गीत विशेष

 

कलानिधि दाहाल

म उठौँ लोभ मनका सबै पर्दा यी च्यातेर
म उठौँ दम्भ मनका सबै निखारी पोलेर
म उठौँ अहङ्कारका छाती कुच्याई फालेर
म हिँडौँ जहाँ देश छ त्यही मलाई गालेर

उद्दण्ड मेरो यो मनोलोक संयम्मा झारेर
उदार दिल अचम्मभित्र घिउझैँ खारेर
उदात्त बनी दीनका साथ दिल यो घुमाऊँ
अन्यायीलाई दिएर धक्का दर्दमा चुमाऊँ

सागर छल्का शीतल बनौँ हिमाल उचालौँ
आफैँमा फूल वासना छरी विश्वस्त समालौँ
शङ्काका दाग कुचीले पुछौँ हौँ शीत सागर
सभ्यता म हौँ संस्कार म हौँ संस्कृति अपार

जे गर्छु बोलौँ त्यही होस् मेरो बाहिरी संसार
बाहिर जे छु त्यही होस् मेरो मनको संसार
छलको छको नलिऊँ आड पहाडी अठोट
ठगको ठमा नबगोस् मन निर्णायक अठोट

म उठौँ माथि स्वार्थका ताना घरका तोडेर
परिवारवाद नझुमोस् मन विशाल मोडेर
वर्गीय गाँठा फुकालूँ जम्मै विचार गोडेर
उदार छानो छहारी विश्व सङ्कीर्ण छोडेर

म नै हुँ देश म नै हुँ ईश उभिऊँ जहाँ म
म नै हुँ सभ्य म नै हुँ भव्य शोभिऊँ जहाँ म
म भए सच्चा हुँदैन कच्चा कुना र काप्चा यो
म भए बच्चा क्यै छैन सच्चा जीवनभित्रको ।

कलानिधि दाहाल

 

ताराबहादुर बुढाथोकी

होटलतिर गफ चुटेर गाली मात्र गरे
खेती बाँझो रहे घरमा के खाने हो भरे
हराभरा हुन्छ धर्ती बिउ रोपे छरे
खेती गर्ने अघि बढे अल्छे पछि परे
भर्खर गाथेँ बङ्गलादेश,
फर्केँ बोकी श्रमको सन्देश

कि त आलु कि त सूर्ति कि हरिया तोरी
खेतीमै छन् बङ्लादेशका महान् छोराछोरी
कि त चिम्नी धुँवा फाल्छ उत्पादनले भोरी
समृद्ध छन् बङ्गलादेशी मार्गचित्र कोरी
भर्खर गाथेँ बङ्गला देश
बोकी ल्याएँ श्रमको सन्देश

जनताका साना सपना घर पनि साना
एकतले छन् घर फुसका कोही टिनका छाना
फराकिला, चिल्ला बाटा, स्कुल मुण्डे छाना
साहित्य र संगीत फुल्छ देशपिताको गाना
भर्खर गाथेँ बङ्गला देश
बोकी ल्याएँ जीवनको सन्देश ।

ताराबहादुर बुढाथोकी
खाँदबारी, नेपाल

 

तारा घिमिरे स्वेच्छा

मुटुभरि तिम्रो माया तिमी जिन्दगी
सुम्पिए तन मन राखी ज्यान बन्धकी

पागल भए जस्तो लाग्छ नदेखेको दिन
तिमी भने बेवास्ता गर्छौ झैँ लाग्छ किन
एकोहोरो हुन्न माया दोहोरो भए राम्रो
नमुना जोडी बनाउ है समाजमा हाम्रो

माया भन्नु यस्तै रैछ कर्कलाको पानी
बैँश छँदै लगाऊ माया जाला त्यो जवानी
नारी बिना कहाँ चल्छ सृष्टि संसारको
स्वर्ग जस्तो घर नारी असल व्यवहारको

तिम्रो माया मुटु भरि नयन भरि राखी
तिम्रै हुन पाउँ प्रार्थना गर्छु ईश्वर भाकी

तारा घिमिरे स्वेच्छा
सङ्खुवासभा

 

श्याम माकजू

एक्लो हुन्न मान्छे कबै, साथ दिने समाज छ
दुःखकष्ट झेल्नु पर्दा, हात दिने समाज छ

एकताको हात पाउ चले जाति हाम्रो लागि
समानता बोकी उड्छ हावा पनि हाम्रो लागि
चन्द्र छुने अठोटको प्रण गर्नु पर्छ अब
स्वाभिमानी बन्नलाई एक हुनु पर्छ अब

बराबरी गराउने प्राकृतिक प्रभाव छ
एक्लो हुन्न मान्छे कबै साथ दिने समाज छ

विश्वासको संसार हो विचारले ढाक्नु पर्छ
उन्नतिको शिखरमा पुग्ने बाटो खन्नु पर्छ
आकाशको चन्द्र सूर्य विग्रहमा हुन्न कैल्यै
भरोसाको साक्षी बन्दै डोर्‍याएर लान्छ सधैं

हामी माझ मानवीय भावनाको आवाज छ
एक्लो हुन्न मान्छे कबै साथ दिने समाज छ ।

श्याम माकजु
भक्तपुर

 

रामचन्द्र ढकाल

राष्ट्रको मुहार फेर्न साहस बोकेर आएँ
देश र जनता सम्झी विदेश छोडेर आएँ

अन्यायले जनता रुँदा दिनरात छट्पटिएँ
आवश्यक नभए पनि व्यर्थ धनमा लट्पटिएँ
कुसंस्कारका विरुद्ध लड्ने सोचेर आएँ
देश र जनता सम्झी विदेश छोडेर आएँ

गाली गरेर हुन्न पर्छ राष्ट्रभक्ति जगाउन
चाहिन्छ साथ जनको बढ्दो बेथिति भगाउन
मुलुक विकासको गोप्य खाका कोरेर आएँ
देश र जनता सम्झी विदेश छोडेर आएँ ।

रामचन्द्र ढकाल
“आर .सी .अज्ञात “