आडम्बरभित्र समय र जीवन लुकेको अवस्था छ
प्रतिकूल वातावरणभित्र हाँसो सुकेको अवस्था छ
कान्ति बोकेर खोज्न हिँड्ने प्रतिस्पर्धा विकसित हुँदा
आफ्नो दैलो थुनेर अर्काको दैलो ढुकेको अवस्था छ।

श्याम माकजु

 

आँसु आउँछ आँखामा केही लिएर आउँछ
आशा आउँछ फेरि अलिअलि जिएर आउँछ
यो लागेन जीवनमा आँधी आँउछ बाढी आउँछ
अलि भुइँचालो बन्दै दु:ख आउँछ मच्चिएर आउँछ

उमा ओडारी
पाँचथर

 

यो मनसँग मीत लाउने पनि तिमी
मेरो मनको गीत गाउने पनि तिमी
सारा खुशी मिलेजस्तै लाग्दैछ नि आज
मेरो मनमा प्रीत छाउने पनि तिमी।

चन्द्रा न्यौपाने
हाल: टोखा – ८, काठमाडौँ

 

तनमेल यता खाप्ने दिन प्रणयको छ यो
अन्ध अध्यात्म नै घाप्ने दिन प्रणयको छ यो!
नचाहिँने झिकी तन्तु कुण्ठा जम्नु छ मूर्खता
मजामन खुशी ताप्ने दिन प्रणयको छ यो!!

कलानिधि दाहाल

 

आकर्षित नयन यात्रामा थिए कसैलाई भेट्न
आकाङ्क्षाको लहरमा अनेकौं तिर्सना मेट्न
तुफान चल्यो अवरुद्ध भो बाटो खुसीको साटो
निस्पट्ट अन्धकार रात छायो उज्यालो रेट्न ।

लक्ष्मी रायमाझी
विराटनगर

 

अग्नि साक्षी राखी प्रेम गाँसे कतै ढाँट्न पर्दैन मलाई
सितल छ प्रेमकाे छहारी तनावमा तात्न पर्दैन मलाई
पच्चिस बशन्त भै सक्याे सम्बन्ध चिसाे छैन कहिल्यै
प्रणय दिवस भन्दै गुलाब सँग प्रेम साट्न पर्दैन मलाई

जनार्दन अधिकारी धड्कन

 

बिना काम घुमन्ते भै फिर्नु राम्रो होइन
दुनियाको नजरमा गीर्नु राम्रो होइन
हरेक काम कुरो समयमा गर्नु पर्छ
सधैंभरी अरुलाई पिर्नु राम्रो होइन ।

सरस्वती श्रेष्ठ
इटहरी

 

अचेल प्रेमको नाममा हुन्छ धोका
तिनैले पछि गर्दछन् बन्द ढोका
बनावटी माया कहाँ हुन्छ स्थायी
क्षणिक प्रेम हो पानीको विन्दु फोका ।

मुक्ति पोखरेल

 

सम्झौतामा मात्र टिकेको छ जिन्दगी
गरिबीमा मात्र विकेको छ जिन्दगी
लोकतन्त्र गणतन्त्र नाम मात्र हुन्
हुँदैन भनेको सिकेको छ जिन्दगी ।

सविता के.सी.
काठमाडौँ

 

विकृत कहर सारा, न मैले थेग्न सकेँ
दुखियाको त्यो दर्द, न मैले मेट्न सकेँ
कस्तो यो दिन दिन,अधर छ मलिन
न मैले देख्न सकेँ, न मैले छेक्न सकेँ ।
प्रेम थापा “मन”
बागलुङ

 

जहाँ साँचो प्रेम त्यहाँ आँखा रसाएकै हुन्छन्
आँसु बीचमा पनि प्रेमीहरू रमाएकै हुन्छन्
रूप रङ जात धर्म पछि छोडेर जब हुन्छ प्रेम
मनभित्र जीवन्त प्रेम दीप जलाएकै हुन्छन् ।

अजिता प्रधान

 

विषको बोटमा पनि अमृत फलोस्
प्रेम गर्ने हृदयमा सदा अहम् मरोस्
ओइलिएर झर्न दिन्नौँ प्रीत गुलाबझैँ
युगौँयुगसम्म प्रेम अजम्बरी बनोस् ।

श्रद्धा आचार्य
पोखरा

ईश्वरीय भावको उपस्थितिमा प्रेम प्रकट हुन्छ
न रुप धन जातको पूर्ण स्थितिमा प्रेम प्रकट हुन्छ
प्रेम पाउन प्रेमकै लगानी गर्नुहोस्
प्रेम प्रेमिल परिस्थितिमा प्रकट हुन्छ ।

पुष्पाशायरा
विराटनगर

 

आराम गर्ने घर मात्र हुन्छ
पछाडि पर्ने डर मात्र हुन्छ
हौँ श्रेष्ठ हामी किन दम्भ गर्ने
विवेक बुझ्ने नर मात्र हुन्छ ।

छन्द : उपजाति

मेघनाथ ‘बन्धु’
झापा

 

प्रेमको नाममा प्रणय अभाव बन्दैछ
कुनैको माया ठट्टेउली स्वभाव बन्दैछ
नाटकीय प्रेमले जरो गाड्दैछ आजभोलि
लहैलहै मायामा धेरैलाई प्रभाव बन्दैछ ।

भानु पोखरेल
झापा

 

कसको प्रेम कति थियो देख्ने कुनै दसी छैन
चोखो प्रेम लेखिदिने रगत छैन मसी छैन
सच्चा प्रणय गर्नेहरू भित्री हृदयबाट गरौँ
माया कति हुन्छ नाप्ने तुलो छैन कसी छैन ।

 

दुर्गा क्षेत्री

 

मजस्तो कोही छैन भन्नेले पनि कुनै बेला डर्नु पर्छ
अति गरेपछि खति हुन्छ जे पनि ठिक्क गर्नु पर्छ
हरेक चिजको एउटा निश्चित लक्ष्मण रेखा हुन्छ
बुझ्नु भो टुप्पोमा पुगे पछि फेरि भूइँमै झर्नु पर्छ ।

 

वासुदेव ठकुरी

 

लेख्दा शब्द रचेर सीमित गरी लेखेर लेखिन्न यो
हेर्दा बाहिरको मिठो नजरले खोजेर भेटिन्न यो
भित्री हो अनुभूति भाव दिलमा आभा छ आनन्द झन्
चोखो प्रेम मिठास हो हृदयको छेकेर छेकिन्न यो !!
छन्द : शार्दूलविक्रीडित

रामचन्द्र ढकाल
‘आर.सी. अज्ञात’

 

छन्दोबद्ध मुक्तक
सावित्री अनि सत्यवान् शिव उमाका प्रेम गर्ने कथा
राधा कृष्ण पियार चर्चित निकै आस्वाद छर्ने कथा
चोखो प्रेम परम्परा अघि थियो आदर्श छौँ प्रेममा
नेपाली लयमा मुना मदनका आल्हाद भर्ने कथा ।

घनश्याम रेग्मी

 

आऊ कान्छी आपसमा प्रीत डोरी बाटौँ
जन्ती साक्षी बनाएर तिम्रो थर साटौँ
नमुनाको जोडी थियो चिनाउन भोलि
ढुङ्गामाटो उपमाको हामी जुनी काटौँ ।

केशवप्रसाद ढकाल ‘प्रीतबीज’

सिरान्चोक-७

उपल्लो गोहोरे, गोरखा