बहर : घनु
अर्कान : 2221-22-122-122

आवाज आज मनको सुनेनौ तिमीले
आँखाको इशारा बुझेनौ तिमीले

मेरा भावनाकाे कदर नै गरेनौ
त्यो मनभित्र पस्नै दिएनौ तिमीले

प्रेमी बन्न यसरी कहाँ हुन्छ सजिलो
दिलकाे राग सुन्नै सकेनौ तिमीले

साँच्चै दुःखदायी म गर्दै छु महसुस
मेरा आँसु कहिल्यै पुछेनौ तिमीले

हेर्‍याै मात्र आँखा, अधर, केश, गाला
मेरो घाउ दिलकाे देखेनौ तिमीले ।
◾️डा. घनश्याम परिश्रमी

•~<>~<>~<>•<>~<>~<>~•

बहर: घनु

मायाको सीमा हुन्न भन्थ्यौ तिमीले
माया किन्न पो नोट गन्थ्यौ तिमीले

ठूलो घाउ मनभित्र पार्‍यौ दुखायौ
मायाका जरा हेरी खन्थ्यौ तिमीले

तिम्रो केशमा अल्झिंदा मन रुवायौ
भुस ठानी नहेरी निफन्थ्यौ तिमीले

लेखेको छु तिम्रो कथा पढ्न आऊ
सानैदेखि जे जे कहन्थ्यौ तिमीले

किन होला कनेरै बाजी जित्न खोज्यौ
उहिले जित्न खोजेर कन्थ्यौ तिमीले।

▪️देवी पन्थी

•~<>~<>~<>•<>~<>~<>~•

बहर :घनु बहर
2221- 22- 122 -122
मफ्ऊलातु, फैलुन्, फऊलुन्, फऊलुन्

आन्दोलन गरेको छु भन्दै करायो
आएको छ प्रहरी ऊ आफैँ हरायो

बाठो बन्न धेरै कुरा काट्छ जसले
उसको मन नराम्रो छ भन्दा डरायो

आमा चर्न जान्छे यहाँबाट टाढा
नाच्ने गर्छ मेरो कुनाको खरायो

मुखले ठिक्क पार्दै फकाएर उसले
कीर्ते मन्जुरीमा सही पाे गरायो

भन्दा धरहराको गजल आज मैले
सुन्दै बस्छ साथी निकै मन परायो ।

▪️ध्रुवप्रसाद गजुरेल

•~<>~<>~<>•<>~<>~<>~•

आँखाको छ नानी बगाएर पानी
लेखेको छ आफ्नै मजाको कहानी

आएको धरामा खुलासा गरेको
हो भन्दै छु लेख्ने कलामा निशानी

म्याग्दे को छ पानी भिजेको नसामा
पार्ने हो छ भन्दै कला राजधानी

जानेकाे छ ताजा खुला काम के हाे
मागेको रमाई छ हाते सिरानी

भोगेको छ भोग्ने कलामा रमेको
आएको छ आस्था बनी आत्मज्ञानी ।

▪️अचम, अभिनव व्यास

•~<>~<>~<>•<>~<>~<>~•

बहर = घनु
अर्कान = २२२१-२२-१२२-१२२ या
२२२-१२२-१२२-१२२
काफिया = आती
काफिया बन्धन = छ आमा

पोलेको खुबै भित्र छाती छ आमा
सिध्याए सबै देश घाती छ आमा

बाँकी छन् कहाँ छैन उद्योग भन्ने
खाए टन्न बेचेर खाती छ आमा

खोक्रो भित्र देखिन्छ बाहिर छ राम्रो
बच्चा भो रिनाहा नजाती छ आमा

नेपाली हुँ भन्ने कुनै मार्ग छैनन्
अर्कैको दियो तेल बाती छ आमा

योद्धा देश रक्षार्थ लड्ने र खट्ने
मिल्ला वीर सच्चा जगाती छ आमा।
▪️रसज्ञ छहरा
कावासोती -३ नवलपुर, नेपाल

•~<>~<>~<> <💠> <>~<>~<>~•

बहर-घनु
अर्कान- 2221 22 122 122

आमा भन्दछिन् हेर कस्तो बिहानी
खेतीको छ बेला गरेस् है किसानी

कस्तो यो मरेको यहाँ भाग्य हाम्रो
भोको पेट बस्दा सधैँ हुन्छ ग्लानि

आयो तन्त्र कस्तो सुबिस्ता नमिल्ने
बाठा मात्र बढ्ने अनौठो छ बानी

नेता मेच कुर्ने कुनै हुन्न काम
पैसा मात्र खोज्ने बनेछन् मदानी

सानाका कुरा छैन गर्ने निकाय
घोचो हान्नु पर्ला उता राजधानी ।

▪️ मेघनाथ ‘बन्धु’

•~<>~<>~<>•<>~<>~<>~•

बहर: घनु
अर्कान: २२२१-२२-१२२-१२२

मनमा ईख पाल्यौ गुनासो सुनेनौ
चिप्लो घस्न थाल्यौ गुनासो सुनेनौ

दिलमा चोट धेरै खपेको छु मैले
मुटु ठोसेर बाल्यौ गुनासो सुनेनौ

उपकारी छु मेरै कुरा काट्न थाल्छन्
मेरो गुन पखाल्यौ गुनासो सुनेनौ

नाता गाँस्न गाह्रो भयो किन मलाई
खोज्दा साथ ढाल्यौ गुनासो सुनेनौ

माया तोड्न यावत् भुलेको छु आज
ढोँगी चाल चाल्यौ गुनासो सुनेनौ।

▪️श्याम माकजु

•~<>~<>~<>•<>~<>~<>~•

अर्कान- 2221-22-122-122
( मफ्ऊलातु, फैलुन्, फऊलुन्, फऊलुन)

पीडा माथि पीडा अझै थेगिदैछन्
हरदम उठ्छ बाधा अझै थेगिदैछन्

मेरो दर्द कोही कसैले नदेख्दा
दु:खैका इशारा अझै थेगिदैछन्

जीवनमा अनेकौं भए घात किन्तु
तिम्रा ती बहाना अझै थेगिँदैछन्

हरदिन देश लुट्नेहरूको भयो राज
ओढाएर खादा अझै थेगिदैछन्

कस्तो कर्म मेरो दियौ दैव आज
हरदिन यी समस्या अझै थेगिदैछन् ।

▪️आस्था निरौला

•~<>~<>~<>•<>~<>~<>~•

बहर : घनु
२२२१ २२ १२२ १२२ या
२२२ १२२ १२२ १२२

आगोमा धकेल्यौ समातेर सानी
हौली मक्ख देखेर मेरो खरानी

हतपतमा गर्‍यौ काम होला र फत्ते
निर्णयनिम्ति चाहिन्छ मनको मदानी

पछ्याऊ मलाई बिना हिच्किचाहट
फक्राऔँ दुवैले लुकेको जवानी

यौटै मन बनाई सँगै हिँड्न थालौँ
अनि पो जिन्दगीको रचौँला कहानी

सोधेँ आज मैले नढाँटी बताऊ
ल्यायौ किन मलाई फकाएर नानी ।

▪️यज्ञलाल सुवेदी
बुटवल, रूपन्देही

•~<>~<>~<>•<>~<>~<>~•

बहर :घनु बहर
रदिफ: 0
काफिया: आनी
2221- 22- 122 -122
मफ्ऊलातु, फैलुन्, फऊलुन्, फऊलुन्

मान्छेभित्र राम्रो नराम्रो छ बानी
राम्रो कर्म गर्दै बितोस् जिन्दगानी

हामी बन्न सक्छौँ यहाँ शिष्ट पात्र
बोलौँ मिष्टवाणी सधैँ बाबुनानी

भोग्दै बस्छु पीडा म यो जिन्दगीभर
लेखे बन्न सक्थेँ सुनौला कहानी

मान्छे देख्छु मैले कुनै दुष्ट जस्तो
पाएँ भिन्न धेरै ऊ मनको छ दानी

मेरो लक्ष्य पूरा बनाएर सारा
बाँचू जिन्दगीभर बनी स्वाभिमानी ।

▪️ मीरा ज्ञवाली (आस्था)
रूपन्देही