन्दै आफ्नो परिचय दियो । हामी ४ जना उसका कर्मचारी रहेछौं । उसले हाम्रो एकअर्कामा परिचय साटासाट गरायो । सबैले आ-आफनो परिचय दियौं । म बाहेक चिन्तन, डेभ, क्रिस्टा रहेछन् । चिन्तन भन्ने बित्तिकै कतै नेपाली त हैन ? मैले अनुमान गरेको एकछिनमा पुगिहाल्यो । भाषा मिल्ने बित्तिकै आफ्नो माटोको सुगन्ध आइहाल्यो, सँगसँगै आँट पनि थपियो आफूमा ।

हामी सबैको परिचय गराएर लुइले हामीलाई काम गर्ने कोठामा लिएर गयो । १० वटा क्युबहरू भएको त्यो ठूलो कोठाका हरेक क्युबमा एकएक वटा कम्प्युटर थिए । लुइले हामीलाई आ–आफ्नो नाम भएको क्युबमा बस्न अनुरोध गर्‍यो । कामको छोटो ब्रिफिङपछि उसले कम्प्युटरको लग इन दियो । जब कामको मेलो पसियो, उसले मिजासिलो पारामा सजग गराउँदै गयो । समयमा काम नसके हुनसक्ने घाटाको अनुमान पनि सुनायो । त्यति भनिसकेपछि उसले टेबलमाथि भित्तामा टाँसेको “Deadline – Nov 16” देखायो । ‘त्यो डेडलाइन भित्रमा तिमीहरूले काम सक्नुपर्छ !’ भनेर ऊ कोठाबाट बाहिरियो ।

० ० ० ०

भोलिपल्टदेखिका काम गर्ने समयका हरेक मिनेटमा टाउको उठाउँदा माथिबाट डेडलाइनले झम्टिएझैं लाग्न थाल्यो । टाउको नउठाऊँ कुप्रिएला भन्ने डर, उठाऊँ त्यही देखिन्छ, के गर्ने होला, हे फसाद… । अझ काम अप्ठ्यारो भएको वेला त त्यो ठूलो भएर आँखैभित्र पसुँला जस्तो गर्छ । अब बिहानको घामको रातो डल्लो त के ठूलो भयो र डेडलाइनको अगाडि ।

हरेक बिहानको घामको पहिलो झुल्कोसँगको भेट भर्खर भेटेको जागीरको अगाडि सामान्य लाग्नथाल्यो । मनमा अब घामका भन्दा कामका कुरा खेल्न थाले धेरै ।

प्रत्येक दिन बिहान हार्दिकता साट्ने निहुँले लुइ हाम्रो कोठामा छिर्थ्यो र कामको अपडेट लिन्थ्यो । सानातिना कामका समस्या तिमीहरू आफैले मिलाउनु, सकेनौ भने म सहयोग गरुँला भन्दै जान्थ्यो । हामीले गर्न नसकेको काम  साँच्चै उसले यसरी गर्ने भनेर सिकाई पनि दिन्थ्यो ।

शुरूका दिनहरूमा कामको मेसो पाई नसकेकोले लुइ कोठामा पसेपछि कम्प्युटरको माउसको कान निमोठ्न थाल्नु अस्वाभाविक थिएन मलाई । ऊ कतिखेर बाहिर निस्कन्छ र ठूलो श्वास फेरूँ जस्तो हुन्थ्यो । बल्ल बल्ल ऊ जान्थ्यो तर मनमा चैन त किन हुन्थ्यो र ! काम कसरी हातमा लिने, त्यसैले सताउँथ्यो ।

हाम्रो कामको गति नबढ्दा लुइ दिनको धेरै पटक हाम्रो कोठामा छिर्थ्यो । सिरियस मूडमा कोठाभित्र छिर्दा उसको कुरा पनि अलि फरक नै लाग्थ्यो । लुइको अनुहार देखेर बढेको मुटुको ढुकढुकी कम गर्न हामी डिजिटल डाटाहरूलाई ओल्टाइ-पल्टाइ गर्न थाल्थ्यौं । बढो उत्साहित भएर ती डाटामा भएका ठाउँ र ठेगाना हेर्न थाल्थ्यौं ।

केही दिनपछि देखि कामका कुरा बिस्तारै जान्न थालें । अप्ठ्याराहरू एक आपसमा बाँडेर साँच्चै लुइले भने जस्तै हामी आफैले मिलाउन थाल्यौं । लन्चको समय पनि एकदमै थोरै लिएर हामी चारै जनाले सकेसम्म डाटाहरूलाई नै बढी केलाउन र खेलाउन थाल्यौं । ठाउँ, ठेगाना नमिलेका डाटाहरू लिएर उपाय खोज्दै कोसौं हिंड्यौं पनि नक्शाहरूमा । दुइटा बाटालाई जोड्न पुल हाल्यौं नक्शाहरूमै ।

हरेक दिनको आफ्नो काम त बुझाउनुपर्ने नै थियो हाकिमलाई । त्यसमाथि दिनभरीको कामको रेकर्ड भएको लग फाइलसमेत बुझाउनु पर्ने भएकोले अरू वेभ साइटका गल्लीगल्ली हिंड्ने कुरै भएन ।

डेडलाइनलाई हेर्दै काम गर्दा लुइले दिएका कामहरू एकपछि अर्को सकिंदै गए । केही हप्तापछि कामकै सिलसिलामा क्रिस्टाले भनी, ‘बुझिस् अब हाम्रो काम सकिन लागे जस्तो… छ नि !’ उसको मुख पुलुक्क हेरैं मैले । ‘देखिनस् लुइलाई आज…? ऊ कति खुशी थियो…, उसले ठट्टा पनि गर्‍यो ।’ उसले थपिन् ।

त्यो त हो, लुइ साँच्चै खुशी थियो आज । ख्याल, ठट्टा र मजाक भन्ने कुरा उसमा देखिएकै थिएनन् आजभन्दा अगाडि हाम्रो कोठामा छिर्दा । यसो हेर्दा कस्तो रिसाहा मान्छे रहेछ भन्ने लाग्थ्यो केही दिन अघिसम्म । तर एकाएक खुशी देखिएकोले केही राम्रो कुरा चाहिं भएकै हो भन्ने लाग्यो मलाई पनि । पछि बुझ्दा हामी सबैले आ-आफ्नो काम समात्दा ३ महीनाको काम डेढ महीनामै सकिने भएपछि लुइ मुस्कुराउँदै हाम्रो कोठामा पस्न थालेको रहेछ । कामका बाहेक अरू कुरा पनि गर्न थाल्यो ऊ हामीसँग । कोठाबाट निस्कँदा धन्यवाद दिएर निस्कन थाल्यो ।

ऊ कोठाबाट निस्कएपछि आफूले खाएको जागीरप्रति म घोत्लिन थालें । हुन त हो, मान्छे खुशी पार्ने भनेको कामले नै हो । कामप्रति इमानदार भए सक्नलाई किन डेडलाइन पर्खनु पर्ने रहेछ र ! भित्र कताकता आफैंलाई सन्तुष्टी मिले जस्तो भयो । आफ्नो इज्जत आफैंले राखे जस्तो भयो ।

हामीले गरिराखेको प्रोजेक्टको अन्त्यतिर रहेछ, एकदिन दिउँसो लुइ हाम्रो कोठामा छिर्यो । सधैं जस्तो कामको अपडेट लियो र निस्कने वेलामा एकदिन तिमीहरूसँगै लन्चमा जान मन लागेको छ, कुन दिन तिमीहरूलाई उपयुक्त हुन्छ सल्लाह गरेर भन्नु है ! भनेर गयो ।

हामीसँग लन्च खान जाने भनेको पनि जागीर सकिन लागेको कुरा गर्न त हैन ? खाइराखेको जागीरको लोभ लाग्न थाल्यो । जागीर चाहिं अलिबार खान दे न ! लन्च त पछि खाए भैहाल्थ्यो नि ! मनले भनिरहयो ।

‘थाहा पाइस् ?  समय बढ्ने १ परसेन्ट पनि चान्स छैन् अरे ?’ अर्को दिन फेरि कृस्टाले भनी । ‘के भन्छे यो ?’ म वाल्ल परेर उसको मुख हेरिरहें । होइन प्रोजेक्टको डेडलाइन सकिन लाग्दा जागीरको डेडलाइन नै आएको हो त ?

नर्थ क्यारोलाइना, अमेरिका