
जोक झोक हुँदैह्वैन शोक होइन मुक्तक
सङ्केत सार संसार भोक होइन मुक्तक
अड्बाङ्गे कुरीतिभित्र अल्झिनु हुन्न यो कतै
कलाभित्र सबै विश्व चोक होइन मुक्तक ।
कलानिधि दाहाल
🌿🌿🌿🌿🌿🌿🌿🌿🌿🌿🌿

सुन्नै सक्तैनन् नि नेताजी आलाेचनाहरू
अधकल्चै छन् यहाँ धेरै सम्भावनाहरू
मुलुकले काँचुली फेरेको निकै भयो तर
अझै अतृप्त नै छन् सहिदका सपनाहरू
डा. घनश्याम परिश्रमी
🌿🌿🌿🌿🌿🌿🌿🌿🌿🌿🌿
सधैं सत्यले नै विजय चुम्छ, दसी किन चाहियो
घामजून आफ्नै कक्षमा घुम्छ, दसी किन चाहियो
शरीर र आत्माको सम्बन्ध खोज्ने चेष्टा नगरौं
प्रेम गरे शत्रु पनि झुम्छ, दसी किन चाहियो ?
श्याम माकजु
भक्तपुर
🌿🌿🌿🌿🌿🌿🌿🌿🌿🌿🌿

यज्ञलाल सुवेदी
कोदो रोपेर कहिल्यै धान फल्छ र महोदय ?
तेल र बाती नभई दियो बल्छ र महोदय ?
कुरालाई नबङ्ग्याई सिधा सिधा बताइदिनुस्
गाडीमा इन्धन नभए पनि चल्छ र महोदय ?
यज्ञलाल सुवेदी
बुटवल , रूपन्देही
🌿🌿🌿🌿🌿🌿🌿🌿🌿🌿🌿
लोभ नगर्नू भनेर सिकाउँछन् कोही
भोग नगर्नू भनेर सिकाउँछन् कोही
ए बाबा मृत्युले विह्वल भोग गर्दा
शोक नगर्नू भनेर सिकाउँछन् कोही ।
लक्ष्मी रायमाझी
विराटनगर
🌿🌿🌿🌿🌿🌿🌿🌿🌿🌿🌿
अन्यायको विरुध्दमा बोल्न छोड्दिनँ
मायासँग समझदारी घोल्न छोड्दिनँ
भावनाले वास्तविकता ओझेल परे पनि
अल्झेको सुर्के गाँठो खोल्न छोड्दिनँ ।
अन्जना न्यौपाने
🌿🌿🌿🌿🌿🌿🌿🌿🌿🌿🌿

घुँडा फाटे पनि प्यान्टकाे ठाउँ ठाउमा खल्ती हुन्छन्
जमानाअनुसार यस्तै वस्तुमा चल्ती हुन्छन्
साहित्यकाे त झन् के कुरा गरौँ हजुर
सत्र अक्षरकाे हाइकुमा बारओटा गल्ती हुन्छन् ।
हाेम सुवेदी
🌿🌿🌿🌿🌿🌿🌿🌿🌿🌿
श्रम गरी खानेको, मीठो हरेक सितो हुन्छ
अल्छीलाई गुण अनि, चिनी पनि तीतो हुन्छ
ऋण लिएर भोज खान, ख्वाउन मज्जा हुन्छ
यी आँखा खुल्छन् जब, ऋणमा घर धितो हुन्छ ।
देवी पन्थी
🌿🌿🌿🌿🌿🌿🌿🌿🌿🌿🌿
कसैलाई घोच्छ, पोल्छ अनि जलाउँछ कुनै मुक्तकले
कसैको मुटुमै चस्स छुरा चलाउँछ कुनै मुक्तकले
बुझ्नेलाई श्रीखण्ड त नबुझ्नेलाई खुर्पाकै बिँड सरी
लेख्ने, पढ्ने सबैको दिमाग गलाउँछ कुनै मुक्तकले ।
सावित्री अधिकारी
🌿🌿🌿🌿🌿🌿🌿🌿🌿🌿🌿
गणितको सूत्रझैं अल्झेर बसे झोल छ जीवन
क्षमताभन्दा माथि सोच्नु भद्रगोल छ जीवन
जिन्दगीमा खुसी मात्र होइन आँसु पनि अँगाल्दै
सीमित चाहनामा जिउन सके अनमोल छ जीवन ।
अजिता प्रधान
🌿🌿🌿🌿🌿🌿🌿🌿🌿🌿🌿
अकाशिएको चरीलाई छाँट्न सक्छौ र तिमीले
वैज्ञानिक विचारलाई नि ढाँट्न सक्छौ र तिमीले
ईश्वरीय चिन्तनलाई सधैँभरि बनाएपछि भरिया
अमृत घोली सहजै विष चाट्न सक्छौ र तिमीले ?
अम्बिका खरेल उप्रेती
🌿🌿🌿🌿🌿🌿🌿🌿🌿🌿🌿

चिन्तामा नडुब्नु म तिम्रै लागि बनेकाे हुँ
एक हुने समय कहिले आउला गनेकाे हुँ
धैर्य नै ठूलाे शक्ति रे समयलाई कुराैँ
सयाैँ जुनी म तिम्राे तिमी मेराे भनेकाे हुँ ।
ताराप्रसाद चापागाईँ
धुनिबेसी
🌿🌿🌿🌿🌿🌿🌿🌿🌿🌿🌿
दु:ख र सुखको अनौठो संसार सम्झेर
तिमीले बनाएको तिम्रो घरबार सम्झेर
खास किन हो खै बाटो हेरेर बसेको छु
तिमीले दिएको गुलाफ उपहार सम्झेर।
आर्त अकुलीन
कैलाली
🌿🌿🌿🌿🌿🌿🌿🌿🌿🌿🌿
अँध्यारोलाई चिर्दै बिहानीमा उज्यालो छर्न रवि चाहिन्छ
राष्ट्रको नेतृत्व गर्ने मान्छेको सधैँ असल छवि चाहिन्छ
उन्नति, प्रगति र विकास हुन सकेको छैन अचेल राष्ट्रको
भ्रष्टाचारीलाई खबरदारी गर्न एक महान् कवि चाहिन्छ ।
जमुना पौड्याल
विराटनगर-३
🌿🌿🌿🌿🌿🌿🌿🌿🌿🌿🌿
सजिलो छैन सपार्न जिन्दगी आजभोलि किन
व्यवहारमा कालोपन देखिन्छ मोलि मोलि किन
बसे पनि एउटै छत मुनि एक्अर्कालाई बुझ्न गार्हो
राख्नै सकिँदैन अरुमाझ मनका कुरा खोलिकिन ।
सन्जना शर्मा
दाङ, लमही
🌿🌿🌿🌿🌿🌿🌿🌿🌿🌿🌿

सम्बन्ध फूललाई धागो भएर उन्छ
माला सबै खरानी आगो भएर हुन्छ
बग्नेभए रसाऊ होस् भक्ति प्रीतिभित्र
मैलो भयो कि पानी छाँगो भएर धुन्छ
छत्रपति दाहाल
🌿🌿🌿🌿🌿🌿🌿🌿🌿🌿🌿
मित्रका साथमा बस्दा ढुक्क हुन्छ सधैँभरि
कुकर्मी छेउमा बस्दा मन रुन्छ सधैँभरि
कर्तव्य भुल्दछन् मान्छे सर्वश्रेष्ठ भए पनि
निर्धा छन् दु:खमा धेरै आत्मा छुन्छ सधैँभरि ।
मेघनाथ ‘बन्धु’
झापा
🌿🌿🌿🌿🌿🌿🌿🌿🌿🌿🌿
सौन्दर्यकी खानी तिमी कता छौ
एकै नजर हेर तिमी जता छौ
तिमी बिनाको अधुरो भएको
मेरो दिलैमा तिमी नै लता छौ ।
मुक्ति पोखरेल
सुनसरी
🌿🌿🌿🌿🌿🌿🌿🌿🌿🌿🌿
जून हुन नसकेता पनि तारा भै चम्कनु पर्छ
बेसहारा दु:खीहरूको सहारा भै लम्कनु पर्छ
जब मानवता मर्दै जान्छ स्वार्थको कात्रो ओढेर
त्यो बेला निःस्वार्थ अमृतधारा भै छम्कनु पर्छ ।
दुर्गा थापा मगर
बुटवल ११
🌿🌿🌿🌿🌿🌿🌿🌿🌿🌿🌿
जलिरहन्छ मुटु जलाउने आगो देखिएन
चङ्गाझैं चुँडियाे जीवन धागो देखिएन
खुशी र सुखी हुन भाग्यमा नभएर रुँदा
भिज्यो सिरानी नयनबाट छाँगो देखिएन ।
तारा घिमिरे
सङ्खुवासभा



यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।
२८ जेष्ठ २०८३, बिहीबार 










