धेरैजसो लेखकहरू खेदो खन्यो भनेर आलोचकहरूलाई फुटेको आँखाले समेत हेर्न रूचाउँदैनन् ।

मलाई एकजना कविले एकपल्ट भनेको कुरा स्मरण हुन्छ: कविले बिरुवामा फूल फुलेसरि कविताहरू रचना गर्नुपर्छ — त्यसको अर्को विकल्प छैन । हजुर त्यसलाई टिप्नुहुन्छ, ज्यूनार गर्नुहुन्छ र त्यसलाई विषाक्त पाउनुहुन्छ भने त्यसमा हजुर नै दोषी हुनुहुन्छ ।

यो यौटा उत्कृष्ट उपमा हो र यसो कान थाप्दा पनि अर्को कानले उडाइहाल्नुनपर्ने लाग्छ । तर हजुर केही सोचमा पर्नुहुन्छ भने यो कुरा गलत हो किनभने कवि भनेको वनस्पति होइन बरू यै समाजमा श्वासप्रश्वास लिइरहेको मनुष्य हो । कविता-सङ्ग्रह बेचिन्छ — हजुरले कविताहरू बिनसित्ति टिप्नु सक्नुहुन्न । कुनै पनि कुरा खरिदबिक्री हुन्छ भने त्यो यौटा वस्तु हुन्छ र खरिद गर्ने जोकोहीलाई त्यसलाई तारिफको पुल चुँडाउने र निन्दाको फूल चढाउने अधिकार हुन्छ ।

साँच्चिकै फूलहरूका हकमा समेत, मानिसहरूको आइजाइ नहुने टाढा पहाडहरूमा ती उम्रेका हैनन् भने, ती फूल विषालु निस्केका खण्डमा मालीहरू — त्यसका निम्ति जिम्मेवार हुन्छन् । र, वास्तविक फूलहरू कविका कल्पनाहरूजस्तै एकै किसिमका हुँदैनन् ।

तर अहिले एउटा विचित्रको विचार थोपरिएको छ, जो लेखक नै होइनन् तिनले समेत आलोचकहरूको निन्दा गरेका छन् र जसमध्ये कोही भन्नुहुन्छ: तँलाई यत्रो विघ्न थाहा छ भने तैँ लेखेर देखा न त !

यसले निश्चयै आलोचकहरूलाई मुसाहरूलाई जस्तै दुलोभित्र पस्ने गराउँछ किनभने धेरै आलोचकहरूले मात्रै लेखकहरूको रूपधारण गरेका छन् ।

लु सून

मेरा विचारमा, लेखकहरू र आलोचकहरूका बीचको सम्बन्ध रेष्टुराँका भान्सेहरू र ग्राहकहरूका बीचको सम्बन्धजस्तै हो । भान्सेले खानेकुरा पस्कँदा ग्राहकहरूले खानेकुरा बेस छ-छैन भनी केही फलाक्छन् । भान्सेले ग्राहकको डाँको रूचाउँदैन भने उसले त्यो टिप्पणी गर्नेलाई मानसिक रूपबाट असन्तुलित भएको, रूखो जिब्रो गरेको, पूर्वाग्रही रहेको वा नगद नतिरी सुइँकुच्चा ठोक्नु चाहेको भनी हकार्नु सक्छ । ग्राहक सर्प रूचाउने क्यान्टनी वा तातो खानु मन पराउने स्वीच्वानी हुनसक्छ । त्यसबखत भान्सेले प्रतिरोध गर्नसक्छ, वा प्रतिरक्षामा केही नभन्न पनि सक्छ । तर उसले ग्राहकका सामुन्ने लौ महोदय स्वयं परिकार तयार पारिबक्सियोस् र म चाखिहेरूँ भनेर कुर्लन्छ भने ऊ अलि हुस्सुजस्तै लाग्नेछ ।

सरोनर

वास्तविकता के हो भने, चार‑पाँचसाल पहिले लेख्न समर्थ जोकोही व्यक्तिले आलोचकको विद्याजगतमा प्रतिष्ठा छ भन्ठान्यो र त्यसैले धेरै हतारमा लेखिएका र पुङमाङ आलोचनाहरू प्रकट भए, तर यो प्रवृत्तिलाई ठेगान लगाउन आलोचनाको पनि आलोचनाको आवश्यकता आइपर्‍यो । आलोचकहरूलाई हिलो छ्यापेर केही शुभ-लाभ हुँदैन । शान्त वातावरणका पक्षधर पाठकहरूलाई किताबहरूको रडाकोले साहित्यजगतको गञ्जागोल निराशाजनक स्थिति र विद्वानहरूले एकअर्कालाई गर्ने उपहासका विषयमा कुरा काट्ने बनाउँछन् । कुनै विषयमा विद्यमान सही र गलत कुराको अवलोकन नगरी उनीहरूले यसलाई हिलो छ्यापाछ्याप र हंगामा भनी व्याख्या गर्दछन् । र, निश्चितरूपमा अचेल कोही पनि आलोचक भनेर कहलाइएको छैन । तर कुनै कुरा पनि नउदाङ्गिएर साहित्यजगतका समस्याहरू ज्यूँ-का-त्यूँ रहे ।

साहित्यमा आलोचनाको आवश्यकता छ । आलोचना गलत हुन्छ भने हामीले त्यसलाई पनि आलोचनाद्वारा नै तह लगाउनुपर्छ । साहित्य र आलोचनालाई अघि डोर्‍याउन सघाउ सही मार्ग केवल यही छ । हामीले आफ्नो जिब्रोमा लगाम लगाएर सबथोक गतिलरी चलिरहेकै छ भन्ठान्छौँ भने नतिजा हामीले चिताएको भन्दा बिलकुल विपरीत हुनेछ ।

२२ अगस्ट, १९३४

कृति: सेलेक्टेड वर्क्स अभ् लू शुन भोल्युम फोर (फरेन ल्याङ्गुएजेज प्रेस, पेइचिङ, १९६०)
अनुवाद गरिएको रचना: नोट्स आफ्टर रिडिङ (३)
अनुवाद गरिएका पृष्ठहरू: ९७, ९८
अनुवादक: सरोनर